सामाजिक अभियन्ता षडानन्दः सामाजिक परिचालनदेखि सांस्कृतिक सुधारकसम्म

सामाजिक अभियन्ता षडानन्दः सामाजिक परिचालनदेखि सांस्कृतिक सुधारकसम्म

यादव चापागाईं  |  दृष्टिकोण  |  मंसिर ०३, २०७६

आबाल ब्रह्मचारी बालागुरु षडानन्द सामाजिक अभियन्ता, शिक्षासेवी, र समाज रूपान्तरणका अगुवा हुनुहुन्थ्यो । यस क्रmममा उहाँले दिङ्लामा वि.सं. १९२८ देखि १९६९ सम्म करिब ४० वर्षको सिर्जनात्मक अवधि बिताउनुभएको थियो । उहाँले गरेका कामहरू ठाउँ र समयका हिसाबले युगान्तकारी, त्यसबेलाको युगभन्दा धेरै अगाडि रहेका छन् । ती कार्यहरू योजनाबद्ध समाज रूपान्तरण अभियानका महत्त्वपूर्ण पाटाहरू रहेका छन् र उल्लेख्य छन् ।

कतिपय त आजको समय सापेक्षसमेत छन् । ठूलो अभियानका रूपमा भएका ती कामहरू व्यापक जनसहयोग जुटाएर भएका छन् । कुशल जनसहयोग परिचालन र असल व्यवस्थापन भएर नै त्यस्ता कार्यहरू संभव भएको देखिन्छ । ती कार्यहरू गर्ने क्रममा उहाँले अपनाउनुभएको कार्यशैली र नेतृत्व विशेषताबाट आजका सामाजिक अभियन्ता र समाजका अगुवाले सिक्न सक्ने धेरै कुराहरू छन् ।

यही तथ्यको सेरोफेरोमा यस लेखमा जनसहयोग परिचालन र संस्थागत व्यवस्थापनमा षडानन्दको योगदानको विश्लेषण र मूल्यांकन गर्ने प्रयास गरिएको छ । यस प्रयासको सन्दर्भमा यहाँ उल्लेख्य के छ भने षडानन्दको योगदान आँकलन गर्ने आधारका रूपमा उहाँका कार्यहरू मात्र रहेका छन् । केही चिठीहरू र गुठीको बन्दोबस्तीका लागि लेखेर छाडेका शिलालेख, ताम्रपत्र, धर्म पत्रिकाबाहेक उहाँका आफ्नै अन्य आलेख पाइँदैनन् । ती गुठीसम्बन्धी कागजात र दस्ताबेजहरू यस लेखका लागि प्रमुख प्रामाणिक सन्दर्भका रूपमा लिइएका छन् । साथै विभिन्न व्यक्तित्वहरूले उहाँको जीवनकालमै लेखेका वा पछि लेखिएका केही कागजात, जीवनी अनि धेरै काव्य र लेखहरू पनि सन्दर्भ सामग्रीहरूमा लिइएका छन् ।

लगभग यी सबै काव्य, लेख र दस्ताबेज षडानन्द प्रतिष्ठानको संग्रहबाट लिइएको छ । यसरी उहाँले गरेका कार्यहरू तथा सो कार्य सफल पार्न अवलम्बन गरेका उपायहरू र तिनको व्यवस्थापन गर्न र दिगो राख्न गरिएका अभ्यासहरू विश्लेषण गरेर आधुनिक व्यवस्थापन र समाज रूपान्तरणका सिद्धान्त र सफल मानिएका उपायहरूका आलोकमा उहाँको योगदान आँकलन गर्ने प्रयास गरिएको छ ।

जनसहभागिता र जनसहयोग लिई गरिएका महत्त्वपूर्ण कार्यहरू

षडानन्दले जनसहभागिता र जनसहयोग लिई गरेका महत्त्वपूर्ण कार्यहरूको प्रकृति हेर्दा तिनलाई निम्नअनुसार वर्गीकरण गर्न सकिन्छ :

संस्थाहरूको स्थापना,
भौतिक निर्माण र सुधार,
रीतिथिति सुधार ।

यसै वर्गीकरणअनुसार उहाँका कार्यहरूका लागि प्राप्त भएको जनसहभागिता र जनसहयोग अनि त्यो सहभागिता र सहयोगका लागि अनुकूल वातावरण के कस्तो रह्यो ? त्यसबारेमा यस खण्डमा विश्लेषण गरिएको छ ।

संस्थाहरूको स्थापना र संचालनमा जनसहयोग र सहभागिता

षडानन्दले दिङ्लामा वि.सं. १९३२ देखि १९६६ सम्ममा केही उल्लेख्य संस्थाहरू स्थापना गर्नुभयो, सञ्चालन गर्नुभयो अनि संचालन कार्यविधि पनि दिनुभयो । उहाँबाट औपचारिक रूपमा स्थापित संस्थाहरूमा सीताराम पाठशाला र सीताराम गुठी महत्त्वपूर्ण रहेका छन् । ती अद्यापि अर्थात् स्थापना भएको झन्डै डेढ शताब्दीपछि पनि सञ्चालनमा छन् ।

सीताराम पाठशालाको महत्त्व नेपालमै अद्वितीय रहेको छ, जुन वि.सं. १९३२ मा गुरुकुलका रूपमा र १९५५ सालमा विद्यालयको रूपमा स्थापना भएको हो । जनताका छोराछोरीका लागि जनस्तरबाटै स्थापना र संचालन भएको यो पहिलो नमुना, अगुवा विद्यालय हो । त्यसैगरी अर्को संस्थामा सीताराम गुठी रहेको छ । यो पनि त्यसबेला कतै नभएको नमुना र बहुआयामिक उद्देश्य समेटेको गुठी हो । यसअन्तर्गत विद्यालय, मन्दिर, भौतिक संरचनाहरू, धार्मिक–सांस्कृतिक कार्यहरूको उन्नयन र व्यवस्थापनका साथै ऋण प्रदान सेवा पर्थे ।

सीताराम गुठीको सम्पत्तिमा धर्म पत्रिका गरेको बखतमा तीन हजार २०० भन्दा बढी रोपनी जग्गा र एउटा घुम्ती नगद कोष (मोरु १,१५०) थियो । नेपालमा यो आकारका गुठी विरलै मात्र छन् । यस्तो बहुआयामिक गुठी त त्यसबेलासम्म कतै थिएन ।

यहाँ उल्लेख गर्नै पर्ने यो छ कि गुठीको सम्पत्ति जनसहभागिताबाट नै जुटेको हो । उहाँले आफ्नो कमाइबाट सुरु गरेको त्यस्तो पहलमा सयौँ जनाले चालीस वर्षसम्म अलिअलि थप्दै त्यतिको सम्पति जुट्न पुगेको हो । उहाँले दुई पुस्ताका मानिसलाई निरन्तर परिचालन गरेर, समाजलाई विश्वासमा लिएर पूर्ण सहभागिताका आधारमा यो संस्थाको निर्माण भएको देखिन्छ ।

व्यवस्थापन र जनसहभागिता परिचालनको दृष्टिमा यी अग्रणी संस्थाहरू आजको मापदण्डमा पनि ज्यादै महत्त्वका र शास्त्र र व्यवहारसम्मत ठहर्छन् । प्रथमतः उहाँले ती संस्थाहरू स्थापना मात्र गर्नुभएन, तिनीहरूको सुसंचालन र निरन्तरता सुनिश्चित हुने प्रबन्ध पनि गर्नुभयो । केही समय आफैँले संचालन गरेर देखाउनुभयो अनि सहयोगी र शुभचिन्तकहरूलाई संचालन र व्यवस्थापनमा सक्रिmय सहभागी गराएर व्यवस्थापन प्रक्रिया र सीप हस्तान्तरण गर्नुभयो । यस प्रकार उहाँले धर्म पत्रिका गरेर छाड्दासम्ममा धेरै मानिसहरू ती संस्थाहरू कसरी अझ राम्रोसँग चलाउन सकिन्छ ? भनेर छलफल गर्न सक्ने र सामूहिक निर्णय गर्न सक्ने भइसकेका थिए ।

उहाँले निर्माण गरेका ती संरचनाहरूमा त्यस समयका उत्तम डिजाइन र सर्वाधुनिक निर्माण सामग्रीहरूः तेलिया इँटा र सुर्की चुना प्रयोग भएको थियो । उहाँको त्यो अभियानअन्तर्गत भएका सार्वजनिक सुविधाका निर्माण कार्यहरूमा नारायण धारा, रामधारा र लक्ष्मण धारा जस्ता संरचना थिए ।

त्यही क्षमता भएकाले नै उनीहरूले घुम्ती ऋणकोष खारेज गरी गुठीको सम्पति वृद्धि गर्ने र त्यो ऋणकोषको आयबाट गर्ने भनेर तोकिएका कामहरू गुठीकै आयबाट सम्पन्न गर्ने निर्णय सामूहिक रूपमा गर्न सके । व्यवस्थापन र जनसहभागिताको दृष्टिबाट हेर्दा उहाँले स्थानीयहरूबाट सम्पति र काम मात्रै लिनुभएन, उनीहरूलाई सीप, ज्ञान, क्षमता र हौसला पनि दिनुभयो । यसरी स्थापित संस्थाहरूको सुनिश्चितता पनि गर्नुभयो ।

अर्को कोणबाट हेर्दा ती संस्थाहरू समाजका बृहत् र फरक आवश्यकता परिपूर्ति गर्ने खालका थिए, जसले सहभागिताको लागि वातावरण बनाए । शिक्षा लिन जनकपुर वा वनारस जानुपर्ने बाध्यता भएको त्यसबेला त्यहीँ शिक्षाको व्यवस्था थियो, शिक्षार्थीहरूलाई खानपान र वासस्थानको व्यवस्था थियो । सांस्कृतिक गतिविधि र विकासका लागि कार्यक्रमहरू र संशाधनको व्यवस्था थियो । आर्थिक आवश्यकता परिपूर्ति गर्नका लागि संस्थागत ऋणको व्यवस्था थियो । तत्कालीन समाजका विभिन्न पाटाहरू समेटेका ती संस्थाहरू समाजका लागि ज्यादै उपयोगी र परिपूरक थिए । परिपूरक हुनुका साथै एउटै सूत्र– सीताराम गुठीमा आबद्ध तिनीहरू एकअर्काका परिपोषक पनि थिए । विद्यालयको स्रोत निरन्तरता सीताराम गुठीबाट सुनिश्चित गरिएको थियो भने गुठीको व्यवस्थापन दक्षता विद्यालयले आपूर्ति गर्थ्यो ।

गुठीले सांस्कृतिक, धार्मिक, अध्यात्मिक विकास र निरन्तरताका लागि स्थानीयलाई सहयोग पु¥याउँथ्यो भने स्थानीयहरूले गुठीको रेखदेख र विकासका लागि योगदान गर्थे । यसरी स्थापना भएका यी सेवाहरू फरक देखिए पनि एकआपसमा बाँधिएका, अन्योन्याश्रित थिए । एकआपसमा जेलिएका भए पनि कार्यक्षेत्रमा स्पष्टता थियो, यिनीहरूका बीचका अन्तरसम्बन्धहरू परिभाषित गरिएको थियो, जसले गर्दा एकअर्काको कार्यक्षेत्र स्पष्ट थियो ।

दिगो रहन सक्ने सही कारोबार र सेवाहरू पहिचान गर्नु, तिनीहरूको कार्यक्षेत्र छुट्याउनु, अन्तरसम्बन्ध परिभाषित गर्नु, नियन्त्रण र सन्तुलनसहित साझा उद्देश्यतर्फ ती सबैको गन्तव्य निर्धारण गर्नु रणनीतिक अभियान संचालन तथा व्यवस्थापनका लागि प्रमुख आवश्यक तत्त्व हुन् । जनसहभागिता जुट्नका लागि पनि यिनै तत्त्वहरू आवश्यक हुन्छन् र कुनै पनि सामाजिक अभियानमा जति बढी यी रहन्छन्, त्यति नै बढी जनसहभागिता र जनस्वामित्व निहीत हुन्छ । यी तत्त्वहरू षडानन्दको अगुवाइमा जनसहभागिता परिचालन गर्दै स्थापित र संचालित संस्थाहरूमा रहेको पाइन्छ । अझ अधिकतम मात्रामा रहेको पाइन्छ्, जो षडानन्दको अभियानको विशेषता हो, विशिष्टता हो ।

भौतिक निर्माण र सुधारमा जनसहयोग र सहभागिता

षडानन्दको अगुवाइ वा निर्देशनमा दिङ्ला बजार वरिपरि भएका भौतिक संरचनाहरूको निर्माण र सुधारका कार्यहरूको सूची निकै लामो छ । त्यसबेला धेरै मन्दिरहरू निर्माण भएका छन् । तिनीहरूमा सीताराम मन्दिर, षडेश्वर शिवालय, राधाकृष्ण मन्दिर, नर्मदेश्वर मन्दिर अनि बजार नजिकै बनेका सरस्वती, गणेश, लक्ष्मीका मन्दिर रहेका छन् । ती मन्दिरहरूको संरचना समकालीन आधुनिक वास्तुकला र शिल्प भएका संरचना थिए । मन्दिरमा स्थापित देवी देवताका मूर्तिहरू काठमाडौं वा भारतदेखि निर्माण गराई त्यहाँ पु¥याइएका थिए । मन्दिर परिसरमा प्रस्तर मूर्तिहरू पनि बने । त्यसैगरी त्यहाँ विद्यालय, छात्रावास जस्ता संरचनाहरू पनि निर्माण भए ।

अर्को प्रकारको निर्माण सुधारको संरचनामा बगैँचा र साना र ठूला कुण्डहरू छन् । ससाना सीता कुण्ड, हनुमान कुण्ड निर्माण भएका थिए भने बजार नजिकै अलिक ठूलो पार्वती कुण्ड थियो । पार्वती कुण्डलाई सिँढी, पेटी, बुर्जा, वरिपरि फूलबारीसमेतबाट सजाइएको थियो । त्यस कुण्डमा जमिनमुनिबाट पानी लगातार आइरहने र त्यसैगरी जमिनमुनिबाट नै निकास पनि भइरहने संरचना निर्माण भएको थियो ।

उहाँले निर्माण गरेका ती संरचनाहरूमा त्यस समयका उत्तम डिजाइन र सर्वाधुनिक निर्माण सामग्रीहरूः तेलिया इँटा र सुर्की चुना प्रयोग भएको थियो । उहाँको त्यो अभियानअन्तर्गत भएका सार्वजनिक सुविधाका निर्माण कार्यहरूमा नारायण धारा, रामधारा र लक्ष्मण धारा जस्ता संरचना थिए । साथै रथ पनि हिँडाउन मिल्ने गरेर बजार, पाठशाला र धाराहरू जोड्दै चौडा बाटो निर्माण भएको थियो । त्यसैगरी त्यहाँ सामुदायिक खुला चौर र गौचरनको समेत व्यवस्था थियो ।

षडानन्दको काममा भौतिक, अभौतिक एवं सामाजिक संलग्नताका सबै तत्त्वहरू पाइन्छन्, जसले मानिसलाई सन्तुष्ट बनाउँछ । भौतिक निर्माण सुधारले भौतिक पक्ष समेटेको छ । हाट, मेला, नियमित पूजा, पुराण र प्रवचन जस्ता कामहरूले सामाजिक सम्बन्ध र आबद्धताको आवश्यकता पूरा गरेका छन् । यस्ता आयोजनहरू आफैँमा महत्त्वपूर्ण छन् । हरेक हप्ता हाट लाग्छ, किनबेच हुन्छ । आर्थिक रूपमा यो अतिआवश्यक सहायक तत्त्व हो ।

उहाँका अनुयायी भतिजा, जसले हिसाबकिताब राख्ने काम पनि गर्नुहुन्थ्यो, नन्दिकेश्वर अधिकारीका अनुसार मन्दिर, परिसर र भवन अनि कुण्डहरूको कुल निर्माण लागत एक लाख रुपैयाँ नगद रहेको अनुमान छ । गुठीको जग्गा र अन्य श्रमदान जस्ताको हिसाब यसमा उल्लेख छैन । कति मानिसहरू अन्य विभिन्न काममा सहभागी भए, त्यसको हिसाब यसमा देखिँदैन । प्राप्त अन्य अभिलेखहरूबाट पनि यो स्पष्ट हुँदैन कि मूर्तिहरू, जो नेपाल र भारतका विभिन्न ठाउँहरूबाट ल्याइए, रङ्गीचङ्गी माछाहरू कहाँ कहाँबाट ल्याइए, त्यसको विवरण भेटिँदैन । अनुमानअनुसार त्यो एक लाख रुपैयाँ दिङ्लामा कामदारहरूलाई दिएको नगद रकम मात्रको हिसाब हो । त्यो लरतरो काम थिएन र एक्लै हुन सक्ने काम पनि थिएन । व्यापक जनपरिचालन र सहयोग जुटाएर मात्र हुन सक्ने काम थियो । त्यस्तै  भयो ।

त्यसबेला सम्पन्नले गुठी राख्नु नयाँ कुरो थिएन, राख्थे । राजा, महाराजाले मन्दिर बनाउँथे, बनाए । सरकारले बाटोघाटो, खुला स्थल, पौवा बनाउँथे । तर, यहाँ त त्यत्रो काम एक गरिब गर्भे टुहुरो, एक सन्तले गरेको थियो । त्यस्तो सन्त, जससँग कुनै भौतिक सम्पति थिएन । जसको आफ्नो सम्पत्ति भन्नु ज्ञान, ध्यान र अध्यात्मिक सिद्धि मात्र थियो अनि थियो समाज रूपान्तरणको खाका, रणनीति, कार्य योजना र कार्यक्रम । बाँकी सबै त जनसहयोगबाट नै भएको थियो ।
उहाँको प्रयासमा समाजको सबै तप्का एक मुख भएर सामेल भएको छ । त्यहाँ जससँग जे छ, त्यो उसले अभियानका लागि दिएको छ । कसैले जग्गा दिएको छ, कसैले श्रम गरेका छन् । कसैले निर्माण सामग्री दिएको छ, कसैकसैले भवन नै बनाएर अर्पण गरेका छन् ।

सामाजिक परिचालन र रीतिथिति सुधार

भौतिक विकास र संघसंस्थाहरूको निर्माण जस्ता स्थूल रूपमा देखिने सम्पदा विकासका अलावा षडानन्दबाट अन्य केही कामहरू भएका छन्, जसलाई अभौतिक सांस्कृतिक सम्पदाको विकासमा राख्न सकिन्छ । ती सम्पदाहरूमा नियमित साप्ताहिक हाट अनि वार्षिक मेलाहरूको परंपरा, मन्दिरहरूमा नित्य पूजा, पुराण, प्रवचन आदिको व्यवस्था रहेका छन् । समाज रूपान्तरण क्रमका दृष्टिले यी कार्यहरू ज्यादै दूरगामी महत्त्वका कदम ठानिन्छन् र यी जनसहभागिता र जनपरिचालनका प्रभावकारी माध्यम सिद्ध भएका छन् ।

भनिन्छ, मानिसको व्यक्तिगत खुसी र समाज विकासका लागि व्यक्ति–व्यक्तिको सुख सुविधा आवश्यक त हुन्छ तर यो मात्र पर्याप्त हँुदैन । भौतिक सुख सुविधा सँगसँगै खुसी हुनका लागि हरेक मानिस सामाजिक संघसंस्था र सम्बन्धहरूमा आपूmलाई सक्रिय संलग्न भएको पनि देख्न चाहन्छ । भौतिक सुविधा र सामाजिक संलग्नतामा यदि सुदूर भविष्यको परिकल्पना पनि सँगसँगै छ भने त्योचाहिँ सुनमा सुगन्ध हुन्छ । किनकि उसले म किन यो सब गर्दै छु ? भन्ने प्रश्नको जवाफ लिन अरू कसैलाई सोध्नुपर्दैन । आफ्नो गन्तव्य स्पष्ट छ भने मानिस अझ बढी सक्रिय हुन्छ । षडानन्दले भौतिक, संस्थागत र सांस्कृतिक सम्पदाको विकास सँगसँगै गर्नुभएको छ ।

षडानन्दको काममा भौतिक, अभौतिक एवं सामाजिक संलग्नताका सबै तत्त्वहरू पाइन्छन्, जसले मानिसलाई सन्तुष्ट बनाउँछ । भौतिक निर्माण सुधारले भौतिक पक्ष समेटेको छ । हाट, मेला, नियमित पूजा, पुराण र प्रवचन जस्ता कामहरूले सामाजिक सम्बन्ध र आबद्धताको आवश्यकता पूरा गरेका छन् । यस्ता आयोजनहरू आफैँमा महत्त्वपूर्ण छन् । हरेक हप्ता हाट लाग्छ, किनबेच हुन्छ । आर्थिक रूपमा यो अतिआवश्यक सहायक तत्त्व हो ।

वर्षमा दुईवटा मुख्य मेलाहरूः राम नवमी र शतबीजको आयोजना र व्यवस्था गर्नाले मानिसहरूमा नियमित दैनिकी कामबाट नयाँ सिक्ने अवसर मिल्छ, संयोजन र व्यवस्थापन क्षमता बढ्छ । आत्मविश्वास बढ्छ । पुराण र नीतिकथा वाचनले मानिसहरूको ज्ञानको दायरा बढाउँछ । विभिन्न जात, समुदाय र गाउँका युवायुवती, वृद्धवृद्धा, महिला र पुरुषका लागि यी मेलाहरू एकअर्काको रहनसहन बुझ्न, एकअर्काबीच घुलमिल हुन र सीप, ज्ञान र परंपराको आदानप्रदान गर्न उपयोगी रहन्छन् । यी सबबाट प्रत्यक्ष देखिने आवश्यकता पूरा हुनुका अतिरिक्त मानिस एक ठाउँमा भेला भएपछि समाचार आदानप्रदान हुन्छ, विचार मन्थन हुन्छ र जनमत निर्माण हुन्छ ।

रुढीवाद र अन्धपरंपरा सुधार षडानन्दको अर्को महत्त्वपूर्ण योगदानको विषय रहेको छ । सामूहिक ब्रतबन्ध गराएर कम खर्चमा सांस्कृतिक परंपरा कायम राख्न सकिने उदाहरण उहाँले देखाउनुभयो । महिलालाई सती जान बाध्य गरिने कुप्रथा उहाँकै पहलमा दिङ्ला क्षेत्रमा अन्त्य भयो । त्यस्तै, उतिबेला घरघरमा तुलसी रोप्न प्रेरित गरी तुलसी घरमा रोप्नुहुन्न भन्ने अन्धविश्वास पनि उहाँले तोड्नुभएको थियो ।

पूजाआजा गर्दा पानको सट्टा स्थानीय परिवेशमा उपलब्ध रैथाने पात चाबो चलाई सबैलाई राहत दिनुभयोे । तुलादानको कार्यक्रममा फलाम र तेललाई यमराजको भाग भन्दै त्यहाँका पुरेतहरूले लिन नमानेको अवस्थामा उहाँले लिइदिएर त्यस्तो गलत विश्वासको खण्डन गर्नुभयो ।

यस्ता कामहरूले उहाँले जनजीवनमा रुढी अन्धपरंपराको सट्टा परिवर्तनको बाटो दिनुभएको थियो । उहाँको यस्तो कदमका विरोधीहरू थिए, विरोध गरेका पनि थिए तर उहाँ त्यस समयका परिवर्तन पक्षधर शक्तिहरूलाई साथ लिएर अघि बढिरहनुभयो र विरोध नगरीकन नै विरोधीहरूहरूलाई परिवर्तनको बाटोमा सहभागी गराउनुभयो । विरोधीहरूलाई पनि आदरका साथ सामेल गराउँदै अघि बढ्ने उहाँको स्वभाव जनाउने प्रसंगहरू धेरै पाइन्छन् । यस्तै स्वभावहरूका कारण उहाँले सामाजिक रीतिथिति सुधार गर्ने काममा व्यापक सहभागिता र सहयोग पाउन सक्नुभएको देखिन्छ ।

क्रमशः

(चापागाईंले २०७६ मंसिर १ गते प्रज्ञाप्रतिष्ठान, संस्कृति विभाग र आबाल ब्रह्मचारी षडानन्द प्रतिष्ठानद्वारा आयोजित ‘राष्ट्रका लागि आबाल ब्रह्मचारी षडानन्दको योगदान’ विषयक विचार गोष्ठीमा प्रस्तुत गर्नुभएको गोष्ठीपत्रबाट यो आलेख लिएको हो – सम्पादक ।)