चन्द्रप्रकाश बानियाँ | साहित्य | मंसिर ०७, २०७६
प्रतापी नारायण मल्लले बीस हजार पर्वत राज्य आफ्ना तीन भाइ छोरा र दुई जना भतिजाहरूबीच अंशबण्डा गरिदिएपछि प्रशिद्ध चौबीसी राज्य सोह्र हजार पर्वतमा खुम्चिएको थियो । राज्यको विभाजन गर्नुको कारण परिवारमोह मात्रै थिएन, चौबीसीमध्येको बलियो राज्य पर्वत अझ बलियो हुनेगरी किल्लाबन्दी गर्नु पनि थियो । पर्वत प्रवेशको पूर्वी मुख कास्की कान्छा राजकुमार कल्याण मल्ल र दक्षिण–पश्चिमी किल्ला गल्कोट जेठा राजकुमार जितारी मल्ललाई सुम्पेर चारैतिरबाट सुरक्षित सोह्र हजार पर्वत राज्य आफ्ना मनपरेका माहिला राजकुमार राज मल्लको अंश भागमा पारेका थिए ।
उत्तरपश्चिम सीमाको अधिकांश भाग धवलागिरि हिमालले रखवारी गथ्र्यो । अन्नपूर्ण र धवलागिरिबीचको खोँचबाट मुस्ताङ छिर्ने मार्ग साँघुरो र विकट भएको हुनाले सुरक्षाको प्रबन्ध मिलाउन सजिलो थियो । सधँै किचलो र झैझगडा पर्ने बाइसी, चौबीसी राज्यहरूसँग मात्रै थियो । मुस्ताङ अपेक्षाकृत शान्त र कमजोर थियो । मुस्ताङबाट कुनै खतरा निम्तिने सम्भावना थिएन भन्ने कुराको इतिहास उदाहरण थियो ।
यसरी चारैतिरबाट किल्लाबन्दी गरिएको पर्वत राज्यको बेनी जस्तो सामरिक दृष्टिले अति नै संवेदनशील स्थानमा पनि निर्धक्क बस्न सकिने परिस्थिति निर्माण भएको थियो ।
महाराज घनश्याम सपरिवार हिजै मात्र बेनी झरेका थिए । कुरिलाखर्कमा रहेको सानो राजदरबारबाट राजाको निवास र राज्यको काम लिइन्थ्यो । काली र म्याग्दीको संगममा रहेको तीनकुने बगरमा हिउँदभर मण्डी लाग्थ्यो । भोट–मधेसका व्यापारीहरूले समेत अस्थायी वास बनाएर व्यवशाय गर्ने गर्थे । भाइभारदारहरूलाई अर्को महिनाको दोस्रो हप्तासम्म बिदा दिइएको हुनाले महाराज फुर्सदमा थिए । दरबार शून्यशून्य थियो । वरिपरि गाउँवस्ती थिएन । सुरक्षामा तैनाथ लडाकुहरू, नोकरचाकर, सुसारे, भान्से र राजपरिवारका सदस्यहरू मात्र दरबार परिसरमा थिए ।
दिन घर्कनै लाग्दा सुमन्त आइपुगेको जाहेरी राजा समक्ष आयो । चरिचरनको समस्या सल्टाउन ढोरपाटनतिर गएका सुमन्तको आगमनले राजामा स्वाभाविक उत्सुकता जगायो । ताकम क्षेत्रका वासिन्दाहरूका गाईवस्तु, भैँसी, घोडा, भेडा, बाख््रा्राहरू रुकमेली र गल्कोटेहरूबाट लगारिएको सूचना असोज महिनामै आएको थियो ।
बर्खा याममा पश्चिम पर्वतका गाउँठाउँहरूका वस्तुभाउहरू ढोरको बुकीमा छाडिदिने र हिउँद लागेपछि गाउँमा फर्काउने चलन पुरानै थियो । पर्वतबाट छुट्टिएर अर्णाकोट, सर्पकोट र गल्कोटसमेतको एउटा अलग्गै राज्य बनेपछि पुरानो अर्णाकोटअन्तर्गतको ढोर पनि गल्कोटकै हिस्सामा पर्न गएको थियो । ढोर उपत्यकाको पश्चिम–उत्तर खण्डतिर पहिलेदेखि नै रुकुमको चरिचरन थियो । सदियौँदेखि रुकुम, गल्कोट र पर्वतले सगोलमा चरिचरनको उपभोग गर्दै आएको परंपरा भए पनि यस पटक रुकुम र गल्कोटले पर्वतका वस्तुभाउ र गोठालाहरूलाई लगारेछन् । घरगोठहरू समेत नष्ट गरिदिएछन् ।
भदौमै वस्तुभाउहरू गाउँ फर्काउनुपरेकाले तकमेलीहरू ठूलो समस्यामा परेका रहेछन् । वस्तुभाउ धान्न मुस्किल पर्यो भन्ने प्रजाको गुनासो आएको हुनाले रुकुम र गल्कोटसँग पत्राचार गरिएको थियो । जैसीहरूमार्फत् कुराकानी अघि बढाइएको थियो । कूटनीतिक प्रयासको प्रतिफल तीनवटै पक्ष विवादित क्षेत्रमै बसेर समस्या समाधान गर्ने समझदारी बनेको थियो । त्यसैले पर्वतका तर्फबाट सम्पूर्ण अख्तियारीसहित सुमन्तलाई पठाइएको थियो ।
ताकम, धारापानी, मुनालगायतका गाउँबूढा, भद्रभलाद्मीसमेत लिएर ढोरमै गई सम्झौता गर्ने जिम्मेवारी उनलाई दिइएको थियो । आफ्नो जिम्मेवारी पूरा गरेर फर्किएका सुमन्त राजपरिवारको सवारी बेनीमा भइसकेको खबर पाएकाले ढोरबाट सोझै बेनी आइपुगेको थिए ।
‘भित्र बोलाउनू’ भन्ने महाराजको आदेश लिएर सुरक्षा अधिकारी बाहिरिएको क्षणभरमै सुमन्त दरबार भित्रिए ।
'... पर्वतले तिर्याकोे सिर्तोको आधा निसीबाट रुमुकले पाउन्या शर्तनामा गरियो । पर्वत राज्यले पुरानो अर्णाकोटअन्तर्गतको ढोरमा चरिचरन उपयोग गरेवापत सालबसाली तिर्नुपर्न्या भुज्यालको सिर्तो ताकमकोटका रैतीहरूले दामासाहीले उठाई पर्वत राज्यकन बुझाउन्या कुरासमेत यो धर्मपत्रमा पर्याको छ ।’
गोरो वदन, उन्नत ललाट, चम्किला आँखा, बलिष्ठ शारीरिक बनोटका हेर्दै खाइलाग्दा युवक सुमन्तले महाराज, महारानी र बालक राजकुमारहरू सबैमा पालैपालो अदबसाथ झुकेर अभिवादन गरे । महाराजबाट आफ्नो सामुन्नेको आसनीमा बस्ने इशारा मिल्यो । बैठक कोठाभित्रै खेलिरहेका बाल राजकुमारहरूलाई आँगनतिर जान अह्राइयो । त्यसपछि महाराजबाट आज्ञा भयोः
‘कुशलै त छौ, सुमन्त ?’
‘महाराजको पुण्यप्रतापले यो सेवक स्वस्थ तम्दुरुस्त छ मा’राज’, राजाको बोली भुइँमा खस्न नपाउँदै सुमन्तले जवाफ दिए ।
‘यात्रा कस्तो रह्यो ?’
‘एकदम रमाइलो र फलदायक रह्यो महाराज !’
‘कुनै अत्तो गाह्रो अप्ठेरो त परेन नि ?’
‘जति अप्ठेरो परे पनि गाँठो फुकाउनै पर्न्या थ्यो । उनीहरूको हातमाथि पर्याको अवस्था भयाकोले अलि बल गर्नुपर्न्या हुन्या भैहाल्यो । राज्यको अंशबण्डा गन्र्या कुरा उसै गलत थियो । मेरा वराजु रतन बानियाँलगायतका अग्रजहरूको राज्यसँगको असमहति र असन्तुष्टिको कारण त्याही थियो भन्न्या सुनियाको हो । त्यसमाथि ढोरपाटन जस्तो महत्त्वपूर्ण ठाउँ सिंगै गलकोटको भागमा पान्र्या गल्ती काम भयाको थियो । उतिबेला रोपियाको बिषवृक्षमा यतिबेला फल लाग्याको मात्र हो । आज्ञाअनुसार समस्याको समाधान गरीकन आयाको छु, महाराज !’
त्रिपक्षीय सम्झौताअनुसार गरिएको धर्मपत्रको कागज र राज्यकोे मोहर अदबपूर्वक महाराजका हजुरमा सुमन्तले पेस गरे । उनकोे हातबाट सामग्री ग्रहण गर्दै राजाबाट थप प्रश्न आयोः
‘तकमेली थापा, मगर, भण्डारीलगायतका गाउँबूढा भद्रभलाद्मीहरूको सहयोग मिल्या हो नि ?’
‘ढोरको चरिचरन बन्द हुन्या भन्याको तकमेलहरूको घाँटीमा सुर्के पासो कसिन्या कुरो थियो । सहयोग गर्न्या र सम्झौताप्रति समर्थन जनाउन्याको के विकल्प थियो र विचरा उनीहरूसँग ! तीनौटै राज्यका तर्फबाट भयाको धर्मपत्रमा पर्वतका तर्फबाट सामान्य रैती रैतान भद्रभलाद्मीहरूको सहिछापसमेत गरायाको छु ।’
महाराजले मुसुक्क हाँसेर महारानीको अनुहारमा हेरे । ‘हेर । मैले भनेको होइन ? यो ठिटोमा कति सुझबुझ छ !’ भन्ने भाव महाराजको अनुहारमा स्पष्ट देखिन्थ्यो ।
‘कस्तो धर्मपत्र हो ? यसमा के लेखियाको छ ?’
यस पटक महारानीबाट जिज्ञासा प्रकट भयो । सुमन्तले जिज्ञासु नजर महाराजतिर लगाए । महाराजबाट व्यहोरा सुनाउने इशारा पाएपछि सुमन्तले विवरण सुनाएः
‘सरकार ! मैले पूरै ढोरपाटनको निरीक्षण गरेँ । उत्तरपश्चिम रुकुमको कब्जामा रह्या छ । पूर्व–दक्षिण गल्कोटको इलाका पर्दो रह्या छ । पर्वतको सिमाना त द्यौराली यता मात्र रह्या छ । त्यसैले गल्कोटले दक्षिणी भागमा घरगोठ, खर्क राख्न्या, पूर्वी पाटोमा पर्वतले र पश्चिम पाटोमा रुकुमले खर्क बनाउन्यागरी सीमा तोकन्या काम भयो । ढोरको मैदान र वन क्षेत्र सबैले साझा मानीकन वस्तुभाउ चराउन्या सहमति भयो । त्यसवापत पर्वतले सालिन्दै दुई बीस देशी मोहर गल्कोट निसीलाई ‘सिर्तो’ स्वरूप बुझाउन्या । पर्वतले तिर्याकोे सिर्तोको आधा निसीबाट रुमुकले पाउन्या शर्तनामा गरियो । पर्वत राज्यले पुरानो अर्णाकोटअन्तर्गतको ढोरमा चरिचरन उपयोग गरेवापत सालबसाली तिर्नुपर्न्या भुज्यालको सिर्तो ताकमकोटका रैतीहरूले दामासाहीले उठाई पर्वत राज्यकन बुझाउन्या कुरासमेत यो धर्मपत्रमा पर्याको छ ।’
‘तकमेलहरू रुष्ट त छैनन् नि ?’, महाराजले थप जिज्ञासा राखे ।
‘त्यस्तै हो महाराज ! दरबारसँग आसेपासे, रैतान, प्रजाहरूका सानातिना गुनासाहरू त रहन्छन् नै । सबैलाई सधैँभरी खुसी राख्न कहाँ संभव हुन्या हो र ? अत्तोगाह्रो पर्याको बेलामा भरमद्धत गर्न्या दायित्व राज्यको हो, राजाका हो ।’
‘थापा, मगर, छन्त्याल र भण्डारीहरूको पर्वत राज्यकन गुन छ । तिनकन सधैँ खुसी राख्नुपर्छ बरु उनीहरूको थप गुनासो के रह्या छ ?’
‘राज्यले हामीकन बिस्र्यो भनीकन तकमेलहरूले चित्त दुखाउँन्या रह्या छन् ।’
‘उनीहरूको घरआँगन राज्यले बढारिदिन्या होइन क्यारे ! अत्तो अप्ठेरो पर्दा उनीहरूकन सधैँ सघाइयाकै छ । सुख सुविधाको ख्याल गरियाकै छ । यी यस पटक पनि उनीहरूको गुनासो आउनासाथ चरिचरनको समस्या समाधान गरियो । पर्वत दरबारले ताकमकन उपेक्षा गर्यो कसरी भन्न मिल्छ र ?’
‘होइन, महाराज ! तकमेलहरूले यस पटक त महाराजको ठूलो गुन मान्याका छन् । माघे संक्रान्तिमा कोसेलीपात लिईकन तकमेली भद्रभलाद्मीहरू महाराजमा कृतज्ञता चढाउन आउन्या भयाका छन् ।’
‘त्यसो हो भन्या उनीहरूको चित्त दुखाउन्या खास कुरा के रह्याछ त ?’
‘कुरो पुरानो रह्याछ । मल्ल राजाले थापा, मगर, पौडेल र सुवेदीहरूसँग गर्याको धर्मपत्र उल्लंघन भयाको गुनासो रह्याछ ।’
‘पर्वत दरबारले तकमेलहरूसँग कस्तो धर्मपत्र कहिले गर्याको रह्याछ र ?’, यस पटक महारानीले जिज्ञासा राखिन् ।
'... त्यतिखेरसम्म चार हजार पर्वत भनिन्या थापा राज्यको संयुक्त शक्ति निकै बलियो बनिसक्याको थियो रे ! अर्णाकोटको एकल शक्ति सामथ्र्यले थापा राज्य डोलाउन मुस्किल थियो रे ! त्यसैले ताकमले पनि टेरपुच्छर लगायानछ । ताकमकन तह लगाउन्या मनसुवा पाल्याको निसीले दोस्रो बाटो पहिल्यायाछ ।’
‘दिन ढल्न आँटी गयो । थकाइ पनि लाग्याको छ । माथि पनि उक्लनुपर्यो । अर्को कुनै दिन इतिहासको रहस्य बताउँला, आजलाई बिदा पाऊँ कि ?’, सुमन्तले याचना गरे ।
‘होइन, सुमन्त ! तिमी पनि थाक्याका होलाउ । तिम्रो घोडा पनि थाक्याको होला । आज यतै दरबारकै पाहुना बनीकन बस । भोलि बिहान पुला उक्लनू । दरबार अर्को महिना मात्रै बस्न्या हो । तिमीले पनि आराम गर । महारानीले तिमीसँग इतिहास र परंपराको बारेमा जिज्ञासा राख्ने इच्छा राख्याकी छन् । जान्या बुझ्याको कुरा बताइदिन्या काम गर । हुुँदैन ?’
राजाज्ञाको अनादर गर्नु संभव थिएन । ‘हवस्’ भनेर स्वीकार्नै पर्यो । सुमन्तले संक्षेपमा तकमेलीे गुनासोको इतिहास कथा सुनाउन थालेः
‘बाइस्या चौबीस्या राज्यहरू निर्माण हुनुभन्दा अगाडि सर्पकोट र अर्णाकोटमा निसी नामको एउटा सानो राज्य रह्या’छ । महाराजका पूर्वज शाही आनन्द बमले त्यो राज्य आर्जन गर्याका रह्याछन् । उनको बाहुबलबाट ‘त्रिकोट’को राज्य बन्या छ । अर्थात् पुरानो अर्नाकोट र सर्पकोटमा ताकमकोट पनि थपिया छ । अर्नाकोटको भुजेल राज्यसंँग ताकमसमेतको विशाल राज्य सम्हाल्ने राजकीय बन्दोवस्ती थियानछ । त्यसैले पुराना थापा राजवंशकन सालवसाली सिर्तो बुझाउन्यागरी ताकमकोट फिर्ता दिइयाको रह्याछ ।’
‘आनन्द बम पछि चन्द्र बम राजा बन्या । उनको पालादेखि ताकमले कर बुझाउन छोड्या छ । आनन्दका नाति डिम्ब बम राजा भयापछि ताकममा पुनः कब्जा गर्न्या योजना बन्याछ । निहुँ खोज्न्या सिलसिलामा पुरानो बक्यौता कर बुझाउन ताकमकन ताकेतापत्र लेखियाछ । त्यतिखेरसम्म चार हजार पर्वत भनिन्या थापा राज्यको संयुक्त शक्ति निकै बलियो बनिसक्याको थियो रे ! अर्णाकोटको एकल शक्ति सामर्थ्यले थापा राज्य डोलाउन मुस्किल थियो रे ! त्यसैले ताकमले पनि टेरपुच्छर लगायानछ । ताकमकन तह लगाउन्या मनसुवा पाल्याको निसीले दोस्रो बाटो पहिल्यायाछ ।’
‘कस्तो दोस्रो बाटो ?’, महारानीले सोधिन् ।
‘डिम्ब बमले ताकम हत्याउन भेद नीति अख्तियार गर्याछन् । ताकम राज्यका भारदारहरू रन्के मगर, जैचन छन्त्याल र भृगु भट्टकन लोभलालचमा पारीकन आफ्नो पक्षमा मिलाउन सफल भयाछन् । दशँैको उत्सव मनाइरह्याको बेलामा अर्णाकोटले तामकमाथि हमला गरी गढी कब्जा गर्याछ । थापाहरू खानपिनमै मस्त रह्याकाले निसीको सामना गर्न सकन्या अवस्थामा थियानछन् । त्यसमाथि निसीको विशाल सेनाले ताकमकोट कब्जा गरिसक्याको छ र त्यससँग भिडिनु काल निम्त्याउन्या नादानी हुन्या छ भनीकन रन्के, जैचन र भृगु भट्टहरूले थापाहरूकन तर्सायाछन् । ज्यान जोगाई भाग्न उक्सायाछन् । थापा राजाले आफ्नो गाउँ त्यागी दाङखोलापारिको थापाचौरमा शरण लिन पुग्याछन् ।’
‘ओहो ! त्यस्तो जालझेल पो गरियाकोे रह्याछ ?!’, महारानीले आश्चर्य प्रकट गरिन् ।
‘युद्धमा सबै कुराकन जायज मानिन्छ । पापधर्मको ख्याल गर्न थालियो भन्या समरमा विजय प्राप्त गर्न सकिँदैन सरकार ! निसीको तर्सोले थापा राजा भाग्यापछि गढीमा डेरा जमायाका डिम्ब बमकहाँ पुगीकन ज्यामरुक, पुला र कुहुँबाट सहायता आउने भयाको छ, सिंगो चार हजार पर्वतको सामना गर्न गाह्रो पर्न्याछ । बरु थापाहरूसँग सम्झौता गर्नु बेस हुन्याछ भनीकन भृगु भट्टहरूले सल्लाह दियाछन् । कुरो साँचै होला भनीकन डिम्ब पनि थापासँग सम्झौता गर्न राजी भयाछन् ।’
‘तकमेली भारदारहरूले दोहोरो भूमिका पो खेल्याछन् त ?’
‘हो सरकार ! ‘अब उप्रान्त थापाले शाहीकन राजा मान्न्या, शाही र थापाका कुलदेवता साटासाट गन्र्या, थापाकन कज्याई दिन्या, पौडेल र सुवेदीकन शाहीहरूले पनि गुरूपुरोहित बनाउन्या र छन्त्याल र मगरकन पनि राज्यको विशेष जिम्मेवार पदमा स्थान मान दिन्या’ कुरा लेखियाको धर्मपत्र लेखापढीमा कुशल भृगु भट्टले तयार गर्याछन् । दुवैथरी राजाहरूको सहीछाप मोहर लगाइयाछ ।’
‘व्यवहारमा भने थापाले कहिल्यै काजी पद पायानछन् । छन्त्याल र मगरहरूकन पनि राज्यले कुनै जिम्मेवारी दियानछ । धर्मपत्रअनुसारको सुविधा पौडेल र सुवेदीहरूले मात्र पायाछन् । डिम्ब बमले चार हजार पर्वत डोलायापछि ताकम छोडीकन पुलामा राजधानी सार्याछन् । थापा, छन्त्याल र मगरहरू उतै छुट्याको छुट्यै भयाछन् । तकमेलहरूको गुनासोको कारण त्यही रह्याछ । शाही राजवंशले हामीकन ढाक्रे बनाई छोड्यो भनीकन थापाहरूले गुनासो गर्दा रह्याछन् ।’
‘हो, विचरा थापाहरूकन अन्याय नै भयाको रह्याछ’, महारानीले राय पोखिन् । महाराजले रुचिपूर्वक इतिहास कथा सुने मात्र । कुनै प्रतिक्रिया जनाएनन् ।
झमक्क साँझ परिसकेछ । पर्वतको पुरानो कथा सुन्दा समय बितेको पत्तै भएन । खानपिनको तयारी हेर्नका लागि महारानी भान्सातिर लागिन् । सुमन्त पनि राजासँग बिदा भएर अतिथिशालातिर लागे । म्याग्दी नदीमा ‘तार’को व्यवस्थाका लागि आवश्यक सामग्री तयार भइसकेको हुनाले भोलिदेखि काठेसाँगु बनाउने काम सुरु हुने सूचना द्वारेले महाराजको हजूरमा जाहेर गरे ।
(चन्द्रप्रकाश बािनयाँको ऐतिहासिक उपन्यास 'महारानी' शिखा बुक्सबाट प्रकाशन हुँदै छ।)