सवारी दुर्घटनामा परी ५ को मृत्यु

सवारी दुर्घटनामा परी ५ को मृत्यु

लोकसंवाद संवाददाता  |  समाचार  |  पुस ११, २०७६

काठमाडौं । काठमाडौं, काभ्रे, पर्सा, कैलाली र रुपन्देहीका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । 

काठमाडौं महानगरपालिका–१४ बल्खुस्थित सडकमा बा।५ ख ६८१७ नम्बरको बसले बा।६५ प १०३२ नम्बरको स्कुटरलाई बिहीबार दिउँसो ठक्कर दिँदा गम्भीर घाइते भएका स्कुटरमा सवार ईलाम कोल्पुङ–७ घर भएकी २४ वर्षीया दिवाना तामाङको ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका स्कुटर चालक खोटाङ टेम्बा घर भएका ३४ वर्षीय धनीराम राईको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

काभ्रे, धुलिखेल नगरपालिका–११ पातलेखेतस्थित सडकमा ना।१ ज ६१५३ नम्बरको टाटा सुमो बिहीबार दिउँसो दुर्घटना हुँदा गम्भीर घाइते भएकी सुमोमा सवार सर्लाही ईश्वरपुर नगरपालिका–८ बस्ने २६ वर्षीया मिना कुमारी बोगटीको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ । सुमो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

पर्सा, ठोरी गाउँपालिका–१ नयागाउँ चौतारास्थित सडकमा ठोरी बजारबाट चितवन टाँडीतर्फ जाँदै गरेको ना.५ ख १२१२ नम्बरको बसबाट खसेर सोही बसको टायरले किच्दा बसमा सवार ठोरी गाउँपालिका१ बस्ने २१ वर्षीय अमन प्रजाको घटनास्थलमै मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

कैलाली, घोडाघोडी नगरपालिका–२ स्थित सडकमा से.१ त ९२७३ नम्बरको ट्याक्टरको ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री कालिकोट कालिका गाउँपालिका–६ बस्ने २७ वर्षीया कल्पना परियारको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको छ । सोही ट्याक्टरको ठक्करबाट घाइते भएका मृतकका श्रीमान ४१ वर्षीय रमेश परियारको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

रुपन्देही, तिलोत्तमा नगरपालिका–७ भलबारीस्थित सडकमा लु.१ ख ६४१७ नम्बरको ट्याङ्करले साइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने १६ वर्षीया लक्ष्मी न्यौपानेको बिहीबार दिउँसो मृत्यु भएको छ । साथै उक्त ट्याङ्करको ठक्करबाट घाइते भएकी साइकलयात्री तिलोत्तमा नगरपालिका–७ बस्ने ३१ वर्षीया भोज कुमारी केसीको सोही अस्पताल हुँदै थप उपचारको लागि  ग्राण्डी अस्पताल काठमाडौं रिफर गरिएको छ । फरार ट्याङकर चालकको प्रहरीले खोजी गरिरहेको छ । 

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।