हरिविनोद अधिकारी | साहित्य | मंसिर ०६, २०७६
१. मौसम कस्तो छ भने
चिया पिएर मात्र पनि हुँदैन
ओढ्ने ओढेर पनि हुँदैन
मुखमा चिसो चिसो हावाले
दपेटेको दपेट्यै छ हावाले
सिरसिर सिरसिर हावा चलेकै छ
मुटुमा कडासँग बेस्सरी
तातोतातो चियाभन्दा कफी पनि
अनि दोलाइँभन्दा सिरक पनि
ओढेर लमतन्न ओढेर
घम्लङ्ग ओढेर मुखै छोप्ने गरी
कल्पना गर्न पनि आनन्द हुन्छ कसैले
कुनै अवरोध गर्दैन मुख छोपेर बस्दा ।
२. आनन्दको जीवन हुन्छ एकान्तमा
तर सहचारी चाहिन्छ फेरि बातैपिच्छे
लामो बाटोमा कुरा गर्ने पनि चाहिन्छ
नाङ्गा खुट्टा लामो बाटोमा हिँड्दा
कहिले विस्तारै कहिले लमकलमक
कहिले कहिले दगुरेको दगुर्यै
जीवन न हो, एकैनास कहिले पो हुन्छ र ?
सायद एउटा जीवनको नयाँ पोरा फुक्न बाँकी छ
जहाँ जीवन नै नयाँ जीवनको खोजीमा हुन्छ
नयाँनयाँ अनुभवको कुरा
जीवनको कुरा हो केही छैन
नयाँ अनुभव नै जीवनको खजाना हो नि !
अनुभवको पनि नयाँपन आफैँमा कसरी पत्ता लाग्छ ?
नमरी स्वर्ग कहाँ देखिन्छ र ?
देवताको स्वरूप कहाँ छ र ? आफैँमा होइन र ?
त्यसो भए जीवनको नयाँ परिभाषा पो
किन चाहियो र ?
अनुभव नै त जीवनको
परिभाषा हुन सक्ने भयो नि !
र, जीवनको नयाँ बाटोमा कतै ठोकिएला भनेर
डरैडरले हडबडाएर कतै ठोकिने
संभावना पो बढ्ला कि ?
भवितव्य नै जीवनको नयाँ अनुभव
कसरी पाइलैपिच्छे फेला परिरहला नि !
सबैको नयाँ पिँजडा हुन्छ जहाँ
नयाँनयाँ चराको प्रवेश हुन्छ
जीवनको नयाँ परिभाषा कसरी भनौँ र ?
त्यही नै प्रवेशले नयाँ क्षितिजको उद्घाटन गर्छ
भवितव्य नै जीवनको नयाँनयाँ अनुभव बन्दोरहेछ
खोइ कता छ र संयोग र वियोगको कल्पना ?
नियतिको खेलसँग सधैँ पराजित जीवनका क्षणहरू
र, नियतिलाई पनि कहिलेकाहीँ नियन्त्रणमा राख्ने
भवितव्य, नियति, भवितव्य र क्षणभंगूरता ।
लामो नियमित आकस्मिकतासँगै
अनियमित भवितव्यको सम्मिश्रणले
चलिरहेको नियमित जीवनको एउटा पाटो ।
रोइरहने र हाँसिरहने बेलामा
खासमा हाँसिरहने बेलामा
एउटा भूकम्प
जीवनमा भद्रगोलसँग भूकम्प आउनेरहेछ
हाँसिरहने बेलामा ।
जीवन त हाँसो नै हाँसोको
क्षणभंगूरता हो नि !
हाँसोका लागि किन रुने र ?
कसका लागि रुने हो र कसका लागि हाँस्ने हो ?
आफ्नो मात्र लागि किन पो रुने र ?
हाँसिरहने बेलामा किन पो रुने र ?
जीवनको लीलालाई सम्झँदा
हाँसिरहनु पो पर्नेरहेछ
किनभने अर्को जुनी पाइन्छ कि पाइँदैन
फेरि हाँस्नका लागि, खुुसी हुनका लागि ।