दाइजोको रकमबाट विपन्न बालबालिकालाई न्यानो कपडा

दाइजोको रकमबाट विपन्न बालबालिकालाई न्यानो कपडा

लोकसंवाद संवाददाता  |  समाज  |  मंसिर १२, २०७६

सप्तरी । सप्तरीमा एक व्यक्तिले विवाहमा दाइजो दिने रकमबाट विपन्न समुदायका महिला तथा बालबालिकालाई न्यानो कपडा वितरण गर्नुभएको छ । 

सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–४ मधवापुर निवासी शैलेन्द्रचन्द्र झाले आफ्नो छोरी अभिलाषाको विवाहमा लाग्ने रकम सामाजिक कार्य लगाउनुभएको हो ।
  
बेहुली अभिलाषा र उनका पिता शैलेन्द्रले विपन्न समुदायका २५० महिला र ३०० बालबालिकालाई न्यायो लुगा वितरण गरेको उहाँको पारिवारिक स्रोतले जनाएको छ । त्यस्तै अशक्तताका कारण उपस्थित हुन नसकेका २४ वृद्घवृद्घालाई समेत बेहुली र उनका बुबाले घरमै गएर न्यायो लुगा प्रदान गर्नुभयो ।  

बेहुला पक्षका अभिभावकसमेतको सहमतिमा दाइजो लेनदेन नगर्ने भएपछि समुदायका विपन्न महिला तथा बालबालिकालाई लक्षित गरी राहतस्वरुप गरीब असहायलाई जाडोका लागि न्यानो कपडा वितरण गरेको बेहुलीका बुबा झाले बताउनुभयो ।
 
जाडोको बेला तातो कपडा पाएर सबै खुशी भएका छन् । लत्ताकपडा पाएर खुशी भएकी उर्मिला सदाले दुई छाक जोहो गर्न मजदुरी गर्नुपर्ने हामीजस्तालाई यो सहयोगले चिसो छल्न सजिलो हुने बताउनुभयो । झाकी छोरी अभिलाषा र सप्तरीकै बलानविहुल गाउँपालिका–४ निवासी अमरनाथ झाका छोरा अमितबीच बुधबार बिनादाइजो विवाह सम्पन्न भएको थियो  ।