लोकसंवाद संवाददाता | समाचार | मंसिर २६, २०७६
काठमाडौं । काठमाडौंमहानगरपालिका–२२ सुन्धारास्थित कुलमान श्रेष्ठको पानस रेष्टुरेण्टको भान्सामा ग्याँस लिक भई बुधबार राति आगलागी हुँदा आगाले जलेर सोही रेष्टुरेण्टमा काम गर्ने ५ जना घाइते भएका छन् । उक्त आगो निभाउने क्रममा घाइते भएका उनीहरुलाई तत्काल उद्दार गरी उपचारको लागि बीर अस्पताल ट्रमा सेन्टर पठाइएकोमा २ जनालाई थप उपचारको लागिकीर्तिपुर मोडेल अस्पताल रिफर गरिएको छ । आगलागीबाट भान्सा कोठामा रहेका बिभिन्न किसिमका सामानहरु जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
झापा,भद्रपुर नगरपालिका–८ सगरमाथाचोक बस्ने महोमद हुसेनको फर्निचर उद्योगमा बुधबार राति आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
यसैगरी झापा, भद्रपुर नगरपालिका–८ हस्पिटल मोड बस्ने भुपेन यादवको मोटरसाइकल ग्यारेजमा बिहीबार बिहान आगलागी हुँदा ग्यारेजमा रहेका बिभिन्न सामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
मोरङ,सुन्दरहरैचा नगरपालिका–३ सुकुम्वासी टोल बस्ने ४५ वर्षीय हर्क बहादुर बिकको घरमा बुधबार राति आगलागी भई छिमेकी ६० वर्षीय धन बहादुर बिकर ३५ वर्षीय यम बहादुर बिकको घरमा समेत आगलागी हुँदा ३ वटा घर जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
रुपन्देही, देवदह नगरपालिका–७ मदनग्राम बस्ने चन्द्रकान्त खरेलको सामर्थ कन्ट्रक्सन कम्पनी अगाडि पार्किङ गरी राखेको ना.१ क ३३०० नम्बरको जेसिबीमा अज्ञात समूहले बिहीबार बिहान आगो लगाउँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ । आगजनी गर्ने समूहको प्रहरीले खोजी गरिरहेको छ ।
स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो ।