चितवनका तीन वडामा भएको वडाध्यक्षको निर्वाचनमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । भरतपुर महानगरपालिका– १६ मा कांग्रेसका अमृतराज हमाल ३०८ मतान्तरले विजयी हुनुभएको छ । उहाँले निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का भक्तराज हमाललाई पराजित गनुभएको हो । अमृतराजले तीन हजार १८३ मत प्राप्त गर्नुभयो भने भक्तराजले दुई हजार ८७५ मत प्राप्त गर्नुभएको थियो ।
यस्तै, पूर्वी खैरहनी नगरपालिका– ४ मा कांग्रेसका उम्मेदवार देवबहादुर बस्नेतले नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई १५२ मत अन्तरले पराजित गर्नुभएको हो । बस्नेतले एक हजार १३८ मत प्राप्त गर्दा नेकपाका वेदबहादुर अधिकारीले ९८६ मत ल्याउनुभएको थियो ।
खैरहनीकै वडा नम्बर ५ मा नेपाली कांग्रेसकी उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मत अन्तरले पराजित गर्नुभएको छ । कार्कीले ८४२ मत प्राप्त गर्दा र प्रधानको ७५६ मत आएको थियो ।
प्यूठान : प्यूठान नगरपालिका– २ को वडाध्यक्षमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मुक्ति पोख्रेल विजयी हुनुभएको छ । नेपाली कांग्रेसका उम्मेदवार मोहनसिं बिष्टलाई २८४ को मतान्तरले हराउँदै पोख्रेल विजयी हुनुभएका हो । विजयी उम्मेदवार पोख्रेलले एक हजार १२७ र प्रतिद्वन्द्वी बिष्टले ८४३ मत प्राप्त गर्नुभएको थियो ।
अछाम : मेल्लेख गाउँपालिका– ५ मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का रमेश खड्का विजयी हुनुभएको छ । नेपाली कांग्रेसबाट उम्मेदवार रहनुभएका वीरबहादुर बोहरालाई २१५ मत अन्तरले पराजित गर्दै खड्का विजयी हुनुभएको हो । कुल खसेको एक हजार ३५७ मतमध्ये खड्काले ७७८ मत प्राप्त गर्नुभएको थियो भने उहाँका प्रतिद्वन्द्वी बोहराले ५६३ मत प्राप्त गर्नुभयो । नेपाली कांग्रेसबाट निर्वाचित रामबहादुर बोहराको निधन भएपछि उक्त वडामा उपनिर्वाचन भएको हो ।
यसैबीच निर्वाचन सम्पन्न भइसकेपश्चात् शनिबार साँझ नेकपा र कांग्रेसका कार्यकर्ताबीच शनिबार साँझ झडपसमेत भएको थियो । झडपमा नेकपा निकट अनेरास्ववियुका केन्द्रीय सदस्य गम्भीर साउद र कांग्रेसका डम्बर स्वाँर घाइते भएका प्रहरीले जनाएको छ ।