सवारीमा रहेका अनावश्यक ‘हुट’ हटाउँदै प्रहरी

सवारीमा रहेका अनावश्यक ‘हुट’ हटाउँदै प्रहरी

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस ११, २०७६

नवलपरासी । अत्यधिक भारका कारण सवारी दुर्घटना बढेको भन्दै ट्राफिक प्रहरीले नवलपरासीपूर्व नवलपुरको पहाडी क्षेत्रमा सञ्चालित सवारीको ‘हुट’ हटाउन थालेको छ । पहाडी क्षेत्रमा चल्ने जीपमा जोखिमपूर्ण यात्रा गर्ने क्रम नरोकिएपछि प्रहरीले जीपको ‘हुट’नै हटाउने योजना बनाएको हो । 

नवलपुरको पहाडी क्षेत्रमा अनावश्यकरूपमा सवारीमा जडान गरेका जीपमा राखीएका ‘हुट’लाई हटाउन थालेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपरासीपूर्वका प्रमुख मुनेन्द्र थापाले बताउनु भयो । 

यात्रुसहित ‘हुट’मा भारयुक्त सामान बोक्दा सवारी दुर्घटनाको जोखिम बढेको भन्दै सबै सवारीको ‘हुट’ हटाउन थालिएको प्रमुख थापाले बताउनुभयो । 

ट्राफिक कार्यालय नवलपुरका ट्राफिक प्रहरीले पहाडी क्षेत्रमा चल्ने सवारीका एकै दिनमा सात वटा जीपका ‘हुट’ हटाएको छ ।  पटकपटक ‘हुट’मा यात्रु नराख्न आग्रह गर्दासमेत यात्रु राख्न नछाडेपछि सवारीको ‘हुट’ आफैंले हटाउन थालेको ट्राफिक प्रमुख थापाले जानकारी दिनुभयो । 

जिल्लाको पहाडी क्षेत्रमा चल्ने सबै सवारीको ‘हुट’ हटाइने उहाँले बताउनुभयो । उहाँका अनुसार बस व्यवसायी समिति र जीप व्यवसायी समितिलाई परिपत्र गरेर मापदण्ड कायम राख्न भने पनि व्यवसायीले अटेरी गरेपछि ट्राफिक प्रहरी आफैँले ‘हुट’ हटाउन थालेको हो । 

केही दिनभित्र पहाडी क्षेत्रमा चल्ने सबै सवारीको ‘हुट’ हटाइने  प्रमुख थापाले बताउनुभयो । ‘हामीले समिति, सम्बन्धित सवारी चालकलाई अनुरोध गरेका छौँ, उहाँहरु आफैँले ‘हुट’ नहटाए हामी आफैँ हटाउँछौ’, प्रमुख थापाले भन्नुभयो, ‘यो हाम्रा लागिभन्दा पनि यात्रुले जोखिमपूर्ण यात्रा नगरुन् भनेर गरेका हौँ ।’

नवलपरासीपूर्व नवलपुरमा दिनहुँजसो सवारी दुर्घटनाका घटना हुने गरेका छन् । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि भन्दै जिल्ला ट्राफिक प्रहरी  कार्यालय नवलपुरले अन्य विभिन्न कार्य गर्दै आएको छ । सिट क्षमताभन्दा धेरै विद्यार्थी बसमा नराख्न अनुरोध गर्दै राखेको पाइएमा कारवाही गर्न थालिएको प्रमुख थापाले बताउनुभयो ।

केही दिन अघि मात्रै प्रहरीले निजी विद्यालयका विद्यार्थी बोक्ने बसमा अत्यधिक विद्यार्थी राख्ने गरेको भन्दै यसलाई रोक्न विद्यालयका सञ्चालकसँगको अन्तरक्रियासमेत गरेको थियो ।