प्रभाती किरण | साहित्य | मंसिर २८, २०७६
महान् र काव्य दुई शब्दको योगबाट महाकाव्य शब्दको निर्माण हुन्छ । यसले काव्यको सबैभन्दा ठूलो स्वरूप भन्ने अर्थ दिन्छ । कविताका विभिन्न रूपमध्ये महाकाव्यलाई बृहत्तर रूप मानिन्छ ।
महाकाव्य पूर्वीय काव्यचेतनाको आविष्कार हो । श्रव्यकाव्यअन्तर्गतको व्यापक आयामको रचना महाकाव्य हो । नेपालीमा महाकाव्य लेखनको परंपरा भानुभक्त आचार्यदेखि नै विकसित हुँदै आएको हो । परंपरागत महाकाव्यमा धीरोदात्त पात्र, उच्च कुलीन विषय तथा दैविक चरित्रको व्यापक चर्चा हुन्थ्यो र यसैलाई महाकाव्यको गुण मानिन्थ्यो ।
समय परिवर्तनसँगै मानिसको चेतनास्तर पनि बढ्दै गयो । साहित्यले नयाँनयाँ परिभाषा र विचार ग्रहण गर्न थाल्यो । यही क्रममा महाकाव्य पनि स्वरूप तथा कथ्यमा नवीनता खोज्दै अगाडि बढ्यो ।
नेपालीमा लेखनाथ, देवकोटा, समहरूले चलाएको ‘स्कुलिङ’लाई पछ्याएर महाकाव्य लेख्ने परंपरा फस्टाउँदै गयो । लेखनाथको ‘तरुण तपसी’, देवकोटाको ‘शाकुन्तल’, सोमनाथको ‘आदर्श राघव’ हुँदै अघि बढेको महाकाव्यको इतिहासमा मोदनाथ प्रश्रितको मानव’ महाकाव्य तथा भानुभक्त पोखरेलको मृत्युञ्जय’ महाकाव्यले मदन पुरस्कार प्राप्त गरे ।
महाकाव्य लेखन आफैँमा एउटा तपस्याको विषय हो । सानो साधनाले महाकाव्य सिर्जना हुँदैन । महाकाव्यले कविता र आख्यान दुवैलाई सशक्त रूपमा अघि बढाउनुपर्छ । यी दुवै पक्षलाई साथै डोहो¥याउन नसक्दा महाकाव्य कमजोर बन्छ । नेपालीमा लेखिएका धेरै महाकाव्यहरूमा कि त काव्य पक्षमा जोड दिइएको छ कि आख्यान पक्षमा । दुवैलाई उत्तिकै महत्त्वका साथ अघि बढाउन सक्ने महाकाव्यका रूपमा भानुभक्त आचार्यको ‘रामायण’ नै अग्रणी देखिन्छ । संस्कृतबाट भावानुवाद गरिएकाले पनि त्यो सफल रहेको हुन सक्छ ।
नेपाली काव्य परंपरामा महाकाव्य लेखनको इतिहास लामो रहे पनि महाकाव्य लेख्न स्रष्टाहरू अलिक हच्किएका पाइन्छ । एक त महाकाव्य लेखन आफैँमा जटिल कार्य हो, अर्को, महाकाव्यका पाठक अन्य विधाका तुलनामा सीमित हुन्छन् । हामी एकातिर विश्वव्यापीकरणको मारमा छौँ भने अर्कातिर हाम्रो रुचि फेरिएको छ ।
नेपाली महाकाव्यले आज संरचनामा प्रयोग पनि रुचाएको छ । गद्य कवितामा महाकाव्य लेख्ने, गद्य र पद्यको सम्मिश्रण गरेर महाकाव्य लेख्ने, कथानकमा प्रयोग गर्ने, प्रात्र प्रयोगमा नवीनता खोज्ने पनि गरिएको पाइन्छ । महाकाव्य लेखनमा देखिएको शिथिलता तथा पठनमा देखिने न्यूनताले पनि स्रष्टाहरू महाकाव्य लेखनमा अलिक धर्मराएका हुन सक्छन् । लेखन तथा पठनमा आएको शुष्कता चिर्दै तेह्र जना कविहरूले संयुक्त रूपमा प्रकाशन गरेका छन्, ‘आरोहण’ महाकाव्य ।
गोपीकृष्ण शर्मा, राजेन्द्र सुवेदी, भुवनहरि सिग्देल, ठाकुर शर्मा भण्डारी, श्रीहरि फुयाँल, प्रकाश चापागाईं, जीवन अधिकारी, नारायणप्रसाद पोखरेल, रामप्रसाद ज्ञवाली, लेखप्रसाद निरौला, देवी नेपाल, रमेश शुभेच्छु र नारायण निरासी जस्ता नेपाली कवितामा निरन्तर कलम चलाइरहेका कविहरू आरोहण महाकाव्यका स्रष्टा हुन् ।
सिङ्गो विश्व डुलेर हेर्न नपरोस् नेपाल आए पुग्यो
नाना संस्कृति, धर्म, पर्व विविधा नेपाल हेरे पुग्यो ।
सानो छानु छ देशको मिलिजुली हाँसेर छाए पुग्यो
चोखो गीत छ मानवीय रचना नाचेर गाए पुग्यो ।
एकै स्रष्टाले लेख्न त कठिन हुन्छ भने तेह्र जनाले लेख्दा साँच्चै गाह्रो हुने नै भयो । कविता लेख्न सजिलो भयो होला तर काव्य लेख्न सहज पक्कै भएन । कविता मात्र लेखेर नहुने, आख्यान सँगै जोडिँदै जानुपर्ने भएकाले तेह्र जनाले महाकाव्य लेख्नु पक्कै दुस्तर कार्य हो । तेह्र जना स्रष्टाको एउटा महाकाव्य भन्दा सुरुमा आश्चर्य पनि लाग्यो तर जब काव्यका पङ्क्तिहरूमा विचरण गरियो, तब लाग्यो– यो एउटै कुण्डमा झरेका तेह्रवटा धारा हुन् ।
२०७२ सालको विनाशकारी महाभूकम्पको सेरोफेरोमा आरोहण महाकाव्यको विषय घुमेको छ । गोरखाको मसेल गाउँ यसको आधार हो । निम्न आय भएका जसवीर र उनीका तीन भाइ र दुई बहिनीहरूको कथा महाकाव्यमा छ ।
ब्रिटिस सैनिकमा भर्ना हुन गएको जसवीर तालिम लिएर रिकुटे भई तालिमकै क्रममा दोस्रो विश्वयुद्धमा सहभागी भई जापानको विरुद्ध युद्ध लडे । त्यस युद्धमा हजारौँ नेपालीले ज्यान गुमाए । कयौँ घाइते भए । गाँस, वास र कपासका लागि युद्धमा होमिएका नेपालीहरूले युद्धको बदला ज्यान गुमाए तथा अपाङ्गता पाए ।
युद्ध समाप्तिपछि विजेताहरू बेलायत गएर उत्सव मनाउने प्रसङ्गमा जसवीरलाई युद्ध र यसको परिणामसँग घृणा लाग्यो । अपाङ्ग भएका उनी स्वदेश फर्किए । उनले युद्धको कथा सुनाउँदै भाइहरूलाई पनि स्वदेशमा नै श्रम गर्न प्रेरणा दिए । उनका सन्तान गणेश त्यसपछि महाकाव्यमा नायकका रूपमा उभिएका छन् ।
गोर्खाको वीरपानी पवन महकमा वीरता घोलिएको
गोर्खाको वीरबोली चमचम खुकुरी विश्वमा टल्किएको
गोर्खाको वीरमाटो तहतह मलिलो गण्डकीले कुँदेको
पुर्खाको वीरगाथा रगत र पसिना छर्किंदै लेखिएको ।
वैदेशिक रोजगारीले देशमा रेमिट्यान्सको खेती त ग¥यो तर आनै उत्पादकत्व घटायो । गाउँमा आधुनिकता घुस्यो, शहरमा कृत्रिमता बढ्यो ।
महाकाव्यमा गणेशको छोरा जयन्त र उनकी पत्नी पारुकाको माध्यमबाट हरित क्रान्ति गराइएको छ । स्वदेशी उत्पादनको प्रयोग, कृषिमा आधुनिकीकरण, जडिबुटीको सदुपयोग, स्थानीय स्रोत, साधनको परिचालन जस्ता कुरामा यो जोडी सक्रिय रह्यो ।
समाजलाई बाटो देखाउँदै अघि बढेका यी पात्रहरू उज्यालो भविष्यका संवाहक बने । बारपाक केन्द्र बनाएर गएको भूकम्पले मसेललाई पनि तहसनहस पा¥यो । गणेशको ज्यान गयो । भूकम्पपछि मानिसहरू बसाइँ सर्न थाले, कोही तल बेँसीतिर झरे भने कोही शहर पसे । जयन्त र पारुका भने मसेलको पुनर्निमाणमा जुटिरहेका छन् । उनीहरू निर्माणको आरोहणमा छन् ।
बाँचेको क्षण मृत्यु होइन कुनै यो हो नदीको जल
हामी प्रेरक वृद्ध हौँ किन जमौँ सक्छौँ बगौँ कुल्कुल
यौटा मृत्यु जिती अनन्त मसँगै खोज्दै छ आरोहण
यो आरोहण बीजवृक्ष पनि हो उत्कर्ष आरोहण ।
विनाशकारी महाभूकम्पलाई विषय बनाएर विनाश विकासका लागि पनि हो भन्ने सन्देश आरोहण महाकाव्यले दिएको छ । देशमा व्याप्त बेथिति, कुसंस्कार, धर्म परिवर्तनका लगि छिरेका दलालहरूको चर्चा तथा अँध्यारोपछि उज्यालो पनि आउँछ भन्ने सकारात्मक सन्देश बोकेको आरोहण महाकाव्यमा मदिरा, स्रग्धरा, शार्दूलविक्रीडित, चित्रलेखा, चञ्चरी, शिखरिणी, मन्दाक्रान्ता, द्रुतविलम्बित, स्रग्विणी, मालिनी, वसन्ततिलका, वंशस्थलगायत बीस छन्द प्रयोग भएका छन् ।
जम्मा बीस सर्गमा लेखिएको यस महाकाव्यमा तीन पुस्ता, दोस्रो विश्वयुद्धदेखि २०७२ को भूकम्पसम्मको समयसीमा रहेको छ । परिवेश गोरखाबाट बर्मा हुँदै गोर्खाली सैनिकहरूको दुर्दान्त अवस्था आएको छ ।
अर्काका लागि ज्यान गुमाएका नेपाली अर्काकै लागि बहादुर बने । आना लागि गर्नुपर्ने कुरा धेरै बाँकी छ, त्यो आफैँले गर्नुपर्छ भन्ने सकारात्मक चिन्तनका साथ लेखिएको यो महाकाव्य नेपाली साहित्यको महत्त्वपूर्ण प्राप्ति हो ।
शृङ्गार, करुण, वीर, शान्त, भयानक, वीभत्सलगायतका रसहरूको कुशल परिपाक गरिएको आरोहण महाकाव्यमा विभिन्न अलङ्कारहरूको प्राकृतिक प्रयोग छ ।
काव्य नलेखी कवि भइन्न भन्ने पुरानो मान्यता हो । काव्य कविताको उच्चतम साधना हो । यसमा पनि महाकाव्य त साधनाको चरमोत्कर्ष हो । आरोहण महाकाव्यमा समेटिएका केही स्रष्टाहरूका आनै मौलिक महाकाव्य प्रकाशित छन् । यहाँ समेटिएका तेह्र कविहरू सबैमा आनौ जिम्मामा परेको सर्ग काव्यतत्त्व तथा आख्यानका आधारमा उत्कृष्ट बनाउने आन्तरिक प्रतिस्पर्धाको चुनौती रहेको देखिन्छ ।
कथावस्तु तथा पात्र चयनमा परंपरागत मान्यताबाट पर हटेको भए पनि संरचनाको आधारमा यो काव्य पूर्वीय काव्यपरंपराको मान्यतामा खरो उत्रिएको छ ।
पुस्तकको आवरणमा कविहरूको नाम दिइएको छैन, कवि त्रयोदश लेखिएको छ । काव्यभित्र कुन सर्ग कसले लेखेको भनेर हरेक सर्गमा नाम नदिइएको भए पनि अन्त्यमा कविहरूको परिचय दिँदा उनीहरूले लेखेको सर्गको पनि जानकारी दिइएको छ ।
शिखा बुक्सले बजारमा ल्याएको आरोहण महाकाव्यले पछिल्लो समय नेपाली महाकाव्य लेखनमा देखिएको सुस्ततालाई चिर्दै कम्तीमा यहाँ समेटिएका तेह्र जना स्रष्टाहरूलाई थप मौलिक महाकाव्य सिर्जनाको चुनौती थपेको छ ।
यो यहाँ समेटिएका केही स्रष्टालाई अवसर तथा केहीलाई थाप चुनौतीका रूपमा पनि रहेको छ । नेपाली काव्य साहित्यमा यसको विशिष्ट स्थान रहनेछ ।