राजन कार्की | दृष्टिकोण | पुस ०६, २०७६
लोकनेता जसलाई पनि पद, पैसा र दास नै चाहिने । पद र पैसाका लागि आफूभन्दा शक्तिशालीका सामु तुरुन्तै दास बनिहाल्न पनि सक्ने । मौसमअनुसारका ‘ट्युनिक’ लगाउन जान्ने राजनीतिक नया“ जाति नेपालमा उदय भएको छ ।
काकु कमिलाको एक जात हो । यो काकु कमिलाले आफ्नै जातिका कमजोर कमिलाहरूलाई गुँडमा ल्याएर दास बनाएर राख्छ । आफूभन्दा शक्तिशाली कमिलाका सामु गएर लम्पसार पर्न, दास बन्न पनि सक्छ । काकु कमिलाको जात र नेपाली लोकतान्त्रिक नेतामा भिन्नता देखिँदैन ।
न काकु कमिलामा स्वाभिमान र स्वाधीनता हुन्छ, न त नेपाली लोकनेतामा नै त्यो विशेषता बाँकी छ । लोकतान्त्रिक गणतन्त्र नेपालमा न लोक छ, न त गण छ । नेता छन् र बाँकी तिनका दास छन् । दासहरू मालिकका बदमासी हेरिरहेका छन् । यहाँसम्म कि देशको सीमा मिचिने काम भइरहेको छ, मालिकहरू मौन छन् र तिनमा कूटकूट दास प्रवृत्ति भरिएको छ ।
यिनै मालिकहरू हामी लोकतान्त्रिक गणतन्त्र नेपालका नेता हौँ भनेर बास्छन् । जनताको मत लिएर जनतालाई दास बनाउने र आफू विदेशीको दास बन्ने प्रवृत्तिले नेपालको गरिमा र महिमा खण्डन, मण्डन र मुण्डन भइरहेको छ । नेपाली सार्वभौमिकता मैनबत्ती पग्ले जसरी पग्लदै गएको छ ।
नैतिकताको न नभएका त हाम्रा नेताहरू ! यिनीहरूबाट निष्ठा र चरित्रको खोजी गरेर पाइएला ? ब्याक्टेरिया जति पनि पाइने फोहोरमा स्वच्छताको के आस गर्नु ?
लोकलज्जा नभएको व्यक्तिलाई समाजमा सम्मानित नजरले हेर्ने प्रचलन छैन । समाज नेतालाई हेर्छ, फेर्न सक्दैन किनकि विकल्प नै छैन । हरेकपल्ट यिनै चुनाव उठ्छन्, जित्छन् र शासन गर्छन्, काकु कमिला बनेर ।
राजनीतिका धुरन्धरका रूपमा चाणक्यलाई मानिन्छ र चाणक्य नीति आज पनि प्रचलनमा छ । चाणक्य भन्छन्, ‘नीतिमा सर्वश्रेष्ठ नीति राजनीति हो, राजनीति उच्चकोटिको समाजसेवा हो ।’ तर, नेपालमा राजनीति भनेको भ्रष्टाचार हो, विदेशी भक्त हुनु हो । जसरी पनि सत्ता र शक्ति आर्जन गर्नु हो ।
नेपाली नेताहरूमा न लोकलज्जा देखिन्छ, न त तिनमा समाजसेवाको भावना नै छ । नेपाली राजनीति समाजविरोधी, देशघात बेच्ने हाट बजार बनेको छ । राजनीति व्यापार बनेको छ । व्यवसाय बनेको छ । त्यसैले त २०४६ सालपछि कांग्रेस, एमाले र २०६३ सालको परिवर्तनपछि माओवादी, मधेसवादी अर्थात् समाजवाद, सर्वहारावाद, मधेसवाद, धर्मवादको राजनीति गर्नेहरू सबै करोडपति, अर्बपति, खर्बपति बनेका छन् ।
उनीहरूका सामु तिल्के मारवाडीसमेत हारिसकेको छ । नेपालमा राजनीतिका नाममा फौबञ्जारी व्यापार खुब चम्केको छ । सुन देखाएर पित्तल साट्नेहरू दिनदिनै नवसामन्त बनिरहेका छन् । नेपालको सन्दर्भमा राजनीति उत्तम नीति अथवा समाजसेवा रहेन, माफियातन्त्र हुनपुग्यो ।
दक्षिणपूर्वी एसियामा पाइने र्याकोफोरस जातका भ्यागुताहरू १० मिटर परसम्म उड्न सक्छन् । दक्षिण एसियामा पर्ने नेपालका नेताहरू अनैतिकताको पहाड पनि उडेरै नाघ्न सक्छन् किनकि नेपाली नेताहरूका चरित्रमा नैतिकता नामको कुनै गुण नै पाइन्न । त्यसैले त भूमाफिया, ठेकेदार, सुन तस्कर, बलात्कारी, हत्यारा राजनीतिलाई चारधाम बनाइरहेका छन् । त्यसै कार्ल माक्र्सले भनेका हुन् र ?, ‘धनीका अपराध छोपिन्छन्, गरिबका अपराध उचालिन्छन् ।’ वर्तमान नेपालको तस्वीर यही हो ।
विज्ञान प्रविधि भन्छ, ‘सर्पले टोकेको विष झार्न सर्पकै विषबाट प्रतिविष बनाइन्छ । एक किलो प्रतिविष बनाउन १० हजार सर्पको विष आवश्यकता पर्छ ।’
नेपाली विषालु राजनीतिले टोकेर घाइते पारेको नेपाल र नेपालीलाई बचाउने प्रतिविष आजसम्म तयार हुन सकेन । जसजसलाई जनताले यो त ठीक छ भनेर छाने, तिनले न नेपाल टोक्न छाडे, न त नेपालीको रगत चुस्न छाडे ।
नेपाल र नेपाली मरणासन्न छन्, तिनलाई बचाउने कुनै उपाय कसैले सोच्न सकेन, जनता आफैँ जुर्मुराउन पनि सकेनन् । भारतले सीमा अतिक्रमण बढाएपछि र चीनले बीआरआई, अमेरिकाले इण्डोप्यासिफिक नीति ल्याएपछि नेपाल ब्रह्मनालमा पुग्ने खतरा बढेर गएको छ । कारण एउटै छ, काकु कमिला र ¥याकोफोरस भ्यागुता नेपाली राजनीतिमा हाकिम पल्टेका छन् ।
जनयुद्ध नामक मिसाइल दागेर ल्याएको परिवर्तनपछिको १३ वर्षका दृश्यहरू हेरौँ, महानगरको कन्टेनर जस्तो महामारी फैलिने फोहोरको डङ्गुर मात्र देखिन्छ । इमान्दारीको कसीमा घोट्दा नगरबधुको जत्तिको पनि नैतिकता नेताहरूमा देखिएन । नगरबधुको पनि विश्वास गर्न सकिन्छ । ऊ बोलेको कुरा पूरा गर्छे, सहमतिलाई तोड्दिन । शरीर बेच्छे, आत्मा बेच्दिन, अस्तित्व बेच्दिन ।
नगरबधुको बोलीमा वजन हुन्छ, ऊ बोलीमा समर्पित हुन सक्छे, बोलेको कुरा होइन भन्दिन । पेसाप्रतिको इमान्दारी नगरबधुको विशेषता हो । यस्तै विशेषता तस्कर, माफिया, गुण्डा र डाँकामा पनि हुन्छ । समाजविरोधी, शासनविरोधी मानिने माफिया ‘डन’हरू पनि बोलीमा पक्का मानिन्छन् ।
उनीहरू मर्न तयार छन्, मार्न तयार छन् तर बोलेको कुरामा अडान राख्छन्, अडिग हुन्छन् । त्यसैले हिन्दीमा उखान पनि छ, ‘जान जाय पर बचन नजाए ।’ तर, नेपाली राजनीति बेइमानहरूको झुण्ड हो । जनतालाई सपना बाँडेर र आश्वासन दिएर जनताको मतलाई ‘मनी’ बनाइरहेका छन् । जनताको पीडा कहिले बुझेनन् । देशको अतिक्रमणसमेत यिनका लागि सामान्य बनेको छ ।
घरबारी वा खेतबारीको साँध मिचिँदा खुकुरी लिएर मर्न मार्न तयार हुनेहरू भक्तपुर जिल्ला जस्तो ३ जिल्लाको आकारमा भारतले नेपाली भूमि आफ्नो बनाइसक्यो, चुइँक्क बोल्दैनन् । दास मनोवृत्ति भनेको यही हो । यिनका लागि देशभक्ति हात्तीको देखाउने दाँत मात्र हो ।
सत्ता र राज्य ढुकुटी राजनीतिकर्मी, जनप्रतिनिधि भन्न रुचाउनेहरूले पञ्चदेवलको हण्डी बनाइदिएका छन् । हण्डी खानेमा सम्भवतः निष्ठा हुँदैन । राजनीतिले निष्ठा गुमाएको छ । लोकतन्त्रवादी नेताहरू यस्तो अप्ठ्यारो गाँठोमा बाँधिएका छन्, त्यो गाँठो अर्काले बाँधिदिएकाले यसलाई फुकाउने सुर्केनो पनि अर्कैलाई मात्र थाहा छ ।
हिम्मत छ भने कम्युनिस्टहरूले जनजीविकामाथि धावा बोलेर जनताको रगत चुसेको कबुल गरून् । चीनमा सांस्कृतिक क्रान्ति गर्ने माओले अन्ततः जनताका सामु घुँडा टेकेर माफी मागेका थिए, त्यो पढून् । अब ड्र्याकुल्ला बनिन्नँ भनून् । राजनीतिलाई उत्तम नीति र समाजसेवा बनाइन्छ भनून् ।
अरूले गाँठो नफुकाएसम्म निकास र विकास अवरुद्ध हुन्छ, भएको छ । त्यसैले यिनका मनमा सात पतरी कालो छ तर यिनका मुखमा लोकतन्त्रको मह देखिन्छ । यिनको व्यवहारमा लोकवादी केही पनि भेटिन्नँ । यिनको आसन र शासन नगरबधुभन्दा पनि अनैतिक छ । अनैतिकलाई दया मात्र गर्न सकिन्छ । अर्काको धापमा उफ्रिनेहरूको गति यस्तै हुन्छ ।
थाङ्नमा हुर्कने र आँगनमा खेल्नेलाई थाहा हुन्छ, आँगनको महत्त्व । विदेशी ल्याक्टोजिन खाएको राजनीतिक वर्गलाई एउटै कुरा थाहा छ– दिल्लीको हाजमोला खाएपछि जे खायो, पचाउँछ ।
आफ्ना स्वार्थका लागि प्रयोग गर्न अमेरिकाले नोरियगादेखि सद्दामसम्मलाई बुख्याँचा बनाएर उभ्यायो । उपयोग सकिनासाथ तिनलाई समाप्त पारिदियो । अमेरिकाले समाप्त पार्ने सूचीमा बिन लादेन थिए, समाप्त पारिए । तर, उत्तर कोरियालाई सकेन, अब अफगानिस्तानको तालिवानी निशानामा छ ।
अर्काको उपयोगका लागि तयार भएकाहरू सद्दाम जसरी उठ्छन् र समाप्त हुन्छन् । हाम्रा नेताहरूले यस्ता उदाहरण जानिराख्नु उचित हुनेछ । प्रश्न यति मात्र हो– के लोकतान्त्रिक नेताहरूमा देशप्रतिको गौरव छ ? यिनमा नेपालीत्व छ भने घरिघरि यिनीहरू किन दिल्ली दौडिन्छन् ? यिनले किन नेपाली जनतालाई तीर्थ बनाउन सकेनन् ? लोकतन्त्र र लोक सुरक्षित छन् कि छैनन् ? नेपाली राजनीतिको धर्माधिकारी दिल्लीमा बस्छ भने जनप्रतिनिधिको हैसियत के हो ?
नयाँ नेपाल बनाउने आवाज ध्वनि कि प्रतिध्वनि ? कसरी बन्छ नयाँ नेपाल, खोई खाका ? नेपालका शासन, प्रशासन, सीमा, व्यापार, उद्योग, सामाजिक, आर्थिक, राजनीतिक सर्वत्र विदेशी आक्रमणलाई देखेर पनि आँखा चिम्लेर नयाँ नेपाल बन्छ ? ‘इम्पेरर न्यू क्लोथ’का पात्रहरूलाई नाङ्गो छु भन्ने होस कहिले खुल्छ ?
लोकतन्त्र लोकको तन्त्र बन्नुपर्छ, भारततन्त्र वा विदेशतन्त्र हुनुहुन्न । अरूले चलाउने तन्त्र रखेलतन्त्र मात्र हुन्छ । नेता रखेल बन्न सक्छन्, नेपाल कसैको रखेल बन्न सक्दैन । देशभक्त बन्न आफूभित्र, आफ्नो अवधारणाभित्र, प्रत्येक श्वासमा नेपालीत्व देखाउन सक्नुपर्छ । जनबलमा उठ्नुपर्ने दलहरू दिल्लीको धापमा गौरव गर्छन् भने यिनीहरू कमसल तत्त्व हुन् । यिनमा आफू उभिएको माटोको महत्त्वको ज्ञान नभएसम्म यसैगरी छिनछिनमा कायरको मृत्यु मरिरहनेछन् ।
लोकतन्त्रवादीहरूको कुनै दुश्मन छ भने यिनीहरूभित्रको विदेशभक्ति र स्वदेशप्रतिको स्वार्थन्धता हो । जङ्गलमा जनावर बस्छन्, जनावरमा विवेक हुन्न, विधि पनि हुन्न । भारत नेपाललाई जङ्गल बनाएर नेपालको सतित्व लुट्दै छ । नेताहरू ट्वाल्ल परेर हेरिरहेका छन् ।
नगरबधुहरू शरीर बेच्छन् तर हाम्रा नेताहरू जनमत बेच्छन्, जनविश्वास बेच्छन्, आत्मा बेच्छन्, देश बेच्छन्, अस्तित्व बेच्छन् र लीलाम भइरहेका छन् । इतिहासमा शेख हयास भन्ने व्यक्ति माटोलाई धोका दिएर बेलायत सरकारको चाकर बन्न पुग्यो । अन्तमा, अंग्रेजले आफ्नो माटोलाई धोका दिनेले हामीलाई पनि धोका दिन्छ भनेर कालोमोसो दलेर डाँडो कटाइदियो ।
नेपालको इतिहासमा बलभद्र छन्, बलभद्रको वीरताको इतिहास पनि छ । त्यही अंग्रेजले बलभद्रको वीरताको मूल्याङ्कन गरेर नालापानीमा शालिक ठड्यायो र सलाम ठोक्यो । राष्ट्रभन्दा सत्ता प्यारो, नीतिभन्दा स्वार्थ प्यारो ठान्नेहरू इतिहास पढ्दैनन् ।
धर्मयुद्ध लड्ने बेलामा नेताहरू स्वार्थको शर्त अघि सारेर राष्ट्रलाई खतरामा पारिरहेका छन् । प्रा. जोसुवा लिडरबर्गको परिभाषा छ, ‘कार्बन, हाइड्रोजन, नाइट्रोजन, अक्सिजन र फोस्फरस परमाणुका मोलिक्युल्सहरूको संयोजनजनित ६ फिटको पशु... ।’ यो मान्छेको परिभाषामा नेपाली नेता कहाँनेर भिन्न छन् ? यस्ता देशघातीहरूले कृष्णलालको ‘मकैको खेती’ अथवा रुस्दीको ‘सटानिक भर्सेज’ पढे हुन्थ्यो ।
डम्बरशमशेर थापाले पद्मशमशेरलाई पत्र लेखेर ‘प्रजातन्त्रको बाढीले राणा शासन बगाउन सक्छ’ भनेको इतिहास पढे त झनै राम्रो हुने थियो । किनकि समयका सामु कहिल्यै सूर्य नअस्ताउने बेलयात लेडी डायनाको शवलाई कुर्नुपरेको घटना युट्युबमा हेर्दा हुन्छ ।
लोकमतबाट आएका लोकतन्त्रका नायकहरूलाई राज्य गर्ने अधिकार छ, जनताको स्वाभिमानलाई, देशको एकता र अस्तित्वलाई दशदान, गाईदान गर्ने अधिकार छैन । यिनीहरूले शान्ति र सुशासनका लागि भीष्म प्रतिज्ञा गरेकै हुन्, चुनावमा घोषणापत्र जारी गरेकै हुन् । त्यो प्रतिज्ञा खोज्नु जनताको अधिकार हो । जनतालाई त्यो अधिकारबाट बञ्चित गर्नु लोकतन्त्र होइन । नेताहरूले ऐना हेरून् । आफ्नै घोषणापत्र पढून् । जनतालाई पटमूर्ख नठानून् ।
कुनै दिन संसद भनेको ‘बोकाको टाउको देखाएर कुकुरको मासु बेच्ने थलो’ भन्ने कम्युनिस्टहरू अहिले दुई तिहाईको ऐतिहासिक शक्तिमा छन् । यिनीहरू ‘जनताको गणतन्त्र’ कम्युनिस्ट समाजवादको कुरा गर्छन् । सरकार र संसदलाई ‘लुटी खाने लोकतन्त्र र कमाउनिस्ट बनाउने कम्युनिस्टतन्त्रको थलो’ बनाएर कम्युनिस्टहरू आफ्नै घँुडामा बन्चरो हान्दै छन् । आफैँ पुरिने खाल्डो खनिरहेका छन् ।
हिम्मत छ भने कम्युनिस्टहरूले जनजीविकामाथि धावा बोलेर जनताको रगत चुसेको कबुल गरून् । चीनमा सांस्कृतिक क्रान्ति गर्ने माओले अन्ततः जनताका सामु घुँडा टेकेर माफी मागेका थिए, त्यो पढून् । अब ड्र्याकुल्ला बनिन्नँ भनून् । राजनीतिलाई उत्तम नीति र समाजसेवा बनाइन्छ भनून् ।
यति भन्ने हिम्मत कम्युनिस्ट नेतामा देखिँदैन । यही सब देखेर कम्युनिस्टका ‘मास्टर माइन्ड’ मोहनविक्रम सिंहले त्यसै भनेका होइनन्, ‘नेपालमा कम्युनिस्टहरूको स्कुलिङ खुब राम्रो थियो । अहिले आएर बिग्रिएछन् मोराहरू ...!’