लोकसंवाद संवाददाता | समाचार | कात्तिक २७, २०७६
राष्ट्रपति हमिद नेपालको औपचारिक सद्भावना भ्रमणमा हुनुहुन्छ । अध्यक्ष तिमिल्सिनाले राष्ट्रपति हमिदसँगको भेटमा भएका कुराकानीबारे जानकारी दिँदै दुई देशबीच जनस्तरको सम्बन्ध विस्तारका साथै व्यापार प्रवर्द्धनका विषयमा कुराकानी भएको बताउनुभयो । तिमिल्सिनाका अनुसार दुई देशबीचको उच्चस्तरीय भ्रमणलाई नियमित गर्नेबारे दुवै पक्षबाट जोड दिइएको थियो । व्यापार बढाउन र व्यापार घाटा कम गर्न दुवै देशले प्रयास गर्ने विषयमा पनि कुराकानी भएको थियो ।
व्यापार घाटा कम गर्न ऊर्जाको व्यापार प्रवर्द्धन गर्ने र कृषि उत्पादन बढाउन प्रेरित गर्ने आदिबारे छलफल भएको अध्यक्ष तिमिल्सिनाले जानकारी दिनुभयो । दुई देशबीचको जनस्तरीय सम्बन्धलाई अझ प्रगाढ तुल्याउन सांसदहरूको भ्रमण आदान प्रदानलाई निरन्तरता दिने विषयमा पनि कुराकानी भएको थियो ।
नेपाल भ्रमण वर्ष, २०२० को पूर्वसन्ध्यामा भएको बङ्गलादेशी राष्ट्रपतिको भ्रमणले बङ्गलादेशबाट बढीभन्दा बढी पर्यटक भित्र्याउन सहयोग पुग्ने र यसलाई अझ विस्तृत रूपमा अघि बढाइनुपर्छ भन्नेमा राष्ट्रपति हमिदले विशेष जोड दिनुभएको थियो ।