दिलीपकुमार चापागाईं | दृष्टिकोण | पुस ०९, २०७६
बिहानको स्नान तप्तकुण्ड तातो पानीमा गरियो । दर्शनका लागि भीड लागिसकेको रहेछ । हामीसँग पनि लाममा सामेल हुनुको विकल्प थिएन । आरामले दर्शन गर्न सम्भव भयो ।
विष्णु सहश्रनामको मंगल वचनसहित सुरु हुने पूजा आदि कार्य भक्तिपूर्वक हुँदोरहेछ । हामी पनि त्यो कार्यमा सरिक हुँदा आनन्दित भयौँ । त्यसपछि भित्र दर्शन गर्न लाइनमा हुनेहरूका लागि पनि खुला भयो । हाम्रो पालामा हामीलाई विना झन्झट प्रभुको दर्शनको अवसर प्राप्त भयो ।
व्रह्मकपाली आदि कार्य बदरीनाथमा सम्पन्न भयो । पितृलोकमा रहेका पूर्वजहरूलाई समादरपूवर्क देवलोकमा बस्नलाई आग्रह गरियो ।
त्यसरी नै प्रभुलाई पनि आफूमा समाहित गरिदिन अनुरोध गर्नुपर्ने विधि रहेछ, पूरा भयो । ती कार्य गर्दा अत्यन्त भावनात्मक संवेग आउँदोरहेछ । अब पितृहरू आफूसँग छैनन्, देवताको शरीरमा सम्मिलन भइसके, आफूू मात्र एक्लै भएँजस्तो लाग्दोरहेछ ।
जे होस्, यो गर्नै पर्ने कार्य थियो, गरियो । आफ्नो शरीरको अवस्था, स्वास्थ्य, काम सम्बन्ध, गर्नै पर्ने कर्तव्यले पार्ने प्रभावले पनि आफ्नो चाहनाअनुसारको कार्य गर्न नसक्ने अवस्था आइरहेको अवस्थामा विधिपूवर्क सम्पन्न गर्न नसक्ने कार्यलाई निष्ठापूर्वक विसर्जन गर्नु श्रेयष्कर थियो, त्यो कार्य पूरा भयो ।
चारधामको पावन यात्रा पूरा भयो । अब बाँकी यात्रा आफ्नो घर व्यवहार, कर्तव्यपथ र भ्रमणसँग सम्बन्धित थिए । त्यसैले ती कार्यहरू आफ्नो अनुकूलताअनुसार पछि पनि गर्न सकिने थिए ।
आएका बेला गरिहालौँँ भन्ने एउटा कुरा नत्र पछि मिलाएर गर्दा पनि हुने । महान् कार्य त सकिसकेका थियौँ । हामीले अब छोड्यौँ पवित्रभूमि र पवित्र तीर्थस्थललाई । आस्थाको, श्रद्धाको, विश्वासको धामलाई ।
फर्कियौँ हामी- आफ्नो कयौँँ वर्ष अगाडिदेखिकोे धार्मिक यात्राको चाहनाको पूर्णतासँगै ।
हरिद्ववार आइपुग्दा बाटोमा पर्ने धेरै प्रयागहरूको जानकारी भयो । यद्यपि, हामी गाडीमा भएकाले त्यहाँ स्नान गर्ने र शरीर र मनलाई विधिअनुसार शुद्ध गर्ने कार्य गर्न पाइएन । हाम्रा अग्रजहरूले ती प्रयागहरूमा स्नान गर्दै जमुनोत्तरी, गंगोत्तरी, केदारनाथ र बदरीनाथको दर्शनका लागि लाग्दारहेछन् ।
त्यो लामो र पूर्ण आस्थाको यात्रालाई विज्ञानले खुम्च्याएको साक्षात्कार हामीले गरेका थियौँ । गाडीको सुविधाले यात्रा छोट्टिएको थियो । त्यसको लाभ अरू सरह नै हामीले पनि लिएका थियौँँ ।
ऋषिकेश तपस्वीहरू, जोगीहरू, साधकहरूले स्वाध्ययका लागि रुचाएको पावन क्षेत्र रहेछ । रामझुला र लक्ष्मणझुलाबीचको फासला धेरै थियो । जेठ महिनाको प्रचण्ड गर्मीमा पैदलै ती क्षेत्रको भ्रमण गर्ने, आनन्द लिने, धर्म प्राप्ति गर्ने र पुण्य कमाउने कार्य चुनौतीपूर्ण भयो ।
त्यो दिव्य धामको महिमा र त्यसको धार्मिक तथा सांस्कृतिक महिमाको जानकारी त लिइयो । स्थानको महत्त्व र त्यसको प्राकृतिक सुन्दरताको पूर्ण स्वाद लिए पनि त्यहाँ बसेर आफूलाई भावपूर्ण केही समय सुम्पने कार्यपछि अनुकूल भएमा गर्ने गरी यो यात्रालार्ई पूर्णता दियौँँ ।
बेलुका हरिद्ववार आइपुगियो । युद्ध जिते जत्तिकै लाग्यो । धर्मशालामा बस्न नपाइने जानकारी हुँदा भने विस्मय पनि लाग्यो । हामीले जाँदै त्यो दिन आइपुग्ने र हामीलाई व्यवस्था गरिदिनुपर्छ भनेका थियौँँ । त्यसो हुँदा मिलिहाल्ला भनेर पनि हामी ढुक्क थियौौँ तर नमिल्ने जानकारी भयो ।
हामीले पनि धर्मशाला छोडिहालेनौँ र अन्य विकल्पको बारेमा विचार गर्यौँँ । कुरा भइरहेको थियो, त्यहीँ एउटा कोठा खाली भएछ, हामीलाई नै दिए । त्यसपछि भने सुविस्ता भयोे ।
४ दिन त्यहाँँ बस्दा कपडा धुने, प्रसिद्ध तीर्थस्थलको दशर्न गर्ने, त्यहाँको प्राचीन महत्त्वलाई बोध गर्ने, दक्षप्रजापतिको यज्ञस्थल, सतीदेवीको माइतीलगायतका सबै स्थलको भ्रमण भयो । मनीषदेवी र चण्डेश्वरी देवीको दर्शन गरियो ।
हामी मथुरा लाग्ने क्रममा दिल्ली र मथुराको यात्रामा निस्कियौँ । यो यात्रालाई सरल, सहज गर्ने गरी ट्रेनको टिकटको व्यवस्था गर्न त सकिने रहेछ । सिधै ट्रेन हरिद्ववारबाट मथुरा जाँदोरहेछ । तर, हामीले त्यो व्यवस्था मिलाउन सकेनौँ ।
वृन्दावनमा नन्द बाबाको दरबारमा पैसाका लागि पण्डाले देखाएको व्यवहार तुच्छ लाग्यो । अति लोभी । त्यसैले होला उसको समृद्धिको घैँटो कहिल्यै भरिएको छैन । आस्थाको प्रवर्द्धनभन्दा अनास्थाको बीजारोपण गर्न उद्यत् छन् ती पण्डा ।
दु:ख पाउनलाई सबै कुरा मिलेर आउनुपर्ने थियो, पाइयो । हामीले दिल्लीको प्लेटफर्म हुँदै जानुपर्ने बाध्यतालाई छाड्न सकेनौँ । हामी फेरि त्यही चुनौतीको क्रममा नै पुग्यौँँ, जसरी हामी गयाबाट आएका थियौँ ।
त्यसो त धेरै यात्रामा ननिस्किएका हामीलाई यात्राको सरल व्यवस्थाका लागि के कसरी मिलाउन सकिन्छ भन्ने ज्ञान पनि त थिएन ।
गुरुलाई पनि वर्तमान परिवर्तनको अद्यावधिक जानकारी रहेनछ । त्यसैले व्यवसायीहरूले जसरी जानकारी गराएछन्, त्यसरी नै टिकटको व्यवस्था मिलाएको रहेछ । दिल्ली प्लेटफर्ममा ४ घण्टा बिताउनुपर्नेे भयो । त्यसपछि मथुरा । मथुराको ट्रेन भीड भएन । सजिलै पुग्यौँ, सामान बाधक भएन ।
त्यो दिन हामी वृन्दावनमा नै बस्यौँ । मथुरामा बस्नलाई होटल उपयुक्त पाइएन । बाँके विहारी मार्गमा नयाँँ होटल रहेछ । सुविधाको थप व्यवस्था गरिँदै थियो, पूर्ण तयारी भइसकेको थिएन तर पनि हामीलाई दुई रात बस्नलाई ठीकै लाग्यो । धर्मशाला अति नै फोहोर र बस्नलाई कत्ति पनि उपयुक्त नभएको समस्याले पिरोलिएका हामीलाई थोरै सुविधाले पनि राहत दिन्थ्यो । त्यो होटल त्यस्तै भयो ।
हामीले होटलमा बस्ने व्यवस्था मिलायौँ ।
मथुरा, गोवर्द्धन पर्वत, गोकुल, नन्द बाबाको परंपरागत दरबार हामीले हेर्यौंँ, घुम्यौंँ । वृन्दावनमा पनि ऐतिहासिक महत्त्वका मन्दिर घुमियो । बाँके विहारी मन्दिर गयौँ, दर्शन गरियो ।
दक्षिण भारतको शैलीमा निर्मित मन्दिरको दर्शन गर्दा बाँदरले मेरो चप्पल लग्यो । त्यस्तै, अर्को भक्तको त चस्मा नै लियो । एकक्षण रमाइलो र चुनौती आइलाग्यो । पछि मेरो चप्पल कसोकसो छोडिदियो तर अर्को व्यक्तिको लिनलाई केही बेर कुर्नुपर्यो ।
त्यहाँ प्रसाद खाइयो । त्यसपछि पुन: बाँके विहारीको दशर्न गर्न गइयो । अघिल्लो दिन दर्शन गरेकाले मैले भने बाहिरै बसेर सहयोग गरेँ । भक्ति भाव मेरो मनमा असीमित थियो नै, त्यसैले त्यहाँ पटक पटक भीडमा जानलाई राम्रो लागेन ।
बिहानको नास्ता भनौँ वा खाना हामीले त्यहीँ खायौँँ । त्यसपछि भने हामी मथुरा लाग्नु थियो, केही बेर आराम गरेर लाग्ने विचारका साथ कोठामा आयौँँ ।
होटल १२ बजेसम्म छोड्न भने पनि १ बजे सम्मको ग्रेस पायौँ तर भारतको घुमाइमा कुराको ठेगान नभएका कारण पटक पटक पाएको समस्यालाई ध्यानमा राखेर १२ बजे नै सामान झार्न थाल्यौँ । १ बजे हामी मथुरा लाग्यौँ ।
मथुरा जक्सनमा सामान राखेर कंसको प्रसिध्द दरबारलाई हेर्न गयौँ । ऐतिहासिक तथ्यहरूको अवस्था कमै देखिए पनि आधुनिक सुविधाको बन्दोवस्त राम्ररी नै मिलाएको रहेछ । हेरियो र बजारको परिक्रमा छोटो गरेर फर्कियौँँ । प्लेटफर्ममा लामो कुराइ थियो । ट्रेन समयमा नै लाग्यो । हामी वनारस लाग्यौँ । यात्रा छोट्टिँदै थियो तर पनि सामानको बोझ घटेन ।
वृन्दावन धार्मिक आस्थाको अर्को शिखर क्षेत्र रहेछ । साधक र धर्मभिरुहरूले ठूलाठूला मन्दिर र आश्रम निर्माण गरेका छन् । टीभीमा देखिने ठूलाठूला धर्मगुरुहरूको आश्रम त्यहाँँ रहेछ । आआफ्नै आश्रम छन् । त्यहाँ भक्तहरूलाई बस्ने व्यवस्थासमेत रहेछ, पछि थाहा पायौँँ ।
साँच्चै हेर्दा त्यो सोच कसरी जागृत भयो, आश्चर्य लागेर आउँछ । दानको अनुपम उदाहरण देख्न पाइयो । मथुराको नवनिर्मित ताजमहलको कल्पना जोगीको थियो अरे ! त्यसलाई साक्षात्कार गर्दा एउटा जोगीको दृष्टि कति फराकिलो रहेछ, अनुभव गर्न सकिन्थ्यो ।
उद्योगपतिहरू ,धर्मभीरु सबैले दिल खोलेर धार्मिक आस्थाको प्रवर्द्धनका लागि खर्च गरेका छन्, युग युगान्तरको पुण्य लाभका लागि । अग्रजले गरेको कार्य नै पछिल्लो पिँढीका लागि मार्गदर्शन हुने गीताको महान् पथलाई पछ्याएको पाइयो । त्यो देख्दा आफ्नो सामर्थ्यभित्र रहेर दान गरिहालौँ जस्तो भाव पैदा हुँदोरहेछ । त्यहाँको कतिपय कुरा नराम्रो पनि लाग्यो ।
वृन्दावनमा नन्द बाबाको दरबारमा पैसाका लागि पण्डाले देखाएको व्यवहार तुच्छ लाग्यो । अति लोभी । त्यसैले होला उसको समृद्धिको घैँटो कहिल्यै भरिएको छैन । आस्थाको प्रवर्द्धनभन्दा अनास्थाको बीजारोपण गर्न उद्यत् छन् ती पण्डा ।
भोलिपल्ट ११ बजे हामी वनारस जक्सन पुग्यौँ । वनारस हाम्रो यात्राको अन्तिम गन्तव्य थियो । अघिल्लो पटक वनारस बस्दा पाएको दु:ख पाउनु नपरे हुन्थ्यो भन्ने लागिरहेको थियो । त्यसैले हामी सुविधा र ज्यादै धेरै मूल्य पनि नपर्ने होटल व्यवस्थामा लाग्यौँ । हरिश्चन्द्र घाटमा त्यो पायौँ । त्यहीँ बसियो ।
गंगाजी स्नानपछि भोलिपल्ट विश्वनाथ बाबाको दर्शन गर्यौँ । कालभैरवनाथ र अरू देव देवादिको दर्शन पनि गरियो । वनारसका गल्ली हेर्यौँ, घुम्यौँ । संकटमोचन, मानस मन्दिर पनि गयौँ । तीर्थ भोज त्यहीँ गर्न उपयुक्त हुने ठानी ललिताघाटमा गयौँ । त्यहाँ पशुपतिनाथको मन्दिर रहेछ र पण्डित पनि नेपाली ।
भोलिपल्ट तीर्थेभोजको व्यवस्था मिलायौँ । सामान खरिदको व्यवस्थाका लागि केही पैसा पनि दियौँ । त्यो दिन सामान खरिद र वनारसको परिक्रमा गरेर बितायौँ ।
बिहान गंगा स्नान गरेर ललिताघाट गयौँ । डुंगा चढ्ने इच्छा पनि पूरा भयो । तीर्थे भोजको काम सकिएपछि फुर्सद भयौँ । ब्राह्मण भोजन गरायौँ । त्यसपछि हिँड्नलाई व्यवस्था गर्नु थियो । खाना खाएको थिएन । कोठामा आयौँ र खानाका बन्दोवस्तीसँगै सामान झार्न पनि थालिहाल्यौँ । तोकिएको समयमा होटल छाड्यौँ ।
टिकट मुगलसरायबाट भएकाले हामी गयौँ । मुगलसराय प्लेटफर्ममा कुल्लीसँग केहीबेर दलालीपछि कुरा मिल्यो । अन्तिम यात्रा भएकाले पनि धेरै झन्झट गरेनौँ । पाँच घण्टाको विश्रामपछि ट्रेन चढ्यौँ । लाग्यौँ हामी, जोगवनीतर्फ । यसरी पूरा भयो एउटा महान् यात्राको सन्दर्भ ।
२४ दिनको सँगैको बसाइ, सँगैको दु:खसुखको बिसौनी थियो त्यो यात्रा । त्यसपछि हामी आआफ्नो निजी कार्यमा लाग्ने थियौँ । कताकता पोलिरह्यो छुट्टिनुपर्दाको पीडालाई सम्झँदा । यात्राको समग्र स्थानको सम्झना आइरहन्थ्यो । कल्पना जस्तो पनि लाग्यो तर त्यो कल्पना थिएन यथार्थ थियो पछिल्लो यात्राको- अब कहिले यसरी नै भगवान् भक्तिका लागि हिँड्न जुर्ला भनेर ...।
याे पनि
फुर्सदको मन्त्रालयदेखि चार धाम तीर्थाटनसम्म
चार धाम यात्राः पितृ ऋणमुक्तिको सम्बन्ध र साधकहरूको भक्तिभावमाथिको खेलबाड
पितृहरूलाई देवलोक पुर्याउने लक्ष्यका साथ खाली खुट्टाको कष्टकर यात्रा !
बदरीनाथमा मुस्ताङको झझल्को : अस्वस्थ र अव्यावहारिक प्रतिस्पर्धा