प्रा.डा.डम्बरबहादुर कार्की | दृष्टिकोण | मंसिर १७, २०७६
मुटुमा रक्त संचार गराउने करोनरी आर्टरीहरू अचानक साँघुरिएर हृदय मांसपेसीमा आघात पर्ने रोगलाई हृदयघात (हार्ट अट्याक) भनिन्छ ।
हृदयघात ज्यादै कडा किसिमको रोग हो । यो रोग हुने बिरामीहरूको अचानक मृत्यु पनि हुन सक्छ । तर, यस रोगलाई सुविधा सम्पन्न स्वास्थ्य केन्द्रमा लगेर समयमा नै उपचार गराउन सकियो भने धेरै बिरामीहरूलाई बचाउन पनि सकिन्छ । हृदयघात भएका बिरामीहरूलाई मुटुको चाल बन्द भएर मृत्यु हुने संभावना भएकाले यिनीहरूलाई करोनरी केयर कक्षमा भर्ना गरेर लगातार ईसीजी मनिटरिङ गरेर उपचार गर्न सकिन्छ । यस्ता बिरामीहरूलाई हृदय गतिको रोग लागेको थाहा पाउनासाथ उपचार गर्दा रोगलाई नियन्त्रण गर्न भने संभव हुन्छ ।
हृदयघात भएका बिरामीहरूलाई धेरै प्रकारका अवान्छनीय प्रभाव पर्न सक्छन् । यी र यस्ता अवान्छनीय प्रभावहरूमध्ये ‘कार्डियोजनिक सक’ एउटा मुख्य कारण हो । ‘कार्डियोजनिक सक’ भनेको के हो र यसको उपचार कसरी गर्ने भन्ने विषयमा जान्नु अतिआवश्यक छ ।
युरोपियन कार्डियोलोजी सोसाइटीले ‘कार्डियोजनिक सक’ भएका बिरामीहरूलाई कसरी उपचार गर्ने भन्ने विषयमा सल्लाह दिएको छ । हृदयघात भएका बिरामीहरूमध्ये ३–१३ प्रतिशतलाई कार्डियोजनिक सक हुने संभावना हुन्छ ।
‘कार्डियोजनिक सक’ भएका बिरामीहरूमा फ्रिवाल रपचर २ प्रतिशत, सेम्टम रपचर ४ प्रतिशत, माइट्रलरिगर्जिटेसन ७ प्रतिशत र दायाँ हृदय कक्ष वा राइट भेन्ट्रिकलको कमजोरी ७ प्रतिशत पाइएको छ । फ्रिवाल रपचर र सेप्टम रपचरलाई शल्यक्रिया नै गर्नुपर्ने हुन्छ ।
‘कार्डियोजनिक सक’ भएका बिरामीहरूको मुटुको मांसपेसी धेरै कमजोर भएर मुटुको खुम्च्याइ एकदमै थोरै हुन्छ । मुटु खुम्चिँदा मुटुबाट कम मात्रामा रगत महाधमनीमा पुग्छ । साधारणतया एक मिनेटमा ५ लिटर रगत मुटुबाट निस्कन्छ । मुटु कम्जोर हुँदा आवश्क मात्रामा रगत शरीरका अंगहरूमा पुग्न सक्दैन । साथै, अंगहरूमा अक्सिजन पनि कम हुन्छ ।
‘कार्डियोजनिक सक’मा ब्लड प्रेसर कम हुन्छ र साथै हृदयगति बढ्छ । ईसीजीमा हृदयघातका लक्ष्यणहरू देखिन्छन् र रगतमा ट्रपोनिन बढ्छ । बिरामीलाई छाती दुख्नुका साथै सास फेर्नसमेत गाह्रो हुने गर्छ ।
‘कार्डियोजनिक सक’को शंका भएमा बिरामीहरूलाई साधन सम्पन्न ‘एन्जियोप्लास्टी’ गर्न सक्ने अस्पतालमा तुरुन्तै पठाउनु बुद्धिमानी हुन्छ । सुरुमा शिराद्वारा नर्मल स्लाइन दिनाले रक्तचाप बढ्न सक्छ । कुनैकुनै बिरामीलाई स्लाइन दिन मिल्दैन । यो कुरा पनि चिकित्सकले ध्यान दिनु आवश्यक छ ।
हिजोआज नेपालमा यस किसिमको अपरेसन अन्य सर्जनहरूले पनि गर्न थालेका छन् । धरानमा पनि मुटु रोगको शल्यक्रिया र एन्जियोप्लास्टीद्वारा मुटुको उपचार नियमित रूपले गरिन्छ ।
ब्लड प्रेसर बढाउन ‘नोर एड्रिनालिन’ शिराद्वारा दिन सकिन्छ । मुटुको खुम्च्याइलाई मद्दत गर्न कम मात्रामा ‘डोपामिन’ दिनु राम्रो हुन्छ । रक्तचाप बढाएर करोनरी आर्टरीमा रक्त संचार गराउने उपचार सुविधा सम्पन्न अस्पतालमा मात्र संभव हुन्छ ।
साँघुरिएको करोनरी आर्टरीलाई ‘एन्जियोप्लास्टी’ गरेर ‘स्टेन्ट’ प्रत्यारोपण गर्नु नै यस रोगको मुख्य उपचार हो । ‘कार्डियोजनिक सक’मा ‘करोनरी आर्टरी वाइपास’ सर्जरी पनि गर्ने गरिन्छ । यो विशेष किसिमका उपचार उपलब्ध नहुने ठाँउमा जमेको रगत पगाल्ने औषधि पनि गर्नुपर्ने हुन्छ ।
हृदयघातपछि मुटुको मांसपेसीको खुम्चिने शक्ति कम हुन्छ । मांसपेसीको खुम्चिने शक्ति ४० प्रतिशतभन्दा कम भएको मुटु भएकाहरूलाई ‘कार्डियोजनिक सक’ हुन सक्छ । साधन सम्पन्न भएको अस्पतालमा समयमौ उपचार हुँदा ‘कार्डियोजनिक सक’ भएका ४०–५० प्रतिशत बिरामीहरूलाई बचाउन सकिन्छ ।
‘कार्डियोजनिक सक’मा ‘करोनरी एन्जियोप्लास्टी’ गरेर स्टेन्ट राख्नुपर्छ । यो प्रविधि हिजोआज नेपालका धेरै ठाउँहरूमा उपलब्ध छ । ‘करोनरी एन्जियोप्लास्टी’ नेपाली चिकित्सकले सर्वप्रथम गंगालाल हृदयरोग केन्द्रमा सन् २००४ सेप्टेम्बरमा गरेका थिए । ‘करोनरी एन्जियोप्लास्टी’ गर्ने हुनुहुन्छ, प्रा.डा. यादव भट्ट ।
‘कार्डियोजनिक सक’मा कहिलेकाहीँ करोनरी आर्टरी वाइपास सर्जरी पनि गरिन्छ । प्रा.डा. भगवान कोइरालाले यो किसिमको शल्यक्रिया आईओएममा २७ फेब्रुअरी १९९७ मा गर्नुभएको थियो । सुरुसुरुमा करोनरी आर्टरी वाइपास सर्जरी वीर अस्पतालमा पनि भएको थियो । वीर अस्पतालमा यस्तो अपरेसन प्रा.डा. दामोदर पोखरेलले गर्नुभएको थियो ।
हिजोआज नेपालमा यस किसिमको अपरेसन अन्य सर्जनहरूले पनि गर्न थालेका छन् । धरानमा पनि मुटु रोगको शल्यक्रिया र एन्जियोप्लास्टीद्वारा मुटुको उपचार नियमित रूपले गरिन्छ ।
राम्रो तालिम लिएका चिकित्सकहरूले मात्र ‘करोनरी एन्जियोप्लास्टी’ र ‘कारोनरी आर्टरी वाइपास सर्जरी’ गर्न सक्छन् । यस किसिमको दक्ष जनशक्ति नेपालमा धेरै कम छ । तर, यस किसिमको दक्ष जनशक्ति नेपालमा नै उत्पादन गर्न संभव भने छ । हाल माथि उल्लेखित सेवा धेरै कम ठाउँमा मात्र उपलब्ध छ । नेपालमा उल्लेखित किसिमका सेवा दिन सक्ने अस्पताल बनाउनु नेपाल सरकारको दायित्व हो ।
करोनरी एन्जियोप्लास्टी’ र करोनरी वाइपास सर्जरी महँगा उपचार भए तापनि नेपाल सरकारले यी सेवाहरू गंगालाल हृदयरोग केन्द्रमा निःशुल्क दिएर आर्थिक अवस्था कमजोर भएका बिरामीहरूलाई ठूलो सहयोग पुर्याइरहेको छ ।
करोनरी आर्टरीको रोग भइसकेकालाई उपचार गर्नै पर्छ । तर, करोनरी आर्टरीको रोग हुन नै नदिन सामान्य स्वास्थ्य शिक्षाको देशव्यापी अभियान चलाएर रोगको रोकथाम गर्नु राज्यको मात्र नभएर समस्त नेपालीहरूको कर्तव्य हो ।