१३औँ साग: खेलाडीले जोगाइदिएको सरकारको लाज

१३औँ साग: खेलाडीले जोगाइदिएको सरकारको लाज

लोकसंवाद संवाददाता  |  खेलकुद  |  मंसिर २५, २०७६

भर्खरै सम्पन्न १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ऐतिहासिक ५१ स्वर्ण पदक जित्यो । समापन समारोहमा राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेश सिलवालले आफ्नो मन्तव्य राखे । उनको मन्तव्यमा खेलाडीप्रति सम्मानभन्दा पनि आफ्नो दम्भ प्रस्ट देखिन्थ्यो ।

साग आयोजनाको भद्रगोल व्यवस्थापनको जिम्मेवारी लिने कुरा त उनले गरेनन् तर अब नेपालले एसियाली खेलकुद प्रतियोगिता (एसियाड) र ओलम्पिकसम्म आयोजना गर्ने क्षमता राख्ने ‘स्वप्नशील’ दाबी गरे ।

साग सकिनु एक दिनअघि हतारहतारमा रंगशालाको छानो निर्माण गरियो । अन्य भौतिक संरचनाहरू पनि हतारहतारमै निर्माण भए । विश्व खेलकुदमा ठूला इभेन्ट आयोजना हुँदै गर्दा कम्तीमा संरचना या ठूला पूर्वाधारको काम एक वर्ष या कम्तीमा ६ महिनाअघि पूर्ण रूपमा तयार हुनुपर्छ र हुन्छन् पनि ।

सन् २०२० को ओलम्पिकका लागि जापानले आठ महिनाअघि नै उद्घाटनस्थल तयार गर्‍यो । रंगशाला निर्माणपछि सम्पूर्ण प्राविधिक परीक्षण गरेपछि रंगशालाको औपचारिक उद्घाटन गर्‍यो । तर, नेपालमा भने बन्दै खेल्दैको अवस्था आयो, जुन एक हिसाबले लज्जास्पद हो ।

इसले प्रस्ट पार्छ कि भौतिक पूर्वाधारसँगै व्यवस्थापनमा कमजोर रह्यो १३औँ साग । खेलाडीले खेल पोसाक नपाएर नै स्वर्ण जिते । कमलबहादुर अधिकारीले पुरानो जुत्ता चिप्लिँदा स्वर्ण गुमाए । सुटिङका खेलाडीको रुवाबासी दर्दनाक थियो । चीनले ५० करोड रुपैयाँ अनुदानमा बनाइदिएको सुटिङ रेन्जमा खेलाडीले हतियार नभएर खेल्न पाएनन् । उनीहरूले पाकिस्तान र भारतीय तथा श्रीलंकाली खेलाडीसँग हतियार मागेर प्रदर्शन गरे । यस्तो लज्जास्पद कमजोरीमा को दोषी–सरकार, राखेप वा खेलाडी ?

 

खेलाडीले घरेलु भूमिमा आफ्नो मिहिनेतको फल पाए । तर, सरकारले नाक ठड्याउने अवसरका रूपमा यसलाई लिएको छ, जुन सरासर गलत हो । वार्षिक खेलकुद गतिविधि ठप्प छन् । कमजोर पूर्वाधारका कारण अझै धेरै खेलहरूले अभ्यास नै गर्न पाउँदैनन् । भूकम्पपछि पुनर्निर्माणको ५ वर्ष बित्न लाग्दा पनि संरचनामै अड्किएको छ नेपाली खेल क्षेत्र । अहिले खेलाडीले बनाएको ऐतिहासिक उपलब्धिमै मख्ख देखिन्छन्, सरोकारवाला निकाय र सरकार ।

खेल पत्रकारहरूको विरोध नेपाल र भुटानबीचको खेलका दौरान रंगशालामै प्रस्ट देखिँदा आयोजक राष्ट्रिय खेलकुद परिषद्लाई इज्जत जोगाउन धौधौ भयो । खेलपत्रकारहरूले प्रदर्शन गरेको ब्यानर पत्रकार र प्रहरीबीच खोसाखोसको दृश्यले साग समापनको कमजोरीलाई थप प्रस्ट पार्‍यो ।

नेपालले कुल ५१ स्वर्ण जित्दै ऐतिहासिक सफलता हात पार्‍यो उस पटक । अन्तिम स्वर्णका रूपमा नेपालले फुटबलमा लगातार दोस्रो पटक स्वर्ण जित्न सफल भयो । करातेका मन्डेकाजी श्रेष्ठले पहिलो स्वर्ण जितेर नेपालको खाता खोलेका थिए ।

फुटबलमा समापनका दिन भुटानलाई २–१ ले हराएर ५१औँ स्वर्ण आफ्नो नाममा पार्न सफल भयो नेपाल । खेलाडीले आफ्नो लगाव र परिश्रम देखाएको यस पटकको साग नेपालका लागि स्वर्णका हिसाबले ऐतिहासिक रह्यो ।

यसअघि सन् १९९९ मा काठमाडौंमै भएको आठौँ सागमा नेपालले ३१ स्वर्ण जित्नु नै सर्वाधिक सफलताका रूपमा रहेको थियो । २० वर्षपछि पुनः घरेलु भूमिमा नेपाली खेलाडीले पुरानो विरासत धाने ।

तर, यस पटक सागको व्यवस्थापन भने चुस्त रहेन । खेल स्थलमा रिपोर्टिङ निकै असहज भयो । स्वेदेशी पत्रकारका लागि सहज भए पनि विदेशीका लागि भने निकै मुस्किल परेको थियो । बंगलादेश र श्रीलंकाबाट उल्लेख्य संख्यामा आएका खेल पत्रकारहरूले रिपोर्टिङका दौरान असहज भएको पटक पटक कम्प्लेन गरे पनि सुनुवाइ नभईकनै साग सकियो ।

त्यस्तै, सुटिङका लागि साग सर्वाधिक नमीठो बन्यो । विदेशी खेलाडी सामु लज्जित बनेका नेपाली खेलाडी कुनैले पनि फाइनल राउन्ड (टप ८)मा स्थान बनाउन सकेनन् ।

तर, नेपालका लागि पौडी, एथ्लेटिक्स र बक्सिङमा ऐतिहासिक सफलता हात पर्‍यो । अधिकांश मार्सल आर्ट खेलमा पदक ल्याउने नेपालले यस पटक त्यो परंपरा तोड्दै सागलाई ऐतिहासिक बनायो ।

भौतिक पूर्वाधार हतारमा निर्माण गरिँदा यसको दीर्घकालीन स्थायित्वका विषयमा प्रश्न उठ्न सुरु भएको छ । समग्रमा अब साग सम्पन्न भएको छ तर यसको व्यवस्थापकीय कमजोरीको उजागर हुँदै जानेछ । आवश्यक भदा बढी भोलेन्टियर नियुक्त भए पनि कुनै पनि खेल स्थलमा भोलेन्टियरको व्यस्थापन आशातीत देखिएन ।

समापन थप भद्रगोल

सागको अन्तिम दिन थप विवादित बन्यो । बिहानैबाट खेल हेर्न टिकट पाइन्छ कि भनेर रंगशाला पुगेका दर्शक प्रहरीको लाठी खाएर फर्किन बाध्य भए । हातमा टिकट लिएका दर्शक पनि खेल सकिन १५ मिनेट बाँकी रहँदासम्म भित्र छिर्ने गेट चहारिरहेका थिए । भीआईपीको २ हजार र साधारणको १ हजार रुपैयाँ टिकट तोकिएको अवस्थामा व्यवस्थापन सही हुन नसक्दा दर्शक निरीह देखिएका थिए ।

बिहानै रिपोर्टिङका लागि रंगशाला पुगेका खेल पत्रकार सुमन चापागाईं प्रहरीको कुटाइका कारण अस्पताल भर्ना भए ।  खेल पत्रकारहरूको विरोध नेपाल र भुटानबीचको खेलका दौरान रंगशालामै प्रस्ट देखिँदा आयोजक राष्ट्रिय खेलकुद परिषद्लाई इज्जत जोगाउन धौधौ भयो । खेलपत्रकारहरूले प्रदर्शन गरेको ब्यानर पत्रकार र प्रहरीबीच खोसाखोसको दृश्यले साग समापनको कमजोरीलाई थप प्रस्ट पार्‍यो ।