सन्धिखर्क बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १९, ११ जनाको सनाखत

सन्धिखर्क बस दुर्घटना अपडेट : मृत्यु हुनेको संख्या १९, ११ जनाको सनाखत

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर १२, २०७६

अर्घाखाँचीको सन्धिखर्क नगरपालिका- ६, नरपानीमा बुधबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १९ पुगेको छ । मृत्यु भएकामध्ये ११ जनाको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका १० जनामध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

सन्धिखर्क- ७ डिहीडाँडाका ५६ वर्षीय शिवलाल भट्टराई, सोही ठाउँकी २२ वर्षीया माया पुरी, सोही ठाउँका ५४ वर्षीय बलराम भट्टराई, बस धनी शीतगंगा नगरपालिका- २ झिर्राका ३७ वर्षीय सन्तबहादुर बस्नेत र सोही ठाउँकी २७ वर्षीया सीता बस्नेत बस्नेतको सनाखत भएको प्रहरीको भनाइ छ । 

मृत्यु भएका अन्यमा कपिलवस्तु बुद्धभूमि बाँसगढीका बस चालक ३६ वर्षीय ओमबहादुर थापा (वसन्त), भूमिकास्थान नगरपालिका- ९ ठूलोडेवाका २७ वर्षीय शैलेस थापा, सन्धिखर्क नगरपालिका- १० का छविलाल गैरे, गुल्मी धुर्कोट- २ घर भई हाल रूपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवान राजकुमार महत छन् ।

सन्धिखर्क नगरपालिका- ७ की अन्दाजी ८ वर्षीया बालिका मनिका खड्का र नाम नखुलेको ५-६ महिने शिशुको पनि सोही दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

८ जना मृतकको सनाखत हुन बाँकी छ । शवहरू जिल्ला अस्पताल सन्धिखर्कमा राखिएको छ ।

घाइतेको विभिन्न स्थानका अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

दुर्घटनामा घाइते भएका दुई जना भने अस्पतालमा उपचारपछि घर फर्किएका छन् ।

बुधबार दिउँसो सन्धिखर्कबाट बुटवलतर्फ जाँदै गरेको लु२ख २१ ४८ नम्बरको बस सडकबाट करिब ४०० मिटर तल खसेर दुर्घटना भएको थियो ।