अफगानिस्तानको राजधानी काबुलमा बुधवार बिहानको अति व्यस्त समयमा भएको एक विस्फोटमा परी मृत्यु हुने व्यक्तिको सङ्ख्या १२ पुगेको छ । यस आक्रमणमा मारिनेहरूमा तीन जना बालबालिका रहेका जनाइएको छ ।
स्थानीय समयानुसार बुधबार बिहान ७ः२५ मा सो विस्फोट भएको थियो । यस विस्फोटमा चार विदेशीसहित २० जना सख्त घाइते भएका गृह मन्त्रालयका प्रवक्ता नसरात राहिमीले ट्विटरमार्फत् जानकारी दिनुभएको छ । शक्तिशाली विस्फोटन भएको नजिकै रहेका भवन, केही पसल र सवारी साधनमा क्षति पुगेको जनाइएको छ ।
गृह मन्त्रालयको पछाडि रहेको एक सडकमा दौडिरहेका सशस्त्र फौजको जीप लक्षित आत्मघाती कारबम आक्रमण भएको प्रत्यक्षदर्शी अब्दुल शाहले बताउनुभएको थियो । बम विस्फोट गरिएको सो इलाकालाई सुरक्षाफौजले घेरा हालेर खोजतलास सुरु गरिएको छ ।
उक्त आक्रमणको हालसम्म कुनै पनि समूहले जिम्मा लिएका छैनन् ।