धन्य गणतन्त्र ! : राजनीतिमा बढ्दो लाजनीति

धन्य गणतन्त्र ! : राजनीतिमा बढ्दो लाजनीति

रूपक अलङ्कार  |  दृष्टिकोण  |  मंसिर ०५, २०७६

दर्शनले सर्वप्रथम राजनीतिलाई प्रभावित पार्छ र विस्तारै त्यो जनजीवनमा भिज्न थाल्छ । त्यसरी विस्तारै सर्वस्वीकार्य बनेको दर्शनले समाजलाई पनि आफ्नै रङमा ढाल्दै लान्छ अनि केही समयमा त्यही दर्शनमा पनि विकार देखिन थाल्छन् । दर्शन आफैँ कर्मकाण्डीय दलदलमा फस्न थाल्छ ।

परंपराका, रुढीवादका, संस्कृतिका अनेकौँ पाप्राहरू दर्शनमाथि थपिँदै जान्छन् । अन्त्यमा त्यो दर्शन कस्तो थियो भन्ने कुरा नै निर्णय गर्न अप्ठ्यारो हुन्छ । यसरी एउटा जीवनको व्याख्या गर्ने  विचारशास्त्र भुत्तो बनेर रद्दीको टोकरीमा थन्किन पुग्छ ।

संसारलाई बदल्ने राजनीतिले हो र राजनीतिलाई बदल्ने विचारले वा दर्शनले हो । दर्शनले मार्गदर्शन गरेको राजनीति मात्र उपयुक्त दिशामा अघि बढ्न सक्छ । दर्शन र  राजनीतिलाई जोड्ने भनेको चरित्रले हो । चरित्रविनाको मानिसले दर्शनको उपदेश गर्नु हास्यस्पद हुन्छ । दर्शनविनाको मानिसको हालत त झनै खराब हुन्छ नै ।

कुनै पनि मौलिक विचार वा दर्शनविना राजनीति गरेर सफलता हासिल गर्ने नेता कोही पनि छैनन् । नेता गाली गर्ने पात्र मात्र होइनन्, ती त परिवर्तनका संवाहक पनि हुन् । हामी यतिखेर राजनीति जगत्का भुइँफुट्टाहरूलाई पनि ‘नेताजी’ भनेरहेका छौँ, जोसित न नैतिकता छ, न नीति । जोसित नीति छ र नैतिकता पनि, वास्तवमा त्यो नेता हो । नेता त जनताको विश्वास हो । आड हो । भरोसा हो । नेता त एउटा विचार र विश्वासको धरोहर हो । नेतामा नेतृत्व नहुनेवित्तिकै अनुसर्तामा चरम निराशा, हतोत्साह र आत्मग्लानिको विकास हुन्छ । त्यसैले जनताबाट आफूप्रति गरिएको विश्वासलाई कुनै हालतमा पनि गुम्न नदिने व्यक्ति नै वास्तवमा सफल नेता हो ।

खासमा भन्ने हो भने विकास र परिवर्तन भनेको वर्गीय द्वन्द्वले सिर्जना गरेका अवस्था मात्र होइन, त्यसमा योगदान कुशल नेतृत्वको पनि हुन्छ । युद्धमा होमिएका सिपाहीहरू सबै दार्शनिक विचारले ओतप्रोत हुँदैनन् । उनीहरूको विश्वास युद्धको नेतामाथि हुन्छ । त्यही विश्वासरूपी चंगाको धागामा उनिएर उनीहरू मोर्चामा बाँधिएका हुन्छन् ।

क्रान्तिमा लागेका सबै समर्थकले कार्ल माक्र्सको पुँजी पढेका हुँदैनन् र एंगेल्सको  परिवार र निजीको सूत्र घोकेका हुँदैनन् । उनीहरू पनि नेतृत्वमाथिको विश्वासमा अडेका हुन्छन् । त्यस कारण नेतृत्वले आफ्ना लागि मात्र नभएर आफ्ना कार्यकर्ता र जनताको आत्मसम्मान, उत्साह र सद्भावलाई जिउँदो रख्न पनि सामाजिक तथा आर्थिक हिसाबले आफूलाई पतनको दिशामा धकेल्नुहुँदैन ।

राजनीति गर्ने भनेको कमाउनका लागि, शक्तिको दुरूपयोग गर्नका लागि हो । पहिले आफ्नो घैला भर अनि मात्र जनताको बारे सोचााैँला भन्नेहरू राजनीतिमा लागेका छन् । आफ्नो स्वार्थसित अलिकति पनि ‘कम्प्रोमाइज’ नगर्ने त्यस्ता राजनीतिक छेपारे प्रवृत्ति केन्द्रदेखि स्थानीय निकायसम्मै हावी भएको छ ।

संसारलाई बदल्न खोज्ने ऋषि, महर्षि, सन्त, महन्तहरू नेतृत्वकै कारण स्थापित भएका हुन् । कृष्ण, यशु, बुद्ध, महावीर, मोहम्मद, सिकन्दर, नेपोलियन, पृथ्वीनारायण, बीपी, मदन सारा नेतृत्व क्षमताले गर्दा स्थापित भएका हुन् । यिनीहरूको नेतृत्वको विरोध र समर्थनमा तर्क गर्न सकिएला तर आममानिसले स्वीकार गरेकै कारण यिनीहरू नेता भएका हुन् । यिनीहरूसित कुशल नेतृत्व त थियो नै, जनतालाई विश्वस्त पार्ने चरित्र पनि थियो भन्न सकिन्छ ।

विश्व परिवेशका, इतिहासका र समाजका चाहना यस्तै हुन् तर यतिखेर हाम्रो राजनीति कुहिँदै गएको सत्य हो । एकाध राजनीतिकर्मी भ्रष्टाचारी हुनु, स्वार्थी हुनु, पापी हुनु, आतंककारी हुनु त्यति अनौठो होइन । त्यस्ता मानिसहरू समय समयमा पृथ्वीलाई भार बढाउन जन्मिइरहन्छन् । डरलाग्दो अवस्था त समग्र राजनीतिको चरित्र कस्तो बन्दै छ ? भन्ने कुरामा  देखिन्छ । कस्तो राजनीतिक संस्कारको संस्कृतिको निर्माण भइरहेको छ र त्यसले भोलिका दिनमा कस्तो अवस्थाको सिर्जना गर्छ भन्ने कुरा नै चिन्ताको विषय हो ।

राजनीतिमा मौलाएको ठेकेदारी प्रथा र कमिसनखोरीको संस्कृतिमा असल नेतृत्वसमेत लट्पटिँदै जान थालेको सत्य हाम्रा सामु छर्लंग छ ।

विचार र नैतिकता कुना पस्नु अनि मनी र मसल अगाडि बस्नु सभ्य समाजको बोधक हुन किमार्थ सक्दैन । झूट बोल्नु, आसेपासेबाट घेरिएर हिँड्नु र नैतिकताभन्दा बाहिर गएर आचरण गर्नुलाई राजनीतिमा ‘यस्तै त हो नि दोस्त’ भनेर आँखा चिम्लिने र कान थुन्ने गर्नुले समाजलाई सही दिशातर्फ जान दिँदैन । भ्रष्टाचारीहरू काँधले थाम्न नसक्ने मालाको लठारो बोकेर जेलबाट निस्किनु, कुकर्म मात्र गरेर कुख्यात भएकाहरू सांसद हुनु, जनताले भोट नदिएर लात हानेकाहरूले निरन्तर कुर्सीका लागि र्‍याल चुहाइरहनु, जघन्य अपराधी, मानवताका भक्षक, तस्कर, दलाललगायतले राजनीतिक संरक्षण पाइरहनु जस्ता घटनाले हाम्रो देशको राजनीति कति दूषित भएको छ भन्ने कुरा देखाउँछ ।

हिजो कस्तै अप्ठ्यारामा नझुकेको शिर आज झुकेको छ । बन्दुकले घेर्दा पनि बन्धनमा नपरेका खुट्टा आज जेल र नेलमा परेका छन् । हिजोको त्यो झलझलाकार अनुहार आज गिरेको छ । यस्तो हुनुमा समाज दोषी हो ? आफ्ना लोभानि पापानिलाई नियन्त्रण गर्न नसकेर । स्वार्थ, माया र मोहको परिपूर्ति गर्न खोज्दा आफैँ जाकिएका होइनन् र नेताहरू ? यिनी एक जनाको कुकृत्यले गर्दा कति जनाले दुःख पाएका छन् ? यस विषयमा गहन अन्वेषण गर्नुपर्छ ।

राजनीति गर्ने भनेको कमाउनका लागि, शक्तिको दुरूपयोग गर्नका लागि हो । पहिले आफ्नो घैला भर अनि मात्र जनताको बारे सोचाँैला भन्नेहरू राजनीतिमा लागेका छन् । आफ्नो स्वार्थसित अलिकति पनि ‘कम्प्रोमाइज’ नगर्ने त्यस्ता राजनीतिक छेपारे प्रवृत्ति केन्द्रदेखि स्थानीय निकायसम्मै हावी भएको छ । संस्थागत भ्रष्टाचारमा यस्ता राजनीतिक रङधारीहरूले साह्रै छिटो सफलता पाउने गर्छन् । अचम्म लाग्दो त के छ भने हाकाहकी मार्छु र काट्छु भन्नहरू पनि पुलिसको सलाम खाएर हिँडिरहेका छन् । धन्य गणतन्त्र !