भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच बुधवार ब्राजिलमा भेटवार्ता भएको छ । उहाँहरूका बीचमा भारत र रुसको आपसी सम्बन्धका बारेमा समीक्षा गर्दै दुई देशको मित्रतालाई अझ मजबुत बनाउनेबारेमा छलफल भएको बताइएको छ ।
ब्राजिलमा आयोजित ११औँ ब्रिक्स सम्मेलनका लागि आएका बेला दुई शीर्ष नेताबीच भेटवार्ता भएको हो । उहाँहरूले दुई देशको व्यापारका बारेमा पनि कुराकानी गर्नुभएको भारतको विदेश मन्त्रालयका अधिकारीहरूले जनाएका छन् ।
भेटवार्तापछि भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो, 'राष्ट्रपति पुटिनसँगको भेटवार्ता अत्यन्त उत्कृष्ट भयो । हामीले भेटवार्ताका क्रममा भारत र रुसको सम्बन्धलाई अझ बलियो कसरी बनाउने भन्नेबारेमा कुराकानी गरेका छौँ ।'
विश्वकै प्रभावशाली मानिने नेताहरूमध्ये यी दुई नेताको भेटघाट अहिले फेरि झण्डै दुई महिनापछि भएको हो । प्रधानमन्त्री मोदी र राष्ट्रपति पुटिनले तेल र प्राकृतिक ग्याँसको स्थायित्व र वृद्धिका बारेमा पनि छलफल गर्नुभएको बताइएको छ । दुई दिने औपचारिक भ्रमणका लागि मोदी बुधबार ब्राजिल आइपुग्नुभएको हो ।
ब्राजिल, रुस, भारत, चीन र दक्षिण अफ्रिकाको साझा मञ्च मानिने ब्रिक्सको सम्मेलनमा सहभागिता जनाउन ती देशका नेताहरू ब्राजिलमा भेला भएका छन् । ब्रिक्सको यो ११औँ सम्मेलनमा डिजिटल अर्थतन्त्र, विज्ञान र प्रविधिको क्षेत्रमा पाँच देशको रणनीतिक भूमिकाका बारेमा बढी छलफल हुने जनाइएको छ । त्यसैगरी आतङ्कवादविरुद्ध संयुक्त रूपमा लड्ने संयन्त्र बनाउने विषय पनि यस सम्मेलनको प्राथमिकताको विषय भएको बताइएको छ ।
सामाजिक सञ्जाल ट्विटरमार्फत् प्रधानमन्त्री मोदीले यो सम्मेलनबाट ब्रिक्सका सदस्य राष्ट्रहरू सांस्कृतिक तथा आर्थिक पक्षबाट पनि जोडिने विश्वास व्यक्त गर्नुभएको थियो । सम्मेलनका क्रममा मोदी र पुटिनसँगै चीनका राष्ट्रपति सी चिनफिङ, ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोलगायतका शिर्ष नेताहरूका बीचमा पनि भेटवार्ता तथा छलफल हुने कार्यक्रम रहेको छ ।