हृदयघातः कस्ताे अवस्थामा र कसरी हुन्छ ?

हृदयघातः  कस्ताे अवस्थामा र  कसरी हुन्छ ?

प्रा.डा.डम्बरबहादुर कार्की  |  दृष्टिकोण  |  मंसिर ०३, २०७६

मुटुमा रक्तसंचार गराउने करोनरी आर्टरीहरू एवर्टाबाट निस्कन्छन् । यिनीहरूलाई दायाँ र बायाँ करोनरी आर्टरी भनिन्छ । बायाँ करोनरी कार्टरीका दुई मूख्य हाँगाहरू हुन्छन् । यिनीहरूलाई लेफ्ट एन्टेरिएर डिसेन्डिङ र सर्कम्फ्लेक्स करोनरी आर्टरी भनिन्छ । माथि उल्लेख गरिएका तीनवटा करोनरी आर्टरीहरूका थुप्रै हाँगाहरू हुन्छन् र यिनै रगतका नलीहरूले मुटुका विभिन्न भागमा रगत पुयाउँछन् ।

मुटु खुम्चिँदा शुद्ध रगत महाधमनीबाट शरीरका विभिन्न अंगहरूमा पुग्छ । प्रत्येक अंगहरूले गर्नुपर्ने काम पहिले नै तोकिएको हुन्छ । काम गर्न आवश्यक पर्ने शक्ति अक्सिजनयुक्त रगतबाट प्राप्त हुन्छ । मुटुको खुम्चाइलाई सिस्टोल र रिल्याक्सेसनलाई डायस्टोल भनिन्छ । करोनरी आर्टरीहरू मुटुको बाहिरी भागमा हुने भएकाले मुटु खुम्चिँदा यिनीहरू मांसपेसीद्वारा च्यापिँदैनन् । मुटुको मांसपेसीलाई करोनरी आर्टरीले डायस्टोलमा रक्त संचार गर्छ ।

करोनरी आर्टरीलाई साँघुरो पर्ने धेरै कारणहरू हुन्छन् । यी कारणहरूद्वारा करोनरी आर्टरी साँघुरिँदा मुटुका मांसपेसीमा रक्त संचार कम हुन्छ । यसरी मुटुमा रक्त संचार कम हुँदा निम्न चार किसिमका मुटु रोग हुने संभावना हुन्छ ।

पहिलो किसिमको मुटु रोग

पहिलो किसिमको मुटु रोगमा करोनरी आर्टरी अचानक धेरै साँघुरिन्छ र रक्त संचार एकदमै कम हुन्छ । यस्ता महिला तथा पुरुषहरूलाई सहन नसक्ने गरी छाती दुख्छ । ईसीजीमा हृदयघातका लक्षण अर्थात् एसटिएलिमेसन देखिनुका साथै रगतमा टाेपोलिन पनि बढ्छ । यस्ता बिरामीहरूलाई हृदयघात भएको मानिन्छ । यिनिहरूलाइ सुविधा सम्पन्न अस्पतालमा तुरुन्तै भर्ना गरेर आवश्यक उपचार गर्नुपर्छ । यस किसिमको हृदयघातमा जति चाँडो उपचार भयो, त्यति राम्रो हुन्छ ।

दोस्रो किसिमको मुटु रोग

यस किसिमकाे मुटुराेगमा पनि करोनरी आर्टरी साँघुरिएका हुन्छन् । ईसीजीमा पहिलो किसिममा पाइने खराबीभन्दा बेग्लै किसिमको खराबी अर्थात् ‘एसटिडिप्रेसन’ देखिन्छ । यो किसिमको मुटु रोगमा रगतको टाेपिनिन बढ्छ, यसलाई पनि हृदयघात भनिन्छ ।

पहिलो किसिमको र दोस्रो किसिमको हृदयरोगलाई हृदयघात भएको मानिए तापनि यिनीहरूको उपचार बेग्लाबेग्लै किसिमको हुन्छ ।

तेस्रो किसिमको मुटु रोग

यसमा पनि करोनरी आर्टरीहरू साँघुरिएका हुन्छन् । यो किसिमको हृदयरोगमा आराम गरिरहेको बेलामा पनि छाती दुख्छ । सामान्य परिश्रम गर्दा पनि छाती दुख्छ । ईसीजीमा क्षारिक हृदयघातमा पाइने लक्षणहरू देखिन सक्छन् तर रगतमा टोपोनिन बढ्दैन । छाती दुखेको तीन घण्टापछि मात्रै ट्रपोनिन बढ्ने भएकाले पुनः टाेपोनिन जाँच नगरी हृदयघात भए वा नभएको भन्न सकिँदैन । तेस्रो किसिमको मुटु रोगलाई ‘अन्सटेवल एन्जाना’ भनिन्छ ।

यहाँ उल्लेखित पहिलो, दोस्रो र तेस्रो किसिमका हृदयरोगहरूलाई ‘एक्युट करोनरी सिन्ड्रोम’ समूहमा राखिएको छ । यो समूहमा पर्ने माथि उल्लेख गरिएका रोगहरूको सुरुको उपचार अस्पतालमा भर्ना गरेर गर्नुपर्छ । मुटुका रोगहरूको समयमा नै पहिचान गरी उपचार गर्न करोनरी केयर युनिटमा लगातार ईसीजी मनिटरिङ गर्न आवश्यक पर्छ ।

चौथो किसिमको मुटु रोग

यसमा पनि करोनरी आर्टरी साँघुरिएको हुन्छ । करोनरी आर्टरीहरू धेरै साँघुरा हुने भएकाले यस किसिमको मुटु रोगमा परिश्रम गर्दा मात्र छाती दुख्छ र आराम गर्नेवित्तिकै छाती दुखेको निको हुन्छ । यस किसिमको मुटु रोगलाई स्टेवल एञ्जाना भनिन्छ । यिनीहरूलाई एञ्जानामा प्रयोग गरिने औषधिहरू खान दिएर तुरुन्तै उपचार सुरु गर्नुपर्छ ।

करोनरी आर्टरीहरू कति साँघुरिएका छन् भन्ने कुरा पत्ता लगाउन ईसीजी, एको कार्डियोग्राफी, ट्रेडमिल टेष्ट र आवश्यक परे करोनरी एञ्जियोग्राफी पनि गर्नुपर्ने हुन्छ । करोनरी एञ्जियोग्रामले करोनरी आर्टरी धेरै साँघुरिएको पाइयो भने करोनरी एञ्जियोपल्ष्टीका साथै स्टेण्ट प्रत्यारोपणको पनि आवश्यक पर्छ । मुख्य करोनरी आर्टरी ७०–८० प्रतिशतभन्दा ज्यादा साँघुरिइसकेपछि मात्र एञ्जाइनाका लक्षणहरू देखापर्न थाल्छन् ।

मुटु, मस्तिष्क र गोडाका धमनीहरू साँघुरिने रोग (एथेरोस्क्लेरोसिस)बाट पीडित महिला तथा पुरुषहरू उपचार गराउन चिकित्सकको क्लिनिकमा जान्छन् । मुटुमा रक्त संचार गराउने करोनरी धमनीहरू अचानक साँघुरिँदा हृदयघात हुन्छ ।

करोनरी धमनीहरू कसरी साँघुरिन्छन् भन्ने विषय ज्यादै जटिल छ । यस विषयका विशेषज्ञहरूले गरेका अनुसन्धानहरूले धेरै तथ्यहरू थाहा भइसकेका छन् । तापनि धेरै कुराहरू अझै पत्ता लगाउन बाँकी नै छन् । एथेरोस्क्लेरोसिसका कारण पत्ता लागिसकेपछि औषधिद्वारा उपचार गरेर यो रोगलाई निको पार्न सकिनेछ । अहिलेसम्म पत्ता लागेका उपचारका पद्धतिहरूले करोनरी धमनी साँघुरो हुने रोगको नियन्त्रण मात्र संभव छ ।

करोनरी धमनी तीन पत्रले बनेको हुन्छ । बाहिरी पत्रलाई एडन्भान्सिया, बीचको मिडिया र भित्री पत्रलाई इण्डोथेलियम भनिन्छ । बाहिरी पत्रलाई मसिना रगतका नलीहरूले रक्त संचार गरेका हुन्छन् । इन्डोभेलियम नामक भित्री पत्र इन्डोथेलियल सेलहरूबाट बनेको हुन्छ । यही पत्रबाट नाइट्रिक अक्साइड पैदा हुन्छ र यसले रगतका नलीहरूलाई ठूलो पारी राख्छ । स्वस्थ इन्डोथेलियम भएका रगतका नलीभित्र रगत जम्दैन ।

मृत्यु भइसकेको मांसपेसीलाई पछि उपचार गराउँदा बचाउन संभव हुँदैन् । यसर्थ हृदयघातका लक्षणहरू देखापर्नासाथ साधन सम्पन्न अस्पतालमा बिरामीलाई लगेर उपचार सुरु गर्नुपर्छ । तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले घरमै गएर रोगको निदानपश्चात् जमेको रगत पगाल्ने एम्बुलेन्समै चलाउँदै बिरामीलाई अस्पताल पुर्‍याउन पनि सक्छन् । यसरी चाँडो उपचार सुरु गर्दा औषधिले राम्रो काम गर्छ ।

माथि उल्लेख गरिएको इन्डोथेलियमलाई रोगग्रस्त गराउने कारणहरूमध्ये धुम्रपान उच्चरक्तचाप, डाइबिटिज, बढेको कोलेष्ट्रोल र मोटोपन मुख्य मानिएका छन् । ठूलो भुँडी भएकाहरूको भुँडीको बोसोले मुटु रोग गराउँछ । अधिक मात्रामा मद्यपान गर्ने, फलफूल, साग सब्जी नखाने, नियमित व्यायाम नगर्ने र चिन्तित भइरहनेहरूको पनि करोनरी धमनीको भित्री पत्र रोगग्रस्त हुन्छ ।

रोगग्रस्त इन्डोथेलियमबाट रगतको मोनोसाइट भित्र पस्छ र म्याक्रोफेजमा परिणत हुन्छ । यो म्याक्रोफेजभित्र एलडीएल नामक नराम्रो कोलेष्ट्रोल पस्छ । यसको आकार ठूलो हुन्छ । यस किसिमको म्याक्रोफेजलाई फोमसेल भनिन्छ । फोम सेल, नराम्रो कोलेष्ट्रोल, प्रभावित स्मूथमसल र क्याल्सियम एक ठाउँमा जम्मा भएर इन्डोथोलियमभित्र एउटा डल्लो बन्छ, जसलाई प्ल्याक भनिन्छ । करोनरी धमनीका मसिना रगतका नलीहरू एडभान्सिया भित्र पसेर फुट्न सक्छन् । यसरी भिडियामा रक्तश्राव भएर सेता रक्तकोष वा आरबीसी बाहिर आउँछन् ।

यी आरबीसीहरूको बाहिरी पत्रमा फ्रि कोलेष्ट्रोल हुन्छ, जुन कोषहरूका लागि बिषालु हुन्छ । रोगग्रस्त स्मूथमसल सेलहरूमा क्याल्सियम जम्न सक्छ । करोनरी आर्टरीहरूमा जमेको क्याल्सियम सिटी स्क्यानमा देखिन्छ ।

करोनरी धमनीहरूको भित्री पत्रमा बोसो (एलडीएल- कोलेस्ट्रोल) भएको म्याक्रोफेज जम्मा भएर यो भित्री पत्र मोटो हुनुलाई ज्यान्थोमा भनिन्छ । युवा अवस्थामा ज्यान्थोमाको सुरुवात हुन्छ र यही नै पछि मुटु रोगको कारण बन्छ । यसर्थ पछि मुटु रोग हुन नदिन सानै उमेरदेखि खानपिनमा परहेज गर्नुका साथै नियमित व्यायाम गर्ने बानी बसाल्नुपर्छ ।

माथि उल्लेख गरिएको प्ल्याक करोनरी धमनीको भित्री पत्रविस्तारै विस्तारै ठूलो हुँदै जान्छ र यसले भित्री पत्रलाई ठेलेर रगतका नलीहरूलाई साँघुरो बनाइदिन्छ । करोनरी प्ल्याकको बाहिरी आवरणलाई फाइबर्स क्याप भनिन्छ । यो आवरण धेरै फाइबर्स टिस्युले बन्दा यो मोटो र बलियो हुन्छ । केही व्यक्तिहरूको फाइबर्स क्याप पातलो र कमजोर हुन्छ । बलियो फाइबर्स क्यापले छोपिएको प्ल्याक ठूलो हुँदै गएर रगतको नलीलाई सानो पार्छ ।

सत्तरी–असी प्रतिशतजति करोनरी धमनीहरू साँघुरिएपछि मात्र परिश्रम गर्दा छाती दुख्ने गर्छ । बलियो फाइबर्स क्याप हत्तपत्त फुट्दैन । यसर्थ यस किसिमको करोनरी धमनीको रोगमा हृदयघात हुने संभावना कम हुन्छ । हृदयघात हुने संभावना कम भए तापनि छाती दुख्ने लक्षण देखिने भएकाले यस किसिमको रोगको पनि समयमा नै निदान गरेर उपचार आवश्यक पर्छ ।

कम्जोर, पातलो र फाइबर्स टिस्यु कम भएको फाइबर्स क्याप अचानक फुट्न सक्छ । फुटेको ठाउँमा प्लाटिलेट, रगतमा भएका रगत जम्न मद्दत गर्ने प्रोटिन पदार्थहरू, फाइब्रिनोजन र आरबीसीहरू जम्मा भएर रगत जम्मा हुन थाल्छ ।

रगत जम्न मद्दत गर्ने टिस्यु फ्याक्टर फुटेको प्ल्याकबाट निस्कन्छ । यो रगत जम्ने प्रक्रियाले थोरै समयमा करोनरी धमनीहरूलाई साँघुरो बनाएर मुटुको मांसपेसीमा रक्त संचार हुन दिँदैन र हृदयघात हुन्छ ।

यही नै हृदयघात गराउने मुख्य प्रक्रिया हो । हृदयघातको उपचार जति सक्दो चाँडो गर्नुपर्छ । मुटुको मांसपेसीमा ६ घण्टासम्म पनि रगत संचार भएन भने मुटुको मांसपेसीको मृत्यु हुन थाल्छ । मुटुको मांसपेसी सबै प्रभावित नभएर २४ घण्टासम्म पनि बाँचिरहेको हुन सक्छ । यसर्थ मुटुको मांसपेसीलाई बचाउन मुटुमा रक्त संचार गराउने उपचार सुरु गर्न ढिला गर्नुहुँदैन ।

हिजोआज मुटुको मांसपेसी बाँचिरहेको छ कि छैन भन्ने कुरा विशेष किसिमका जाँचद्वारा पत्ता लगाउन सकिन्छ । मृत्यु भइसकेको मांसपेसीलाई पछि उपचार गराउँदा बचाउन संभव हुँदैन् । यसर्थ हृदयघातका लक्षणहरू देखापर्नासाथ साधन सम्पन्न अस्पतालमा बिरामीलाई लगेर उपचार सुरु गर्नुपर्छ । तालिम प्राप्त स्वास्थ्यकर्मीहरूले घरमै गएर रोगको निदानपश्चात् जमेको रगत पगाल्ने एम्बुलेन्समै चलाउँदै बिरामीलाई अस्पताल पुर्‍याउन पनि सक्छन् । यसरी चाँडो उपचार सुरु गर्दा औषधिले राम्रो काम गर्छ ।

हृदयघातको शंका हुनासाथ ३२५ मिलीग्रामको आस्पिरिन चपाएर खाने सल्लाह पनि अत्यन्तै उपयोगी हुन सक्छ । प्रत्येक घरमा आस्पिरिनको चक्की सधैँ उपलब्ध भइरहनु आवश्यक छ । हृदयघात भएका व्यक्तिहरूलाई क्लोपिडोग्रेल नामक औषधिको ३०० मिलीग्रामको चक्कीलाई पनि सुरुमा खान दिनुपर्छ । पछि आस्पिरिन र ल्कोपोडोग्रेललाई ७५ मिलीग्रामको मात्रामा सधैँ खाने सल्लाह दिनुपर्छ ।