भरत भूसाल | दृष्टिकोण | फागुन ०७, २०७५
कुनै दिन संसदीय गणितका हिसावले करिब–करिब अल्पमतमा पुग्ने निश्चित भएर राजीनामा गरेका प्रधानमन्त्रीलाई संसद् भवनवाट हजारौं युवाहरूले भव्य जुलुससहित बालकोट निवासमा भित्र्याउँदै सम्मान प्रकट गरेका थिए । यसरी सम्मान गर्ने युवाहरू प्रायोजित वा भाडाका थिएनन् भने त्यो घटना ऐतिहासिक मान्दा पनि हुन्छ । किनभने आजसम्म सत्ताबाट बाहिरिँदा कुनै पनि प्रधानमन्त्रीले त्यस्तो सम्मान पाएको इतिहास छैन । जो कोहीले त्यस्तो अवसर पनि पाउँदैनन् ।
त्यसबेला भारतले लगाएको नाकाबन्दीविरुद्ध तत्कालीन नेकपा एमाले सिंगै उभिएको सन्देश दिइएको थियो । अर्को भाषामा भनौं , त्यतिबेला तत्कालीन एमाले स्वाभिमानको प्रतीक बनेको थियो । स्वभावतः नेकपा एमालेको अध्यक्ष तथा प्रधानमन्त्री समेत भएकाले त्यसको प्रतीक केपी ओली नै थिए । सायद केही हुन्छ कि ! भन्ने आशा थियो आम सर्वसाधारणमा । त्यसैले युवाहरू राजीनामा घोषणा गरिसकेका प्रधानमन्त्रीको समेत सम्मान र बिदाइमा सडकमा मात्र आएनन्, ओली निवाससम्म मोटरसाइकल र्याली लिएर नै पुगे ।
प्रधानमन्त्री केपी ओलीको दोस्रो कार्यकाल चलिरहँदा माइतीघरमा युवाहरू पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा’बोलको गीतमा नाचेर विरोध जनाइरहेका छन् । नेपाली समाजमा यस्तो मनोविज्ञान किन समय–समयमा देखापर्छ ? नेपाली युवाहरूमा यस्ता स–साना कुरामा बढी नै उत्तेजना आउँछ ? यसको जवाफ राज्यले समयमा नै खोजी गर्नुपर्ने विषय हो । तर, यसतर्फ राज्य र राज्य सञ्चालकहरूको खासै ध्यान गएको पाइँदैन ।
नेपाली राजनीतिका उच्च ओहदामा रहेका मानिसप्रति आमरूपमा यति धेरै घृणा र दुर्भावना किन फैलिन्छ वा फैलाइन्छ ? यसमा को दोषी छ ? उच्च ओहदामा बसेका मानिसको स्वभाव वा सुविधाभोगी दिनचर्या कति जिम्मेवार छ ? राजनीतिज्ञ सबै ठिक, आलोचक र आरोप लगाउनेहरू मात्र गलत भन्न मिल्छ कि मिल्दैन ? मेरो विचारमा समस्या राजनीतिको उच्चपदस्थ खेलाडीहरूमा छ र त्यही ठाउँबाट समस्याको समाधान खोजिनुपर्छ । तर, त्यहाँबाट समाधान खोज्नु त कताकता सामाजिक सञ्जाल नियन्त्रणलाई समाधान ठान्ने बाटो अवलम्बन गर्नतर्फ उद्यत भएको देखिन्छ ।
सायद, सामाजिक मर्यादाको आरम्भ नेतृत्वबाटै सुरु हुने गर्छ । नेतृत्वले आफ्ना कार्यकर्तालाई कस्तो राजनीतिक संस्कार र संस्कृति दिएका छन्, त्यसैले सामाजिक चरित्रको विकास गर्छ भन्ने मान्यता छ । विगतमा तत्कालीन नेकपा एमालेले महाधिवेशनताका एमाले समर्थकहरूद्वारा सञ्चालित साप्ताहिक पत्रिकाको संकलन गरेर हेर्ने हो भने प्रष्टसँग देख्न सकिन्छ । पार्टीभित्रकै आफू असहमत खेमाका नेतालाई चरम लाञ्छना, आरोप र घृणा फैलाउने कति काम भएको छ ? तत्कालीन प्रधानमन्त्री स्व. मनमोहन अधिकारीले संसद् विघटन सिफारिसविरुद्ध सर्वाेच्च अदालतले दिएको फैसलाविरुद्ध सडकमा उत्रेर स्वतन्त्र न्यायपालिकाको हुर्मत काड्ने विषय भनौं वा प्रधानसेनापति कटुवाल काण्डपछि तत्कालीन माओवादीले एमाले–कांग्रेसलाई प्रयोग गरेका शब्दहरूको संकलन गर्ने फुर्सद निकाल्ने हो भने कस्तो ‘घृणित’ साहित्य तयार हुन्थ्यो होला ? यसको सहज अनुमान गर्न सकिन्छ ।
एमाले वा कांग्रेसले एक–अर्काविरुद्ध प्रयोग गर्ने अनादर, घृणा र मर्यादारहित शब्द र पदावली आखिर सबैले कान थोत्रिने गरी सुनेकै हो । आखिर समाज र युवा पुस्ताले सिकेको पाठ त्यही हुनुपर्छ । जो समयसमयमा सडकमा प्रकट हुने गर्छ । मेरो विचारमा अहिले देखिएको विरोध पनि त्यसकै निरन्तरता हो ।
विगतमा एनसेल ठगी काण्डको विरोधमा युवा नेता ठाकुर गैरेको सक्रियतालाई साथ नदिने साविक एमाले कार्यकर्ताहरूले गायक पशुपति शर्मालाई केही भन्ने नैतिकता कसरी राख्न सक्छन् ? भ्रष्टाचारका विरुद्धधर्ना, जुलुस नगर्ने अखिल र युवा संघले भ्रष्टाचार र विकृतिको गीत लेख्ने र गाउने पशुपति शर्माको विरोध किन गर्नेे ?
सार्वजनिक मर्यादा, सम्मान, सहिष्णुता र शिष्टताको क्षयीकरण नेपाली समाजमा दिनानुदिन बढ्दै गएको छ । सामान्य विषयमा असहमत हुनासाथ अनेक थरिका आक्षेप, आरोप, मर्यादाहीन, तथ्यहीन प्रपोगाण्डा मच्चाउनु सामान्य दिनचर्या नै भइसकेको छ । अथवा भनौं अर्कोलाई खुइल्याउँदा आफू रमाउने, आफैलाई कसैले खुइल्याउँदा भने तिल्मिलाउने प्रवृत्तिलाई राम्रो मान्न सकिन्न ।
उग्र समर्थक, उग्र विरोधी, असहिष्णु, उत्तेजक, अशिष्टता नेपाली सामाजिक सञ्जालका पर्याय नै भएका छन् । विरोध र समर्थनको सापेक्षिक विष्लेषणले सामाजिक सञ्जालमा प्रायः ठाउँ पाउँदैन । त्यसमा छलफल हुँदैन । पूरै ठिक वा पूरै बेठिक भन्ने कुराले नै अधिक स्थान पाइरहेको छ । यसलाई समाजशास्त्रीहरूले सामाजिक रोग खुट्याउने काममा ढिला भइसकेको त होइन । यदि यो सामाजिक रोग हो भने यसको निराकरण र यसको उपचार के हो ? सामाजिक मनोविज्ञहरूले घोत्लिने समय आइसकेको छ । तर, मलाई लाग्छ– हामी स्वार्थपे्ररित सामाजिक मनोरोगले अलि बढी नै ग्रस्त हुँदै गएका छौं । यसको समयमा नै उपचार नगर्ने हो भने हाम्रो समाज अझ हिंस्रक, उत्तेजक, असहिष्णु हुने कुरामा निश्चित छ ।
नेपाली राजनीतिका उच्च ओहदामा रहेका मानिसप्रति आमरूपमा यति धेरै घृणा र दुर्भावना किन फैलिन्छ वा फैलाइन्छ ? यसमा को दोषी छ ? उच्च ओहदामा बसेका मानिसको स्वभाव वा सुविधाभोगी दिनचर्या कति जिम्मेवार छ ? राजनीतिज्ञ सबै ठिक, आलोचक र आरोप लगाउनेहरू मात्र गलत भन्न मिल्छ कि मिल्दैन ? मेरो विचारमा समस्या राजनीतिको उच्चपदस्थ खेलाडीहरूमा छ र त्यही ठाउँबाट समस्याको समाधान खोजिनुपर्छ । तर, त्यहाँबाट समाधान खोज्नु त कताकता सामाजिक सञ्जाल नियन्त्रणलाई समाधान ठान्ने बाटो अवलम्बन गर्नतर्फ उद्यत भएको देखिन्छ ।
पशुपति शर्माको आशय राम्रो हो । तर, केही शब्दमा उनी चिप्लिएका छन् । सायद मलेसिया र खाडीका नेपालीहरूको पीडाले उनलाई पनि पोलेको होला । तर, राम्रा सर्जकहरूले अशिष्ट नबोल्नु राम्रो । मिठो शैलीमा अझै कडा कुरा आउनु आवश्यक छ ।
अहिले सरकारको आलोचनालाई मलजल गर्ने विषय आयल निगमको जग्गा घोटाला काण्डमा कारबाही गर्ने, एनसेलको ठगीबाट राज्य बचाउने र दलभित्र यसका मतियारहरूलाई कारबाही गर्ने, ठूला भ्रष्टाचारीलाई कारबाही गर्ने काम एक कदम अगाडि बढाइदिएको भए पशुपति शर्माले कस्तो गीत गाउँथे होला कल्पना गरौं त ? अख्तियार आयुक्तको घुस काण्डको बारेमा न सरकार बोल्छ, न अख्तियार बोल्छ । वाइडबडीको ‘लटरपटर’मा भएको के हो ? न सरकार बोल्छ, न जाँच आयोगलाई काम गर्न लगाइन्छ ? सुन काण्डको सुरुवात देउवाकालमा भएको थियो, अन्त ओली कालमा । सरकारले यसको छानबिनको निष्कर्ष जनतामा ल्याउने कुरामा किन चुक्नुपर्ने कुनै कारण देखिँदैन ? दुनियालाई थाहा छ– सुन तस्करका मूल नाइके र सुन एयरपोर्टबाट बाहिरिएको करिब दुई महिनापछि मात्र सुनको खोजी भएको थियो । त्यो सुनको डल्लो भेटिने सम्भावना थिएन र छैन । तर, छानबिन कहाँ पुग्यो भन्नेबारे प्रष्ट पार्दा सरकारलाई घाटा हुने विषय थिएन ? यातायातको सिण्डिकेट हटाउने वाचा र प्रचार केले रोक्यो ? यसको अवस्था के छ ? यो प्रयत्न किन रोकियो भन्ने कुरा प्रष्ट पार्दा समस्या कहाँनेर छ ? धेरै कुरा समयमा सूचना दिन नसक्दा पनि समस्या भएको छ । सूचना किन लुकाइन्छ ? यी यस्ता कारण छन्, जसले सरकार र राजनीतिका शीर्ष व्यक्तिहरूको मानमर्दनमा समाजले समय खर्च गरिरहेको छ ।
भ्रष्टाचार र राजनीतिक मिलीभगतमा हुने हेराफेरी नै देश अधोगतिमा जाने एक मात्र कारण हो भन्ने कुरा आमनागरिक निश्कर्ष छ । हुन त प्रधानमन्त्रीले अब भ्रष्टाचार हुन दिन्न भन्नुभएको छ । विगतमा भएका भ्रष्टाचारका बारेमा बोल्न केले छेकेको छ ? कानुन छैन कि ? प्रमाण छैन कि शासकीय सामथ्र्य छैन ? जसले भ्रष्टाचार रोक्न बलियो आँट दिँदैन ? जब सरकार र राजनीतिक वृत्त यस्ता कुराबाट चुक्छ, समाजमा आम निराशा उत्पन्न हुन थाल्छ र पशुपति शर्माहरूका गीत फुर्न थाल्छन् । अहिले गीत मात्र फुरेको छ, कुनै दिन अराजक आक्रमण र हिंसा फुर्न थालेमा समाज र व्यवस्था कहाँ पुग्ला ? त्यसैले समयमा नै सचेत हुने हो कि ?
पशुपति शर्माको आशय राम्रो हो । तर, केही शब्दमा उनी चिप्लिएका छन् । सायद मलेसिया र खाडीका नेपालीहरूको पीडाले उनलाई पनि पोलेको होला । तर, राम्रा सर्जकहरूले अशिष्ट नबोल्नु राम्रो । मिठो शैलीमा अझै कडा कुरा आउनु आवश्यक छ । दुनियाले चर्चा गरेका राष्ट्रिय सहमतिका भ्रष्टाचारमा सरकार र नेकपाले नबोलेर सार्वजनिक मर्यादा र शिष्टाचारको विकास हुँदैन । यसले नेता र संस्थाहरूविरुद्ध घृणा फैलाउने सामाजिक मनोरोग अझै बढ्छ । समय छँदै ध्यान दिनु सबैका लागि राम्रो ।