प्रा.डा. विद्यानाथ कोइराला | दृष्टिकोण | पुस १३, २०७६
संस्कृतिले मानिसलाई थरिथरिको बनायो । भाषाले पनि थरिथरि बनायो । धर्मले पनि थरिथरि बनायो । यी थरिथरिभित्र पनि फरकफक कुराहरू छन् है भन्ने कुराको चिन्तनको विकास नै भएन । समस्या यहाँबाट सिर्जना भएको छ ।
अब हामीले गर्न सक्ने के होला ? मान्छेले एउटै चिन्तन सबै ठाउँमा खोज्ने एउटा तरिका हो । भिन्न ठाउँमा भिन्न चिन्तन किन भयो भन्ने कुरा अर्को हो ।
उदाहरणका लागि कुनै ठाउँका मानिसले मुसा खाए । कुनै ठाउँका मानिसमा मुसा खानै हुँदैन भन्ने मान्यता किन विकास भयो होला ? गरिबीले हो कि उपयोगिताले ?
त्यसलाई विश्लेषण गरेर हेर्यो भने चिनियाँ र भियतनामीहरूकहाँ पुगिँदोरहेछ । चिनियाँ र भियतनामीहरूले के खान्छन् भनेर सोध्नै पर्दैन ? के खाँदैनन् र ! भनेर सोधे हुन्छ ।
उनीहरूले मुसा पनि खाएकै छन्, बाँदर पनि खाएकै छन् । सर्प पनि खाएकै छन्, कीरा पनि खाएकै छन् । कीरा खाँदैनन् भनौँ भने अफ्रिकातिर रूखको टोड्कामा हुने कीराहरू ट्याप्प टिप्दै आगोमा हाल्दै खुरुखुरु खाएको देखिन्छ । यसबाट हाम्रो खानपानको परंपरा के रहेछ भनेर सोच्न सकिन्छ । जनता जनार्दनले के खाँदारहेछन्, त्यहीँबाट खानपानको एउटा पाटोमा जान्न सकिन्छ ।
हिमालको मान्छेले कोदो खायो । अहिलेको भाषामा भन्दा पर्याप्त क्याल्सियम प्राप्त गर्यो । सिस्नु खायो, त्यसले पनि क्याल्सियम टन्नै मात्रामा पायो । परिणमतः उसको शरीरको निम्ति फाइदा भयो । पेट पनि साफ भयो । उसको निम्ति स्वास्थ्य समस्या रहेन । प्रकृतिले त्यो बनाइदिएको रहेछ । यो कुरा सहजै बुझ्न सकिन्छ ।
त्यसैले कुन वस्तुलाई कसरी उपयोग गर्ने भन्ने किसिमको चिन्तन आइदियो भने भोलिका पुस्तालाई हस्तान्तरण गर्न सहज हुन्छ । त्यसले काम पनि गर्छ ।
कृषिमा पनि अनेकौँ ज्ञान छन् । जस्तो : कुनै ठाउँमा मकैले सुत्ला छाडेपछि धानचमर काटिदिने चलन छ । किन काटिदिने ? भनेर सोध्दा उनीहरूले भन्छन्– मकैको घोगा ठूलो हुन्छ ।
मकैको घोगा किन ठूलो हुन्छ ? भन्दा दुईवटा कारण हुन सक्छन् । एउटा त पराग कण मकैको सुत्लोमा खसेर घोगा ठूलो हुन्छ । माथिल्लो भाग काटिदिएपछि त्यो भागले खाने पोषण तत्त्व तत्लो भागले पाउँछ । त्यो हिसाबले घोगा ठूलो भएको हुनसक्छ ।
मधेसतिर हेर्दा मकै लाइन लगाएर रोपिन्छ तर नजिक नजिकै रोपिन्छ । पहाडमा गयो भने टाढाटाढा रोप्ने चलन छ ।
किन त्यसो गरे होलान् ? मधेसको सम्म ठाउँमा हावा आउनेवित्तिकै मकैमा तलमाथि खरर एकनासले हावा जान सक्छ । पहाडका कान्लाकान्लीले गर्दा त्यो हावा रोकिन्छ । यसरी हावा रोकिने हुनाले हावा छिर्ने गरी मकै लगाएको हुन सक्छ ।
त्यसो भन्नेवित्तिकै जनताले यो जान्दैनन्, यो जान्दछन् भन्ने कुरा होइन । प्रश्न के हुन्छ भने हावा ठोकिने र नठोकिने पो हुन्छ कि त ! त्यस्ता किसिमका कुराहरू खोज्नु जरुरी छ ।
हाम्रा गाउँवस्तीमा कति थरिका चराचुरुङ्गी छन् भन्यो भने चराविद् गुहार्नुपर्ने अवस्था छ । वास्तवमा चरा देख्ने त विद्ले होइन नि ! स्थानीयले हो ।
चरा त विद्ले नयाँ देखेको न हो । भएको त होइन । चरा त पहिलेदेखि नै छ तर त्यो चरा देखिराख्ने मान्छे को हुन्छ भने त्यही गाउँको वा टोलको मान्छे हुन्छ । यहीँनेर हामीले गर्न सक्ने के होला ? हाम्रा ठाउँमा कुनकुन कीराहरू होलान् ? हिमालमा कुनकुन होलान् ? पहाडमा कुनकुन होलान् ?
एक पटक विचार गरौँ, ईश्वर केलाई भने भन्दा त्यही ब्रह्म ऊर्जालाई भने । ब्रह्म ऊर्जा छ कि छैन भने छ भन्नुपर्यो र ? त्यो त छ । अंग्रेजीको कस्मिक इनर्जी ।
मधेसमा कुनकुन होलान् ? ती भएका कीराहरूको उपयोगिता के होला ? जस्तो खेतमा गड्यौँला देख्यौँ भने हामी टिपेर फाल्थ्यौँ । जब पढ्यौँ नि गड्यौँला हाम्रो साथी रहेछ, तब न गड्यौँला ठीक रहेछ भन्यौँ ।
अहिले हाम्रो टाउकोमा खुम्ले भन्ने काम नलाग्ने कीरा हो भन्ने पारिदिएको छ । त्यसैले खुम्ले लाग्यो भने बर्बाद गर्छ भन्ने छ । कुनै दिन अनुसन्धानले के भन्ला– त्यसले त अरू कुरा खाइदिएर सहयोग पो गरेको छ । त्यो दिन अर्को ज्ञान प्राप्त हुन सक्छ ।
हामीले कुनै बेला सर्पलाई नराम्रो हो भन्यौँ । त्यसैले हदै दुःख दिन्छ भन्यौँ । पछि गएर के थाहा पायौँ भने वातावरण जति विषाक्त हुँदै जान्छ, त्यसले विष पो खाइदिन्छ भन्ने थाहा पायौँ । ठाउँलाई विषमुक्त बनाउन सर्प चाहिन्छ भन्नेवित्तिकै आक्रोशी जनमत कम हुँदोरहेछ ।
मधेसमा सर्प धेरै रहेछ । किन रहेछ भन्दा त्यहाँको विषाक्त हावापानी, त्यो गर्मी हावापानीमा विषाक्त बढी हुने भएकाले त्यो खानाका निम्ति सर्प बसेको हुँदोरहेछ । यस्तो उपयोगी सर्प धेरै भयो भन्न त भएन बरु नयाँ ठाउँमा सर्प आयो भने अर्थ राख्छ भन्ने हुन्छ ।
पुर्खाहरूको ज्ञानले भन्छ– प्रकृतिले बनाएको वा ईश्वरले बनाएको संसारमा सबै कुराको केही न केही अर्थ छ । त्यसो भनेको र अहिलेको ‘इको सिस्टम’ले भनेको ठ्याक्कै त्यही हो ।
‘इको सिस्टम’ भनेको एकले अर्कोलाई खान्छ, मास्छ, पाल्छ, बचाउँछ । जस्तो : अहिले बाघ बढ्दै गयो, स्याल घट्दै जान्छ । बाघ घट्दै गयो, स्याल बढ्दै जान्छ । त्यसो भएकाले स्यालले गर्ने काम बाघले गर्दैन । बाघले गर्ने काम स्यालले गर्दैन ।
यसरी इको प्रणालीलाई मिलाउन प्रकृतिले आफैँ ‘रेगुलेट’ हुने प्रणाली बसालेको छ । त्यो विज्ञानको सिद्दान्त पनि हो । एक पटक उत्पादन भएपछि त्यो स्वतः चालित हुने । यस्ता चिन्तनलाई बोक्ने हो भने प्रमाता सिद्धान्त भन्ने बुझिन्छ ।
प्रमाता सिद्धान्त भनेको क्वाण्टम सिद्धान्त हो । तर, प्रश्न आउँछ, के हामी ती कुरा खोज्न जान्दछौँ वा जान्दैनौँ ? उपयोगिता थाहा पाउँछौ कि पाउँदैनौँ ? कुनै समुदायले थाहा पायो भने थाहा पाएको समुदायले अर्को समुदायलाई भन्छौँ कि भन्दैनौँ । प्रश्न त्यहाँ आउँछ ।
त्यो प्रश्नको उत्तर खोज्ने हो भने यसले धेरैवटा विषयको जानकारी दिन्छ । खानेकुराको जानकारी, लगाउने कुराको जानकारी । भूकम्प गयो कि गएन भनेर सबैभन्दा पहिले थाहा पाउने चराचुरुङ्गी हुन् । कागलाई हेर्यो भने कागले जानकारी दिन्छ । मुसालाई हेर्यो भने मुसाले जानकारी दिन्छ । सर्पलाई हेर्यो भने सर्पले झन् छिटोछिटो जानकारी दिन्छ ।
पृथ्वीको हलचलको विषयमा थाहा पाउने जमिनका कीरा, फटयांग्रा पो हुँदारहेछन् । अन्तरिक्षमा हुने कुराको जानकारी दिने चराचुरुङ्गी पो हुँदारहेछन् ।
कागले अथवा सर्पले थाहा पाउनेवित्तिकै भूकम्पीय हलचल त्यहाँ पो हुन्छ भने हाम्रा पुर्खाले भनेको ‘भू, भूूव, स्वः’ भनेको जमिन, अन्तरिक्ष र आकाश पो भनेको रहेछ । पृथ्वी, अन्तरिक्ष र आकाश तीनवटैको सम्बन्ध अत्यन्तै ठूलो छ भनिएको रहेछ । त्यसैले तीनवटै ठाउँलाई पूजा गर्ने चलन चलाइएको रहेछ ।
यसो भन्दा विज्ञानको सिद्दान्तले काम गर्छ । अर्थात् विज्ञान पनि त्यसै भन्छ । अर्थात् हाम्रा पुस्ताले भनेको र विज्ञानले भनेको कुरामा तारतम्य रहेछ । त्यो तारतम्य खोज्ने र खोजाउने क्रममा हामीले विद्यार्थी वा शिक्षकलाई हालिदियौँ भने त्यसले आफ्नैमा विज्ञान खोजाउने काम गर्दोरहेछ ।
यसको अर्थ हो– हाम्रा पुराना ज्ञानलाई खोजेर त्यो ज्ञानलाई संशोधित गर्ने काम हामीले नै गर्नुपर्ने रहेछ । अहिले अफ्रिकामा उनीहरूले मिथकबाट विज्ञान खोज्न थालेका छन् । उडन तस्तरीको विज्ञान, एलियनको विज्ञान । त्यो जनविज्ञानमा एष्ट्रोबायोलोजिष्टहरूको रुचि बढेको छ ।
यसको अर्थ हो– विज्ञानले हरकुरालाई आफैँ खोज्दैन । किनभने विज्ञान भनेको खोजको प्रक्रिया हो । जस्तोः हामीले ईश्वर छ कि छैन भन्ने विषयमा यति ठूलो लडाइँ गर्यौँ । आखिर ईश्वर केलाई भने भन्ने विषयमा प्रश्न नै गरेनौँ । हाम्रो बोल्ने र भन्ने शैली कि छ कि छैन भन्नेमै जाँदोरहेछ ।
इको प्रणली चक्रीय छ भन्ने जानेका हाम्रा पुर्खा र धर्सीय विज्ञानमा लागिपरेका आजका वैज्ञानिकहरू एउटै विन्दुमा भेटिन्छन् । प्रश्न हो– पुर्खाको ज्ञान जोड्ने कि निषेध गर्ने ?
तर, एक पटक विचार गरौँ, ईश्वर केलाई भने भन्दा त्यही ब्रह्म ऊर्जालाई भने । ब्रह्म ऊर्जा छ कि छैन भने छ भन्नुपर्यो र ? त्यो त छ । अंग्रेजीको कस्मिक इनर्जी । ईश्वर भनेको त्यही हो । प्रकृतिलाई पनि ईश्वर भनियो । प्रकृति छ कि छैन भन्दा छ नैँ भन्नुपर्यो । सूर्य र पानीलाई पनि ईश्वर भने । त्यो पनि छ कि छैन भन्दा छ नै भन्नुपर्छ ।
त्यति भनेपछि हामी के बुझ्छौँ भने ए पुर्खाले भनेको कुरा ठीक रहेछ । त्यसमा सत्य रहेछ । खालि खोज्नुपर्ने रहेछ । अहिले अफ्रिकामा उडन तस्तरीका बारेमा खोज्ने गरिन्छ, त्यहाँका परंपागत कथाहरूमा, उडन तस्तरीका बारेमा सुनेका ज्ञानहरूमा, देखेका कुराहरूमा, भोगेका कुराहरूमा ।
के त्यो खोजीले उडान तस्तरीका बारेमा सत्य पहिल्याउँछ ? माइक्रोब्स तथा माइक्रोकज्म भएका ग्रहमा पो उडन तस्तरी छन् कि ? अर्को बह्म्राण्डमा पो छन् कि ? विज्ञानले यसरी पनि सत्यको खोजी गर्छ ।
हकिन्सले मर्ने बेलामा त्यो कुरा प्रमाणित गरे । उनले भने, ‘युनिभर्स’ भन्ने शब्द नभन्नुहोला । अति भयो ‘युनिभर्स’ होइनरहेछ । ‘मल्टिभर्स’ रहेछ । त्यो भनेको त हाम्रा पुर्खाले ‘अनन्त ब्रह्माण्ड’ भनेकै थिए नि ! ‘अनन्त ब्रमण्ड’ भन्ने पुर्खा मूर्ख ठहरिने, ‘युनिभर्स’ भन्ने मान्छे ठीक हुने ?
हकिन्सले भनिदिएपछि त्योचाहिँ पत्याउनुपर्ने ? वैज्ञानिक हुने । हामी यो स्थितिमा पुग्यौँ ।
त्यसको अर्थ हो, हाम्रा पुर्खाहरूको परंपरागत ज्ञानमा टेकेर हामीले धेरै कुराको खोजी गर्न सक्छौँ । त्यसमा अपार संभावना पनि छ । त्यसो हुँदा हामी पुर्खाको ज्ञान खोजौँ । त्यही ज्ञानबाट विज्ञान खोजौँ । त्यही विज्ञानमा थप ज्ञान खोजौँ । त्यो ज्ञानले हामीलाई कहाँ कहाँ पुर्याउँछ, त्यो पनि खोजौँ । अनि त्यो ज्ञानले विज्ञान कहाँ जोड्दोरहेछ भनी हेरौँ ।
विज्ञान नै हो भन्न नसकेदेखि विज्ञानसम्मत् हुन सक्ला भन्ने टुंगोमा पुगौँ । कालान्तरमा विज्ञानसँग सम्बन्ध राख्नै नपर्ने परिस्थिति पनि हुन सक्ला किनकि विज्ञान प्रमाणित गर्दै आउँछ, हामी ज्ञानमा जोडिँदै जान्छौँ । त्यहाँसम्म सोच्न सक्ने परिस्थिति बनेमा हिजोका पुर्खा र आजका वैज्ञानिक एकै ठाउँमा मिल्न जान्छन् ।
इको प्रणली चक्रीय छ भन्ने जानेका हाम्रा पुर्खा र धर्सीय विज्ञानमा लागिपरेका आजका वैज्ञानिकहरू एउटै विन्दुमा भेटिन्छन् । प्रश्न हो– पुर्खाको ज्ञान जोड्ने कि निषेध गर्ने ?