प्रभाती किरण | साहित्य | मंसिर ०७, २०७६
शालीन व्यक्तित्व, कुशल प्रसाशक तथा पछिल्लो समय नेपाली गजल, गीत र कवितामा कलम चलाइरहेका भोजराज घिमिरेसँगको मेरो साक्षात्कार गजलकार व्यक्तित्वका रूपमा भएको हो । नेपाली गजल तथा गीतमा आफूलाई चिनाइसकेका घिमिरे सार्वजनिक सेवाबाट निवृत्त स्रष्टा हुन् । आफ्ना सिर्जना जस्तै सुकोमल व्यक्तित्वका धनी घिमिरेको स्रष्टा व्यक्तित्व काव्यबाट आख्यानसम्म आइपुग्दा धेरै परिवर्तन भएको छ ।
सतहमा हेर्दा कथा अन्य विधाको तुलनामा सजिलो मानिन्छ तर पढ्न जति सजिलो छ र पाठकको मनमा पुग्न जति सहज छ कथाका माध्यमबाट, लेख्न भने उत्तिकै कठिन पनि छ । कथा सोचेजस्तो सजिलो विधा हुँदै होइन । विषयको चयनदेखि पात्रको खोजी, पात्रको चरित्रको प्रकटीकरण, घटनाको व्यवस्थित प्रस्तुति, दृष्टिविन्दु तथा समापनसम्म पुग्दा कथामा सर्जकले अत्यन्त ठूलो मानसिक कसरत गर्नुपर्छ । त्यसैले पनि कथालेखन कथा पठन वा श्रवण जस्तो सहज छैन । यो कठिन कार्यमा आफूलाई सक्षम सिद्ध गर्ने प्रयासमा आएको छ भोजराज घिमिरेको कथासङ्ग्रह ‘अन्तिम प्रश्न’ ।
‘अन्तिम प्रश्न’भित्र रहेका अधिकांश कथाहरू रैखिक ढाँचामा लेखिएका छन् । आदि, मध्य र अन्त्यको विन्यास गरेर कथा लेख्नमा कथाकार घिमिरे सक्रिय छन् । रैखिक ढाँचामा लेखिएका कथाहरू निश्चय नै सरल तथा सुबोध्य हुन्छन् । समीक्ष्य सङ्ग्रहमा समेटिएका कथाहरूमा पनि सामान्य पाठकको पहुँचभित्रको भाषा प्रयुक्त छ । उच्च बौद्धिक पात्रलाई लक्षित गरेर विचित्रमार्गी क्लिष्ट भाषाको प्रयोग गरेरभन्दा सामान्य भाषामा आफ्नो विचार पाठकसम्म पुर्याउने अभीष्ट कथाकारमा रहेको छ ।
त्यसो त मध्यम तहका भाषा यहाँका कथाहरूमा प्रयोग भएका छन् । कथामा समेटिएका विषयमा विविधता छ । सङ्ग्रहका सामाजिक यथार्थवादी कथाहरू नै समेटिएका छन् । व्यक्तिगत जीवनका परिघटनाहरू, मान्छेका कुण्ठा, रतिराग, जीवन भोगाइलगायतका विषयहरूलाई केन्द्रमा राखेर लेखिएका कथाहरू मानवीय भोगाइसँग नजिक रहेका छन् ।
शैली, शिल्प कथा अध्ययनको विशिष्ट आधार हो । लाक्षणिक भाषाको प्रयोग, प्रतीक, बिम्बहरूको प्रयोग, उपमा, रूपक जस्ता अलङ्कारहरूको प्रयोग, कथनको पूर्वदीप्ति शैली जस्ता कुराहरू यसमा हेरिन्छ । कथा कथनको मौलिक भावभूमि निर्माणमा प्रयासरत देखिए पनि स्थापित परंपरामा नै लेखिएका यस सङ्ग्रहका कथाहरू नेपाली कथाको उन्नयनमा महत्त्वूर्ण स्थान ओगट्न सक्ने खालका छन् ।
राजनीतिक अस्थिरता, द्वन्द्वले मानवीय मूल्य कटौती गरेको सन्दर्भ, स्वाभिमान, सार्वजनिक प्रशासनका जटिलता जस्ता कुराहरू पनि कथामा आएका छन् । यथार्थको अत्यन्त निकट रहेर कथाहरूमा घटना, पात्र तथा परिवेशको विन्यास गरिएका छन् । समकालीन जीवन, वैदेशिक रोजगारी, राजनीतिक कुरूपता, यौन जीवनलगायतका पक्षमा पनि यस सङ्ग्रहका कथाहरू नाचेका छन् ।
फोस्रो आडम्बर र कोरा कल्पनालाई भन्दा यथार्थलाई सुम्सुम्याउन चाहने कथाकार घिमिरेका पात्रहरूमा समाजिक तथा वैयक्तिक जीवनका तीब्र असन्तुष्टिहरू पनि कथामा अभिव्यक्त भएका छन् ।
कथाको अध्ययन गर्दा विभिन्न उपकरणहरूको सहायता लिइन्छ । कथाको विन्यास कथाको अध्ययनका क्रममा चर्चा गरिने महत्त्वपूर्ण उपकरण हो । यसमा कथा लेखिएको समय, कथ्यको धरातल/भूगोल, समय तथा सामाजिक अवस्थाको विन्यास कसरी भएको छ भन्ने कुरा हेरिन्छ । ‘अन्तिम प्रश्न’ कथासङ्ग्रहमा समेटिएका कथाहरू पछिल्लो एक दशकको समय सन्दर्भ र केही ऐतिहासिक विषय सन्दर्भ समेटेर लेखिका कथा हुन् । यसमा नेपाली समाज, राजनीति, जनजीवनको चित्र उतारिएको छ । द्वन्द्व, विकृत राजनीति तथा सामाजिक जीवनका पाटाहरूलाई विन्यास गरेर लेखिएकाले यहाँ समेटिएका कथाहरूको विन्यास राम्रो छ ।
पात्र प्रयोगको आधारमा यस सङ्ग्रहका कथाहरूलाई हेर्दा पात्रको नाम ब र व बाट राखिएको छ । पात्रहरू नेपाली समाजबाटै टिपिएका छन् । हाम्रै वरपरबाट टिपिएका यी पात्रहरू यथार्थको निकट छन् ।
पछिल्लो समयका नेपाली कथाहरू पात्रीकरणका सन्दर्भमा अलिक बढी प्रयोगमूलक बन्ने गरेका छन् । कथालाई आञ्चलिक बनाउने नाउँमा पात्रहरूमा कथ्य भाषाको अस्वाभाविक प्रयोग गराएको पाइन्छ । खासमा कथामा कथाकारले उभ्याएका चरित्रहरू शारीरिक, रूप, विचार, भावना र अन्तर्कृया आदिका आधारमा स्थिर वा गतिशील भएर उभिन्छन् । स्थिर पात्रहरू परिवर्तन हुँदैनन् भने गतिशील पात्रहरू परिवर्तन हुन्छन् र तिनले परिवर्तन पनि गर्छन् । भोजराज घिमिरेका पात्रहरू दुवै खालका छन् ।
कथा अध्ययनको अर्को महत्त्वपूर्ण उपकरण कथानक हो । कथानक घटनाको मुख्य अनुक्रम हो । कथामा कथानक प्रायः एक अनुभव वा क्षणको वरिपरि घुमेको हुन्छ । यसमा मुख्य घटनाको पहिचान र विस्तार, कथानकको संरचना तथा विश्वसनीयता मुख्य कारक हुन्छन् । ‘अन्तिम प्रश्न’ कथासङ्ग्रहका कथाहरूमा कथाकार मुख्य घटनाको पहिचान र विस्तारमा स्पष्ट छन् । यहाँ समेटिएका कथाहरू पाठककै आँखाअघिका घटनाहरूबाट टिपिएकाले विश्वसनीय पनि छन् ।
समग्र नेपाली सामाजिक, सांस्कृतिक तथा राजनीतिक परिवेशभित्रका कथाहरू उनिएकाले कथानकको आधारमा यहाँका कथाहरू उच्च मूल्यका छन् ।
द्वन्द्व विधान कथा अध्ययनको अर्को पाटो हो । द्वन्द्व आन्तरिक र बाह्य गरी दुई प्रकारका हुन्छन् । बाह्य द्वन्द्व पाठकले स्पष्ट देख्छ । यसमा कथावाचकको मुख्य भूमिका हुन्छ । कथावाचनकै क्रममा कथाको द्वन्द्वलाई प्रकट गरिन्छ तर आन्तरिक द्वन्द्वमा कथावाचक मौन हुन्छ । पात्रहरूको व्यवहार संवाद तथा अभिव्यक्तिबाट आन्तरिक द्वन्द्व प्रकट हुन्छ । भोजराज घिमिरेका कथाहरूमा मूलतः बाह्य द्वन्द्व र अंशतः आन्तरिक द्वन्द्वको प्रयोग गरिएको छ ।
शैली, शिल्प कथा अध्ययनको विशिष्ट आधार हो । लाक्षणिक भाषाको प्रयोग, प्रतीक, बिम्बहरूको प्रयोग, उपमा, रूपक जस्ता अलङ्कारहरूको प्रयोग, कथनको पूर्वदीप्ति शैली जस्ता कुराहरू यसमा हेरिन्छ । कथा कथनको मौलिक भावभूमि निर्माणमा प्रयासरत देखिए पनि स्थापित परंपरामा नै लेखिएका यस सङ्ग्रहका कथाहरू नेपाली कथाको उन्नयनमा महत्त्वूर्ण स्थान ओगट्न सक्ने खालका छन् ।
कथा भन्ने आआफ्नो शैली हुन्छ । यसलाई कथाकथन वा कथावाचन भनिन्छ । आजको नेपाली कथामा कथावाचनका विभिन्न शैलीहरूको प्रयोग पाइन्छ । नेपाली कथामा गुरुप्रसाद मैनालीले आरम्भ गरेको कथाकथनको शैली अत्यन्त लोकप्रिय रह्यो । त्यसो त विश्व परिवेशमा देखापरेका अनेक आधुनिक शैलीहरू नेपाली कथाले आत्मसात् गरेको छ । आधुनिक तथा उत्तरआधुनिक शैलीको कथाकथनले कथालाई अलिक दुर्बोध्य बनाउँछ । त्यस्ता कथाहरूले बौद्धिक पाठकको अपेक्षा गर्छन् । त्यस्ता कथाहरू आमपाठकको पहुँचभन्दा अलिक पर हुन्छन् ।
विश्वेश्वरप्रसाद कोइराला, ईन्द्रबहादुर राई, ध्रुवचन्द्र गौतमहरू नेपाली आख्यानमा कथावाचनको विशिष्ट मौलिक शैलीका कारण पृथक् र विशिष्ट बन्न पुगेका हुन् ।
‘अन्तिम प्रश्न’भित्रका कथाहरूमा कथाकार कथाकथनको मौलिक शिल्प स्थापनामा भन्दा स्थापित शिल्पमा नै रमाएका छन् । प्रथम पुरुष तथा तृतीय पुरुष दुवै खाले दृष्टिबिन्दुमा कथाहरू लेखिएका छन् । कथाको स्रोत समाज हो भने समाजकै लागि पनि हो । कथाकार घिमिरेले पाठकलाई आफूसँगै दौडाएका छन्- कतै कथावाचक बनेर त कतै पात्र बनेर । पाठक कथा पढुन्जेल कथाभित्रै हुन्छ, पात्रसँगै हुन्छ, घटना नियालिरहेको हुन्छ ।
पात्रहरू हाम्रै समाजका छन् । कथा पढ्दा लाग्छ ‘यो पात्र त फलानो जस्तो रहेछ वा यो घटना त हो, मैले अस्ति मात्र देखेको/सुनेको ।’ सङ्ग्रहभित्रका सोह्र कथाहरूले पाठकलाई तानिरहन्छन् । कतै पात्रसँग, कतै परिवेशसँग ।
लामा संवाद तथा आयामले केही कथाहरू अलिक वर्णनात्मक छन् ।
विघटित मानवीय मूल्यको उद्घाटन गरिएका भोजराज घिमिरेका कथाहरूले यौनिकताका विविध पक्षहरू पनि समेटेका छन् । स्थापित परंपरा र मूल्यबोधप्रति संवेदशील रहेर लेखिएका यिनका कथाहरू कल्पनाभित्रको यथार्थ नभएर यथार्थभित्रको कल्पना बनेर आएका छन् ।
आधुनिकताको नाममा विघटित हुँदै गरेको परिवारिक दाम्पत्यभार, सन्तानसुखमा आएको दरार, मोहका कारण गुँड छोडेर उडेका चरा जस्ता सन्तानको आशमा बसेको समाज कथाका अन्तर्य हुन् । घिमिरेका कथाहरू सुबोध्य छन् । पठनीय छन् । आगामी दिनमा कथाकार घिमिरेबाट अझ मौलिक शिल्पका साथ थप कथाहरू रचियून्, शुभकामना ।
पुस्तक : अन्तिम प्रश्न
कथाकार : भोजराज घिमिरे
प्रकाशक : शिखा बुक्स
संस्करण : पहिलो २०७६
मूल्य : रु. ३५०/–