कृष्ण कुसुम | साहित्य | मंसिर २१, २०७६
२०६५ भदौको मध्यतिर यौटा निम्ता पाइयो साहित्यिक कार्यक्रमको । नागार्जुन साहित्यिक प्रतिष्ठानको आयोजनामा यौटा कथासंग्रहको विमोचन हुने कार्यक्रम थियो त्यो । नेपाल प्रज्ञाप्रतिष्ठानको वाचनालय पुग्दा थाहा पाइयो– साझा प्रकाशनबाट प्रकाशित कथासंग्रह ‘अभिशप्त समय’का लेखक घनश्याम शर्मा सिभिल इन्जिनियर रहेछन् । वक्ताहरूको कुरा सुन्दा उनी राम्रा कथाकार हुन् जस्तो लाग्यो । भलै, मैले उनको नाम यसअघि नसुनेको वा सुनेर पनि याद नगरेको रहेछु ।
उनको लेखनका बारे नारायण ढकाललगायतका लेखकले मन्चमा गरेको उनको प्रशंसा र सिभिल इन्जिनियर पनि हुनाले मेरो उनीप्रति अलिक बढी नै चासो रह्यो । कार्यक्रम सकिएपछि व्यक्तिगत रूपमा उनलाई भेटेँ । बधाई दिएँ । आफू पनि इन्जिनियरिङको विद्यार्थी हुनुका साथै इन्जिनियरिङ साहित्यिक समाजबारे पनि थोरै जानकारी दिएँ । आफ्नै क्षेत्रका अग्रजहरूलाई भेट्ने र अभिलेख राख्ने आफ्नो रहरको कुरा बताएँ । आपसमा मोबाइल नम्बर साटासाट भयो । अन्त्यमा हात मिलाउँदै भने– ‘कृष्णजी, तपाईंसँग राम्ररी बसेरै कुरा गर्न मन लाग्यो । म फÞोन गरेर खबर गर्छु छिट्टै ।’
त्यसको ४–५ दिनमा फÞोन गर्नुभयो– ‘कृष्णजी, म २–३ दिनमा हेटौँडा फर्कंदै छु, समय भए भोलितिर भेटौँ न घट्टेकुलोमा ।’
म पाँचौँ सेमेष्टरको परीक्षा सकेर एक हप्ते बिदामा थिएँ । खासै अरू काम थिएन । तुरुन्तै भेट्ने प्रस्ताव स्वीकारेँ ।
उहाँले भनेकै समयमा अनामनगर घट्टेकुलो चोकमा पुगेर फोन गरेँ । र, उहाँको घरसम्म पुग्ने बाटोको जानकारी लिँदै घर पुगेँ । घरमा उहाँकी आमा र सरला मेडमसँग परिचय गराउनुभयो– मेरो साथी भनेर ।
मलाई उहाँको सरल बानी र हँसिलो स्वभावले एकै भेटमा एकदम अमिट छाप पर्यो । त्यो भेटमा केही व्यक्तिगत सोधखोज चले । उहाँले अछामदेखि पुल्चोक क्याम्पससम्मका केही रमाइला कुरा सुनाउनुभयो । मैले पनि इन्जिनियरिङमा संस्थागत रूपमै चलाएको साहित्यिक अभियानका बारेमा बताएँ ।
विद्यार्थी समयमा घनश्याम ‘कोपिला’को नाममा कविता लेख्ने उहाँको योसहित २ वटा कथासंग्रह प्रकाशित रहेछन् । यस्तै केहि भलाकुसारीसहित चिया–नास्ता गरेर छुट्टियौँ । छुट्टिने बेला मलाई आफ्ना दुवै कथासंग्रह ‘धुलामा उडेका सपनाहरू’ र ‘अभिशप्त समय’ एक–एक प्रति उपहार स्वरूप दिनुभयो ।
कलेजमा नयाँ सेमेस्टर सुरु भइसकेको थिएन । त्यसैले पनि पहिलो काम त उहाँको संग्रह पढ्नु नै भयो ।
उहाँका कथा पढ्दै गर्दा मलाई बढो मजÞा लाग्यो । यौटा इन्जिनियरले आफ्नो वरिपरिका घटनाहरूलाई कसरी टिप्न सक्छ भन्ने कुरा उहाँको कथामा भेटेँ । भुइँमान्छेका दैनिक जनजीवनलाई सरल र मीठो तरिकाले खिपेर लेखिएका उहाँका कथाहरूले मलाई निकै प्रभावित बनाए ।
उहाँ सडकको इन्जिनियर । उहाँका पात्रहरू त्यही सडक निर्माणमा काम गर्ने कुल्लीहरू । आफैँसँग जोडिएका यस्ता जीवन्त कथा लेख्ने खुबी साँच्चै मनपरेको थियो मलाई । कथा पढिसकेर आफ्ना मनका कुराहरू सुनाउन फÞोन गरेँ । हेटौँडामै हुनुहुन्थ्यो । कथाप्रतिको आफ्नो धारणा सुनाएँ । खुसी हुनुभयो । बीचबीचमा फोन र म्यासेज चल्दै गयो । कुराकानी पढाइका, लेखनका हुन्थे ।
त्यही सालको इन्सासको वार्षिक कार्यक्रम माघतिर पर्यो । मलगायत अरू ५ जनाको यौटा सम्मान समिति बन्यो– दुई क्याटेगोरीमा २–२ जना स्रष्टाको नाम सम्मानका लागि सिफारिस गर्ने गरेर । इन्जिनियरिङ साहित्यिक समाजले बर्सेनि एक जना वरिष्ठ र अर्को जना युवा स्रष्टालाई सम्मान गर्ने प्रचलन थियो ।
साहित्यकारचाहिँ इन्जिनियरिङ पढेर आफ्नो पेसाका साथै लेखनमा सक्रिय हुनुपर्ने मापदण्ड थियो । ४–५ वर्षअघि सुरु भएको सम्मानबाट ४–५ जना वरिष्ठ र ४–५ जना युवा सम्मानित भइसकेका थिए । तर, इन्जिनियरिङ क्षेत्रका साहित्यकार निकै कम मात्र सम्पर्कमा थिए ।
पछि खोज्दै जाँदा भने राम्रा कवि, लेखक पनि यही क्षेत्रसँग सम्बन्धित रहेको भेट्न थालेँ । त्यसैले म त्यसको अभिलेख रहोस् भन्ने हेतुले यौटा संयुक्त कवितासंग्रह प्रकाशन गर्ने तरखरमा थिएँ । दिनानुदिन नयाँ नयाँ स्रष्टाहरू चिन्दै थिएँ । मेरो त्यतिबेलाको त्यो मिहिनेतले कवितासंग्रह नआए पनि संस्थासँग धेरै साहित्यकारहरूलाई जोड्न सहयोग पुग्यो । हालसम्म पनि इन्जिनियरिङ क्षेत्रका लेखकहरूका बारे जानकारी चाहिँदा साथीभाइहरू मलाई सम्पर्क गरिरहन्छन् ।
४–५ महिनाअघि मात्र राम्रो कथासंग्रह निकालेका शर्मा मेरो नजरमा परिहाल्नुभयो । ५ जनाको समितिमा मैले उहाँको लेखनयात्रा, प्रकाशित पुस्तकहरूसमेत जानकारी दिँदै प्रस्ताव गरेँ– युवा सम्मानका लागि पहिलो नम्बरमा राखेर । वरिष्ठका लागि २ जनाको नाम र युवाका लागि २ जना सिफारिस गरेर कार्यकारी समितिलाई सिफारिस गर्यौँ । कार्यकारी समितिले युवा स्रष्टा सम्मान उहाँलाई नै दिने निर्णय गर्यो । हामीले उहाँसहित २ जनालाई सम्मान गर्यौँ । त्यतिबेला उहाँ हेटौँडाबाट काठमाडौं कार्यालय सरुवा हुने तरखरमा हुनुहुन्थ्यो ।
उहाँ सरुवा भएर काठमाडौं आउनुभयो । बेलाबेला कुराकानी हुन्थ्यो । अर्को सालको मंसिरतिर कुनै दिन फोनमा भन्नुभयो– ‘बी.ई. सकियो ? के छ योजना जागिर गर्ने कि विदेश जाने ?’
‘अझ ३–४ महिना लाग्छ पढाइ सकिन । २–३ वर्ष यतै काम गरेर मात्र मास्टर्स पढ्ने योजना छ ।’
‘उसो भए पढाइ सकिएपछि जागिरका लागि सहयोग चाहिए खबर गर्नुस् है, मैले सकेको सहयोग रहन्छ !’
‘हुन्छ, अप्ठ्यारो पर्दा यहाँहरूलाई नै त हो सम्झने ।’
अन्तिम सेमेस्टरको पढाइ र प्रोजेक्टका कारण व्यस्त थिएँ । परीक्षा नसकिएसम्म बाहिरतिर कार्यक्रममा जान छाडेँ । सबैसँग सम्पर्कबाट टाढै रहेँ ।
फागुनको पहिलो साता परीक्षा सकियो । त्यसै समय हाम्रै कलेज ग्राउण्डमा (पुल्चोक क्याम्पसको खेल मैदान) क्रिकेट चल्दै थियो । परीक्षाको ‘ह्याङ’ हटाउन सबै साथीहरू खेल हेर्दै थियौँ । घनश्याम सरको फÞोन आयो– ‘परीक्षा सकियो ? कता के गर्दै ?’
ओहो ! हामी नेपालीहरू कति हतारमा छौँ । कोही कसैको जटिल स्वास्थ्यको खबर सुनेपछि हामीलाई फेसबुकमा आरआईपी लेखेर हाल्न साह्रै हतार हुन्छ । खबर पुष्टि भइरहनुपर्दैन । मैले त्यो घटनाबाट आजसम्म हेर्छु धेरै पटक मृत्यु नहुँदै धेरै जनाले फेसबुकमा आरआइपी पाइसक्नुभएको छ ।
भनेँ– ‘लिखित परीक्षा सकियो । प्रोजेक्ट डिफÞेन्स र रिपोर्ट बाँकी छ । अहिले चैँ क्रिकेट हेर्दै छु ।’
पूर्वपरिचित ठट्यौली पारामा भन्नुभयो– ‘इन्जिनियर भैसक्या मान्छे क्रिकेट हेर्दै बसेर हुन्छ ? काम सिक्ने हैन र अब ?’
‘अँ, गर्ने त हो तर खोजेको छैन । परीक्षाले गर्दा केही सोचिएको सम्म छैन । फेरि ग्रुप प्रोजेक्ट बाँकी छ ।’
‘ल तपाईं तयार हो काम सिक्न भने म सिकाउँछु । मैले हेर्ने साइटमा ठेकेदारलाई इन्जिनियर चाहिएको छ । मैले तपाईंले गर्नु होला कि भनेर सम्झेको ।’
‘काम त गर्ने तर के कसो हो, कुन ठेकेदार ? साइट आदि..’ मैले अलिक विस्तृत बुझेर खबर गर्छु भनेँ । उहाँले ‘भोलिसम्म खबर गर्नुस्’ भनेर फÞोन राख्नुभयो ।
तराईतिरको एक जना ठेकेदारका २–३ वटा सडक, पुल र नाला बनाउने कामका लागि रहेछ ।
म हाइड्रोपावरतिर काम गर्ने सोचमा थिएँ । साथीहरूसँगै थिएँ । फोन राखेपछि उहाँको कुरा सुनाएँ साथीलाई । साथीहरूले काम गर्न हौस्याए– ‘काठमाडौंमै गर्ने काम किन नाइँ भन्नु ? रिजल्ट नै नभईकन दिने त्यो तलब पनि राम्रै हो । काम सिक्दै गर्ने अरू बेटर अप्सन खोज्ने । प्रोजेक्टका लागि त हामी छँदै छौँ नि यार ! बिहान–बेलुका आफ्नो भागको काम गर न । तिमी भाग्यमानी हौ– केही दुखै नगरी काम पायौ ।’
साथीहरूको कुराले मलाई काम गर्ने मन भयो । बेलुका बुबासँग कुरा गरेँ ।
‘त्यो ठेकेदार अलिक फटाहा खालको छ । काम गरेको पैसा पो के गर्ला ? बेइमानी नगरे त काम गरे हुन्छ’, बुबा पनि सानो स्केलमा निर्माण व्यवसायमा संलग्न भएकाले उहाँलाई थाहा थियो ठेकेदारहरूबारे ।
भोलिपल्ट मैले काम गर्न इच्छुक हुनुका साथै बुबाको आशंका सुनाएँ ।
‘उसको कामको क्वालिटी हेर्ने, बिल बनाउने मै हुँ । तपाईंले मेरो अनुसार काम गर्ने हो । तलब मात्र उसको खाने । यदि तपाईंलाई केही बेइमानी गरे त उसको बिलबाट कटाएर दिन्छु नि !’, उहाँले भन्नुभयो ।
उहाँले सबै कुरामा ढुक्क बनाउनुभयो । म काममा लागेँ । भर्खरको सिकारु इन्जिनियरले ठेकेदारसँग काम गर्दा धेरै कुरा सिक्न पाउने रहेछ । झन् म त सडककै इन्जिनियरको सिफारिसमा आएकाले र ठेकेदारको अर्को साइट अलिक महत्त्वपूर्ण भएको हुँदा मेरो साइटको सबै जिम्मेवारी मैले नै लिनुपर्यो ।
त्यतिबेला उहाँसँग ९ महिना काम गर्ने अवसर मिल्यो । यौटा लेखक र पाठकको सम्बन्ध अब फरक भइसकेको थियो । उहाँको हार्दिकताले आफ्नो पेसाका धेरै लुकेका पाटाहरू जान्न पाएँ । कहिले गुरु र चेला जस्तो भइयो । कहिले सहकर्मी मित्र जस्तो भयो सम्बन्ध ।
प्रायः कामका बारे हरदिन कुरा हुन्थ्यो । एक–दुई दिन बिराएर उहाँ साइट आउने गर्नुहुन्थ्यो । त्यसबीच कहिल्यै पनि उहाँ काम जाँच्ने इन्जिनियर र म ठेकेदारको काम बचाउ गर्ने इन्जिनियर जस्तो भान हुन पाएन । साँच्चै भन्ने हो भने उहाँ मेरो शुभचिन्तक अग्रज हुनुहुन्थ्यो । त्यसैले त प्रायः भेटमा भन्नुहुन्थ्यो– ‘कृष्णजी, तपाईं नेपालमै बस्ने हो भने अब लोकसेवा तयारीमा लाग्नुस् । विदेश जाने भए त्यसैअनुसार तयारी गर्नुस् । तर २ मा १ छानेर तयारी सुरु गरिहाल्नुस्, धेरै अल्झिएर बस्नुहुन्न ।’
संगत गर्ने क्रममा थाहा पाएँ, उहाँ जति गम्भीर लेखक हो, उति नै ‘सेन्स अफ ह्युमर’ राम्रो भएको मान्छे पनि हो । धेरै रमाइला कÞिस्सा थिए हाम्राबीच त्यसबेला । यौटा किस्सा भने म उहाँको नाम मात्रै सम्झँदा पनि सधैँ सम्झन्छु ।
साइटमा सधैँ चिया–नास्ता खाने यौटा रेस्टुरेन्ट थियो । कहिले सँगै चिया मात्रै त कैले खाजा खाएर जानुहुन्थ्यो । एक दिन उहाँ अफिस फर्कने बेला खाजा खाएर मात्र जानुहोला भनेर अनुरोध गर्यौँ (मसँग अर्की इन्जिनियर पनि काम गर्थिन्) । तीन जनाका लागि खाजा अर्डर गरेको ३०–३५ मिनेट हुन लाग्दा पनि आएन । मैले साहुजीलाई व्यंग्यात्मक रूपमा सोधेँ– ‘साहुजी, आज अर्डर गरियो, भोलिसम्म त तयार होला नि ? हामी खान चैँ भोलि आऊँ ?’
साहुजीले हाँस्दै ‘सरहरू स्पेसल भएर मीठो बनाउँदै गरेर ढिला भएको हो, अब आइहाल्यो’ भने । तर, खÞास कारण काम गर्ने मान्छे कम र हामी नियमित भएकाले नयाँ ग्राहकलाई पहिला ‘सर्भ’ गर्दै थिए । मलाई यो कुरा थाहा भएकाले अलिअलि रिस उठेको थियो । माहोल रमाइलो बनाउन उहाँ हाँस्दै बोल्नुभयो– ‘तर्पांइहरू ढुक्क हुनुस्, हाम्रो अर्डर पक्का आउँछ । जति ढिला, उति कन्फर्म ।’
उहाँको कुराले हामीसँगै साहुजी पनि हाँसे । हामीले सोध्यौँ– ‘जति ढिला, उति कन्फर्म कसरी ?’
त्यसको अन्तर्कथा यसरी सुरु भयो– ‘१०–१२ वर्षअघि एक पटक कुनै पहाडी गाउँमा २–३ जना इन्जिनियरहरू नयाँ ट्र्याक बाटोको चेकजाँच गर्न गएका थियौँ । गाउँमा इन्जिनियर आएपछि खुबै सत्कार चल्थ्यो, त्यसबेला । हाम्रो सत्कारका लागि ठेकेदारले लोकल कुखुरा लिन पठायो । यता अरू खाना तयार गर्न लागे । ९ बजे कुखुरा खोज्न हिँडेको मान्छे १२ बज्न लाग्दासमेत आएन । न कुखुरा, न त कुखुरा खोज्ने मान्छेको कुनै खबर नै आयो । हामीलाई भोकले अत्याइसक्यो । फेरि अफिस पनि फर्किनुपर्ने । हामीले कुखुरा नकुरौँ, अब खाएर जाने भन्यौँ । ठेकेदारले के भन्यो थाहा छ ?’
एकपटक मज्जाले हाँस्नुभयो र हाम्रो उत्तर नकुरी आफ्नो कुरालाई निरन्तरता दिनुभयो– ‘सरहरू यहाँ आइसकेपछि सुख्खा भात त के खुवाउनु । लोकल भाले त खानै पर्यो नि ! तिनीहरूले ढिला गर्नुको अर्थ अब भाले नलिईकन तिनीहरू फर्किंदैनन् । यो गाँउमा भेटेनन् र अर्को गाँउमा गएजस्तो छ । ढुक्क हुनुस्, अब भाले आउँछ, जति ढिला, उति कन्फर्म ल ! पो भन्छ ।’
‘आयो त कुखुरा ?’, मेरी साथीले सोधिन् । ‘आयो, किन नआउनु नि ! तर, २ बजे आयो, ४ बजे बल्ल बिहानको खाना खाइयो । त्यसैले आत्तिनुहुन्न– जति ढिला, उति कन्फर्म’ भनेर मज्जैसँग हाँस्नुभयो । हामी सबै हाँस्यौँ । अब कहिलेकाहीँ केही ढिला भयो कि यही कÞिस्सा सुरु हुन्थ्यो– जति ढिला, उति कन्फर्म ।
केही समयमा मैले त्यो जागिर छाडेर विदुर नगरपालिकामा जागिर सुरु गरेँ एलजीसीडीपीअन्तर्गत । उहाँ पनि भक्तपुर सल्लाघारी सर्नुभएछ । एक–दुई पटक भेट भयो म काठमाडौं आउँदा । बेलाबेला फोनमा कुरा हुन्थ्यो ।
त्यतिबेला उहाँ तेस्रो कथासंग्रह ‘छिरिङ डोल्मा र अनाम शहीदहरू’को तयारीमा छु भन्नुहुन्थ्यो । यो २०६७ चैततिरको कुरा हो सायद ।
उहाँलाई कोमामा राखेर उपचार गर्ने कुरा थाहा पाएपछि मन हल्का शान्त भयो । अघि मृत्युको खबर थाहा पाउँदा भगवानसँग ‘यो खबर झूट होस्’ भनेर गरेको कामना पूरा भएको ठानेर लुम्बिनी गएँ ।
२०६८ जेठ ७ गते आइतबार । भोलिपल्टबाट सुरु हुने २ दिने प्रशिक्षणका लागि भैरहवा जाने तयारी गर्दै थिएँ । पहिलो संविधानसभाबाट संविधान आउने छाँटकाँट थिएन । विभिन्न दलहरूका विविध माग थिए । संविधान जारी गर्नुपर्ने दिन जेठ १५ जति नजिकिँदो थियो, उतिउति देश द्वन्द्वतिर जाँदै थियो ।
विभिन्न माग राखेर विपक्षी दलहरूको नेपाल बन्द थियो । घर (बालाजु)देखि एयरपोर्टसम्म जान सकस परेको थियो । त्यसैले अलिक चतुर्याइँ अपनायौँ । रेडियो सगरमाथामा साहित्यिक कार्यक्रम चलाउने विक्रम तिमिल्सिना दाइले मोटरसाइकलमा मलाई एयरपोर्ट छाडिदिने कुरा भयो । ‘प्रेस’ लेखेर बाइकको अगाडि टाँस्ने, प्रेसपास त छँदै थियो उहाँसँग ।
एयरपोर्ट जाने तयारी हुँदै थियो । फेसबुक हेरेँ । फेसबुकतिर धेरैले यौटा दुखद् खबर शेयर गरेका रहेछन् । उहाँको नजिकका मित्र कवि अनिल पौडेलको हवाला दिँदै लेखिएको थियो– ‘कथाकार घनश्याम शर्मा रहनुभएन । उहाँको अन्तिम संस्कारका लागि पशुपतिमा भेला हुन सबैलाई अनुरोध छ ।’
पहिले त धनश्याम शर्मा उहाँ नै हो कि होइन भन्ने निक्र्योल गर्न लागेँ । तर, अनिल पौडेलको नाम जोडिएर आएकाले पनि उहाँ नै हुनुपर्छ भन्ने लाग्यो ।
‘यो देशमा नियमको पालना गर्दा यौटा साहित्यकारले ज्यान गुमाउनु पर्यो !’ कसैको यो स्टाटस पढ्दै गर्दा उहाँको दुर्घटनाको कारण थाहा पाइयो । भक्तपुर सल्लाघारीस्थित सडक डिभिजन कार्यालय जाँदै गर्दा कोटेश्वरको ट्राफिक लाइटमा बाइक रोक्दा पछाडिबाट द्रुत गतिमा आएको टिपरले हानेको रहेछ ।
ओहो कस्तो नमीठो खबर आयो ! जे कुराबाट टाढा हुन मन लाग्छ, त्यस्तै कुराले नै हामीलाई पछ्याउँछ । यी सब कुरा पढिरहँदा मेरो दिमाग शून्य भयो । चक्कर लागेझैँ भएर उभिएकै ठाउँमा थचक्क बसेँ । मोबाइलको स्क्रिनमा आँसु देखेपछि थाहा भो– मेरा आँखा तरल भइसकेछन् ।
आफ्नो आजैको यात्रा छ । यता, आफ्नो प्रिय मान्छेको निधनको खबर । के गर्ने, कसो गर्ने सोच्न पनि सकिएको थिएन । विक्रम दाइलाई फोन गरेँ– ‘घनश्याम शर्मा रहनुभएन रे !’
‘मैले पनि त्यही सुनेँ । सबै जना आर्यघाट जाने कुरा छ । म भाइलाई अलिक चाँडो एअरपोर्ट छाडेर त्यहाँ जान्छु । भाइ अलिक अघि नै एयरपोर्ट गएर बस्नू ।’
‘हुन्छ, त्यसै गरौं तर म एयरपोर्ट जाँदा पहिले एक पटक आर्यघाट छिरेर जाऔँ न हुन्न दाइ ? अनि मलाई छाडेर पुनः आउनुहोला ।’
हाम्रो सल्लाह यही नै भयो । म सल्लाह भएअनुसार तयारीमा लागेँ । त्यहीबीच फेरि विक्रम दाइले नै फÞोन गरेर हतार नगर्न भन्नुभयो । ‘डाक्टरले मृत्यु घोषणा गरेको छैन । केही दिन कोमामा नै राख्ने कुरा छ । आर्यघाट जानु नपर्ने भो’, भन्नुभयो ।
फेसबुकतिर उहाँको निधनसम्बन्धी स्टाटस डिलिट भएछन् । शीघ्र स्वास्थ्यलाभको कामना गरिएका स्टाटसहरूले भरिएको थियो फेसबुक टाइमलाइन । ओहो ! हामी नेपालीहरू कति हतारमा छौँ । कोही कसैको जटिल स्वास्थ्यको खबर सुनेपछि हामीलाई फेसबुकमा आरआईपी लेखेर हाल्न साह्रै हतार हुन्छ । खबर पुष्टि भइरहनुपर्दैन । मैले त्यो घटनाबाट आजसम्म हेर्छु धेरै पटक मृत्यु नहुँदै धेरै जनाले फेसबुकमा आरआइपी पाइसक्नुभएको छ ।
उहाँलाई कोमामा राखेर उपचार गर्ने कुरा थाहा पाएपछि मन हल्का शान्त भयो । अघि मृत्युको खबर थाहा पाउँदा भगवानसँग ‘यो खबर झूट होस्’ भनेर गरेको कामना पूरा भएको ठानेर लुम्बिनी गएँ ।
लुम्बिनीबाट फर्केर आएपछि एक पटक अस्पतालमा भेट्न गएँ । उहाँ अचेत नै हुनुहुन्थ्यो । सरला मेडम बाहिर निस्केको बेला परेछ । उहाँका नातेदार कोही हुनुहुन्थ्यो । एक घण्टाजति बसेर फर्किएँ ।
धेरै समय अस्पतालमै राखियो उहाँलाई । मान्छे कोही नचिन्ने हुनुहुन्थ्यो । पछि जागिरको सिलसिलामा चिलिमे रसुवा पुगेँ । उहाँसँग नजिक मेरा अरू साथीहरूबाट उहाँका बारे अपडेट लिन्थेँ । लागेको थियो– लामै समय सघन उपचार गरेपछि फेरि उही हँसिलो अनुहारको फुर्तिलो घनश्याम हाम्रो माझ आउनुहोला र लेख्नुहोला– ‘अभिशप्त समयमा बाँच्न विवश छिरिङ डोल्मा र अनाम शहीदहरूका धुलोमा उडेका सपना ।’
म त यहाँले भनेकै कुरामा आशावादी थिएँ– ‘जति ढिला, उति कन्फर्म ।'
ढिलै गरेर पनि हामीले खोजेको मान्छे आउनेछ हाम्रो माझ भन्ने नै थियो अपेक्षा । तर, यसपालि धोका भयो सर– धेरै कुर्यौँ तपाईंको पुनरागमन । ढिला त गर्नु भयो तर कन्फर्म गर्नुभएन आफ्नो आगमन । हामीबीच नआई अन्तै कतै जानुभयो ।