१३‍औँ साग: फितलो व्यवस्थापनका बीच उत्कृष्ट प्रदर्शन

१३‍औँ साग: फितलो व्यवस्थापनका बीच उत्कृष्ट प्रदर्शन

लोकसंवाद टिप्पणी  |  दृष्टिकोण  |  मंसिर २६, २०७६

दक्षिण एसियाको खेलकुदको कुम्भमेला १३औँ साग भर्खर समापन भएको छ । यस पटकको साग नेपालका लागि खुसीको अवसर बन्यो । कुल ५१ स्वर्ण पदक जितेर नेपाल १३औँ सागमा दोस्रो बन्यो ।

तर, यसमा सरकार र आयोजक राष्ट्रिय खेलकुद परिषद्को कमजोरी प्रशस्त देखियो । २०७२ सालको भूकम्पका कारण सरेको साग यस पटक जसरी पनि गराउने परिषद्को दृढ निर्णय त स्वागतयोग् नै थियो तर उक्त निर्णयको कार्यान्वयन पक्ष निकै कमजोर र फितलो पनि देखियो । हतारमा गरिएको सागबाट नेपालले राम्रो स्थान लिनु वा उत्कृष्ट प्रदर्शन गर्नु सबल र सशक्त पक्ष हो तर नेपालको प्रदर्शन यतिमै सीमित नहुनेरहेछ, अलिकति बढी तयारी गरेको भए, ध्यान दिएको भए ।

सुटिङमा बन्दुक नै नेपाली खेलाडीसँग नभएर अर्का देशका खेलाडीसँग माग्नु कति लज्जास्पद होला ! रेफ्रीहरूलाई खानाको उचित प्रबन्ध नभएर सडकका होटलतिर भौँतारिनुले के सन्देश दिन्छ ? खेलाडीसँग राम्रा जुत्ता पनि नभएर खेलकै क्रममा चिप्लिएर पदक गुमाउनुको पीडा कति हुन्छ ? खेल पोसाक लगाउन नपाई पदक जित्ने खेलाडीलाई देखेर सरकार र आयोजक परिषद्को नाकमा लाजको पसिना चुहिँदैन ?

यी त केही उदाहरण हुन् । उता, खेलको रिपोर्टिङका लागि आएका स्वदेशी र विदेशी मिडियाका पत्रकारमाथिको प्रहरी दुव्र्यवहारले के संकेत गर्छ ? पदक विजेता खेलाडीले समेत फाइनलका दिन रंगशालामा प्रवेश नपाउने अवस्था सिर्जना हुनुमा दोषी को हो ?

यस्ता प्रश्न अनेक छन्, यस पटकको सागमा । उसो त खेल सकिन लाग्दासमेत खेलस्थल निर्माण र मर्मतका काम भइरहनुले कति कमजोर पूर्वाधार व्यवस्थापन रहेछ भन्ने छर्लंग देखिएको छ । आयोजक परिषद्का सदस्य सचिव रमेश सिलवालले गर्वका साथ घोक्रो फुलाएर ‘मैले संसार नै जितेको छु’ भनेझैँ व्यक्तिगत दम्भ प्रदर्शन गरेर सागलाई झनै फितलो बनाइदिनुभयो । उहाँको अभिव्यक्तिले आफैँलाई खिल्ली उडाइरहेको थियो । किनभने उहाँको (परिषद्को) व्यवस्थापन त हरेकका आँखाले प्रस्ट देखिसकेका थिए, जुन माथि पनि उल्लेख गरिएको छ ।

वास्तवमा यस पटकको साग आयोजना गरेर जसोतसो सम्पन्न गरेकामा आयोजक परिषद् र सरकारलाई धन्यवाद दिनु औपचारिकता मात्र हुन आउँछ । पदक जितेर दोस्रो स्थान प्राप्त गर्नुमा भने सरकार र परिषद्को भूमिका नगण्य छ, अत्यधिक भूमिका खेलाडीको लगाव र धैर्य नै हो ।

यहीबीच प्रधानमन्त्री केपी शर्मा ओलीले साग विजेता नेपाली खेलाडीलाई प्रोत्साहन स्वरूप केही विशेष घाेषणा गर्नुभयो । उक्त घोषणा खेलाडीलाई राज्यले दिने रकममा सीमित भयो । आगामी दिनमा नेपालमा खेलकुदलाई अझ सशक्त बनाउन के गर्छ राज्यले ? त्यतातिर प्रधानमन्त्रीको ध्यान गएन । यो त तात्कालिक रूपमा खेलाडीलाई खुसी बनाउने एउटा साधारण काम मात्र हो । मूल काम त राज्य अबका दिनमा खेल क्षेत्रप्रति के कस्ता योजनासाथ आउँछ र खेल र खेलाडीप्रति के कस्ता व्यवहार गर्छ भन्ने नै हो ।

आफ्ना खेलाडीको प्रतियोगितामा भाग लिन तयारी के कस्तो छ ? उपस्थिति जनाउनका लागि मात्र तयार छन् कि प्रतिस्पर्धा गर्न सक्षम पनि ? खेलाडीमा उत्साह, ऊर्जा र प्रोत्साहन के कस्तो छ ? यी आदि विषय पनि यस्ता इभेन्टमा पेचिला विषय हुन् ।

केही सुझाव

वास्तवमा अहिलेको विश्वमा खेलकुद मुलुकलाई चिनाउने र मुलुकको प्रतिष्ठासँग जोडिएको विषय बनेको छ । विश्वस्तरमा हुनेदेखि क्षेत्रीय र स्थानीय वा घरेलुस्तरमा हुने खेलकुदको प्रभाव सबैतिर पर्ने गरेको छ ।

साग दक्षिण एसियाको क्षेत्रीय प्रतियोगिता हो । यसले पनि विश्वका अन्य क्षेत्रमा हुने प्रतियोगिता जस्तै विश्व खेलकुद क्षेत्रमा राम्रो माने राख्छ । यसर्थ, साग जस्ता प्रतियोगितालाई सोहीअनुसारको व्यवस्थापन, जिम्मेवारीबोध र कार्यसम्पादनको आवश्यकता पर्छ ।

हामीले हाम्रो क्षमताले भ्याएसम्म, हाम्रो खुबीले सकेसम्म राम्रो बनाउने प्रयास गर्नै पथ्र्यो, पर्छ । यस्ता प्रतियोगिता आयोजना गर्नु नै पनि देशको इज्जतसँग जोडिने विषय हो । यस कारण पनि पूर्वतयारीमा बढी गृहकार्य जरुरी थियो । यद्यपि, जे जति भयो, त्यसबाट काम भने चल्यो, गतिलो भन्नेचाहिँ भएन भन्ने विश्लेषकहरूको मत छ ।

यस पटकको सागबाट हामीले केही कुराहरू सिक्न जरुरी छ । जस्तो कि यस्ता महत्त्वपूर्ण र ठूला इभेन्ट आयोजनापूर्व आफ्नो वास्तविक अवस्था (तयारीको) कस्तो छ ? सहजतापूर्वक र शानसँग सम्पन्न गर्न सकिने स्थिति छ कि छैन ? विदेशी पाहुना र खेलाडीलाई ससम्मान व्यवस्थापन गर्न सकिएला कि नसकिएला ? खेलस्थलको पूर्वाधार कस्तो अवस्थामा छ ? मर्मत र निर्माणका के कति पूरा भएका छन् ? आदि विषयमा पहिलो ध्यान दिनुपर्ने देखिएको छ ।

उता, आफ्ना खेलाडीको प्रतियोगितामा भाग लिन तयारी के कस्तो छ ? उपस्थिति जनाउनका लागि मात्र तयार छन् कि प्रतिस्पर्धा गर्न सक्षम पनि ? खेलाडीमा उत्साह, ऊर्जा र प्रोत्साहन के कस्तो छ ? यी आदि विषय पनि यस्ता इभेन्टमा पेचिला विषय हुन् ।

यसर्थ, सम्बन्धित सरोकारवाला पक्ष र निकायले आगामी दिनमा यी यस्ता साना, ठूला तर गहन विषयमा ध्यान पुर्‍याउन सके पक्कै नेपालको खेल क्षेत्र अझ सशक्त र बलियो बन्नेछ ।