लोकसंवाद संवाददाता | खेलकुद | मंसिर ११, २०७६
काठमाडाैं । १३औं दक्षिण एसियाली खेलकुद सागअन्तर्गत हुने भलिबल प्रतियोगिता आज देखि सुरु हुँदैछ ।
औपचारिक उद्घाटन मंसिर १५ मा हुने भए पनि महिला र पुरुष भलिबल भने आजदेखि सुरु हुन लागेको हो
त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा हुने पुरूष तथा महिला भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको आयोजक समितिले जनाएको छ ।
भारतबाहेकका प्रतियोगी देशका टिमहरू नेपाल आइसकेका छन् । भारतले महिला तथा पुरूष भलिबलमा सहभागिता जनाउने विषय भने अझै टुंगो लाग्न सकेको छैन।
नेपालले आफ्नो समूहको पहिलो खेलमा बुधबार बंगलादेशसँग खेल्दैछ ।
दुई साताअघि बंगलादेशमा भएको एभीसी सिनियर सेन्ट्रल जोन वुमन्स भलिबल च्याम्पियनसिपमा गोल्ड मेडल जितेको नेपाली महिला भलिबल टिमले त्यसको खुसी मनाउन नपाउँदै घरेलु कोर्टमा १३ औं साग खेल्न लागेको हो । घरेलु कोर्टमा खेल्दा उत्साह र दबाव दुवै रहेको महिला टिमका कप्तान अरुणा शाहीले बताइन् ।
महिला टोलीलाई सेन्ट्रल जोनको उपलब्धिलाई जोगाउनु पनि छ ।त्यसैले ‘घरेलु मैदानमा खेल्न पाउँदा सबै जना उत्साहित छौं’, अरुणाले भन्छिन्, ‘सेन्ट्रल जोन जितेर आएकाले उत्साहसँगै दबाव पनि महसुस भइरहेको छ ।’
घरेलु मैदानमा हुने खेलमा दर्शकको सकरात्मक तथा नकरात्मक दुवै खालको समर्थन प्राप्त हुने विश्वास शाहीको छ ।
अरुणाले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गर्दै गोल्ड मेडल जित्ने लक्ष्य रहेको बताइन् ।