पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका- ५ स्थित ठाढीघाटमा मंगलबार आयोजित अन्तर्राष्ट्रिय कुस्ती प्रतियोगिताको उपाधि भारतका बप्पी पहलवानले हात पार्नुभएको छ । प्रथम पुरस्कारका लागि भएको सो प्रतियोगितामा भारतकै आरबिन्द पहलवानलाई बप्पीले हराउनुभएको थियो ।
त्यस्तै, द्वितीय पुरस्कारका लागि भएको प्रतिस्पर्धामा भारतकै शमशेर पहलवान (वनारस)ले विष्णु पहलवान (गोरखपुर)लाई हराउनुभएको थियो । तृतीय पुरस्कार भने दुई कुस्तीबाजले प्राप्त गरेका थिए । भारतकै पवन पहलवान हाटा र गोल्डेन पहलवान कमासीबीच भएको प्रतिस्पर्धा बराबर हुँदा दुवैलाई संयुक्त विजेता घोषित गरिएको थियो ।
उक्त प्रतियोगितामा नेपाल र भारतका गरी कुल २९ जोडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगिताको उद्घाटन नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) निर्वाचन क्षेत्र नं. १ (ख)का प्रदेशसभा सदस्य अजयबहादुर शाहीले गर्नुभएको थियो । ठाडीघाटमा कार्तिक पूर्णिमाको अवसरमा हरेक वर्ष सो प्रतियोगिता हुँदै आएको र त्यसमा नेपाल र भारतका कुस्तीबाजले सहभागिता जनाउँदै आएका छन् ।