लोकसंवाद संवाददाता | समाज | मंसिर १२, २०७६
बैतडी । बैतडीमा उपनिर्वाचन हुने तीन वडामा आजदेखि मतदाता परिचयपत्र वितरण शुरु गरिएको छ । दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा मङ्सिर १४ गते उपनिर्वाचन हँुदैछ ।
उपनिर्वाचनका लागि तोकिएका मतदानस्थलबाट आज र भोलि दुई दिन मतदाता परिचयपत्र वितरण गर्ने बैतडीका निर्वाचन अधिकारी माधव फुँयालले जानकारी दिनुभयो । दोगडाकेदार गाउँपालिका–४ मा केदार मावि पिपलकोट र हुनैनाथ आधारभूत विद्यालय कपिन्ना मतदानस्थल तोकिएको छ । त्यस्तै सुर्नया गाउँपालिका–१ को साविकको गाविस भवन गुर्केलीलाई मतदानस्थल तोकिएको छ ।
यस्तै पुर्चौडी नगरपालिका–४ को महादेव मावि सिवाबो र पहरौल मावि बाङ्गालाई मतदानस्थल तोकिएको छ । विसं २०७४ मा आफ्नो मतदाता परिचयपत्र लैजान छुटेका तथा यही वर्षको साउन १६ गते १८ वर्ष पूरा भई मतदाता नामावलीमा नाम दर्ता गराएका मतदाताको परिचयपत्र वितरण भइरहेको हो ।
मतदानमा सहभागी हुन अनिवार्य आ–आफ्नो मतदाता परिचयपत्र लिन हुन जिल्ला निर्वाचन कार्यालय बैतडीले सबैमा अनुरोध गरेको छ ।