प्राथमिकतामा काठमाडौँमा मेट्रो रेल कि गाउँलाई आधारभूत आवश्यकता ?

प्राथमिकतामा काठमाडौँमा मेट्रो रेल कि  गाउँलाई आधारभूत आवश्यकता ?

असिम भूसाल  |  दृष्टिकोण  |  मंसिर ०६, २०७६

मेट्रो भनेको मुख्यत: जमिनमुनि या माथि गुड्ने रेललाई भनिन्छ । खुला ठाउँ या खालि जमिन भएमा जमिनको सतहभन्दा माथि र खालि ठाउँ नभएको स्थानमा जमिनमुनि सुरुङ खनेर बनाइन्छ । यो धेरै लामो दूरीको यात्राका लागि हुँदैन। विषेशत: शहरहरूको नगर बस जस्तै मेट्रो शहरको नगर रेल हो । मेट्रो जनसंख्याको चाप अत्यधिक भएको ठाउँमा बनाइन्छ । शहरको बाटोको भीडभाड, जामहरूबाट छुटकारा पाउन मेट्रो निकै उपयोगी मानिन्छ। 

हाम्रो राजधानी काठमाडौंमा विभिन्न जिल्लाबाट धेरै मानिसहरू बसाइँसराइ गरी आउने चलन चल्यो । मन्दिर नै मन्दिरको शहरको रूपमा विश्वमा पहिला चिनिएको काठमाडौं अहिले कंक्रिट नै कंक्रिटको शहर भएको छ । मानिसहरूको भीड जेनतेन थेग्दै गरेको काठमाडौं आजका दिनमा निकै कुरूप, निकै अस्तव्यस्त भएको छ । प्रदूषणले मानिसहरूलाई रोगी, अल्पजीवी बनाउँदै छ । 

नयाँ तथ्यांकका अनुसार काठमाडौं वर्तमान समयमा विश्वको सातौँ प्रदूषित शहर भएको छ । अवसर र सुविधाका कारणले धेरै मानिसहरू काठमाडौंतिर बस्न गए । झन् जनयुद्ध सुरु भएपछि त नेपालीहरूको रोजाइको बसोवास स्थल नै काठमाडौं भएको थियो । नहोस् पनि कसरी, सबै महत्त्वपूर्ण कार्यालय र सबै भूगोलका नेताहरू काठमाडौंमा थिए । नेता जस्तो साधन, स्रोत र सुरक्षा भएका  व्यक्तिहरू त ज्यानको माया लागेर काठमाडौं बसे भने निहत्था जनता त आउनै पर्‍यो । काठमाडौंबाहिर नयाँ र सुपथ विश्वविद्यालय, अस्पताल, स्कुल, कलेजहरू संचालनमा आएनन् । केही बिरामी भए काठमाडौं आउनुपर्ने बाध्यता त निकै पहिलेदेखि थियो । 

कति अभिभावकहरू आफ्ना सन्तानको राम्रो, गुणस्तरीय शिक्षाका लागि काठमाडौं जान्छन् । यस्ता आधारभूत अवसरका ठाउँहरू प्रत्येक प्रदेशमा कमसे कम एउटा ठाउँमा हुनुपर्ने हो । समाजवादको वकालत प्राय: सबै पार्टीले गर्छन् र सरकार पनि तिनैको छ । अझै पनि सबै कामको, अवसर, सुविधाका लागि काठमाडौं आउनुपर्ने भए त्यो समाजवादको लक्ष्य त के बाटोमा पनि पुग्न सकिँदैन । समाजवादमा त राष्ट्रको सबै भेगमा समान अधिकार, विकास, उन्नति हुनुपर्ने हो नकि केवल राजधानीमा ।

नेपालको सबै सुख, सुविधाले भरिपूर्ण काठमाडौंमा मान्छेहरू पनि भरिपूर्ण भए । घर, खेत, घडेरीको मूल्य अकासियो। त्यही पनि मानिसलाई काठमाडौंमै बाँच्ने रहर भयो अनि विस्तारै काठमाडौं भरियो । सुरुमा काठमाडौं जिल्ला भरियो र त्यहाँबाट पोखिएर काठमाडौं उपत्यका पनि भरियो।

हामीले अहिले सुन्दै आएका छौं, काठमाडौंमा मोनो रेल, मेट्रो रेलको चर्चा चलिरहेको छ । यो बनिसकेपछि जाम, सवारी साधनको चाप घट्छ भन्ने कुरा छ । यो कुरा ठीक हो, मेट्रो ल्याएपछि बाटोमा सवारी साधनको चाप कम हुन्छ । तर, यो कतिको समयसापेक्ष छ भनेर हेर्नुपर्छ ।

सन् २०१७ मा भारतको दिल्लीमा मेट्रो बनाउँदा जमिनमाथि बनाउँदा प्रति किमी ३५० करोड या ३ अर्ब ५० करोड रुपैयाँ लाग्दोरहेछ भने जमिनमुनि प्रति किमी बनाउँदा ८८० करोड या ८ अर्ब ८० करोड रुपैयाँ लागेको रहेछ । सन् २०१८ को नेपाल सरकारको बजेट १२ अर्ब डलरको थियो । काठमाडौंमा मेट्रो बनाउँदा १ देखि २ अर्ब डलर लाग्ने प्रारम्भिक खर्च अनुमानित छ । त्यति धेरै पैसा एउटा ठाउँमा खर्च गर्नुभन्दा त्यो पैसा अरू अविकसित या साधन, स्रोत नभएको ठाउँमा बनाउनुपर्छ । 

हुम्ला-जुम्लामा गतिलो अस्पताल, स्कुल, बपजुली र विकासका पूर्वाधारहरू भएपछि बल्ल सोच्नुपर्ने हो- काठमाडौंमा मेट्रो या मोनो रेल या समुद्रमा नेपालको पानीजहाज।

२ वर्ष अगाडि चुनावहरू भए, केन्द्र, प्रदेशदेखि नगरपालिका र गाउँपालिकाको पनि चुनाव भयो । चुनावकै नारा थियो- गाउँगाउँमा सिंहदरबार । काठमाडौंको सत्ताले बाँकी नेपाललाई हेरेन, महत्त्व गरेन, निकै केन्द्रिकृत राज्यव्यवस्था भयो भनेर संघीयतामा गएको हो नेपाल। विकेन्द्रीकरनको नारा लिएको सरकारले काठमाडौंलाई नै केन्द्रविन्दुमा राखेर यो मेट्रो संचालनको सपना अहिले धेरै हतार भयो होला ।

 हाम्रो देशमा अहिले ७ वटा प्रदेश छन् । सबै प्रदेशमा वीर अस्पताल, महाराजगंज शिक्षण अस्पताल, कान्ति बाल अस्पताल, शहीद गंगालाल हृदय रोग केन्द्र, तिलगंगा आँखा अस्पताल, पुल्चोक इन्जिनियरिङ कलेज जस्ता आधारभूत सुविधाहरू पाउनुपर्छ । गाउँगाउँमा सिंहदरबार आएको नेपालमा अब प्रदेश प्रदेशमा यी सुविधाहरू पनि आउनुपर्छ । मुख्यत: यिनै सुविधाहरूले मानिसलाई काठमाडौंमा आकर्षित गरेको हुन्छ । 
 
यसपालिको दशैँमा २५ लाखजतिले काठमाडौं छोडेको अनुमान गरिएको थियो। २५ लाख व्यक्तिहरू काम या पढाइको सिलसिलामा काठमाडौं आउनुपर्ने बाध्यता हटाउन सरकारले ध्यान दिनुपर्छ ।

गौतम बुद्ध अन्तर्रास्ट्रिय विमानस्थल संचालनमा आएपछि अन्तर्रास्ट्रिय विमानस्थल पनि २ वटा हुन्छन् । झन् निजगढ विमानस्थल पनि बन्ने कुरो छ । यी सबै भएपछि काठमाडौंमा मान्छेको चाप पनि घट्छ । यसो सोचौँ त- काठमाडौंमा रहरले मान्छे आउँछन् कि बाध्यताले ? सास फेर्न पनि गाह्रो हुने ठाउँ भएको छ काठमाडौं । अबको योजना त काठमाडौंमा होइन, नेपालका अरू शहरलाई काठमाडौं जस्तै सम्पन्न गराउने हुनुपर्ने हो । 

म अहिलेसम्म इलाम गएको छैन किनभने केही काम परेको छैन । इलाम राम्रो छ, मलाई थाहा छ । घुम्न जाने योजना पक्कै छ । सरकारले काठमाडौंलै पनि त्यस्तै ठाउँ बनाउनुपर्छ । बाध्यताले जान नपरोस् । आफ्नै गाउँ ठाउँ नजिकै त्यो सुविधा नभएर काठमाडौं जान नपरोस् । पशुपति, स्वयम्भु र दरबार क्षेत्रहरू भ्रमण गर्न मात्र जान परोस् । उपचार गर्न, पढ्न जान नपरोस् ।

अनि अर्को समस्या भनेको नेपालमा निर्माणको रफ्तार पनि हो । कलंकीमा २०० मिटर जमिनमुनिको बाटो बनाउँदा जाम कति भयो, धुलो कति भयो, समय कति लाग्यो- हाम्रा योजनाहरूमा हामीले कति ध्यान दिन्छौँ भन्ने कुरा कोटेश्वर-कलंकीको बाटोले देखाउँछ । त्यहाँ दैनिक दुर्घटना हुने तथ्यांकले देखाउँछ । चाबहिलदेखि बौद्ध जाने बाटोको हालतले देखाउँछ । 

मैले समाचारमा सुनेअनुसार ३४ किमीको मेट्रो लाइन बनाउने योजना बनेकाे छ । त्यसमा १२ किमी जमिनमुनि र बाँकी २२ किमी जमिनमाथि बनाउने योजना बनेको छ । यति ठूलो संरचना बनाउँदा लाग्ने समय अनि त्यसमा पनि महत्त्वपूर्ण 'नेपाली समय' कति लाग्ला ? मेलम्चीको जस्तो समय ! यसै धुलाम्मे काठमाडौं झन् कति अस्तव्यस्त हुने हो । काठमाडौंका पुराना मठ मन्दिर, संरचना, मौलिक संस्कृति बचाउन पनि काठमाडौंबाट मानिसहरूको गाउँ फर्क अभियान चलाउनुपर्छ । तर, त्यो जबर्जस्ती, नियम लादेर होइन, अरू ठाउँमा अवसर र संभावना देखाएर हो । काठमाडौं जस्तै अवसरका लागि काठमाडौंबाहेकका क्षेत्रमा विकासको रफ्तार बढाउनुपर्छ । 

कति अभिभावकहरू आफ्ना सन्तानको राम्रो, गुणस्तरीय शिक्षाका लागि काठमाडौं जान्छन् । यस्ता आधारभूत अवसरका ठाउँहरू प्रत्येक प्रदेशमा कमसे कम एउटा ठाउँमा हुनुपर्ने हो । समाजवादको वकालत प्राय: सबै पार्टीले गर्छन् र सरकार पनि तिनैको छ । अझै पनि सबै कामको, अवसर, सुविधाका लागि काठमाडौं आउनुपर्ने भए त्यो समाजवादको लक्ष्य त के बाटोमा पनि पुग्न सकिँदैन । समाजवादमा त राष्ट्रको सबै भेगमा समान अधिकार, विकास, उन्नति हुनुपर्ने हो नकि केवल राजधानीमा ।

प्रत्येक दशैँमा उपत्यका छोड्ने २५ लाख नेपालीलाई उपत्यकाबाहिर नै राख्ने हिसाबले योजना बनाउने हो भने काठमाडौंमा बाटो विस्तार पनि गर्नुपर्दैन, मेट्रो पनि बनाउनुपर्दैन । विकासको नामको विनास हाम्रा प्राचीन सम्पदाहरूले भोग्नुपर्दैन ।