मालिका गाउँपालिका सातवटै वडा सचिव बिहिन,अन्नपूर्णमा एक सचिवलाई तीन वडा !

मालिका गाउँपालिका सातवटै वडा सचिव बिहिन,अन्नपूर्णमा एक सचिवलाई तीन वडा !

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर ०५, २०७६

म्याग्दी । म्याग्दीको अन्नपूर्ण र मालिका गाउँपालिकामा लेखापालको समयमा नियक्ती नहुँदा आर्थिक कारोवार ठप्प भएको छ ।

दुईवटै गाउँपालिकाको कार्यालय गत साउन महिनादेखि लेखापाल पद खाली रहेको गाउँपालिकाले जनाएको छ  । लेखापाल नहुँदा गाउँपालिकाद्वारा सञ्चालित विभिन्न योजनाको उपभोक्ता समितिलाई दिनुपर्ने भुक्तानी  समया गर्न सकिएको छैन । 

शिक्षक, कर्मचारी र स्वास्थ्यकर्मीलाई तलब खुवाउन समस्या भएको छ । कार्यरत लेखापाल समायोजनपछि अन्यत्र सरुवा भएर गएको र नयाँ नआएकाले समस्या भएको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभएको छ । 'लेखापाल पठाउन अनुरोध गर्दै कोष तथा लेखा नियन्त्रकको कार्यालय, प्रशासन हुँदै सङ्घीय सरकारका मन्त्रालयसम्म पुग्याैँतर कोही आएनन्', अध्यक्ष पुनले भन्नुभयो, 'कार्यालय सञ्चालनका लागि महत्वपूर्ण लेखा शाखा कर्मचारीविहीन भएपछि आर्थिक करोवार ठप्प भएको छ ।'

सम्झौता भएका योजनाका उपभोक्ता समितिलाई पेश्की र काम सकेका योजनाको भुक्तानीदेखि कर्मचारीलाई तलब खुवाउनेलगायत सबै आर्थिक कारोवार ठप्प भएको मालिका गाउँपालिकाका उपाध्यक्ष खरमाया बिटालुले बताउनुभयो । बजेट विनियोजन भएका योजना तथा कार्यक्रम कार्यान्वयन हुनसकेको छैन । मालिका गाउँपालिकामा सात वडा छन् । सातवटै वडा कार्यालय पनि सचिवविहीन भएका छन् । सचिवको विकल्पमा स्वास्थ्य संस्थाका अनमीलाई पञ्जाधीकारीको समेत जिम्मेवारी दिएको मालिकाका प्रमुख प्रशासकीय अधिकृत सूर्य विश्वकर्माले बताउनुभयो । 

आठ वडा रहेको अन्नपूर्ण गाउँपालिकामा पनि तीन मात्र सचिव छन् । एक सचिवलाई तीन वडासम्मको जिम्मेवारी दिएको प्रमुख प्रशासकीय अधिकृत केदारनाथ शर्माले बताउनुभयो । वडा नं ८ राम्चेमा पञ्जाधिकारीको जिम्मेवारी अनमी बनिका गर्बुजालाई दिइएको छ । 

साविककै दरबन्दीअनुसार पदपूर्ति हुन नसकेको र दुर्गमका स्थानीय तहमा कर्मचारी जान नमानेका कारण समस्या भएको मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकाले बताउनुभयो । वडासचिव, कम्प्युटर अपरेटर, इञ्जिनीयर, सवइञ्जिनीयर, लेखापाल पदका कर्मचारीको अभाव भएको हो । 

कतिपय लेखापालले दुई वटा कार्यालयको जिम्मेवारी सम्हालेका छन् । कोष तथा लेखा नियन्त्रक चन्द्रशेखर सापकोटाले अन्य कार्यालयका लेखापाललाई गाउँपालिकाको पनि जिम्मेवारी दिएको बताउनुभयो । कोलेनिकाले खटाएका लेखापालहरुले स्थानीय तहमा दबाबमा काम गर्नुपर्ने भएकाले त्यहाँ गएर काम गर्ने वातावरण नभएको प्रतिक्रिया दिएका छन् ।