दिलीपकुमार चापागाईं | दृष्टिकोण | पुस ०२, २०७६
गौरीकुण्ड, केदारनाथजी दर्शनका लागि सवारी साधन लिएर जाने अन्तिम गन्तव्य । गौरीकुण्डमा स्नानपछि केदारनाथजीको यात्राको प्रबन्ध गर्न लाग्यौँ । हिँडेर जान सक्ने अवस्था थिएन । हिमाली क्षेत्रको यात्रा, लेक लाग्ने अधिक सम्भावना । आफ्नो सुरक्षाको व्यवस्था मिलाउनुपर्ने अवस्था थियो । त्यसको विकल्प पनि थिएन हामीसँग ।
केदारनाथजी दर्शनका लागि घोडाको व्यवस्था मिलायौँ । ११ सय रूपैयाँ प्रति व्यक्ति लिँदोरहेछ, एक तर्फी घोडाको भाडा । तिर्यौँ र लाग्यौँ उकालो ।
केदारनाथजी पुग्दा हामीमध्ये अधिकांश लेक लाग्नेको सिकार भइसकेका थियौँ । यात्राको विविधताको मज्जा लिने र केदारनाथजीको दर्शन गरेर महान् पुण्य कमाउने कार्यमा उकालो यात्राले कताकता अप्ठ्यारो महसुस भइरहेको थियो । तर, यात्रा पूरा भइसकेको थियोे । दर्शन गरेर तल झर्दा असहज महसुस भइरहेको थियो । तैपनि धार्मिक तीर्थयात्रा भएकाले देवीदेवताको दर्शन गर्ने, फूल, अक्षता चडाउने जीवनभरको इच्छा पूरा गर्ने सन्तोषको अनूभूति नभएसम्म सन्तुष्टि नमिल्ने रहेछ । हामीलाई पनि त्यस्तै अनुभव भइरहेको थियो ।
त्यो परिक्रमाभित्र हामीले पनि पूरा गर्नुपर्ने कार्य पूरा गर्नलाई करिव करिव ३ घण्टा केदारनाथजीको मन्दिर परिसरमा बितायौँ । हामी थकित त थियौँ नै, तैपनि गर्ने कार्य पूरा गरेरै छाड्छौँ भन्ने प्रतिबद्धता पूरा गर्यौँ । दर्शन राम्ररी नै गर्न पाएको हुँदा आनन्दले लेकदेखि थकाइसम्मलाई बिर्साइरहेको थियो । त्यसपछि हामीले खाना आएर त्यो पुण्यभूमिलाई छाड्ने निर्णय लियौँ ।
केदारनाथजीको यात्राले मलाई त मुस्ताङ जिल्लाको झझल्को दिलायोे । मुस्ताङसम्म पनि गाडी त जान्थ्यो तर त्यहाँ पेसा गरेर बसेकाहरूको अनुहारलाई नियालेँ, व्यापारीलाई, धर्मभिरुको अवस्थालाई नियालेँ अनि हाम्रा हिमाली क्षेत्रका वासिन्दाको अनुहारसँग मनमनै तुलना गरेँ ।
मुस्ताङ जाँदा भेटेका स्थानीय वासिन्दाहरू हृष्टपुष्ट शरीर, होटल व्यापरीहरूको रातोपिरो अनुहार, मुखमा बिम्बित कान्ति । त्यसरी नै उनीहरूले बनाएका घर र होटल तथा त्यसभित्रका अत्यावश्यक सामग्रीको बन्दोबस्त भारतीयहरूको भन्दा निकै फरक छ । भारतीयहरू ख्याउटे, मुखमा कति पनि कान्ति नदेखिने, हिमाली क्षेत्र भए पनि काला, कपडा नधोएका फोहोरी, शरीरको सरसफाई कति नभएको देखिन्थ्यो ।
होटलमा बस्दा उपलब्ध गराइएका कपडाहरू गह्नाउने । साँच्चै भन्ने हो भने प्रयोग नै गर्न नसकिने खालका थिए । अनुहारमा देखिने मलीनता नैराश्यको चिह्नझैँ लाग्थ्यो । बोलीमा सन्तुलन र व्यावहारिकता पटक्कै थिएन । ठग्न पाए ठगी हाल्ने, एक पटक बन्दोबस्त भइसकेपछि यात्रीलाई पटक पटक झड्कार्ने प्रवृत्ति त्यहाँ पनि देखिन्थ्यो ।
पूर्वाधार विकासको दृष्टिले हामी पछि परे पनि स्वाभिमान र सद्भावको कसीमा पक्कै पनि अगाडि मुस्ताङ भएको मेरो निश्कर्ष रह्यो । त्यही महसुस भयो । सायद भारतीय बजार नेपाली बजारभन्दा बढी नै प्रतिस्पर्धी र फराकिलो भएकाले पनि बढी नै अस्वस्थ र अव्यावहारिक प्रतिस्पर्धा र व्यवहार गर्नुपर्ने बाध्यता थियो कि उनीहरूको । त्यहाँ हुनसक्छ तर मूलतः प्रवृत्तिको कुरा हो । त्यो अत्यन्त फरक रहेछ ।
बेलुका बडो मुस्किलले रामपुर आइपुगियो । ९ बजिसकेको थियो । थकाइ र भोक पनि लागिरहेको थियो । अगाडिको यात्रा सरल हुने भन्ने ड्राइभरको भनाइले केदारनाथजीबाट झर्दाको दुःखलाई बिर्सिरहेका थियौँ । आखिर हामी तीर्थयात्री थियाँै, त्यस्ता अनेक दुःख आउँथे, जान्थे । केही क्षण कठिन महसुस हुन्थ्यो, अन्ततः त्यसलाई बिर्सनुशिवाय हामीसँग अर्को विकल्प के थियो र ! हल्का खाएर सुत्यौँ । त्यो रात पनि सामान्यभन्दा कष्टकर हुने नै भयो ।
बिहान ७ के बजेको थियो, हामी बदरीनाथको महान् यात्रातर्फ लाग्यौँ । बाटोमा महिला वर्गले गुप्तकाशीमा दान गर्ने आदि कार्य पनि चलिरह्यो । हामीसँगै रहेका महिलाहरूले पनि सो कार्य गरिरहनुभएको थियो । हामीले पनि दर्शन गर्यौँ । त्यसपछि भने हुइँकियौँ अगाडि भोकतिर्खा नभनीकन ।
भगवानको पावन आशीर्वादले मात्र हुँदोरहेछ भन्ने बोध भइरहेको थियो । प्रभुको कृपा भएर नै बिरामी भएर थलिएका, शरीरले साथ नदिएका वृद्ध, धर्मप्रति कहिल्यै अनुराग नभएकाहरूले पनि त्यस यात्राको लाभ लिइरहेको देख्न सकिन्थ्यो । धन्य, प्रभुको कृपा र आशीर्वाद प्राप्त भएकामा ।
अघिल्लो दिन खासै खाना खाइएको थिएन । उपयुक्त ठाउँको खोजीमा लागेका थियौँ । यात्रा त अति नै कठिनप्रद नै थियो । ठूला पहाडलाई छिचोलेर बनाइएको साँघुरो सडक चालकले अलिकति संयमता गुमाउँदा सबै तीर्थयत्रीको इहलीला समाप्त हुने पक्कापक्की थियो । भयंकर डरलादो बाटो देखेर सबै जना त्रसित थियौँ तर कसैले पनि व्यक्त भने गरिरहेका थिएनौँ । निरन्तर करिब एक हजार किलोमिटरजति यस्तै बाटोलाई छिचोलेर अगाडि बढ्नुपर्ने रहेछ, ४ धामको यात्रा पूरा गर्दा ।
त्यसैले पनि कसैले यो यात्रा कम जोखिमको हो भन्दा विश्वास लाग्ने अवस्था रहेन, थिएन । यसरी नै नयाँनयाँ अनुभव गर्दै हामी अगाडि बढ्दै रह्यौँ । जहाँ जे पाइन्छ, त्यही हाम्रो खाजा मुख्य खाना बनिरहेको थियो । स्वाद, पारखको कसीमा मज्जा लिने अवस्था त थिएन, थिएन । तर, बाटोमा पाइने फलफूलचाहिँ हाम्रा लागि अमृत सरह भइरहेका थिए । रुचि र स्वादअनुसारका फलफूल हामीले बाटोभर खरिद गरेर खाने काम यात्रा अवधिमा गर्यौँ, खायौँ । त्यो नै हाम्रो यात्राको जीवन धान्ने प्रमुख आधार बनिरहेको थियो ।
बदरीनाथको यात्रा अझ कठोर लाग्यो । अधिकांश दुर्घटनाहरू त्यहाँ हुँदारहेछन् । नेपाली यात्रीहरू दुर्घटनामा परी मरेको स्थानको जानकारी ड्राइभरले गराउँदा अचम्म लाग्यो, दुर्घटना हुने ठाउँ थिएन त्यो । कसरी दुर्घटना भयो ? अनुमानसम्म हामीले गर्न सकेनौँ । बाटोभर कहीँ न कहीँ कोही न कोही दुर्घटनामा परेको ड्राइभरले स्मरण गाराइरहे ।
उनको स्मृतिलाई बढी चासो दिएर घटनालाई खोतल्नतिर भन्दा पनि उनको एकाग्रता, संयमता कसरी कायम हुन्छ, त्यतापट्टि प्रवृत्त गराउन लाग्नु नै श्रेयष्कर हामीले ठान्यौँ । अगाडिको कठिन यात्रा र अप्ठ्यारोले मनलाई नियन्त्रित गर्न सकिरहेको थिएन । एक किसिमको असहजिलो र त्रास, यात्राभर आउने–जाने गरिरह्यो ।
अलकानन्द नदीको कहालीलाग्दो कहर आकाश छुन तम्सिएका पहाडसम्म आउँथ्यो । इञ्जिनियरले तिनै अजंगका पहरा खोतलेर यात्राको गन्तव्यलाई सरल बनाएको सहज अनुमान गर्न सकिन्थ्यो । अरुण नदीको सभ्यतामा हुर्किएको म आफूले नदीको उत्ताउलोपना अनुभव गरेको थिइनँ । तामाकोसी, सुनकोसी, तमोर र अरू पनि नदी त्यसरी नै धीमा गतिमा लम्किरहेकै छन् । कर्णाली र महाकाली नदीको उद्गम नजिक पुगेर स्पर्श गर्दासम्म पनि आनन्दानुभूति भई नै रह्यो ।
तर, अलकानन्द किन हो कर्कशापूर्ण तरिकाले पहाड छिचोलिरहेकी छन्, असंख्य यात्रीहरूलाई आफूभित्र समाहित गर्न सधैँ उद्यत देखिन्छिन्– आफैँ आँधीबेहरी भएर सूत्रधारको रूपमा जीवनलाई छिन्ने हुंकारका साथ । त्यसैले पनि बदरीनाथ यात्राका ती क्षणहरू सहज र स्वाभाविक लागेन । बदरीनाथ नपुगुन्जेल कताकता मनमा चिसो भने परिरह्यो ।
अन्ततः ४ चार बजे हामी गन्तव्यमा पुग्यौँ । हिमाली क्षेत्र ६ महिना त हिउँले ढाक्ने । त्यस्तो ठाउँमा कति सुन्दर वस्ती ! बजार ठूलो छ । ठूलाठूला घरहरू, आधुनिक पसल, होटल आदिमा व्यापारीको कत्रो लगानी छ ! आधुनिक वास्तुकलाको अनुपम नमुनालाई त्यहाँ देख्न पाइन्छ ।
कसले गरेका हुन् त्यत्रो लगानी ! जम्मा ६ महिना मात्र कारोबार हुन्छ अरे ! लगानी उठाउन पनि त समय लाग्दो हो । आखिर धर्म र धार्मिक भाव नै हो, जसले मानिसलाई असंभव कुरा गर्नसमेत प्रेरणा मिल्दोरहेछ । सायद बदरीनाथको कृपा हुँदो हो त्यो ।
ठूूलो उपत्यका जस्तो लाग्ने क्षेत्र बजार पूर्ण र फराकिलो छ, भीड भडक्का छ । हिँड्नलाई बाटो नपाइनेगरी ओहोरदोहोर चलिरहेको छ । धार्मिक आस्था र अनास्थाबीचको धुरीमा उभिएकाहरूले पनि त्यहाँ धर्मप्रतिको विश्वासलाई व्यक्त गरिरहेको सहज रूपमा देख्न पाइन्छ । त्यसले उनीहरूमा आफूभित्र रहेको अनास्थाको बीजलाई समूल नष्ट गरेको अनुभूति गर्न सकिन्थ्यो ।
त्यहाँ बनेका भवन मालिकले क्षणिक लाभको किञ्चित ख्याल गरेनन् । बदरीनाथ धामको पवित्र क्षेत्रमा आफ्नो उपस्थितिको अविच्छिन्नता पछिल्लो जनमको सुखद पक्ष हो भन्ने मात्र बुझेको भान हुन्छ । भगवानको समीपमा रहने त्यो क्षण सारा जीवनको क्लेस र मायाको मुक्तिको मार्गको रूपमा लिएँ । न त इर्ष्या छ, न द्वेष । बोलाइ र व्यवहारको शिष्टता आफ्नो सनातनी कर्तव्यको शृंगारको रूपमा लिएको पायौँ ।
कर्म र धर्मको सेतु बदरीनाथको वासस्थान आफ्ना अनन्य भक्तको जीवनपथका मार्गमा भगवानको सदैव उपस्थिति शुभाति शुभम् भएर रहेको छ । आनन्दानुभूतिको मार्गमा भक्त, कर्ता र कर्मका उपासक निरन्तर दौडिरहेका छन् । हामी पनि त्यही चक्रमा केही समय समाहित भयौँ– त्यो दिव्य धामको पावन दर्शनको लाभ लिन ।
आफूलाई धन्य र कृतकृत्य भएको बोध भइरहेको थियो । महान् तीर्थको लाभ लिने सौभाग्य मानिसको इच्छा र चाहनाले मात्र पूरा हुँदोरहेनछ । भगवानको पावन आशीर्वादले मात्र हुँदोरहेछ भन्ने बोध भइरहेको थियो । प्रभुको कृपा भएर नै बिरामी भएर थलिएका, शरीरले साथ नदिएका वृद्ध, धर्मप्रति कहिल्यै अनुराग नभएकाहरूले पनि त्यस यात्राको लाभ लिइरहेको देख्न सकिन्थ्यो । धन्य, प्रभुको कृपा र आशीर्वाद प्राप्त भएकामा ।
होटल बन्दोबस्त गरियो । महँगो त लाग्यो तर अरूतिर खोज्नलाई समय पनि हामीसँग थिएन । बिरामी परेका, गलेका, थकित भइसकेका हामीलाई विश्रामको आवश्यकता थियो । हाम्रो गाडीलाई धेरै लामो समय रोकेर कोठा खोज्ने समय र अवस्था दुवै थिएन । नेपाली धर्मशाला त रहेछ तर फोहोर र ज्यादै भीड । त्यसैले होटल पहिलो रोजाइ भयो ।
फेरि अलिक टाढा कोठा पाइएमा पनि सामान ओसारपसार गर्नलाई कुल्लीको सहायता लिनै पर्ने र त्यस उपर खर्चनुपर्ने रकमको भारलाई थेग्न नसकिने । अतः तत्काल निर्णय लिनुपर्ने भयो, त्यहीँ बस्ने निर्णय गर्यौँ ।
चारधाम तीर्थ यात्राको अन्तिम र महत्त्वपूर्ण तीर्थस्थलको दिव्य लाभ लिने विन्दुमा आफूलाई सकुशल पुर्याउन सकेकामा गर्व लागिरहेको थियो ।
बदरीनाथको कुन समयमा दर्शन गर्ने हो, टिकट लिनुपर्ने रहेछ । त्यसका लागि हामीले भोलिपल्टको ५ देखि ६ बजेको समयलाई मिलायाैँ।
याे पनि
फुर्सदको मन्त्रालयदेखि चार धाम तीर्थाटनसम्म
चार धाम यात्राः पितृ ऋणमुक्तिको सम्बन्ध र साधकहरूको भक्तिभावमाथिको खेलबाड
पितृहरूलाई देवलोक पुर्याउने लक्ष्यका साथ खाली खुट्टाको कष्टकर यात्रा !