डा. ध्रुवप्रसाद भट्टराई | दृष्टिकोण | पुस १४, २०७६
मागलको प्रयोग लोकसमाजमा मुख्यतः मान्छेको जन्म, छैँटी, नामकरण, व्रतबन्ध, विवाह आदि संस्कार सम्पन्न गर्दा गरिन्छ । त्यसैले यसलाई संस्कारका लोकपद्य मानिन्छ ।
यसलाई स्थान र व्यक्ति भेदमा माल, मावल, माहल र माहाल पनि भन्ने गरिएको छ । यसलाई मध्य र सुदूरपश्चिमतिर सगुल तथा फाग भनिन्छ । यसको प्रयोगको इतिहास खोज्दै जाँदा यसको परंपरा निकै पुरानो देखापर्छ ।
पृथ्वीमा पहिलो यज्ञकर्ता स्वयं नारायण भएको र उनकै यज्ञमा गाउने प्रयोजनका लागि उनकै प्रयत्नद्वारा पहिलो पटक स्वर्गबाट पृथ्वीमा मागल ल्याइएको भन्ने आशय स्थापित गर्न खोजिएको हुन्छ भनी बझाङमा प्राप्त मागलको विषयवस्तुलाई हुमकान्त पाण्डेले देखाएका छन् ।
यसैगरी सगुन तथा फागको परंपराका सन्दर्भमा जयराज पन्तले संस्कार गीतको परंपरा वैदिककालदेखि क्रमिक रूपमा प्रारम्भ भएर लौकिक संस्कृत, प्राकृत र अपभ्रंश हुँदै आजसम्म व्यवहारमा जीवित रहेको पाइन्छ । सगुन र फागको चलनलाई पनि यसैले ल्याएको हो भन्ने मानेका छन् ।
मागल, फाग वा सगुन नाममा फरक रहे पनि प्रयोगको सन्दर्भ र प्रस्तृतिको शैलीगत आधारलाई हेर्दा यी एउटै सिक्काका दुई पाटा हुन् । यसको प्रयोग विवाह कार्य प्रारम्भ भएदेखि नै हुन्छ ।
जयराज पन्तले विवाहमा यज्ञशालाको निर्माणदेखि दुलहीको द्विरागमनसम्म गाइने फागको चर्चा गरेका छन् भने गन्धर्वका विवाहमा गाइने मागलको पूर्ण नेपालीले केटा र केटीको विवाह निश्चित भएपछि दुलहा र दुलहीलाई कपडा किनेर घर ल्याई कपडा पुज्दाखेरि विवाहपछि बेहुलीलाई डोली दिने बेलासम्मका माहालको चर्चा गरेका छन् । यस्तै, हुमकान्त पाण्डेले विवाहसम्बन्धी पारिवारिक छलफलदेखि विवाह कार्य समाप्त भएको अर्थात् हदेली पखाल्दासम्मका मागलको चर्चा गरेका छन् ।
यी विभिन्न उदाहरणबाट के देखिन्छ भने विवाहमा मागलको प्रयोग केटा र केटीको विवाहको कुरा चलेदेखि विवाह कार्य सम्पूर्ण रूपले समाप्त भएसम्म नै हुन्छ । यसको प्रयोग नेपालका विभिन्न जाति र स्थानका नेपालीले परंपरादेखि गर्दै आएका छन् । दलितहरूले पनि विवाहका विभिन्न सन्दर्भमा यसको प्रयोग गर्ने गरेका छन् ।
मूलपाठ
कामीका विवाहमा भनिने मागल
फलामे र चकमक झुलको आगो
जगाऊ जगाऊ विश्वकर्मा जग्गेको आगो
कुनले हेर्यो दिन कुनले दियो हुकुम
कुनले झिक्यो तामा तुलसा धाउ ?
ब्रह्माले दिए दिन विस्नुले दिए हुकुम
महेश्वरले झिके तामा तुलसा धाउ
विश्वकर्माले पारे तुलसा धाउ... (चूडामणि बन्धु, २०५८, १६१) ।
गन्धर्वका विवाहमा विभिन्न सन्दर्भमा भनिने मागल
कपडा पुज्दाको मागल
बटौलीका कवडु पहाडका बरमन
पुजी लेऊ न बरमनले भलै अछिता
सिली धानका चामलु माली गाईको दही
पुजी देऊ न बरमनले भलै अछिता ।
शिवजीका वस्त्र बाघका छाला
अगम्मवरी अगम्मवरी घरभित्र होलान्
पार्वतीजीका वस्त्र दुलहीकहाँ होलान्
अगम्मवरी अगम्मवरी घरभित्रै होलान् ।
कमलैका फूल जस्तै रातै अवीर होलान्
अनदीका अछेता जस्तै भरी कुटुम्म होलान्
यिनै सरजाम दिइँदै शिवजीका जालान्
अगम्मवरी अगम्मवरी घरभित्र होलान् ।
जन्ती पर्सिने बेलाको मागल
सिली धानका चामलु
माली गाईको दूध हो
पर्सिदेऊ न बर्माजी भलै अछिता ।
आकाश र पातालको भेट कहिल्यै नभएजस्तै आफ्नो र माइतीको भेट कहिल्यै नहुन पनि सक्ने बताउँदै सुन, कन्या तथा अन्य वस्तुको दान दिएका बाबाआमाले आफूलाई कमारी पनि दान दिन भनिएको छ । यदि कमारी दान दिन नसके छुरी दान दिन भन्दै कडा माग प्रस्तुत गरिएको छ ।
जन्तीहरू दुलहीका घरमा आगमन हुँदाको मागल
साली धानको अछेता माली गाईको दही
जन्ती पर्सिदेऊ न बाबै पुलकी डोलिया
बेलुकीकी फूल आमै सबै वैली गएचन्
बिहानैकी फूल आमै ढकमक्क भैचिन्
ल्यायौ आमै, ल्यायौ आमै फूलै टिपी ल्यायौ
महादेवले रुचाएको आँकुरीको फूल
गौराले रुचाएकी बाँकुरीको फूल
जन्ती पर्सिदेऊ न आमा फूलकी त डोलिया ।
कन्यादान गर्दाको मागल
मुरीमुरी घिवैतेल होमी सके बर्माले
किन धन भयो विलम्ब ?
वरझैँ तपे वहु दुबौ मौलिए
आशिष वरदान तिमीलाई वहु
थपै माथि पुत्र कल्याण होस् ।
माडो घुम्ने बेलाको मागल
मुरीमुरी घिवैतेल होमी सके बर्माले
किन धन भयो विलम्ब ?
बिहानैका भोका बाबा बेलुकीका अनिँदा
हाम्रा बाबा अनिँदा सुकलैमा छन् ।
मुरीमुरी घिवैतेल होमी सके बर्माले
किन धन भयो विलम्ब ?
बिहानैकी भोकी आमै बेलुकीकी अनिँदी
हाम्री आमै अनिँदी सुकलैमा छिन् ।
सुन दान दियौ रूप दान दियौ नि
देऊ न देऊ न मेरा बाबा कन्यैको र दान
बाबाज्यूको आँगनीमा घुँडो जोरी बसेकी
मलाई लाग्यो परिसरिम, मलाई भयो परिसरिम ।
आकाशकी दिदी मेरी पत्तालकी बैनी
दिदीबैनी कैले होला भेट ?
कि देऊ बाबा कमारी दाइजो कि देऊ हाम्लाई छुरिया
लैजाऊ चेली कमारी दाइजो दिँदैनौँ छुरिया ।
कपालमा छुरा लगाउँदाको मागल
रूपै के रे लट्टिया, रूपै के रे कतारना
फालिदेऊ न बर्माजीले भलै लट्टिया ।
मधेसको तोरी हो पहाडको बरमन
धसिदेऊ न बालीकन ए भला बुकुवा ।
(पूर्ण नेपाली, २०६०)
विवाहका समयमा प्रस्तुत गरिने भएकाले यी मागलको भाव वा विचार पनि विवाहसँग सम्बन्धित नै छन् । कतिपय मागलमा जातीय पहिचानअनुरूपको भाव वा विचार पाइएको छ । जस्तै : कामीका विवाहमा प्रस्तुत भएको मागलमा विश्वकर्मालाई फलाम र चकमक घोटेर झुलोका सहायताले यज्ञको आगो सल्काउन भनिएको छ ।
यस्तै, त्यहाँ चाहिने धाउ (फलाम आदि काँचो धातु) महेश्वरले झिकेको र विश्वकर्माले त्यसलाई सल्काएको बताइएकोे छ । यसैगरी विवाहका लागि चाहिने कपडा बटौलीबाट ल्याइएको र ती कपडालाई अवीर, अछेता, दही आदिले पुज्न भनिएको छ ।
विवाहमा सिली धानका चामलमा माली गाईको दूधबाट बनाइएको दहीमा मुछेका अछेता र महादेवले रुचाएको आँकुरी र गौराले रुचाएको बाँकुरीका फूलले जन्तीलाई पर्सिन भनिएको छ ।
यी मागलमा बर्माले मुरीका मुरी चरु होम गरेको र वरवधूलाई पुत्र लाभको आशीर्वाद दिएको वर्णन आएको छ । यसै क्रममा आमाको दूध खाएको र बाबाको कुलमा जन्मिएकाले आमाबाबाको ऋण सकेसम्म तिर्ने र नसके बाबाआमालाई धर्म हुने बताएको छ ।
यसैगरी सुनको कलशमा गंगाजल राखी श्रीराम जस्ता बेहुला र सीता जस्ती बेहुलीको खुट्टाको जल खान भनिएको छ । जल खाइसकेपछि जन्ती र अन्य निम्तालुलाई झिनुवाको भात र मसुरीको दाललगायत मिष्ठान्न भोजन गराउन भनिएको छ ।
यसरी विवाह गरिएपछि बिहानको समयमा जन्तीलाई बिदाइ गर्नुपर्नेमा ढिलाइ भएकामा छोरीको बिछोडको पिरले खाना नखाएका र रातभरका अनिँदा भएका आमाबाबा अहिले सुकलैमा रहेकाले बिदाइमा ढिला भएको वहाना एकातिर बनाइएको छ भने अर्कोतिर बाबाज्यूका आँगनीमा घुँडा जोडेर बसेकी चेलीका खुट्टा थाक्दासमेत बाबाआमाले नछाडेको बताइएको छ ।
यसरी नै आकाश र पातालको भेट कहिल्यै नभएजस्तै आफ्नो र माइतीको भेट कहिल्यै नहुन पनि सक्ने बताउँदै सुन, कन्या तथा अन्य वस्तुको दान दिएका बाबाआमाले आफूलाई कमारी पनि दान दिन भनिएको छ । यदि कमारी दान दिन नसके छुरी दान दिन भन्दै कडा माग प्रस्तुत गरिएको छ ।
आफ्नी प्राणभन्दा प्यारी छोरीलाई छुरी दिन नसक्ने बरु कमारी दान दिने सन्दर्भ यसमा आएको छ । यसरी विवाहका मागलमा विवाह कार्य र यससँग सम्बन्धित विचारलाई प्रस्तुत गरिएको देखिन्छ ।
याे पनि
दलित समुदायका विवाह संस्कारमा प्रयाेग गरिने बिहे प्रश्नोत्तरीहरू