साँफेबगरमा सम्पन्न जिल्लाकै सर्वाधिक धनराशिको राष्ट्रिय खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि एञ्जिला पुस्तक पसलले हात पारेको छ । फाइनलमा साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको टिमलाई पराजित गर्दै एञ्जिलाले उपाधि उचालेको हो ।
उपाधि उचालेसँगै एञ्जिला पुस्तक पसलले एक लाख ७५ हजार रुपैयाँ नगद पुरुस्कारसहित कप, मेडल, ट्रफी र प्रमाणपत्र हात पारेको छ । दोस्रो भएको साँफेबगर नगरपालिका प्रमुख प्रशासकीय अधिकृतको टिमले नगद एक लाख रुपैयाँ पुरुस्कार हात पारेको छ ।
तेस्रो भएको साँफेबगर नगरपालिका- १३ बाब्लाले ५० हजार रुपैयाँ पुरस्कार पाएको छ । कात्तिक २२ गतेबाट सुरु भएको प्रतियोगितामा विभिन्न १० वटा भलिबल टिमको सहभागिता थियो । प्रतियोगिताको समापनमा पुरस्कार वितरण गर्दै राष्ट्रियसभा सदस्य शेरबहादुर कुँवरले मोफसलमा हुने यस्ता प्रतियोगिताले खेल क्षेत्रको विकासमा ठूलो योगदान पुग्ने बताउनुभयो । यस्ता प्रतियोगिताको लागि स्थानीय सरकारले पनि जोड दिनुपर्नेमा कुँवरको जोड थियो ।