लोकसंवाद संवाददाता | समाचार | पुस ०२, २०७६
काठमाडौँ । नेपाल सरकारको निर्णयअनुसार मैतीदेवी, शास्त्रीमार्गस्थित महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ‘कविकुञ्ज’ र ‘कविकुञ्ज’ले चर्चेको जग्गा समेत १२ आना १ दाम नेपाल प्रज्ञा–प्रतिष्ठानको नाममा आएपछि कविकुञ्जलाई सङ्ग्रहालय बनाउने बाटो खुलेको छ ।
देवकोटाको परिवारबाट प्रज्ञा–प्रतिष्ठानले कविकुञ्ज मङ्सिर २९ गतेका दिन २ करोड ५० लाखमा खरिद गरेको थियो । हिजो मङ्सिर ३० गते प्रज्ञा भवनमा पत्रकार सममेलनको आयोजना गरी यसबारे जानकारी गराइएको थियो ।
२०७६ पुस १ गते मङ्गलबार प्रज्ञा–प्रतिष्ठानका सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायको नेतृत्वमा प्राज्ञ परिषद्का सदस्यहरूद्वारा कविकुञ्जको स्थलगत अवलोकन गर्नुका साथै देवकोटा परिवारबाट कविकुञ्जको तालाचाबी बुझ्ने प्रक्रिया पूरा भएको छ ।
उक्त अवसरमा उपस्थित सञ्चारकर्मीहरूलाई यसबारे जानकारी दिँदै सदस्य सचिव प्रा. जगत्प्रसाद उपाध्यायले अब चाँडै डिपिआर गरी सङ्ग्रहालय निर्माणको कार्य प्रारम्भ गरिने बताउनुभयो ।
तालाचाबी बुझाउने क्रममा देवकोटाकी छोरी अम्बिकादेवी रिमालले पिता महाकवि लक्ष्मीप्रसाद देवकोटाको नाममा सङ्ग्रहालय बनाएर नेपाल सरकारले नेपाली वाङ्मय जगत् कै लागि अत्यन्त महत्वपूर्ण काम गर्न लागेको बताउनुभयो ।
सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि देवकोटाको ११० औँ जन्मजयन्तीका अवसरमा गत वर्ष महाकवि देवकोटाको निवास कविकुञ्जलाई सङ्ग्रहालय बनाइने घोषणा गर्नुभएको थियो ।