शिक्षास्थल इसाई धर्मको प्रचारकाे थलाे, माैन सहमति किन ?

सन्दर्भ क्रिसमस डे

शिक्षास्थल इसाई धर्मको प्रचारकाे थलाे, माैन सहमति किन ?

ब्रजेशराज शर्मा  |  दृष्टिकोण  |  पुस ०९, २०७६

‘फुटाऊ र शासन गर’ उपनिवेश खडा गर्दै अगाडि बढेका पश्चिमाहरूको 'गायत्री मन्त्र’ नै हो । यही मन्त्रले बेलायत, पोर्चुगल, स्पेन, फ्रान्स, इटालीलगायतका पश्चिमा राष्ट्रहरूले पृथ्वीका विभिन्न भागमा भिन्न भाषा, भिन्न संस्कृति, भिन्न खानपान वा समग्रमा भन्ने हो भने भिन्न जीवनशैलीको समाज वा देशका नागरिकहरूमाथि नियन्त्रण गर्न सफलता प्राप्त गरे । वर्षौं वर्षसम्म शासन गरे । 

बौद्धिकहरूले भन्ने गर्छन्, साम्राज्यवादी शक्तिले सबभन्दा पहिला विपक्षीहरूको धर्म, संस्कृति, आस्था र विश्वासमाथि प्रहार गर्छन् । वचनमा धर्म निरपेक्षताको रटान खाली देखावटीका लागि रटिन्छ । आजको नेपालको सन्दर्भमा त्यही भएको छ ।

भिन्न भाषा, भिन्न संस्कृति, भिन्न चाडपर्व, भिन्न मतका आफ्नो सम्प्रदायमा चलेको रीतिथितिमा रमाएका र आपसमा धार्मिक समभाव राख्ने नेपाली समाज वा नेपाल राष्ट्रमाथि शासन गर्ने लालसा बोकेका पश्चिमाहरूले दुई सय, तीन सय वर्षदेखि धर्मको आडमा उपनिवेश बनाउन नखोजेका होइनन् । यहाँको तत्‌तत् समयका शासकहरूले पश्चिमाहरूको धार्मिक अभियानलाई  निष्फल तुल्यायाँदै आएको इतिहास हाम्रा सामु साक्षी छन् ।  

शाक्यमुनि गौतम बुद्धद्वारा प्रतिपादित वर्तमान बौद्ध मत नेपालको प्राचीन धर्ममध्ये एक हो । अंशुवर्मापुत्री भृकुटी यसै धर्मसँग जोडिएकी छन् । उनले आफू विवाह गरेर गएको देश तिब्बतमा यसको प्रचार गरेको कुरा इतिहासमा पढ्न पाइन्छ । अखण्ड नेपालका पूरावासीहरूमा कोही प्रकृति पुजक थिए भने कोही बोन मतका संस्कार वा जीवनशैली बिताउनेहरू थिए ।

इस्लाम धेरै पछि काठमाडौं खाल्डोमा शासनको वागडोर सम्हालेका राजा रत्न मल्लको पालामा प्रवेश गरेको थियो भने त्यसैताका इसाई मत नेपाल प्रवेशको सूत्रको खोजीमा रहेको पाइन्छ । यही मल्ल वंशका उत्तरवर्ती शासक जयप्रकाश मल्ललगायतले आफ्नो शासन टिकाउन इसाईको सहयोग लिन आरम्भ गरेका थिए ।

करिब अढाई सय वर्षअघि राष्ट्र निर्माता पृथ्वीनारायण शाहले राष्ट्रएकीकरण सँगसँगै इसाईहरूको अतिक्रमणलाई समेत परास्त गर्न नेपाली (तत्कालीन समयमा भनिने ‘गोर्खाली’) शक्ति खर्च गर्नुपरेको थियो । मानव सेवाको आवरणमा प्रवेश गर्ने इसाई प्रचारकहरूको कुत्सित मनसायलाई साकार हुन नदिन निकै ठूलो कसरत नै गर्नुपरेकाे थियाे त्यसबेला । बडामहाराजाधिराज पृथ्वीनारायण शाहले इसाई धर्म प्रचार गर्न आएका पश्चिमाहरूलाई देश निकाला गरेको बदला आज बडामहाराजाधिराज पृथ्वीनारायण शाहका सन्ततिले चुकाउनुपरिरहेको छ । 

सेतो छाला, खैरो कपाल, नीला आँखा, अग्लो कद र भिन्न भाषा बोल्ने हेर्दै आफ्नो समुदायको नलाग्ने पश्चिमा मिसनरीहरूले आफ्नो धर्म, संस्कृति, रीतिथिति, चाडपर्व आदिप्रति समर्पित यहाँका शासकलाई कुनै लोभ लालचमा फसाउन सकेनन् । दबाब दिएर, लडाइँ गरेर झुकाउन सकेनन् । फलतः इसाई धर्म प्रचारकहरूले नेपालमा इसाई धर्म प्रचार गर्न भिन्न मार्ग अख्तियार गर्न बाध्य भए ।  

खासगरी नेपालबाहिर रहेका नेपाली नागरिकलाई प्रयोग गर्ने कोसिस गरे । त्याे पनि त्यति प्रभावकारी भएन ।  तर, कसै गर्दा पनि केही नलाग्ने देखेका पश्चिमाहरूले धर्म प्रचारका कुनै कार्य नगरी शिक्षा, स्वास्थ्य, गरिबी निवारण आदि मानवीय सम्वेदनाका क्षेत्रमा सेवा पुर्‍याएर आफ्नो भौतिक उपस्थिति जनाइराख्ने कार्यमा भने उनीहरूलाई सफलता मिलेकाे देखिन्छ । उदाहरणका लागि बहुचर्चित नेता बाबुराम भट्टराई र उनका गुरु थोमस बर्गिसलाई  समेत लिन सकिन्छ । 

खासगरी पश्चिमाहरूले शिक्षा सेवा र शिक्षास्थललाई इसाई धर्मको प्रचार गर्ने माध्यम बनाएका पाइन्छ । ससाना बालबालिकामा पर्ने प्रभाव दिगो रूपमा रहन्छ । यो सत्य बुझेका इसाई धर्म प्रचारकहरूले विद्यालयलाई  मुख्य प्रचारस्थल बनाएका देखिन्छ । हिजोआज मात्र होइन, २०१३ सालतिरदेखि नै विद्यालयमा बाइबलको प्रचार प्रसार गर्ने  थलोका रूपमा उपयोग गर्दै आएका देखिन्छ ।

पहिले राज्य देश र देशवासीको संरक्षणप्रति इमान्दार थियो, सञ्चार माध्यमहरू त्यसैअनुरूप समाचार प्रस्तुत गर्थे । अहिले सञ्चार माध्यमहरू मौन छन् किनकि राज्य चुप छ । अझ भनौँ, इसाई मत प्रचारका लागि मलिलो परिवेश निर्माण गरिरहेको छ ।

अभिभावले त्यस समयमा गरेको विरोधको विषयलाई तत्कालीन समयमा नै २०१३ असोज ४ गतेको तत्कालीन दैनिक समाजले गोदावरीस्थित अमेरीकी मिसनरी स्कुलले बालबालिकालाई बाइबल पढ्न बाध्य भएको भनी विरोधमा समाचारदेखि सम्पाकदीयसम्म लेखेर विरोध गरेको थियो । तर, हिजोआज भएभरका सबैजसो निजी विद्यालयमा र अन्य विद्यालयमा विस्तार हुँदासम्म यो विषयवस्तु आजको सञ्चार माध्यमले देखेर पनि नदेखेजस्तो गरेर बसेको अवस्था छ ।   

आजकल खुलेआम देखिएका इसाई धर्मका कार्यक्रम कार्यान्वयन गर्ने पहिलो कर्ता भनेको निजी क्षेत्रमा खुलेका विद्यालयहरू नै भएका छन् । परम्परागत चाडपर्व, रीतिथितिलाई यस्ता विद्यालयले रुढीग्रस्त संस्कृति, आर्थिक विकृति आदि संज्ञा दिएर नेपालका मौलिक चाडपर्व, रीतिथितिप्रति देशको नयाँ पुस्तालाई विमुख गराइरहेका छन् ।

अझ एक कदम अगाडि बढेर यिनले इसाई धर्मसँग जोडिएका पर्वहरूलाई समारोहका रूपमा आयोजना गर्छन् र विद्यार्थीका अभिभावकलाई निकै मोटो रकम खर्च गराउँछन्, 'क्रिसमस डे'का नाममा । विद्यालयले बालबालिकामार्फत् थाेपर्छ, निरीह अभिभावक  आफ्ना बालबालिकाकाे खुसी भन्दै लगानी गर्न बाध्य छन् ।

यसरी लगानी नगर्ने हाे भने विद्यालयमा आफ्नाा बालबालिकामाथि हुने दुर्व्यवहार हाेला भन्ने विषयमा सचेत अभिभावकलाई थाहा नै नपाई इसाई धर्मकाे 'प्रचारक' बनाइएकाे छ । यसमा अभिभावक, राज्य सञ्चालकहरू  सबैले देखेर, थाहा पाएर पनि  'माैन सहमति' जनाइरहेका देखिन्छ ।

देशमा गणतन्त्र स्थापना हुनुअघिसम्म नेपालमा कुनै पनि धर्मको प्रचारात्मक कार्य हुँदैनथ्यो, जुन अहिले सबै धार्मिक सम्प्रदायमा देखिने गरेको छ । उस समयमा धार्मिक सहिष्णुता थियो । एउटा मतावलम्बी अर्कोको चाडपर्वमा सरिक हुन्थ्यो । अहिले कट्टरता मौलाएको छ ।

पहिले राज्य देश र देशवासीको संरक्षणप्रति इमान्दार थियो, सञ्चार माध्यमहरू त्यसैअनुरूप समाचार प्रस्तुत गर्थे । अहिले सञ्चार माध्यमहरू मौन छन् किनकि राज्य चुप छ । अझ भनौँ, इसाई मत प्रचारका लागि मलिलो परिवेश निर्माण गरिरहेको छ ।

यस परिवेशमा वर्तमान नेपालका शासकहरू बिधर्मी नागरिक र राज्य निर्माण गरिरहेका छन् भन्दा अतिशयोक्ति हुनेछैन ।