नेपाल बैंक लिमिटेडले आफ्नो स्थापनाको ८३औँ वर्ष प्रवेशका अवसरमा विभिन्न योजना अगाडि सारेको छ । बैंकले मंगलवार आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार बैंकले ‘ग्रिन सेभिङ निक्षेप योजना’ र ‘सुलभ आवास कर्जा योजना’ अगाडि सारेको हो ।
बैंकले ग्रिन सेभिङ निक्षेप योजनामा सहभागी हुनेलाई ५० हजार रुपैयाँसम्मको औषधोपचार सुविधा, ५० लाख रुपैयाँसम्मको दुर्घटना बीमालगायतका सुविधा प्राप्त गर्नेछन् । न्यूनतम मौज्दातमा २५ हजार रुपैयाँमा बचत खाता खोल्न सकिने सो योजनामा सहभागी हुने निक्षेपकर्ताले ६.५ प्रतिशत ब्याज प्राप्त गर्नेछन् । सो योजनाअन्तर्गत सङ्कलन हुने निक्षेपको रकम बैंकले नवीकरणीय ऊर्जा तथा वातावरणमैत्री क्षेत्रमा प्रवाह गर्नेछ ।
बैंकले ल्याएको यस योजनाले ग्राहकको आर्थिक हित प्रवर्द्धन गर्नुका साथै नागरिकमा वातावरणीय सचेतना अभिवृद्धि हुने विश्वास लिइएको छ । यस्तै, बैंकले सुलभ आवास कर्जा योजनाअनुसार बैंकको आधार ब्याजदरमा थप एक-दुई प्रतिशतसम्म किस्ता थप गरी न्यूनतम पाँच वर्षदेखि २० वर्षसम्मको अवधिका लागि आवास कर्जा प्राप्त गर्न सक्नेछन् । सो योजनामा ग्राहकले अग्रिम भुक्तानी शुल्क तिर्नुपर्नेछैन ।
ग्राहकले आफ्नै जग्गामा घर निर्माण गर्न, घर खरिद गर्न, घर मर्मतसम्भारका लागि सुलभ ब्याजदरमा कर्जा प्राप्त गर्नेछन् । बैंकको हाल सात प्रदेशका ६३ जिल्लामा रहेका १६७ शाखा, २३ एक्सटेन्सन काउन्टर, १०२ एटीएम संचालनमा छन् । बैंकले कुल १७ लाख ग्राहकलाई सेवा दिएको छ ।
चालू आवको प्रथम त्रैमासको अन्त्यसम्म बैंकमा निक्षेप एक खर्ब १७ अर्ब तथा कर्जा ९८ अर्ब ४६ करोड रुपैयाँ रहेको छ । सो अवधिमा बैंकले ५८ करोड १८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरी अधिकांश वित्तीय सूचक सकारात्मक रहेको छ ।