ग्लोबल आइएमई बैंक लिमिटेडको १३औं वार्षिक साधारणसभा आर्थिक वर्ष २०७५/०७६ मा शेयरधनीलाई २५.५ प्रतिशत लाभांश दिने निर्णय पारित गर्दै सम्पन्न भएको छ । बैंकले आव २०७५/०७६ मा दुई अर्ब ७६ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।
बोनस शेयर वितरणपश्चात् बैंकको चुक्ता पुँजी ११ अर्ब ७६ करोड रुपैयाँ पुग्ने बैंकले जनाएको छ । साथै साधारणसभाले जनता बैंक नेपाल लिमिटेडलाई ग्लोबल आईएमई बैंक लिमिटेडमा गाभ्ने प्रस्ताव पारित गरेको छ । सोमबार सम्पन्न साधारणसभाबाट पारित भएसँगै दुई बैक मर्जरका लागि नेपाल राष्ट्र बैंक समक्ष अन्तिम स्वीकृति प्राप्त गरी ग्लोबल आईएमई बैंक लिमिटेडको नामबाट एकीकृत कारोबारका लागि अन्तिम तयारी भइरहेको छ ।
साधारणसभाले बैंकको अधिकृत पुँजी १६ अर्ब रुपैयाँलाई वृद्धि गरी २५ अर्ब रुपैयाँ कायम गर्ने विशेष प्रस्तावसमेत पारित गरेको बैंकले जनाएको छ । बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले मङ्सिरभित्र एकीकृत कारोवार सुरु गर्ने योजना रहेको बताउनुभयो । मर्जरपछि ग्लोबल आईएमई देशकै सबैभन्दा ठूलो र सबल बैंक बन्ने बताउँदै उहाँले शेयरधनीको आकांक्षाअनुरूप आगामी दिनमा अझै सर्वसुलभ बैंकिङ सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
यी दुई बैंकले गत असार २० गते मर्जरका लागि प्रारम्भिक सहमति गरेका थिए भने गत कात्तिक ८ गते मर्जरसम्बन्धी अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । मर्जरपछि बन्ने बैंकको नाम ग्लोबल आईएमई बैंक, अध्यक्ष चन्द्रप्रसाद ढकाल हुने सहमति गरिएको छ भने सञ्चालक समितिमा ग्लोबल आईएमईका तर्फबाट पाँच र जनता बैंकका तर्फबाट दुई जना रहने सहमति भएको छ । त्यस्तै, मर्जरपछि बन्ने बैंकको कार्यकारी प्रमुख अधिकृत परशुराम कुँवर क्षेत्री र वरिष्ठ नायव कार्यकारी प्रमुख अधिकृत महेश शर्मा ढकाल हुने सहमति भएको छ ।
मर्जरपछि ग्लोबल आईएमई बैंक नेपालकै ठूलो बैंक बन्नेछ । बैंकको चुक्ता पुँजी करिब १९ अर्ब रुपैयाँ, कुल निक्षेप दुई खर्ब १० अर्ब रुपैयाँभन्दा बढी र कुल कर्जा लगानी करिब दुई खर्ब रुपैयाँ पुग्नेछ । त्यस्तै, बैंकका शाखा सञ्जाल करिब ३०० तथा सेवा केन्द्रको संख्या ८५० भन्दा बढी हुनेछ ।
बैंकमा तीन हजार २५० भन्दा बढी कर्मचारी रहनेछन् । त्यस्तै, बैंकका २५६ एटीएम, २४१ शाखारहित बैंकिङ सेवा, ३३ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर, तीन वैदेशिक सम्पर्क कार्यालय र करिब २० लाख ग्राहक संख्या रहने बैंकले जनाएको छ ।