प्रा.डा.डम्बरबहादुर कार्की | दृष्टिकोण | कात्तिक २५, २०७६
छाती दुखाउने धेरै कारणहरू हुन्छन् । धेरैजसो कारणहरू मामुली किसिमका हुन्छन् र यिनीहरूले शरीरलाई ठूलो हानि पुर्याउँदैनन् । छाती दुख्ने केही कारणहरू ज्यादै गम्भीर प्रकृतिका हुन्छन् र यी कारणहरूको पहिचान समयमा नै भएन भने ज्यानलाई नै खतरा पुग्न सक्छ ।
मुटुको मांशपेसीमा रक्तसंचार गराउने रगतका नलीहरूलाई करोनरी आर्टरी भनिन्छ । करोनरी आर्टरी साँघुरिएर मुटुमा रक्तसंचार हुन नपाउँदा हुने रोगलाई करोनरी आर्टरी डिजिज भनिन्छ । यो रोग महिलाहरूमा भन्दा ४५ वर्ष नाघेका पुरुषहरूमा ज्यादा पाइन्छ । कम उमेर अर्थात् ४५ वर्षभन्दा कम उमेरका महिला र पुरुषहरूमा पनि यो रोग हुन सक्छ ।
धेरै कम उमेरमा यो रोग हुने संभावना एकदमै कम हुन्छ । करोनरी आर्टरीको रोग हुनेहरूलाई परिश्रम गर्दा छाती दुख्ने र आराम गर्दा दुखेको निको हुने गर्छ । यस किसिमको मुटु रोगलाई एन्जाइना अर्थात् अल्परक्त प्रवाह हृदय रोग भनिन्छ । करोनरी आर्टरी अचानक बन्द हुँदा हृदयघात हुन्छ र परिश्रम नगरी रहेको अवस्थामा पनि धेरै साह्रो छाती दुख्छ ।
छातीको दुखाइ बायाँ कुम र पाखुरा, चिउँडो र कहिलेकाहीँ पेटको माथिल्लो भागतिर पनि जान्छ । नराम्रोसँग छाती दुख्नुका साथै पसिना आउनु र वाकवाकी हुनु पनि हृदयघातका लक्षण हुन् । ईसीजी गरेर र रगत जाँचेर हृदयघात भए वा नभएको थाहा पाउन सकिन्छ ।
छाती दुख्नुको अर्को कारण मुटुको आवरणको संक्रमण हो । मुटुलाई ढाक्ने आवरणलाई पेरिकार्डियम भनिन्छ । रुग्ण पेरिकार्डियमका धेरै कारणहरू हुन्छन् । भाइरसद्वारा संक्रमण हुँदा पेरिकार्डियममा प्रभाव पर्छ । पेरिकाडाइटिस् अर्थात पेरिकाडियमको रोगमा पनि छाती दुख्छ । लामो सास फेर्दा छाती दुख्छ । बसेर अघिल्तिर ढल्कँदा दुखेको कम हुन्छ । ईसीजीद्वारा यो रोग भए वा नभएको यकिन गर्न सकिन्छ ।
युवा अवस्थामा छाती दुख्नेहरूलाई हृदयघात हुने संभावना ज्यादै कम भएकाले छाती दुख्ने अन्य कारणहरूको खोजी गर्नुपर्छ । मुटुको आवरणको संक्रमण युवायुवतीहरूमा हुने संभावना ज्यादा हुन्छ ।
छाती दुख्नुको अर्को कारण पल्मोनरी इम्बोलिज्म हो । शिराहरूमा रगत जम्ने रोगलाई डिप भेन थ्रंवोसिस भनिन्छ । शिराहरूमा रगत जम्ने धेरै कारणहरू हुन्छन् । यो जमेको रगत फोक्सोका रगतका नलीहरूमा पुगेर अवरोध हुँदा पल्मोनरी इम्बोलिज्म नामक रोग हुन्छ । यो रोगले ज्यानलाई खतरा पुर्याउन सक्छ । यो रोगमा पनि छातीमा धेरै दुख्छ । विशेष प्रकारका परीक्षणद्वारा यो रोगको निदान संभव हुन्छ । समयमा नै यो रोगको निदान गरेर उपचार गर्दा यो रोगलाई निको पार्न सकिन्छ ।
फोक्सोको आवरणलाई प्लुरा भनिन्छ । प्लुराभित्र हावा पसेर फोक्सोलाई थिच्ने रोगलाई निमोथोराक्स भनिन्छ । यसरी फोक्सोलाई प्रभाव पर्दा सास फेर्न गाह्रो हुनुका साथै छाती पनि नराम्रोसँग दुख्छ । छातीको एक्सरेले यो रोग भए वा नभएको पत्ता लाग्छ । रोगको निदानपछि छातीबाट हावा निकालेर उपचार गरिन्छ ।
मुटुबाट निस्केर शरीरका अंगहरूमा रक्तसंचार गर्ने महाधमनीलाई एबर्टा भनिन्छ । एबर्टिक डिसेक्सन नामक एबर्टाको रोगमा नराम्रोसँग छाती दुख्छ ।
इसोफेगस अर्थात् खाने नली फुट्दा हुने अवस्था (बोह्राभ सिन्ड्रोम)मा छातीको बीच भागमा दुख्छ । पेटभित्रको एसिड खाने नलीमा गयो भने पनि छाती दुख्छ । छातीका करङको कुरकुरे हाड (कोस्टोकोड्र्रिटिस)मा प्रभाव पर्दा छाती दुख्छ । निमोनिया र प्लुरेसी, साँघुरा भल्भहरू र जनै खटिरामा पनि छाती दुख्न सक्छ ।
माथि उल्लेखित छाती दुख्ने कारणहरूलाई ध्यानमा राखेर यी रोगहरूको पहिचानमा मद्दत गर्ने परीक्षणहरू गरेर चिकित्सकहरूले रोगको उपचार गर्न सक्छन् । सर्वप्रथम ज्यानलाई खतरा गराउने रोगहरू भए वा नभएको पत्ता लगाउन छाती दुख्नेहरूले नजिकको अस्पतालको आकस्मिक सेवा कक्षमा जानु बुद्धिमानी हुन्छ ।
छाती दुख्नुको मुख्य कारण हृदयघात नै हो । कुन किसिमका बिरामीहरूलाई छाती दुख्दा हृदयघात हुने संभावना ज्यादा हुन्छ भन्ने कुरा स्वास्थ्यकर्मीहरूले मात्र नभएर सर्वसाधारणले पनि थाहा पाइराख्नु राम्रो हो । युवा अवस्थामा छाती दुख्नेहरूलाई हृदयघात हुने संभावना ज्यादै कम भएकाले छाती दुख्ने अन्य कारणहरूको खोजी गर्नुपर्छ । मुटुको आवरणको संक्रमण युवायुवतीहरूमा हुने संभावना ज्यादा हुन्छ ।
कुन किसिमको छाती दुख्ने रोगहरू कस्ता व्यक्तिहरूलाई हुन्छ भन्ने पूर्वज्ञानले छाती दुख्ने रोगका कारणहरू पत्ता लगाउन सजिलो हुन्छ ।
छाती दुख्ने जुनसुकै उमेरकालाई तुरुन्तै ईसीजी गराउँदा रोगको पहिचानमा मद्दत मिल्न सक्छ ।