दलित समुदायका विवाह संस्कारमा प्रयाेग गरिने बिहे प्रश्नोत्तरीहरू

दलित समुदायका विवाह संस्कारमा प्रयाेग गरिने बिहे प्रश्नोत्तरीहरू

डा. ध्रुवप्रसाद भट्टराई  |  दृष्टिकोण  |  मंसिर २२, २०७६

संसारका हरेक जातिजातिमा अनेकौँ संस्कार भएको निर्विवादित विषय हो । तीमध्ये जन्म, विवाह र मृत्यु संस्कार प्रायः सबैका लागि अपरिहार्य विषय हुन् । उहाँ प्रायः शब्द विवाह कसैका लागि ऐच्छिक हुन सक्छ भन्नका लागि प्रयोग गरिएको हो ।

यी संस्कार सबैले सम्पन्न गरे पनि संस्कार सम्पन्न गर्ने विधि वा प्रक्रियामा भने धेरै भिन्नता देख्न पाइन्छ । विवाह संस्कार सम्पन्न गर्दा एकातिर मन्त्र आदि प्रयोग गर्ने विधि वा प्रक्रिया अँगालिन्छ भने अर्कातिर विवाह खुसियालीको अवसर भएकाले नाचगान गर्ने रमाइलो गर्ने गरिन्छ । यस आलेखमा नाचगान गरी खुसियालीमा गाइने गीत वा नृत्यका बारेमा चर्चा नगरी दलितहरूले विवाह संस्कार सम्पन्न गर्दा प्रयोग गरिने लोकपद्य तथा लोकमन्त्रका बारेमा चर्चा गरिएको छ ।

यसका लागि आवश्यक पर्ने सामग्रीको संकलन वि.सं. २०६९ चैतदेखि २०७१ चैतका विभिन्न समयमा पाल्पा जिल्लाका विभिन्न गाविसमा रहेका कामी, दमार्इं, सार्की, सुनार, गन्धर्व आदि दलितहरूबाट गरिएको हो ।

नेपालको जनगणना २०६८ ले नेपालमा १२५ जातजाति रहेको उल्लेख गरेको छ भने केही जातजातिको निक्र्योल हुन नसकेको बताएको छ । हिमाल, पहाड र तराईमा रहने यी जातजातिमध्ये कामी, सुनार, दमाईं, सार्की तथा गन्धर्व आदि पनि महत्त्वपूर्ण जाति हुन् । यिनीहरू पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म र हिमालदेखि तराईसम्म नै सबै जातजातिसँग घुलमिल भएर रहेका छन् ।

यसरी घुसमिल भएर रहेका व्यक्तिहरूबीच मानवताका आधारमा कुनै विभाजनको आवश्यकता नभए पनि हाम्रो समाजमा पौराणिककालदेखि नै केहीलाई छुत जाति र केहीलाई अछुत जाति मानिँदै आएको छ । यिनै अछुत मानिएका जाति नै समाजका विभिन्न सन्दर्भमा दलित÷ पीडित हुनुपरेकाले यी जातिलाई दलित भनिएको पाइन्छ । त्यसैले यस अध्ययनमा पनि ती अछुत मानिएका जातिलाई दलित शब्दको प्रयोग गरिएको छ ।

दलित जातिमा अन्य जातजातिमा जस्तै जन्मदेखि मृत्युपर्यन्तका विभिन्न संस्कारहरू प्रचलनमा रहेका छन् । यी विभिन्न संस्कारहरूमध्ये विवाह संस्कार एक महत्त्वपूर्ण संस्कार हो । विवाह संस्कार सम्पन्न गर्दा परंपराअनुसार वैदिक प्रक्रियालाई अँगालिन्छ । वैदिक प्रक्रियाअनुसारका कर्महरू ब्राह्मण समुदायका मानिसले गर्ने र ब्राह्मण समुदायले दलित समुदायलाई अछुत मान्ने हुनाले ब्राह्मणहरू प्रायः प्रक्रियाअनुसार विवाहलगायत अन्य संस्कार सम्पन्न गराउन दलितहरूका घरमा जाँदैनन् । त्यस्तो अवस्थामा दलित समुदायका मानिसहरू अन्य जातजातिले गरेका कार्य देखेसुनेकै भरमा ती कार्यको अनुसरण गर्छन् । यस कामका लागि उनीहरूले दिदी वा बहिनीको छोरा (भान्जा) वा छोरी–ज्वाइँलाई विवाह आदि संस्कार सम्पन्न गर्न लगाउँछन् ।

त्यस समयमा उनीहरूले कुनै धार्मिक ग्रन्थ पढ्दैनन् । यस समयमा उनीहरूले वैदिक वा पौराणिक मन्त्रभन्दा पनि परंपरादेखि चल्दै आएका मौलिक प्रकारका लोकपद्य तथा लोकमन्त्रको प्रयोग गर्छन् । यी लोकपद्य वा लोकमन्त्रहरू अरूले गरेको वा भनेको कार्यको अनुसरणमा वा मौलिक किसिमले आएकाले तिनमा शास्त्रीय मान्यताको पूर्ण पालना भने गरिएको पाइँदैन ।

शास्त्रीय पद्धतिको अनुसरण गरिएका तथा मौलिक प्रकारका यी लोकपद्य तथा लोकमन्त्रको प्रस्तुतिले भिन्नै लोकसांस्कृतिक परंपराको उजागर गरेका छन् तापनि यिनका बारेमा व्यवस्थित अध्ययन भएको छैन । यही अभावलाई पूरा गर्न यहाँ दलित जातिले विवाहमा प्रयोग गर्ने लोकपद्य वा लोकमन्त्रको अध्ययन गरिएको छ ।

दलितका विवाहमा भनिने लोकपद्य तथा लोकमन्त्रहरू

दलितहरूमा प्रचलित लोकपद्य तथा लोकमन्त्रहरूमा बिहे प्रश्नोत्तरी, खाँडो, कूटपद्य, मागल र लोकमन्त्र हुन् ।

बिहे प्रश्नोत्तरी

बिहे प्रश्नोत्तरीको प्रयोग विवाहका समयमा हुन्छ । लगन जुराएर विवाह कार्यका लागि जन्ती बेहुलीका घरमा आएपछि बेहुलीतर्फकाले जन्तीलाई पर्सिन्छन् । त्यसपछि जन्तीलाई बस्ने व्यवस्था मिलाएपछि उनीहरूलाई सामाजिक, साँस्कृतिक, आर्थिक तथा विभिन्न पक्षसँग सम्बन्धित प्रश्नहरू सोधिन्छ । विवाहका क्रममा सोधिने यिनै प्रश्नलाई नै बिहे प्रश्नोत्तरी भनिन्छ ।

यी बिहे प्रश्नोत्तरीलाई दलित समुदायमा सिलोक हाल्ने तथा झ्याँगा थाप्ने पनि भनिन्छ । यसै समयमा ठुवाको प्रयोग पनि गरिन्छ ।

विवाहमा प्रश्नोत्तर गर्ने परंपराको इतिहास खोज्दै जाँदा हामी वैदिक परंपरासम्म नै पुग्न सक्छौँ । वेदमा अश्वमेध यज्ञमा अध्वर्यु र होताका बीच हुने ब्रह्मोद्य वा प्रवल्लिकाको रूपमा प्रश्नोत्तर गरिने प्रचलन रहेको बताइएको छ । यसैगरी ऐतरेय ब्राह्मण ग्रन्थमा ऋक् र गाथा शब्दको प्रयोग ऋग्वेदमा भएको र यीमध्ये गाथा शब्दले लोकरचनालाई बुझाउँछ । यी गाथाहरूलाई श्लोक वा यज्ञगाथा पनि भनिन्छ र यी गाथाहरू राजसूय यज्ञको अवसरमा गाइने र यसका अतिरिक्त विवाहको शुभ महोत्सवमा पनि गाइने गरेको मैत्रायणी संहितामा पाइन्छ ।

यही विधानअनुसार पारस्कर गृह्यसूत्रमा विवाहसम्बन्धी दुई गाथाहरू रहेका र आश्वालयन गृह्यसूत्रमा सीमन्तोनयनको अवसरमा पनि गाथा गाउने प्रचलन रहेको बताइएको छ । यही विवाह, सीमन्तोनयन संस्कार वा अन्य यज्ञयागादिमा गाथा गाउने परम्पराको अनुकरणमा नै हालसम्म पनि लोकसमाजमा विवाहका अवसरमा बिहे प्रश्नोत्तरी भन्ने प्रचलन रहेको मान्न सकिन्छ । बिहे प्रश्नोत्तरीमा प्रश्न बेहुली पक्षबाट गरिन्छ भने उत्तर बेहुला पक्षबाट दिइने गरिन्छ ।

केही बिहे प्रश्नोत्तरी जन्ती आएपछि भनिन्छन् भने केही बिहे प्रश्नोत्तरी खाना खाने समयमा भनिन्छन् । यस्तै, कतिपय बिहे प्रश्नोत्तरी खाना आइसकेपछि भनिन्छन् । दलितहरूका विवाहमा भनिने बिहे प्रश्नोत्तरीका नमुना निम्नानुसार छन् :

मूल पाठ

(क) जन्ती आइसकेपछि भनिने बिहे प्रश्नोत्तरी
प्र. कहाँबाट आउनु भो जन्ती राजा ? कहाँसम्म जाने तपाईंहरूको दाउ ?
धरती हुन् भान्दी बुहारी कहाँकहाँ राख्दै आउनुभो तपाईंहरूले पाउ?
उ. दुलहाकहाँबाट आयौँ हामी दुलहीकहाँसम्म जाने हाम्रो दाउ, धरती हुन् भान्जे बुहारी त पनि फूलफूल टेकी आयौँ पाउ ।
लेखबहादुर रसाइली, खस्यौली– २, हार्थोक: वर्ष ७३, सुनको काम ।

पाठान्तर

बन्दी पोखरा पर्‍यो हाम्रो घर
हार्थोक आउने हाम्रो दाउ
पृथिवी भइन् हाम्री भान्जी–बुहारी
सतबिज टेकी आयौँ पाउ ।

अनन्तकुमार गहतराज, बन्दीपोखरा– ७, सामाकोट, वर्ष ७५, सुनको काम ।

प्र. के हो कामले आयौ साँझ ? के हो कामले बस्यौ माझ ?
के हो कामले खेल्यौ जुवा ? के हो कामले पस्यौ कुवा ?

उ. बस्नै कामले आयौँ साँझ, डराई कामले बस्यौँ माझ
धनै कामले खेल्यौँ जुवा, सुर्‍याइँ कामले पस्यौँ कुवा ।

प्र. दमाईं आयो दमदेन, टयाम्के आयो टयाम्देन
दुलहा आयो दुलही लिन, जन्ती आयौ किन ?

उ. दमाईं आयो दमदेन, टयाम्के आयो टयाम्देन
दुलहा आयो दुलही लिन, जन्ती आयौँ सङ दिन ।

प्र. कौने लगनमा चले महुरी ? कौने वनमा जाई ?
कौन पात बसो महुरी ? कौने भर्जन खाई ?

उ. सुब्बे लगनमा पनि चले, महुरी बिन्दे वनमा जाई
पान पात बस्यो महुरी, अमृत भर्जनम् आई ।

प्र. कहाँ तिम्रो रस्तीवस्ती, कहाँ हो तिम्रो गाम ?
कसकी छोरी ब्या गर्न आयौ, के हो दुलहाको नाम ?

उ. पोखराथोक हाम्रो रस्तीवस्ती, लुङ हाम्रो गाम
सन्तेकी छोरी ब्या गर्न आयौँ, बुधन दुलहाको नाम ।

प्र. कहाँबाट आयौ जन्तीमन्ती ?, कुन दिशा जान्छौ ?
दाहिने हातमा विष्टा लाए, कुन हातले खान्छौ ?

उ. बौघाबाट आयौँ जन्ती, पश्चिम दिशा जान्छौँ
दाहिने हातमा विष्टा आए, हात धोई खान्छौँ ।

हुमबहादुर रसाइली, बौघापोखराथोक– ६, वर्ष ६५, तामाको काम ।

(ख) खाना खाने समयमा भनिने बिहे प्रश्नोत्तरी

प्र. अमिलाका फूल पनि अमिलाको बास
बेँमरा फूल पनि बेमरा बास
हरिया टपरीमा बासमती भात
हालहाल जन्ती हो झुसिला हात ।
पाठान्तर हरिया टपरीमा फरर भात
हाल हाल जन्ती हो झुसिला हात ।

उ. अमिलाका फूल पनि अमिलाको बास
बेँमराका फूल पनि बेमरा बास
सुकेका टपरीमा हकुवा भात
कसरी हालौँ हामीले यी सुनसरि हात ?

प्र. रोईरोई परेवा पनि दुवै आँसु
रोईरोई परेवा दुवै आँसु
यत्ति उत्तर फर्काऊ जन्ती
तव खाउला मासु  ।

बिहे प्रश्नोत्तरमा प्रश्न गर्ने र उत्तर दिने क्रममा कतै भनाभन हुने र कतै अर्को पक्षलाई होच्याउन खोज्ने प्रवृत्ति पनि देखिन सक्छ । त्यस्तै, केही अश्लीलतामूलक वा छाडा प्रवृत्तिका कतिपय ठुवा शैलीका सिलोक पनि भनिएको देखिन्छ । यस प्रकारका सिलोकको नमुना मूल पाठमा पनि प्रस्तुत गरिएको छ । यी प्रश्नहरू लोकसमाजको परंपरादेखिको प्रचलन र उनीहरूको ज्ञान तथा व्यावहारिक यथार्थमा आधारित छन् ।

हुमबहादुर रसाइली, बौघा पोखराथोक– ६, वर्ष ६५, तामाको काम ।

घरभेटी: नेवार्नीका हात पनि उइँठाचुइँठा
मगर्नीका हातमा अटुट
खावखाव जन्तीले छेँडेका बटुक ।

जन्तीः नेवार्नीका हात पनि उइँठाचुइँठा
मगर्नीका हातमा अटुट
सुकेका टपरीमा छेँडेका बटुक
हालिम् हाम्ले सुनसरि हात ।

कोपलाल गहतराज, बन्दीपोखरा– ७, सामाकोट: वर्ष ८२, सुनको काम ।

(ग) खाना खाइसकेपछि भनिने बिहे प्रश्नोत्तरी

घरभेटीः आँप खाइस् पनि ताछितुछी
बेल खाइस् फोडी
साडे सत्तरी जन्तीहरूमा
कहाँ छन् मेरा जोडी ?

जन्तीः आँप खाइम् पनि ताछितुछी
बेल खाइम् फोडी
साडे सत्तरी जन्तीहरूमा
मै हुँ तेरा जोडी ।

प्र. केकेले बाँध्छन् कुन्नि सारीमा सुगा
केकेले बाँध्छन् गदहा ऊँट
केकेले बाँध्छन् हात्ती–घोडा
केकेले बाँध्छन् रजपुत ?

उ. पिँजडाले बाँध्छन् सारीमा सुगा
दामलीले बाँध्छन् गदहा ऊँट
सिक्रीले बाँध्छन् हात्ती–घोडा
वचनले बाँध्छन् रजपुत ।

प्र. कहाँ बस्छन् पनि सारी सुगा ?
कहाँ बस्छन् गदहा ऊँट ?
कहाँ बस्छन् हात्ती–घोडा ?
कहाँ बस्छन् रजपुत ?

उ. पिँजडामा बस्छन् सारी सुगा
दामलीमा बस्छन् गदहा ऊँट
तबेलामा बस्छन् हात्ती–घोडा
गृहमा बस्छन् रजपुत ।

प्र. केके खान्छन् पनि हात्ती–घोडा ?
केके खान्छन् पनि गदहा ऊँट ?
केके खान्छन् पनि हात्ती–घोडा ?
केके खान्छन् पनि रजपुत ?

उ. दाना खान्छन् पनि हात्ती–घोडा
भर्जन खान्छन् पनि रजपुत
चारो खान्छन् पनि सारी सुगा
घाँस खान्छन् गदहा ऊँट ।
हुमबहादुर रसाइली, बौघापोखराथोक– ६, वर्ष ६५

ठुवा

चमेराका जस्ता कान
बिरालाका जस्ता ढाड
काला बाँदरले नछुने रन्डी
तँलाई कौना नामर्दले सत्ता छाड ?

नेवार्नीले लाइन् पनि जामा पगरी
गुरुङनीले लाइन् ठोका
तेरा मुखमा बक्ने बसो
केलाई बोल्छस् बोका !

हुमबहादुर रसाइली, बौघा पोखराथोक– ६, वर्ष ६५ ।

सिठसिठ सिठेरियो सिठे भारा लाउला
दुलही टिपी हामीले लगिम् उँधो मन्टो लाउला ।

कोपलाल गहतराज, बन्दीपोखरा– ७, सामाकोट ।

बिहे प्रश्नोत्तरी विवाहका समयमा लोकसमाजमा प्रयोग हुने हुनाले यसको भाव वा विचार लोकसमाजअनुरूप र विवाहको सन्दर्भसँग जोडिएको हुन्छ । यसमा जन्तीहरू कहाँबाट आएका हुन् ? कहाँ जान हिँडेका हुन् ? पृथिवी भान्जी–बुहारी भएकाले केमा टेकी उनीहरू आएका हुन् ? जस्ता प्रश्न गर्ने र जन्तीले पनि आफ्नो घर, आफू विवाहका लागि बेहुलाका घरमा आएका र पृथिवी भान्जी–बुहारी भएकाले फूलमा टेकेर आएको जस्ता उत्तर दिएका छन् ।

यस्तै, बेहुली पक्षकाले खानका लागि आग्रह गरेको र जन्तीले त्यसलाई स्वीकार गरेको जस्ता विचारहरू पनि यहाँ आएका छन् । खाना खाएपछि पनि बिहे प्रश्नोत्तरीको क्रम रोकिएको छैन । हात्ती–घोडा, सुगा, राजकुलका राजकुमार आदि कहाँ बस्छन् ? उनीहरू के खान्छन् ? उनीहरूलाई केले नियन्त्रण गर्न सकिन्छ जस्ता व्यवहारमूलक प्रश्न पनि बेहुली पक्षबाट सोधिएको छ र यसको उत्तर बेहुला पक्षबाट अत्यन्त शालीनतापूर्वक दिइएको छ । यसरी अनेकौँ सामाजिक, साँस्कृतिक, आर्थिक, भौगोलिक तथा व्यवहारमूलक प्रश्नहरू सोधिएका छन् ।

बिहे प्रश्नोत्तरमा प्रश्न गर्ने र उत्तर दिने क्रममा कतै भनाभन हुने र कतै अर्को पक्षलाई होच्याउन खोज्ने प्रवृत्ति पनि देखिन सक्छ । त्यस्तै, केही अश्लीलतामूलक वा छाडा प्रवृत्तिका कतिपय ठुवा शैलीका सिलोक पनि भनिएको देखिन्छ । यस प्रकारका सिलोकको नमुना मूल पाठमा पनि प्रस्तुत गरिएको छ । यी प्रश्नहरू लोकसमाजको परंपरादेखिको प्रचलन र उनीहरूको ज्ञान तथा व्यावहारिक यथार्थमा आधारित छन् ।

सामान्य अवस्थामा यी शब्द अपमानजनक लागे पनि यसलाई लिएर उनीहरूमा कुनै मनमुटाव रहँदैन । यसरी बिहे प्रश्नोत्तरीमा साँस्कृतिक, सामाजिक, धार्मिक, व्यावहारिक ज्ञान तथा विविध विषयवस्तुको प्रयोग हुनाले यिनलाई लोकसमाजको दर्पणका रूपमा राख्न सकिन्छ ।

क्रमशः
‘प्रज्ञा लोकवार्ता विवेचना’ पुस्तकबाट