प्रशान्त उप्रेती | साहित्य | पुस १९, २०७६
मैले दिऊँ भनेँ
किन दिने ?
कसलाई दिने ?
फाइदा के छ ?
मैले भनेँ- रगतले जोड्छ ।
फेरि सोधे मलाई-
कांग्रेस नजिक वा कम्युनिस्ट नजिक ?
मैले भनेँ-
मानव नजिक ।
जन्मिँदा नाङ्गै रगतकै स्नान गरेर
आफ्नी आमा जननी जिउँदै मरेर
शरीरको आधा हिस्सा तिमीलाई दिएर
ती आमालाई रगत दिने कोही थिए ?
जन्मिँदा तिमी शुद्ध मानव थियौ
कांग्रेस, कम्युनिस्ट पछि भयौ
धनी, गरिब पछि भयौ
रिस-राग गर्ने घमण्डी पछि भयौ
मानव सृष्टि रगतले नै सम्भव भयो
रगतविना जीवन लीला समाप्त अनि घमण्ड तोडेर गयौ ।
भौतिकवादी मांसपिण्डमा तिम्रो यो रगत बग्न छोडे
रोगव्याधी धेरैले संसारै छोडे
धेरैले सोध्छन्-
के पाउँछौँ र हामीले ?
म भन्ने गर्छु- भरपूर सन्तुष्टि पाउँछौ तिमीहरूले
मृत्युसँग लडिरहेका बिरामीका आशीर्वाद
अनि सिंगो तिम्रो अटल स्वाभिमान ।
आमाको ऋण तिर्नु छ हामीले
लाखौँको जीवन जोगाउनु छ हामीले
विश्वास छ मलाई- रगतले जोड्छ
कुसंस्कार र कुरीति तोड्नु छ हामीले ।
आफ्नो अस्तित्वको एक हिस्सा दिन सिकाउँछ रक्तदानले
अनि सिकाउँछ अरूको अस्तित्व स्वीकार्न
समाज जोड्न सिकाउँछ हामीलाई
मानवीय नाता जुटाउँछ हामीलाई ।
अमूल्य चिज यस्तो छ यो दिनेबेला सोधे पनि
लिने बेला कसको भनेर सोधिन्न
न जात, न धर्म, न त साना वा ठूला
जोगिन्छ अनगिन्ती अमूल्य जीवन ।
रक्तदान जीवनदान महादान ।