प्रशान्त उप्रेती | साहित्य | कात्तिक ३०, २०७६
सरकार !
म टाढा भएको हुँ तर मेरी आमाको
अस्मिता लुटिएको हेर्ने हिम्मत छैन
मेरा कालापानी, लिपुलेक अनि सुस्ता गुमाएको छैन
आवाज मैले उठाउँदा सरकार !
म नेपाली हुनेछु, आप्रवासी होइन
सरकारले मलाई
न घरको न घाटको परिभाषित गरे पनि
मेरो देशको नक्सा बदिलिएपछि
मलाई यो स्वीकार्य छैन ।
म मेरो राहदानी, नागरिकता अनि फाइदा हेरेर होइन
मेरो सीमा, अस्तित्व अनि पुर्खाको इज्जतका लागि लड्नेछु
मेरो ज्यान, प्राणको मतलब छैन मलाई
भनिदेऊ सरकार !
म सीमामा ढलेँ भने मलाई भिसा मिल्छ कि मिल्दैन ?
मेरो चाहत मेरा पुर्खाकको काखमा बिलाउने छ
भनिदेऊ सरकार !
मेरो अस्तुलाई भिसा मिल्छ कि मिल्दैन ?
मेरी आमाको च्यातिएको चोलो सिलाउने
मेरो रहर पुग्छ कि पुग्दैन ?
म मरेँ भने मेरा सन्तानले
बाउ खेलेको आँगन खोजे भने
नाबालकलाई प्रवेशाज्ञा मिल्छ कि मिल्दैन ?
महापुरुष रामले
आफ्नै ससुरालका सीमा मिच्न मिल्छ कि मिल्दैन ?
महाभारतको लडाइँ जस्तै आफन्तलाई
दाउमा राख्न मिल्छ कि मिल्दैन ?
मैले मेरो जन्मभूमिको सीमा अतिक्रमणविरुद्ध
खुकुरी बोक्न मिल्छ कि मिल्दैन ?
राष्ट्रलाई चाहिएमा मेरो प्राण
आहुति गर्न मिल्छ कि मिल्दैन ?