फुर्सदको मन्त्रालयदेखि चार धाम तीर्थाटनसम्म

फुर्सदको मन्त्रालयदेखि चार धाम तीर्थाटनसम्म

दिलीपकुमार चापागाईं  |  दृष्टिकोण  |  मंसिर ११, २०७६

जिल्लाको भीडभाड, छलफल, बैठक र समस्या समाधानकै दैनिकीमा समय गुज्रिरहेको मलाई रक्षा मन्त्रालयमा सरुवा भई आएपछि फुर्सद बढी नै मिलिरहेको थियो । जिल्ला विकास समिति जस्तो सधैँको भीड, छलफल मिटिङ र समस्या समाधानको शृंखला पूर्णतया बन्द हुने नै भयो । जनतासँगको  प्रत्यक्ष सम्बन्ध, उनीहरूको प्राथमिकतका योजना बनाउने आदि कार्य अब गर्नुपर्ने अवस्था थिएन ।

बिहान १० बजे अफिस रक्षा मन्त्रालय पुगेँ । मन्त्रालयको एक चरणको छलफलपश्चात् आफ्नो कोठामा आई कम्प्युटरमा बसरे समय गुजार्न थालेँ । त्यो कम्प्युटर बसाइमा केही सूचनाहरू हेर्ने र सामाजिक संजालमा समय गुजार्नेबाहेक खासै जिम्मेवारी पनि थिएन ।

यो रक्षा मन्त्रालयमा रहेर काम गर्दाको नियति नै थियो । क्रियाशील जीवन बिताइरहेकाहरूका लागि यी दिन बढी नैराश्यपूर्ण र अर्थहीन हुँदारहेछन् ।

रक्षा मन्त्रालयमा हाजिर भएदेखि व्यवहार, अन्तरवैयक्तिक सम्बन्ध र सूचनाको संप्रेषण अत्यन्तै साँघुरो भएको पनि अनुभव भइरहेको थियो मलाई । पदीय उच्चताको भाव ‘मिलिटरी’ संगठनमा हुने भएकाले पनि होला, रक्षा मन्त्रालयअन्तर्गतका सभा र बैठकहरूमा न त छलफल रुचाइन्छ, न अरूको उपस्थिति आफ्नो कार्यकक्षमा स्वाभाविक नै मानिथ्यो ।

यो अवस्थाले गर्दा संगठनको आधारभूत संस्कृतिलाई साझा बनाउने कुराहरू अझ जटिल र पेचिला भइरहन्थे । रक्षा मन्त्रालयको कार्यरम्भ मेरो पेरिफेरीमा भइरहेको थियो । कार्यविवरण त पाएको थिएँ तर कार्य एउटा पनि थिएन । आफ्नो शाखाको  सबै तहको एउटै  मात्र कर्मचारी म !  न त कारिन्दा, न सहयोगी ! सबै आफैँ र एक्लै !

नयाँ संगठन र सोचका साथ राष्ट्रिय सुरक्षाको विशेष उद्देश्य प्राप्तिका लागि रक्षा मन्त्रालयको स्थपना भएको हुनुपर्छ तर त्यसको मर्मअनुसार कामकाज भएको अनुभव हुन सकिरहेको छैन । राजनीतिक र प्रशासनिक नेतृत्वले यो मर्मलाई पूर्ण रूपमा आत्मसात् गर्न  र त्यसअनुसारको व्यवस्थापन गर्न नसक्दा शाखा र महाशाखाको जिम्मेवारीमा रहेका कर्मचारी हामीलाई पीडाबोध हुने नै भयो, जो भइरहेको थियो ।

कार्यालयको कार्यव्यस्तताका कारण श्रीमतीजीका कयौँ प्रस्ताव अस्विकार गरेको कुरा पनि सम्झना नहुने कुरै भएन । यो सबै परिवेशमा योजना बन्यो, चार धामको यात्रामा जाने !

समग्रमा भन्नुपर्दा जिल्लामा रहँदा आफ्नो व्यक्तिगत जीवन नै नभएजस्तो आनुभव भएका एक कर्मचारीका लागि रक्षा मन्त्रालयमा फुर्सदको समय जति पनि निकाल्न सकिनेरहेछ । नयाँं योजना त फुर्सदको क्षण र समयमा नै बन्ने हो नि !

यो समयमा एक्कासि श्रीमतीजीबाट चार धाम यात्राको  प्रस्ताव आयो । किन नआओस् ! लामो समयदेखि सधैँको ‘कर्मचारी’ व्यस्तताले घरपरिवारलाई समय दिन सकिरहेको थिइनँ पनि  । तर, मन्त्रालय आएपछि पूरै फुर्सद देखेर, कामकाजविहीन देखेर नै श्रीमतीजीबाट यो प्रस्ताव आएको सहज अनुमान गर्न नसकिने कुुरै भएन । त्यसैले पनि मेरोे मनले भन्यो, ‘यो फुर्सदको क्षणलाई सदुपयोग पनि गरौँ, गर्न सके भविष्यमा गर्नै पर्ने कार्य छुट्यो नि !’ भन्न नि नपर्ने र श्रीमतीजीको प्रस्ताव मनेको पनि हुने निश्कर्षमा म पुगेँ ।

कार्यालयको कार्यव्यस्तताका कारण श्रीमतीजीका कयौँ प्रस्ताव अस्विकार गरेको कुरा पनि सम्झना नहुने कुरै भएन । यो सबै परिवेशमा योजना बन्यो, चार धामको यात्रामा जाने !

केही समयअघि विराटनगरमा बसोवास गर्दा मेरा गुरुसँग एक सन्दर्भमा कुरा भएको थियो । कुराकानीको क्रममा उहाँले भन्नुभएको थियो, ‘हामीलाई पनि तपाईंले चार धाम लिएर जानुपर्छ !’ चार धामको यात्रामा जाने जाँचोपाँजो मिलाउने तयारी थल्दा आफ्ना गुरुले भनेको कुरा मेरो सम्झनामा आयो र गुरुको खोजीमा लागियो ।

संयोग नै भन्नुपर्छ, गुरु त काठमाडौं आउनुभएको रहेछ । उहाँलाई भेटी चार धामको यात्रामा जाने प्रस्ताव गर्‍यौँ । प्रस्तावका साथमा विगतमा उहाँले राखेको प्रस्तावलाई स्मरण पनि गरियो । कुरै कुरामा चार धाम जाने निधो भयो ।

सुरुमा म, श्रीमती र गुरु जाने निधो गरियो । हामी चार धामको यात्रामा जान तयार भएको जानारी पाउनुभएको केदार दाइ (मेरा साढु दाइ)लाई पनि अनुरोध गर्‍यौँ । सुरुमा  सहमति  भयो तर उहाँको हात फ्र्याक्चर भएकाले पछि नजाने हुनुभयो । तर, जेठी सासु  नानु दिदीले तीर्थ जाने तीब्र इच्छा गर्नुभएकाले सहमतिका लागि दाइसँग पुनः अनुरोध गर्‍यौँ । दाइबाट अन्ततस् सहमति भयो । अब हामी चार जाना हुने भयौँ, चार धामका यात्री !

विराटनगरमा रहनुभएका ईश्वर दाइसँग पनि बारम्बार कुरा भइरहेको थियो तर उहाँले सहमति जनाइसक्नुभएको थिएन । निरन्तरको संवाद र पछि भाउजूलाई विशेष आग्रहपश्चात् भने तीर्थ जान तयार हुनुभयो । सहभागी थपिँदै थियौँ । विष्णु दाइलाई सुरुमा अनुरोध गर्दा नजाने भन्नुभएको थियो तर किन हो पछि जाने भनेर खबर गर्नुभयो । सायद भाउजूले बढी नै ढिपी गर्नुभएछ क्यारे !

अब हामी आठ जना यात्री भयौँ । यात्राको व्यवस्था र टिकट विराटनगरबाट लिने प्रबन्ध मिलाइयो । हामी सबै जाने कुराको अन्तिम सूचना धरान दिदीलाई  गरायौँ । बिदा लिने भयौँ तर किन हो अन्तिम समयमा आएर दिदीले आफू पनि जाने कुरा गर्नुभयो । टिकट लिइसकेको अवस्थामा सबैलाई एउटैमा  टिकट मिलाउनलाई सहज थिएन । हामी आफैँले टाढाटाढा बस्नुपर्ने अवस्थाको निर्माण गर्‍यौँ । यात्राको दुखद् क्षणको सानो झड्का आई लागिहाल्यो ।

तर, जे भए पनि यात्रा निश्चित भयो । कार्यालय बिदासमेत लिएर २०६९ जेठ २७ गते हामी विराटनगर गयौँ । ८ गतेको ट्रेन  थियो, पटनाका लागि ।

क्रमशः