पितृहरूलाई देवलोक पुर्‍याउने लक्ष्यका साथ खाली खुट्टाको कष्टकर यात्रा !

पितृहरूलाई देवलोक पुर्‍याउने लक्ष्यका साथ खाली खुट्टाको कष्टकर यात्रा !

दिलीपकुमार चापागाईं  |  दृष्टिकोण  |  मंसिर २५, २०७६

जमुनोत्तरी चारधाम यात्राको पहिलो गन्तव्य । यमुना नदीको उत्पत्ति स्थल । हिमालबाट हिउँ पग्लिएको प्रत्यक्ष देख्न पाइने  । त्यहीँ यमुना देवीको मन्दिर छ ।  अग्निकुण्डमा चामल खुकुलो पारी डुबाएपछि केही समयमा पाकेर आउँदोरहेछ । त्यसलाई प्रसादको रूपमा खाइने र वितरणका लागि पनि लगिँदोरहेछ । हामीले पनि त्यसै गर्‍यौँ । 

बजारबाट करिब ६ किलोमिटरको उकालो हिँडेपछि मात्र पुगिँदोरहेछ, यमुनोत्तरी । गाडी नजाने भए पनि घोडा, खच्चड, पाल्की आदिबाट यात्रा गर्दा रहेछन् तीर्थयात्रीहरू । जो हिँड्न सक्छ, त्यसलाई सजिलै लाग्ने तर नसक्नेका लागि कष्टकर ।

हामीले हिँडेर नै जाने निधो गर्‍यौँ । कष्टका साथ यात्रा पूरा गर्नुपरे पनि मलाईचाहिँ खासै कष्टकर लागेन । तर पनि उकालो हिँड्न अभ्यस्त नभएकाले पनि होला, थकाइ लाग्नु स्वाभाविक थियो ।

खाली खुट्टा लामो समय मन्दिर परिसरको परिक्रमा गर्नुपर्ने हुँदा चिसो लाग्ने बढी नै संभावना हुँदोरहेछ । अलिकति पनि  ढिला हुँदा भने चिसोले बढी नै सताउने र पछि निमोनिया हुन बेर नलाग्ने अवस्थाको सहज अनुमान गर्न सकिन्थ्योे । त्यसैले हाम्रो सबै टिमलाई मैले बारम्बार छिटो गर्न अनुरोध गरेको थिएँ ।

यात्राको स्वाद त यात्रीहरूले अवस्थाको अवलोकन गरेर तय गरेमा मात्र मीठो हुनेरहेछ । सामूहिक यात्राहरूमा आफ्नो निजी स्वभावको कुनै अर्थ रहँदैन । झन् धर्म र आस्थाको नाममा गरिने धेरै यात्राले ‘फल पाइने विश्वास’ले स्वाभाविक यात्राको निरन्तरतालाई नै बल पुर्‍याइरहेका हुन्छन् ।

समूहमा गरिने कार्यहरूलाई सामूहिक सन्तुलनसँग मिल्दो भएमा सबैलाई सुविधा हुन्छ तर त्यसो भएन र धार्मिक भावको नाममा भौतिक शरीरको रसायनसँग मिलेन भने बिरामी हुने अनि त्यसपछिका सबै कार्यहरूलाई स्थगन गर्नुपर्ने हुन्छ । त्यसैले यस्ता यात्राहरूमा विवेक पुर्‍याउनु अतिजरुरी हुँदोरहेछ ।  यसरी विवेक पुर्‍याउन सकिएन भने यात्रालाई निरन्तरता दिन सकिँदैन । 

यात्राको प्रारम्भलाई सकेसम्म सन्तुलित र पछिका लागि बाटो राखेर  धर्मलाई  धारण गर्ने व्यवस्था मिलाउन नसकी त्यसलाई पटक्कै ध्यान दिनुपर्नेमा दिन नसक्दा हाम्रो समूह झण्डै चुक्नुपरेको थियो । तर, जे होस्, हामी जमुनोत्तरीबाट विनाबाधा फर्केर आएका थियौँ । फर्कंदा बाटोमा सिमसिमे पानीले भने रुझाउनु रुझायो ।

बजारमा आएर कतिखेर खाजा खाने भन्ने अतुरता थियो किनभने माथि होटलमा खाएको खानाले कसैलाई स्वाद दिएको अवस्था थिएन । भीडभाड भएकाले होला, न त खानामा गुणस्तरीयता थियो, न सरसफाई । केवल प्राण धान्ने हेतु सबैले खाना खाएका थियौँ । त्यसैले पनि सबैलाई तलतल लाग्नु स्वाभाविक थियो । सुख्खा रोटी र तरकारी खायौँ ।  त्यसमा पनि चियासमेत भएपछि त अलिक सास आयो र त्यहाँबाट हामी करिव तीन बजेको समयतिर गंगोत्रीका लागि प्रस्थान गर्‍यौँ ।

फर्कंदा प्रकृतिसँग साक्षात्कार गर्न मज्जैले पाइएको थियो । बिहान सखारै जानुपरेकाले वनस्पति, नदी, नाला, झरनालाई खासै नियाल्न पाइएको थिएन । तर, फर्कंदा हरिया भरिला डाँडाहरू, बीचबीचमा झरना बनाई नदीमा समाहित हुन होमिएको सङ्लो पानीका ठूलाठूला भङ्गालाले आनन्दित नतुल्याउने कुरै भएन । 

१ बजे मन्दिर बन्द हुने भएकाले गंगामाताको दर्शन गर्न नपाइने हल्ला पनि चल्यो । हामी दर्शन गर्ने अन्तिम यात्रामा पुगिसकेकाहरूका लागि यो समाचारले विष्मय गराउनु स्वाभाकिकै थियो ।

गाउँं बस्तीहरू तलमाथि झुण्डझुण्ड भएर बसेका रहेछन् । कृषि भूमि पर्याप्त देखिएन । घोडा, खच्चड भने ठाउँठाउँमा देखिन्थे । बाख्रापालन पनि स्थानीयवासीको जीविकोपार्जनको माध्यम रहेछ । स्थानीय मानिसहरूको लवाइ खवाइ हेर्दा सामान्यझैँ लाग्थ्योे । त्यति समृद्धि भने देखिएन । परंपरादेखि बस्दै आएको थातथलोमा परंपरागत पेसालाई नै पछिल्लो पुस्ताले पनि निरन्तरता दिँदै जीविकोपार्जन गरेको ठम्याउन सजिलै सकिन्थ्यो ।

बाटोको आसपासमा भने शहरहरू बस्न थालेको देख्न सकिन्थ्यो । आधुनिक सिमेन्ट र इँट्टाका घरहरू, ठूलाठूला टावर बिल्डिङहरू देखिए । यातायात पुगेपछिको परिवर्तन हुनुपर्छ भन्ने सहज अनुमान गर्न सकिन्थ्यो । स्थानीय आवश्यक वस्तु उत्पादनका  कारखानासमेत ठाउँठाउँमा निर्माण हुन थालेको देख्न सकिन्थ्यो ।

यहाँ सुन्दर पक्ष भनेको हरियाली प्रशस्तै रहेछ । ‘रूख बिरुवा प्राण हो, संरक्षण गराँै’, ‘हाम्रो सभ्यतालाई समृद्ध बनाऔँ’ भन्ने जस्ता भनाइ प्रशस्तै ठाउँमा देख्न पाइएको थियो । राज्यको तर्फबाट जैविक विविधता संरक्षण र जंगली जनावरको सिकारमा कडा प्रतिबन्ध रहेको भान हुन्थ्यो । जनतामा कानुन र दण्ड सजायको व्यवस्थाका बारेमा राम्रो जानकारी रहेको अनुभूति भएको थियो ।

यात्रा निरन्तर जारी थियो । पहाडी बाटो, मोड र घुम्तीहरू धेरै भएकाले यात्रामा भएका हामी सबै नै थाकेका थियौँ । अधिकांश हामीले ‘बमिट’ नै गर्नुपर्ने अवस्था आयो । अघिल्लो दिनदेखिको निरन्तर यात्रा बिहान ३ बजे उठ्यो अनि बेलुका ७–८ बजेसम्मको निरन्तर हिँडाइ । खानाको अनुकूल स्वाद नपाइने । जे पाइन्छ, त्यही खानुपर्ने तीर्थयात्रीको पीडाले साँच्चै नै दुई दिनमा नै दिक्क लागिसकेको थियो । 

तथापि, धार्मिक यात्राको बाँकी भाग अझ कठिन तर महत्त्वको छ भन्ने विषयमा भने हामी सबैजना जानकार थियौँ । केदारनाथ दर्शन र बदरीनाथ दर्शनपछि श्राद्ध आदि कार्य गरेर पितृहरूलाई देवलोक पुर्‍याउने महान् लक्ष्यका अगाडि समान्य थकाइ हाम्रो यात्राको अवरोध हुन सक्ने अवस्थामा थिएन ।  त्यसैले पनि हामी जसरी तसरी साहस बटुलेर यात्रामा निरन्तर  लाग्यौँ– उत्तरकासी अबको हाम्रो गन्तव्य बन्यो ।

उत्तरकासी वास्तवमै ठूलो पहाडी शहर रहेछ । धार्मिक यात्री र पर्यटक नभएका भए ठूलाठूला होटल र स्वादिलो भोजनका साथ त्यहाँका रेस्टुरेन्टको व्यावस्था हुने थिएन होला । मलाई त अघि पिथौरागढ जाँदाकोे झझल्को दिलायो ।

पहाडकी रानी ! अत्यन्तै रमणीय, ठूलो बस्ती । बाटोघाटो व्यवस्थित । एउटा सुन्दर शहरको पूर्णता उत्तरकाशीमा अनुभव भयो । धार्मिक पर्यटकहरूले आधुनिक शहरले पस्कने सबै किसिमको स्वाद र आनन्द लिन नसक्लान् तर पर्यटकले भने मज्जाले लिन सक्ने अवस्था देखिन्छ ।

धार्मिक, साँस्कृतिक र आधुनिक परिवर्तित समाजको सम्मिश्रण हो, उत्तरकाशी । गंगाजीको किनारमा अवस्थित काशीले सभ्यता र संस्कृतिलाई जोगाएर विकसित भएको देख्न पाइन्छ । आधुनिक विकास, अध्यात्मिक चेतनाको जगमा निर्माण हुँंदा सनातनी सम्बन्ध र दर्शनको विकासमा साँच्चै नै बल पुगेको अनुभव दिलायो उत्तरकाशीको भ्रमणले ।

गंगोत्री हामी उत्तरकाशी हुँदै पुगेका थियौँ । संयोग, दशहराको पर्वको बेला रहेछ । गंगामाताको मूर्ति बनाएर स्थानीयवासीहरूले श्रद्धापूर्वक बाजागाजासहित गंगाजीसम्म लैजाँदा रहेछन् । स्थानीय समुदायमा देखिएको धार्मिक भाव र गंगाप्रतिको प्रगाढ आस्थाको धरोहर त्यहाँ देख्न पाइन्थ्यो । के युवा, के बूढा, के महिला, के बालबालिका, सबै स्वतःस्फुर्त रूपमा यात्रामा लामबद्ध थिए ।

गंगामाताको स्तुति गाएका छन् । हर्षोल्लासका साथ यात्रालाई अगाडि बढाइरहेका छन् । हामीलाई पनि त्यो महान् यात्राको भरपूर आनन्द लिने अवसर प्राप्त भयो, जो हाम्रो यात्राका क्रममा संयोगले जुराएको थियो । ‘राम तेरी गंगा मैली हो गई’ भन्ने हिन्दी सिनेमाको सुटिङ त्यहीँ भएको रहेछ, ड्राइभरले जानकारी गराए । अत्यन्त राम्रो दृश्य रहेछ । प्राकृतिक सुन्दरताको अनुपम उदाहरण ।

यात्रामा कोही एक जना मात्र बिसन्चो भएमा सबैलाई सास्ती । त्यसैले एकको पीडा नै सबैको पीडा थियो । हामीसँग भएका प्राथमिक उपचारका सबै औषधिहरू आवश्यकता र औचित्यअनुसार सेवन गर्ने निधो गर्‍यौँ । सन्चो–बिसन्चोको अवस्था सँगसँगै गाडी आफ्नो रफ्तारमा अगाडि बढिरहेको थियो ।

गंगोत्री पुग्ने बेलामा करिव ४–५ किलोमिटर अगाडि फेरि गाडी जाम भयो । यात्राको थकान, त्यसमा पनि भोकले गाँजिसकेको थियो । त्यसमा पनि गाडी जाम भएपछि कि त हिँड्नै पर्ने कि लामो समय कुर्नै पर्ने अवस्था सिर्जना भयो । १ बजे मन्दिर बन्द हुने भएकाले गंगामाताको दर्शन गर्न नपाइने हल्ला पनि चल्यो । हामी दर्शन गर्ने अन्तिम यात्रामा पुगिसकेकाहरूका लागि यो समाचारले विष्मय गराउनु स्वाभाकिकै थियो ।

समयमा काम सकेमा मात्र गन्तव्यमा पुगिने नत्र फेरि समस्या । हिँड्नलाई पाइला चल्दैन, उच्च हिमाली क्षेत्रको भूभागमा हिँड्ने अभ्यास नभएकाले कठिन हुने नै भयो । गाडी खुल्छ कि भनेर पर्खनलाई पनि जाम बढिरहेकै छ । यस्तो अवस्थामा गाडी हेर्दै अगाडि बढ्ने शिवाय के विकल्प थियो र हामीसँग !

अरू उपाय के हुन सक्थ्यो र ! हामी करिव १ किलोमिटर हिँडिसकेपछि गाडी खुल्यो । हामी पनि गाडीमा चढेर गन्तव्यतर्फ लाग्यौँ ।

स्नान गरियो गंगाजीमा । त्यसपछि मन्दिर दर्शन । सामूहिक पूजाको व्यवस्था गर्दा एकै पटक भित्र पस्न पाइँदोरहेछ । त्यही विशेष पूजाको फेरोमा हामी पनि गंगामाताको दर्शन गर्न सफल भयौँ । पुण्य प्राप्ति भएको अनुभूति गर्‍यौँ । बेलुका जसोतसो उत्तरकाशीमा बास बस्न भने आइपुगियो । यात्राको सुखद अनुभवलाई हरेक वास र रोकिएका धेरै ठाउँमा तरबुजाको स्वादले ऊर्जा भने भरिरहेको हुन्थ्यो । तरबुजा नभएको भए कसरी प्यास मेट्थ्यौँ होला ! 

बढीमा केजीको ३५ रुपैयाँ र कममा ६ रुपैयाँमा पाईने तरबुजा हाम्रो यात्राको अभिन्न अंग नै बनेको थियो । हामीले पनि सबैभन्दा धेरै खाएका थियौँ, मज्जैले ।
उत्तरकाशीमा बस्दा मच्छडले हामीलाई भने सुत्न दिएन । ठूलो एउटा कोठा थियो सबैको लागि । कोही घुर्ने त कोही गर्मीबाट पीडित । होटलमा धेरै अतिथि भएकाले पानी पुर्‍याउन पनि धौधौ !

रातभरको हल्लाखल्ला ! यात्री र होटलवालाबीचको रातभर हुने वार्तालापले पनि सबै जाग्रम ! त्यसमा पनि मच्छड, परेन फसाद ! 

एकातर्फ सधैँको अव्यवस्थित हिँडाइ, पुग्ने गन्तव्य र हिँड्ने समयको ठेगान र टुंगो थिएन । त्यसमा पनि छोटो बचेको समयमा सुत्न नपाएपछि शरीरलाई अस्वाभाविक सास्ती हुने नै भयो । शरीरको स्वाभाविक पाचन कार्यले काम गर्न छाडिसकेको थियो । अनियमित र अव्यवस्थित भोजनका कारण शरीरले ग्रहण गरेर ऊर्जामा परिणत गर्ने क्रियासमेत धिमा गतिमा हुन थालेको थियो ।

औषधि सेवन गरेर शरीरको क्रियालाई अगाडि बढाउने दिनचर्या भएका म जस्ता यात्रीहरूको शारीरिक दुर्बलता अझ बढ्ने नै भयो  । यही फेरोमा शरीरको मासु घटेको पत्तै पाइएन ।

हामी केदारनाथ यात्राका लागि उत्तरगंगाबाट बिहान सखारै अगाडि बढ्यौँ । बेलुका थाकेका कारण हामीले स्वादका साथ खान छाडेको निकै भइसकेको थियो । भोक लाग्यो । केही उकालो लागेपछि ५–६ किलोमिटर अगाडि बढेपछि सानो चिया पसल रहेछ । त्यहीँ खाजा खाने कुरा भयो । पाउरोटी, चाउचाउलगायतका खानेकुरा रहेछन् । इच्छाअनुसार खाइयो ।

खानाको स्वाद थोरै भए पनि त्यहाँ भने प्राप्त गर्‍यौँ । त्यसपछिको यात्रा केदारनाथका लागि थियो, लाग्यौँ । पहाडी मार्ग, साँघुरा बाटा र सधैँको जामले त्रसित पार्दोरहेछ । दुर्घटना सानो–ठूलो जत्रो भए पनि अजंगका पहाडलाई हामफाल्ने भएकाले भइहालेमा जीवित उद्धारको संभावना थिएन । डर लागिरहने । फेरि घुम्ती धेरै भएकाले कहिलेकाहीँ पट्यार लागेर पनि आउने, रिंगटा लागेर आउने, वाकवाकी आउने ।

लामो अन्ततः कहिल्यै नटुंगिने यात्रा जस्तोे ! यी अनुभवहरू नितान्त निजी भए पनि यात्राको अवयव भएकाले यात्रीको मनोदशा र धार्मिक लक्ष्य प्राप्तिको दृढता त्यस्तै विश्वासमा प्रभाव पार्ने भएकाले मात्र उल्लेख गरेको हुँ । अत्यन्त कठिनाइभित्र पनि एउटा धार्मिक भावको स्वर्णिम आनन्दले डोहोर्‍याइरहेको थियो । त्यसैले पनि हामी मानसिक रूपले भने तयार नै थियौँ ।

सुखद् र दुखद् परिस्थितिलाई छिचोल्दै लक्ष्य प्राप्तिका लागि हामी बढ्यौँ । बाटामा खाना खाइयो । स्वाद राम्रो थियो तर बासी परेछ । अधिकांशको पेट गडबड ! यो अवस्था बढ्दै गएमा हाम्रो अब बिरामी पर्ने दिन नजिकिने संकेत ! 

यात्रामा कोही एक जना मात्र बिसन्चो भएमा सबैलाई सास्ती । त्यसैले एकको पीडा नै सबैको पीडा थियो । हामीसँग भएका प्राथमिक उपचारका सबै औषधिहरू आवश्यकता र औचित्यअनुसार सेवन गर्ने निधो गर्‍यौँ । सन्चो–बिसन्चोको अवस्था सँगसँगै गाडी आफ्नो रफ्तारमा अगाडि बढिरहेको थियो ।

रामपुर, गौरीकुण्डबाट ८–१० किलोमिटर यतै पर्दो रहेछ । गौरीकुण्ड, केदारनाथजी दर्शनका लागी सवारी साधन लिएर जाने अन्तिम गन्तव्य । त्यसपछि या त हिँडेर या घोडा, खच्चड, पाल्की वा डोकोको सहारामा मात्र जान सकिने ।

फेरि त्यो फेदीको बजारसम्म पुग्ने र भोलिको बाटो छोट्याउने  दर्शनार्थीहरू बढी नै हुने भएकाले पनि भीडभाड त्यहाँ बढी नै हुने । त्यसैले ड्राइभरले हामीलाई ८–१० किलोमिटर यतैको बजारमा बस्ने सल्लाह दिए । बिहान छिटो जाऔँला, त्यसपछि गौरीकुण्ड स्नान गरी दर्शन गर्न जान सरल हुन्छ, बस्नलाई पनि सुविधा छ भन्ने सल्लाह दिए । सल्लाह राम्रो लाग्यो । त्यहीँ बस्यौँ । यसरी नै सयौँ तीर्थयात्री र दर्शनार्थीहरू बस्दा रहेछन् ।

क्रमशः

याे पनि

फुर्सदको मन्त्रालयदेखि चार धाम तीर्थाटनसम्म

चार धाम यात्राः पितृ ऋणमुक्तिको सम्बन्ध र साधकहरूको भक्तिभावमाथिको खेलबाड