लोकसंवाद संवाददाता | समाचार | पुस ०९, २०७६
सुर्खेत । सडक रुटमा स्थानीयवासीबीच सहमति नजुट्दा पश्चिम सुर्खेतमा मदन भण्डारी राजमार्गको सर्भे रोकिएको छ । सालकोट–बाबियाचौर खण्डको विवाद उत्कर्षमा पुगेपछि स्थानीयवासीले बड्डीचौर–गुटु सडकखण्ड अवरुद्ध गरेका हुन् ।
अवरुद्धका कारण राजमार्गको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) का लागि भइरहेको सर्भे रोकिएको छ ।
स्थानीयवासीबीच राजमार्ग सालकोट र बाबियाचौर कुन स्थानबाट लैजाने भन्ने विषयमा सहमति जुट्न नसकेका करण सर्भे रोकिएको हो ।
पञ्चपुरी नगरपालिकाका प्रमुख उपेन्द्र थापाले साधारण मार्ग खोलिएका दुई मार्गलाई राजमार्ग र सहायक मार्ग भनेर छुट्याउन नसक्दा विवाद बढेको जानकारी दिनुभयो । स्थानीयस्तरमा विवाद बढेपछि सडक बोर्ड र यस क्षेत्रबाट प्रतिनिधित्व गर्ने सङ्घीय सांसदले विवाद बद्न नदिन आग्रह गर्नुभएको छ ।
नगर प्रमुख थापाका अनुसार पञ्चपुरी–२ बेनीघाटदेखि वडा नं. ६ जाने र वडा नं. ३ को सालकोट हुँदै वडा नं. ९ को विद्यापुर जोड्ने सडकमा विवाद देखिएको छ ।
पञ्चपुरी–५ का अध्यक्ष होमबहादुर रामजालीले विवाद समाधानका लागि तल्लो र माथिल्लो बस्तीका बासिन्दासँग छलफल अघि बढाइएको जनाउनु भयो । उहाँले छोटो दूरी, वन क्षेत्रमा पर्ने असरका साथै अधिग्रहण गर्नुपर्ने घरजग्गा कम भएको स्थानलाई छनोट गर्नुपर्ने बताउनुभयो । ‘सहमतिका लागि स्थानीयस्तरमा प्रयास भइरहेको छ, धेरै दिन सर्भे रोकिनु हुदैंन भन्नेमा हामी जनप्रतिनिधि सचेत छौँ,’ उहाँले भन्नुभयो । डीपीआर तयार गर्ने जिम्मा सिल्टर सीआरसी र जिओकम जेभी ललितपुरले पाएको छ ।
पञ्चपुरी–२ खम्बागाडे–सालकोट–चतुरे बाबियाचौरसम्म सर्भे हुनुपर्ने माग राख्दै स्थानीयवासीले आन्दोलन गरेका हुन् । असन्तुष्ट स्थानीयवासीले सङ्घर्ष समिति गठन गरेर सर्भे रोकेका छन् र
। साथै उक्त खण्डमा चल्ने सवारीसाधन समेत चल्न दिएका छैनन् । सङ्घर्ष समितिका संयोजक झक्कबहादुर सिँजापतिले बढी जनसंख्या भएको क्षेत्र राष्ट्रिय राजमार्गबाट लाभान्वित हुनुपर्ने तर्क राख्नु भयो । उहाँले आफूहरूको माग पूरा नभए आन्दोलन जारी राख्ने चेतावनी समेत दिनुभइको छ ।