अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग प्रस्ताव पारित

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग प्रस्ताव पारित

लोकसंवाद संवाददाता  |  विदेश  |  पुस ०३, २०७६

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि संसदको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभ्सले महाअभियोगको प्रस्ताव पारित गरेको छ । उनी अमेरिकी इतिहासमा नै महाअभियोगको सामना गर्ने तेस्रो राष्ट्रपति बनेका छन् ।

अब यो प्रस्तावलाई सिनेटको दुई तिहाई बहुमतले पारित गरेमा ट्रम्प पदमुक्त हुनेछन् ।

तल्लो सदनमा ट्रम्पमाथि महाअभियोग लगाउने प्रस्तावको पक्षमा २२९ मत परेको थियो भने १९७ रिपब्लिकन सांसदले विपक्षमा मतदान गरेका थिए । उनीमाथि शक्ति दुरूपयोगको आरोपमा महाअभियोग लगाइएको हो ।

आगामी सन् २०२० को राष्ट्रपतीय निर्वाचनमा समेत उम्मेदवार बन्न लागेका ट्रम्पको चुनावी अभियान अघि बढिरहेका बेला उनीमाथि महाअभियोगको प्रस्ताव पारित भएको हो ।

उनले आफ्नो चुनावी अभियानलाई मिसीगनमा सम्बोधन गर्दै छन् । सो कार्यक्रममा उपराष्ट्रपति माइक पेन्ससमेत सामेल हुनेछन् ।

स्थानीय समयअनुसार बुधबार दिउँसो तल्लो सदनका सदस्यहरूले महाभियोगको विषयमा ६ घण्टा लामो बहस गरेका थिए ।

आफ्नो धारणा राख्दै सभामुख तथा डेमोक्रेटिक पार्टीकी नेतृ न्यान्सी पेलोसीले राष्ट्रपतिको लापरवाहीपूर्ण कदमले महाभियोगको प्रक्रियामा पुर्‍याउनु दुःखदायी भएको बताइन् ।

उनले सांसदहरूसँग त्यसको विकल्प नरहेको पनि बताइन् । उनले भनिन्, ‘राष्ट्रपति हाम्रो राष्ट्रिय सुरक्षा र प्रजातन्त्रका लागि निरन्तर खतरा बनेका छन्।’ तर, रिपब्लिकनहरूले भने त्यसको प्रतिवाद गरेका थिए ।