खोटाङका राई र सुबेदी काठमाडौँमा सम्मानित

खोटाङका  राई र सुबेदी काठमाडौँमा सम्मानित

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस ०५, २०७६

काठमाडौँ ।  खोटाङ सेवा समाज युके (बेलायत)ले  २०७६ पुस ५ गते शनिवार काठमाडौँमा एक समारोह बिच खोटाङका एक जनालाई ‘नागरिक सम्मान’ र  अर्का एक जनालाई ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरिएको छ  । 

लामो समयदेखि बेलायतमा कर्मथलो बनाएर बसेका खोटाङेले स्थापना गरेको संस्थाले शिक्षाविद् एवम् समाजसेवी जयकुमार राईलाई ‘नागरिक सम्मान’ र साहित्यकार एवम् प्राध्यापक डाक्टर धनप्रसाद सुवेदीलाई ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरिएको  थियो । 

समाजले राजधानी काठमाडौँ स्थित नेपाल प्रज्ञा प्रतिष्ठानको भवनमा आयोजित कार्यक्रममा शिक्षाविद् राईलाई नगद  ५० हजार र ताम्रपत्र सहितको ‘नागरिक सम्मान’ र प्राध्यापक डाक्टर सुवेदीलाई नगद २५ हजार र पत्रपत्रिका साथमा ‘खोटाङ प्रतिभा पुरस्कार’ प्रदान गरिएको हो । 

शिक्षाविद् राई र प्राध्यापक डाक्टर सुवेदीलाई कार्यक्रमका प्रमुख अतिथि नेपाली चलचित्रका वरिष्ठ निर्देशक तुलसी घिमिरेले दोसल्ला ओढाएर थैलीमा राखिएको नगद तथा ताम्रपत्र प्रदान गर्नुभएको थियो । 

सन् २००७ मा बेलायतमा स्थापना गरिएको खोटाङ सेवा समाज युकेको प्रतिष्ठित पुरस्कार पाउने शिक्षाविद् राई र प्राध्यापक डाक्टर सुवेदी पाँचौँ जोडी हुनुहुन्छ । पुरस्कृत प्राध्यापक डाक्टर सुवेदी अध्यापनको सिलसिलामा चीनमा रहनुभएकाले उहाँले  प्राप्त  गर्नु भएको पुरस्कार उहाँकी श्रीमती डाक्टर यादेवी ढकालले ग्रहण गर्नुभएको थियो ।

पुरस्कार प्रदान कार्यक्रममा खोटाङ घर भई राजधानी काठमाडौँ बसोबास गरिरहनुभएका शिक्षाविद्, समाजसेवी, साहित्य तथा सङ्गीतकार लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा सम्मानित शिक्षाविद् राईको बारेमा डाक्टर विष्णु राई र प्राध्यापक डाक्टर सुवेदीको परिचय टङ्क भट्टराईले गराउनुभएको थियो ।