चिसो बढेसँगै मुस्ताङमा पानी जम्न थाल्याे, जनजीवन प्रभावित

चिसो बढेसँगै मुस्ताङमा पानी जम्न थाल्याे, जनजीवन प्रभावित

लोकसंवाद संवाददाता  |  समाचार  |  मंसिर २७, २०७६

काठमाडौं ।  चिसो बढेसँगै मुस्ताङमा पानी जम्न थालेको छ ।

बुधबारदेखि मौसममा भएको बदलीसँगै बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ । चिसोका कारण उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङका खोला र धारामा पानी जमेको स्थानीयवासी तिलक विकले जानकारी दिनुभयो । 

उहाँका अनुसार उपल्लो मुस्ताङमा न्यूनतम तापक्रम माइनस १५ डिग्री सेल्सियस पुगेको छ । खाना पकाउन, गाईवस्तुलाई खुवाउन, सरसफाइ र घरायसी प्रयोजनका लागि आगो र ग्यासमा पानी तताउन थालिएको छ। पानी जमेर धारामा आउन छाडेको छ। 

यसैगरी सदरमुकाम जोमसोम नजिकै घरपझोङ गाउँपालिका–५ मा रहेको धुम्बा तालमा पनि पानी जमेको छ । तालमा पानी जमेको हेर्ने पर्यटकको चहलपहल बढेको वडाध्यक्ष वीरेन्द्र थकालीले बताउनुभयो । 

बिहीबार रातिदेखि हिउँ पर्न थालेको र स्थानीयवासी चिसोका कारण घरबाहिरको काम गर्न सकेका छैनन् । गाईवस्तु गोठमै राखेर भण्डारण गरिएको सुख्खा घाँस खुवाइएको छ।

जोमसोम–कोरला सडकलगायत विकास आयोजना चिसोले प्रभावित भएका कारण उपकरण र मजदूरले काम गर्न सकेका छैनन् ।

जाडो छल्न लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका अधिकांश बासिन्दा पोखरा, काठमाडौं, म्याग्दी, बुटवल, चितवनलगायत ठाउँमा गएका छन्। गाउँमा घर कुरुवा राखेर स्थानीयवासी गर्मी बढेपछि मात्र घर फर्कने गरि न्यानो ठाउँमा गएका छन् ।

स्थानीय तह, वडा र सरकारी कार्यालयका कर्मचारी, जनप्रतिनिधि पनि धेरै जसो पोखरा गएका छन् भने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका कर्मचारीले पोखरामा सम्पर्क कार्यालय राखेर त्यहींबाट सेवा दिईरहेका छन् ।

उपल्लो मुस्ताङका विद्यालय पनि पोखरामा घुम्ती कक्षा सञ्चालन गरि शिक्षा दिईरहेका छन् ।