डा. ध्रुवप्रसाद भट्टराई | दृष्टिकोण | मंसिर २९, २०७६
खाँडो शब्द संस्कृतको ‘खड्ग’ शब्दबाट बनेको तद्भव शब्द मानिएको छ । यसको अर्थ विवाह मण्डपमा हातमा खुकुरी वा तरबार लिएर गाइने एक प्रकारको वीरगाथा वा विरुदावली भन्ने लगाएको छ । दशैँमा विभिन्न कोटघरमा भवानीको पूजा गर्ने क्रममा खड्गको पूजा गरेपछि सो खड्ग हातमा लिएर नचाउँदै गाइने प्रक्रियालाई पनि खाँडो जगाउनु भनिन्छ ।
खाँडोको प्रचलनको इतिहास नेपाली लोककविताका अन्य उपविधाभन्दा अर्वाचीन देखापर्छ । यसको प्रचलनका सम्बन्धमा गोर्खाली राजपुर्खाले आफ्नो प्रथम राज्य प्राप्ति स्थान खिलुङमा आई कालिकास्थान बनाई त्यहीँबाट सुरु गरेको हो भन्ने भनाइ रहेको छ । नेपालका शाह राजाका पुराना पुर्खा जैन खानले खिलुङ आवाद गरेको (वि.सं. १५५२) र उनले तथा उनका सन्तानले राज्य विस्तार गर्दै लगेको समय सोह्रौँ शताब्दीको आसपास भएकाले अर्को प्रामाणिक आधार प्राप्त नभएसम्म हाललाई खाँडोको आरम्भिक काल यही समयलाई लिनु स्वाभाविक छ ।
यसरी सोह्रौँ शताब्दीबाट नेपाली माटोमा प्रारम्भ भएको मानिएको खाँडोको भाषालाई हेर्दा चित्तौर (भारत)बाटै ल्याइएको मानिन्छ । पृथ्वीनारायण शाहले चलाएको राज्यको एकीकरणको अभियानमा खाँडो जगाएर जोसले भरिएका र रगत उम्लिएका लस्करले नै विजय गरेको ठानिएकाले नै खाँडोको महिमा झन् बढ्दै गयो र पर्वतका मल्ल राजा र अन्य राजाहरूले समेत आफ्नै नाममा खाँडो बनाई जगाउन थाले ।
यता, विजयको अभियानमा रहेका पृथ्वीनारायण शाहका सेनाले खाँडो जगाउँदै विभिन्न राज्यलाई कब्जा गर्दै गर्दा खाँडोको प्रभावले नै यो सफलता प्राप्त भएको मानियो । यो क्रम पूरै युद्धका क्रममा चले पनि सुगौली सन्धि (वि.सं. १८७३) पछि खाँडोको प्रचलनले नयाँ मोड लियो ।
यसपछि यो दशैँमा कोटघरमा राखिएका खड्गको पूजा गरेर दुर्गाले असत्यमाथि सत्यको विजय गरी मानवको कल्याण गरेको सम्झँदै आफ्नो माग गर्ने, पुर्खाको वीरतालाई सम्झिने र विवाहका क्रममा दुलहा पक्षकाले दुलहीको सुरक्षा गरेको मानिने कार्यको प्रतीकका रूपमा सांस्कारिक कार्यका रूपमा यो प्रतिष्ठित हुन पुग्यो ।
दलितहरूले दुलहीलाई सिन्दूर हालेपछि खाँडो जगाउने गर्छन् । यस समयमा हातमा तरबार, खुँडा, खुकुरी लिएर खाँडोको गीत गाउँदै नाच्ने र दुलहाका भाइले हाम्रा दाइको खाँडो जाग्यो भनेर तीन पटक उफ्रने गर्छन् ।
खाँडो युद्धको वर्णन भएको लोकपद्य हो भन्ने देखिन्छ । खाँडोको विषयअनुसार यसको प्रयोग युद्धकै समयमा हुनुपर्ने हो । प्रारम्भिक अवस्थामा युद्धकै क्रममा नै यसको प्रयोग भएको पनि हो तर सुगौली सन्धिपश्चात् नेपालीहरूमा त्यो उत्साह र उमङ्ग रहेन ।
मूलपाठ
श्री ३ प्रतापी महाराज मन्त्री सर जङ्गबहादुर राणाजीके वंश में हुंकार
रत्न धीरशमशेर धर्मवीर प्रताप से हुंकार
पूर्व, पश्चिम, उत्तर, दक्षिण चारै दिशा जित्नको हुंकार
भोट, मोग्लान, दिल्ली, किल्ला काँगडा जित्नको हुंकार
लङ्का, पलङ्का, श्रीलङ्का, नागादेश, घोर्मुखा देश जित्नको हुंकार
शूरवीर सेना चलते है हुंकार
कौन कौन पल्टन आगे चले हुंकार
श्री नाथ चले, देवीदल, बज्रबहादुर महेन्द्र दल, राम दल हुंकार
भैरवनाथ, जगन्नाथ, कालीदल ऐसेऐसे पल्टन चल्ते है हुंकार
कौनकौन दर्जनको सिपाही चल्ते है हुंकार
जर्नेल चलते है हुंकार
कर्नेल चल हुंकार
हवल्दार, हुद्दा, सिपाही चलते है हुंकार
तयारी पासा गुज्रा, नगरा निशान भेरी गर्जन लागे हुंकार
कौनकौन तोप चलते है हुंकार
लाली तोप, काली तोप चलते है हुंकार
भैरव फन्नी आठफन्नी, दशफन्नी, बाह्रफन्नी चलते है हुंकार
ऐसे ऐसे घोड चलते है हुंकार
चिनियाँ टाँगन ताजी, तुर्की, बयल, अरबियन, बेलायती चलते है हुंकार
श्री ५ बडामाहारानीका साथ ऐसेऐसे केटी चलते है हुंकार
रामदरी, श्यामदरी, हुस्नपरी, अलङ्ग वदना, भीम वदना, रत्न वदना, गीता, गङ्गा, गायत्री, सीता, सत्यभामा, सरस्वती, नलिनी, मालिनी आदि सहेली चलते है हुंकार
भाला, बर्छा, धनुर्बाण चल्ते है हुंकार
असियान खान चल्ते है हुंकार
नेपाली पल्टन आगे बढते है हुंकार
सिसा गोला, बम गोला, वर्सन थाले हुंकार
गोर्खालीहरू सर्कन थाले हुंकार
भोटेहरू थर्कन थाले हुंकार
दिल्ली देशावर थर्कन थाले है हुंकार
उभो चीन, महाचिन, पेचिन, पश्चिम किल्ला काँगडा
र, पूर्वमा टिस्टा नदीको साँध लगाई हुंकार
लोहासुर पारसको खाँडो पखाली हुंकार
श्री ५ पृथ्वीनारायण शाह देवानाम् हुंकार
सदा समर विजयीनांको खाँडो जाग्यो हुंकार
जग रे खाँडो जाग रे ! जाग रे ! हुंकार
श्री ५ वीरेन्द्र विक्रम शाहदेवको खाँँडो जाग्यो हुंकार
वैरीका टाउकामा खुँडाले ठ्याक् हुंकार
मेरो खुकुरी आफ्नै दापमा स्वाठ् हुंकार ।
खाँडो युद्धको परिवेशबाट हुर्केको लोकपद्य हो । त्यसैले यसमा युद्धकै भाव वा विचार आएको छ । यसको विषयवस्तुमा युद्धमा हिँडेको नायकको प्रशंसा, ऊ लड्न हिँडेका ठाउँहरू, ऊसँग सामेल भएका सेनाका गणहरू, सेनाका दर्जाहरू, त्यस समयमा बजाइएका बाजाहरू, सेवाका लागि हिँडेका केटीहरू, युद्धका लागि लगिएका हतियारहरू, शत्रुसँग भएको घमासान युद्धको वर्णन, आफ्नो पक्षले जितेका ठाउँको उद्घोष, हर्षबढाइ तथा ती वैरीका टाउकामा खुँडाले ठ्याकठ्याक पारेर आफ्ना खुँडा र खुकुरी आफ्नै दापमा राखेसम्मको गतिविधिको वर्णन गरिएको हुन्छ ।
यसले गर्दा खाँडो युद्धको वर्णन भएको लोकपद्य हो भन्ने देखिन्छ । खाँडोको विषयअनुसार यसको प्रयोग युद्धकै समयमा हुनुपर्ने हो । प्रारम्भिक अवस्थामा युद्धकै क्रममा नै यसको प्रयोग भएको पनि हो तर सुगौली सन्धिपश्चात् नेपालीहरूमा त्यो उत्साह र उमङ्ग रहेन । तर पनि पुर्खाको गौरव गान भने उनीहरूले गर्दै गरे । युद्धका क्रममा प्रयोग भएको हतियारलाई देवी/शक्तिपीठमा राखी दशैँका अवसरमा त्यो शक्ति जगाउने र विवाहका समयमा दुलहीको सुरक्षाको प्रत्याभूति गरेको कार्यको प्रतीकका रूपमा खाँडो जगाउने कार्यलाई संस्कृतीकरण गरियो ।
यसरी युद्धका समयमा प्रयोग हुने खाँडो जगाउने कार्य दशैँमा शक्तिपीठमा र विवाहका समयमा गरिने सांस्कृतिक कार्यका रूपमा परिणत भयो । यो परंपरा दलितहरूमा रहेको देखिन्छ ।
क्रमशः
याे पनि
दलित समुदायका विवाह संस्कारमा प्रयाेग गरिने बिहे प्रश्नोत्तरीहरू