लोकसंवाद संवाददाता | समाचार | मंसिर २६, २०७६
काठमाडौं । इरान र अफगानिस्तानमा रहेको पश्चिमी वायुको प्रभाव नेपालको पश्चिम भूभागमा प्रवेश गरेको छ । उक्त प्रभावले नेपालको पश्चिमी उच्च पहाडी र हिमाली भूभागमा भारी हिमपातको सम्भावना रहेकाले सतर्कता अपाउन मौसमविद्ले आग्रह गरेका छन् । देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भूभागमा समेत हिमपातको सम्भावना रहेको मौसमविद् मञ्जु वासीले बताउनु भयो ।
सोही प्रणालीको प्रभावले देशैभरि बदली भई अधिकतम र न्यूनतम तापक्रममा गिरावट आई चिसो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका पश्चिमी भूभागका धेरै स्थानमा र मध्य र पूर्वी भूभागका केही स्थानमा हल्का वर्षाको सम्भावनासमेत रहेको बताइएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हालसम्म नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकास नभए पनि रातिदेखि भने पश्चिमी न्यूनचापीय प्रणाली विकास हुनेछ । महाशाखाले आगामी २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा भारी र मध्य तथा पूर्वी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम हिमपात हुने बताएको छ । मौसमविद्का अनुसार यो क्रम आगामी शुक्रबारसम्मै जारी रहनेछ ।