डा.भोजराज घिमिरे | साहित्य | पुस १९, २०७६
सभाकक्ष खचाखच भरिएको थियो । भित्तामा उसको चित्रसमेत अङ्कित एउटा ठूलो व्यानर टाँसिएको थियो । सभाध्यक्षलगायत अरु विशिष्ट अतिथिले स्थान ग्रहण गर्नासाथै उसलाई बोलाइएको थियो । सभाकक्षमा उपस्थिति सबैलाई ठम्याउने कोसिस गर्दै पृथक परिचयसहित मञ्चमा आसन ग्रहण गर्न पुगेको वीरशरणले बस्नुभन्दा अगाडि एकचोटि चारै कुनामा सरसर्ती आँखा घुमाएर अभिवादन गर्यो ।
त्यसरी आँखा घुमाउँदा उसले बाटोमा हिँड्दा उसलाई कुइरे भनेर जिस्क्याउनेहरु, कुइरेसित खेल्दा आफ्नो छोरा बिग्रिने डरले प्रतिबन्ध लगाउने बान्द्रेका बाबु, आफ्नो बाबुको डरले साथै खेल्न नमान्ने बान्द्रे अनि आफ्ना कारणले हजुरबाले झगडा गरेको विसनचा र उसको नाति सबैलाई हलभित्रै देख्यो र ठम्यायो पनि । तर उसलाई सधैँ उत्प्रेरणा दिने हजुरबा भने वीरशरणका आँखाले खोज्दा त्यो सभाकक्षको कुनै कुनामा देखापरेनन् । विष्मात लाग्यो वीरशरणलाई ।
विमोचन समारोहका प्रमुख अतिथि तथा देशका वरिष्ठ कविले ‘विदेशमा बसेर पनि नेपाली भाषा र साहित्यको सेवामा वीरशरणजीले पुर्याएको योगदान कदरयोग्य मात्रै होइन, अपितु, प्रवासमा रहने नेपाली सबैका लागि अनुकरणीय छ । कृति कस्तो छ ? राम्रो कि नराम्रो ? त्यतातिर हामी कोही नजाऔँ । विदेशमा बसेर हाम्रो भाषामा लेख्नु र छपाउने इच्छा राख्नु नै सबभन्दा महङ्खवपूर्ण कुुरा हो ।
अझ त्यसमा पनि यति कलिलै उमेरमा वीरशरणजीमा भएको साहित्यप्रतिको यो अनुराग देखेर त साह्रै रोमाञ्चित भएको छु । भोलिका दिनमा उहाँको कलमबाट नयाँनयाँ कृति जन्मिरहून्, मेरो शुभकामना छ । सन्तानलाई यसरी नेपाली साहित्यको सेवामा समर्पित रहन उत्प्रेरित गर्ने वीरशरणजीका परिवारप्रति हामी सबैको तर्पmबाट म आदरभाव व्यक्त गर्न चाहन्छु’, भन्दा आफूले नेपाली बोल्न नसक्दा आफ्नो जन्मभूमिमा विगतमा परेको सकस, भोगेको कठिनाइ र व्यहोरेको अपमानका क्षण सबैलाई एकैसाथ स्मरण गर्न पुग्यो वीरशरण ।
‘सानो छँदा आमाबाबाको साथ लागेर क्यानडाबाट धेरै पटक नेपाल आएको थिएँ । जति पटक आएँ, त्यति नै पटक विष्मयको गह्रौँ भारी मनभित्र च्यापेर विमानस्थल उत्रिएको हुन्थेँ । पाँच हप्ता बस्दा पनि पाँच वर्षभन्दा बढी बसेको अनुभूति हुन्थ्यो । तर जब विमानस्थलको प्रस्थान कक्षको ढोका खोलेर भित्र पस्थेँ, तब भने मनभित्रको त्यो गह्रौँ भारी एकाएक हलुका भएझैँ महसुस गर्थें । हल्का भएर क्यानडा पुग्थेँ’, भन्ने सोच्दै वीरशरणले आफैँलाई सोध्यो– ‘किन भएन हँ यस पटक त्यस्तो भारी मन ? कहाँ गयो त्यो बोझ ?’
घरमा बस्दाबस्दै दिक्क लागेर एक दिन आमाबाबाका साथमा घुम्न जाँदा पद्मोदय स्कुलको चौरमा खेलिरहेका केटामध्ये एउटाले ‘ए कुइरे, तेरी आमा को हो ?’ भन्दा त्यही समूहको अर्कोले ‘पुँडी सुँगुर्नी’ भनेको सुन्यो उसले तर त्यसको अर्थ भने बुझेन । त्यसो भन्नेलाई उसका बाले लघार्न खोज्दा एउटा केटाले ‘कुइरेको बाबु आयो है साथी हो, भाग’ भन्यो र सबै जना ‘कुइरे, कुइरे’ भन्दै भागे ।
विगतमा घटेका जीवनमा एकएक घटनालाई मञ्चबाटै उसले नियाल्दै गयो । त्यसो गर्दै जाँदा उसका बाबाआमासित क्यानडा पुगेर पहिलोपल्ट जन्मभूमि नेपाल फर्कंदाको दिनतिर पुग्यो वीरशरण । त्यसबेला पनि नेपाल पुग्दा उसको मन नरमाएको होइन । माटोको सुगन्धले आनन्दको अनुभूति नदिएको होइन । आफ्नै प्रिय धर्तीमाथि पाइला राख्दा उसको छाती रोमाञ्चित बन्दै ढक्क नफुलेको थिएन । तर त्यो खुसी, त्यो आनन्द, त्यो माटोको सुगन्ध, त्यो धरतीको मोह अनि त्यो फुलेको छाती, ती सबैसबै एकसाथ ‘कुइरे’ बिल्ला लगाएर केही दिनमै खुम्चिए ।
त्यही मञ्चमा बस्दाबस्दै उसले दुई दिन अगाडिका ती रोमाञ्चित पलहरु एकाएक सम्झिँदै गयो । जतिजति विमान काठमाडौँको नजिक पुग्दै जान्थ्यो, त्यतित्यति नै उसका मनका पखेटाहरु खुसीको आकाशमा फट्फटाइरहेका हुन्थे । आत्मसन्तुष्टिको क्षितिजलाई आफूले पहिलोपल्ट चुम्न पाएको अनुभूति गर्दै थियो ऊ । विमानबाट उत्रिएर नेपाली जमिनमा पाइला के राखेको थियो, उसले आफ्नो फुर्ती र पाइलाबीच तालमेल नभएको अनुभूत गर्यो । स्वचालित त बन्दै थिए पाइला तर मनभन्दा धेरै पछि हिँडिरहेझैँ लाग्थ्यो उसलाई । उत्ताउलिएका मन र पाइला उसको नियन्त्रणमा नै नरहेको महसुस गरेको थियो वीरशरणले । नेपाल आउँदाखेरि ग्लानि र अपमानले खुम्चिने उसको छाती पछिल्लोपल्ट भने गर्वका क्षितिजमाथि पहरामा फुलेको गुराँस जस्तै फुलिरहेको थियो ।परिस्थिति भिन्न थियो यसपल्ट । सधैँ जस्तो होइन, यसपल्ट निकै हतारिएको महसुस गरेको थियो उसले काठमाडौँ पुग्नलाई । पहिले लघुताभाषबोध गर्ने उसले पछिल्लो पटक विमानले नेपाली आकाश चुम्दा भने गौरवबोध गरेको थियो ।
हतास बनेको थियो ऊ तर त्यो हतासभाव चरम निराशामा भने परिणत हुन पाएन । त्यसका लागि ऊ आफैँले मिहिनेत गर्यो, हजुबाले मार्गदर्शन गरे, परिवारले यथेष्ठ उत्प्रेरणात्मक सहयोग गर्यो । त्यही मिहिनेत, मार्गदर्शन, प्रेरणा र सहयोगले एउटा छुट्टै परिवेश निर्माण गरिदियो उसको । त्यही भएर त उसबेलामा अपमानित ‘कुइरे’को त्यही दुःखी मन अहिले गर्व गर्ने नेपालीको मनमा रुपान्तरित भएको छ । उसबेलामा कुइरे बनेर अपमानित हुनु नपरेको भए न हजुरबाले वीरशरणलाई नेपाली सिक्ने प्रेरणा दिन्थे, न ऊ आफैँले केही गरेर देखाउने इच्छा मनभित्र पालेर राख्न सक्थ्यो । उसबेलामा कुइरेमा दरिएर तिरस्कृत नहुँदो हो त यस्तो सुखद क्षण देखाउँदै आजको दिन वीरशरणको जिन्दगीको आँगनमा आइपुग्ने थिएन ।
वीरशरणले अतीततिर फर्किएर सम्झियो– क्यानडा गएको पाँच वर्षपछि पहिलोपल्ट नेपाल फर्किंदा ऊ केवल बाह्र वर्षको थियो । अहिले विमोचन समारोह पुग्न दौडिएको उसको मन उसबेलामा आफ्ना पुराना साथीभाइ भेट्न हवाईजहाज चढेकै बेलादेखि उत्ताउलिएको थियो । त्यही भएर आमाले ’आज आराम गर, भोलि भेटनू तेरा साथीलाई’ भन्दाभन्दै पनि आमाको मायालु निर्देशनलाई मान्दै घर आइपुगेको केही छिनमै साथीभाइ भेट्न गएको थियो । वीरशरणको मन त उही नेपाल छाड्दाको नै थियो तर समयको गतिसितै उसका मित्रहरुको मन मात्रै होइन, सोचाइ पनि बद्लिइसकेको थियो ।
साथीभाइ बढिसकेका थिए । सानो छँदा जस्तो आत्मीयता र न्यानोपन लिएर दौडिने मन बेग्लै भइसकेको थियो । त्यसैले जस्तो छाडेको थियो वीरशरणले फर्कंदा भने त्यस्तो पाएन । रुखो व्यवहार, टर्रो बोली, तीतो तिरस्कारबाहेक केही थिएनन् उसका साथीभाइका मन र बोलीमा । पहिलो भेटको अनुभूतिले नै उसलाई नयाँ अनुभूति गर्ने ठाउँ छाडिदिएन । त्यसैले पछि पनि जति पटक नेपाल आयो, त्यति नै पटक आफ्ना बालसखालाई भेट्ने उसको रहर र इच्छाका अगाडि त्यही अनुभूति तगारो बनेर तेर्सिदिन्थ्यो । अनि त यथास्थितिमै थन्किन पुग्थे उसका रहर र इच्छाका पाइलाहरु । घरमै बस्थ्यो, किताब पढ्थ्यो, भिडियो गेम खेल्थ्यो, टिभी हेथ्र्यो, गीत सुन्थ्यो । दिक्क त लाग्थ्यो तर जस्केला नाघेर बाहिर जाँदैनथ्यो । र, कसैलाई भेट्दै नभेटीकन ऊ क्यानडा फर्किन बाध्य हुन्थ्यो । खल्लो मनको भारी विमानस्थलमै उतारेर उता पुग्थ्यो ।
उसबेला कसैका घरमा पुगेका बखत उसको खोजी गर्दै कसैले ‘खै त वीरशरण ?’ भनेर सोधिहाल्यो भने उसका बाआमाले– ‘बढेका छोराछोरी कहाँ मान्छन् र हामीले बूढाबूढीले भनेको ? बोल्नलाई कोही साथीभाइ नै हुँदैनन्, मलाई बोर हुन्छ, म जान्नँ भन्छन् । केटाकेटीलाई जबर्जस्ती गर्नुहुन्न भन्ने सोच छ उतातिर । हिँड् न बाबू सम्म भन्ने हो, नाइँ मात्रै भन्यो भने त कुरै सकियो’, भनेर कुरा मिलाउँथे ।
उता क्यानडामा भने यता नेपालमा जस्तो कोठाभित्रै थच्चिने मान्छे थिएन वीरशरण । अरुसित घुलमिल हुने, कुरा गर्ने नै मान्छे हो । उसका धेरै साथी छन् उता र नभएका होइनन् यता पनि । सबै खालका साथी छन् । यता बाहुन, क्षेत्री, नेवार, पोडे–च्यामे सबै छन् । उता कि नेपाली छन् कि विदेशी । गोरा पनि छन्, काला पनि । एसियन र अफ्रिकन, अमेरिकन र ल्याटिनो अनि हिस्प्यानिक र युरोपियन, सबै छन् उसका साथी । केटा र केटी सराबरी । न कसैले एसियन भनेर हेला गर्छ, न आप्रवासी भनेर नै खिसी गर्छ । मनभित्र त के हुन्छ ? अनुमानकै कुरा भयो । तर देख्दा भने असल व्यवहार मात्रै पाएको छ उसले उता क्यानडामा रहँदा ।
क्यानडा गएपछि वामे सरेको आँगन, गुच्चा खेलेका गल्ली, बाँदर जस्तो उफ्रिएको टोल, टुकुटुकु हिँडेको सडकपेटी र साथीभाइसित चहारेको शहरको सम्झना नआएको होइन वीरशरणलाई पनि । ती सबै अकस्मात् पछाडि छुटेकामा नरमाइलो नै लागेको थियो उसबेलामा । पछिसम्म पनि झलझली याद आइरहन्थ्यो नेपालमा छुटेका आफन्त र साथीभाइको ।
समय एकै ठाउँमा अडिएन । पाइला चाल्दै गयो । समयको गतिसितै बिछोडका घाउहरु पुरिँदै गए हुन् । क्यानडा पनि आफ्नो बन्दै गयो, विस्तारै रमाइलो लाग्ने नै भयो । त्यही रमाइलोमा रूमल्लिँदा त पुरानो ठाउँ बिरानो बन्दै जाने । परिस्थितिले त्यस्तै बनाउँदै लगेको होला नि वीरशरणको नियतिलाई पनि ।
वातावरणले मान्छेका इच्छा र स्वभावमा निकै प्रभाव पार्ने र परिवर्तन गर्ने रहेछ क्यारे ! समयले पाइला चाल्दै जाँदा मान्छेका पदचापहरु प्नि छुट्दै र मेटिँदै जाने होलान् । यसरी नै मान्छेको अतीत विस्मृतिको सिरानीमा पुगेर विश्राम लिने होला । त्यस्तै भएको छ वीरशरणको अतीत पनि । अनि त नेपालबाट उसले साथै च्यापेर ल्याएका स्मृतिका पोथ्राहरु केही वर्षभित्रैमा हिउँभित्र पुरिएर गएका होलान् ।
यसैले त होला नि, समयको अन्तरालसितै वीरशरणको नेपाली मुटु र मन पनि क्यानेडेली बन्न पुगेको । र त साथै बदलिएर गएका होलान्– उसका संस्कार र संस्कृति, रहनसहन, आनिबानी, आचरण र व्यवहारहरु ।
प्रतिस्पर्धा मात्रै छ त्यो संसारमा । त्यसैले सानैदेखि दह्रो पाइला टेक्न सिकाए उसका बाबाले– त्यो दुनियाँमा अडिएर बस्न, त्यहाँ आउने हिउँको आँधीभित्र आफ्नो दह्रो उपस्थिति र पहिचान बनाउन । मिल्नै पर्यो वातावरणसित– प्रतिस्पर्धी भएर जिउनकै लागि भए पनि । त्यसैले विस्तारै उसले पनि अरुले जस्तै नेपाली बोल्न छाडेको होला । पहिले खेलेका गुच्चा, कपर्दी, लङ्गुर–बुर्जा, पौडी, फुटबल जस्ता खेलहरु पनि त्यसरी नै क्रमशः उसको मन–मस्तिष्कबाट हराउँदै गएका होलान् । ती रिक्त स्थानमा स्विमिङ, टेनिस, आइस हक्की, अमेरिकन फुटबल र गल्फ आइपुगे हुन् । दशैँ–तिहार भुलिँदै गए हुन् । थ्याङ्क्स गिभिङ, ह्यालोइन, भ्यालेन्टाइन र क्रिसमसले वीरशरणको रहरको मैदानमा जरा गाडे हुन् । परिवर्तनको गाडीको रतारमा हुत्तिएर दाल–भात किनारातिर लाग्दा पिज्जा, हट–डग, बर्गरले स्थान ग्रहण गरे हुन् । त्यसैले त भान्साबाट दालभातको गन्ध आउनासाथ ‘खान मन छैन’ भन्न थालेको होला नि वीरशरणले क्यानडा छिरेको चार–पाँच वर्षमा नै ।
त्यति मात्रै होइन, सांस्कृतिक विचलनको गहिरो प्रभाव उसको भाषा र बोलीमा पर्न थाल्यो । आमालाई अङ्ग्रेजी सिकाउने नाममा घरमा अङ्ग्रेजी बोल्ने उसले केही सामान्य शब्दबाहेक तीन वर्षभित्रै नेपाली भाषा प्रायः भुलिसकेको थियो । भाषा मात्रै होइन, सो अवधिमा त उसका सोच, चिन्तन र दृष्टिकोण सबैमा अन्तर आइसकेका थिए । पाँच वर्षपछि नेपाल जाँदा त ‘वीरशरण‘बाट ‘विस’ बनिसकेको थियो– आफैँले पत्तै नपाई ।
त्यसरी समयसितै बदलिएको त थियो तर पहिलोपल्ट नेपाल फर्केर आउँदा काकाको छोरामार्फत् गुच्चा खेल्ने पुराना साथीको समूहमा फर्कन खोजेको थियो । साथै खेल्ने, घुलमिल गर्ने र गफिने रहर देखायो तर अफसोस ! साथीभाइ र उसका बीचमा तगारो बनेर उभियो– उसले बोल्ने बोली, उसले बोल्ने भाषा । न साथीभाइका कुरा उसले बुझ्थ्यो, न उसका कुरा नै साथीभाइले बुझ्न सके । त्यसैले उसका लागि पहिलो भेट नै असहज बन्न पुग्यो।
एकदिन गज्जबकै घटना घट्यो । बान्द्रेले मुखै खोलेर वीरशरणको काकाको छोरा, विश्लेषणलाई ‘तिमी आउने भा’ आऊ, तिम्रो त्यो कुइरे भाइलाई चाहिँ नल्याऊ है विशे ! न उसको कुरा बुझिन्छ, न त त्यसले हाम्रो नै कुरा बुझ्छ । नेपाली अरे, नेपाली नै बोल्न नजान्ने पनि कहीँ नेपाली हुन्छ ? रङ पनि त्यसको त हाम्रो जस्तो छैन, कस्तो अलग्गै छ । अस्ति ऊसित खेलेको देख्दा हाम्रो बाले त त्यो कुइरेसित किन खेलिस् भनेर गर्नु गाली गर्योरे’ भन्यो । सुन्न त सुनेको हो वीरशरणले पनि तर केही बुझेन । विश्लेषणले गरेको प्रतिवादले भने केही त गडबडी भयो भन्ने अनुमानसम्म ग¥यो कि !
‘त्यो कुइरे होइन, विशेको भाइ हो भनिनस् त ?’ विश्लेषणले भन्दा ‘भन्न त भनेँ नि, तर हाम्रो बा कम मापाको छ ? किन पत्याउँथ्यो त्यति सजिलै ? नजिकैबाट देखेको रहेछ, कुइरे नै हो भनेर जिद्दी गर्यो । कुइरेसित घुलमिल गरेको राम्रो लाग्दैन रे हाम्रो बालाई । कुइरेले त गाँजा खान्छ रे ! चरेस खान्छ रे ! ह्यासिस् तान्छ रे ! कुइरेसित खेल्यो भने हिप्पी बन्छ रे बाबै मान्छे !’ भन्दै गरेको सुने पनि ‘ह्यासिस्’ भन्ने शब्दबाहेक अरु केही बुझेको थिएन वीरशरणले ।
वादविवाद चलिरह्यो निकै बेरसम्म बान्द्रे र विश्लेषणको । बान्द्रे दादा थियो समूहको । जताजता जान्थ्यो ऊ, सबै उसकै पछिपछि लाग्थे । अन्त्यमा बान्द्रेल ‘तिमीले त्यो कुइरेलाई ल्याउने भए हामी तिमीसित पनि खेल्दैनौँ’’ भनेपछि सबै केटाले होमा हो जनाए । विश्लेषण पनि हच्कियो । त्यसपछि भने वीरशरणलाई छाडेर एक्लै खेल्न जान थाल्यो ।
वीरशरणलाई नलिईकन खेल्न गएको देखेर वीरशरणकी आमाले ‘विशू, भाइलाई पनि खेल्न लैजाऊ है !’ भन्दा विश्लेषणल ‘वीरु साथीभाइको कुरै बुझ्दैन । नेपाली बोल्नै जान्दैन । उसले बोल्यो भने सबै जना गललल हाँस्छन् । अरुले त्यसरी भाइको खिसी गरेको सुन्दा मेरो पनि कन्पारा तातेर आउँछ । झगडा गरुँगरुँ जस्तो लाग्छ । भाइलाई पनि गाह्रो, मलाई पनि अप्ठ्यारो । त्यसैले भाइ यहीँ घरमै खेलोस् न, हुँदैन ठूलोमम्मी ? बरू म एकैछिनमा फर्किन्छु’ भनेको थियो । कुराको अर्थ आमाले सम्झाएकी थिइन् वीरशरणलाई ।
घरमा बस्दाबस्दै दिक्क लागेर एक दिन आमाबाबाका साथमा घुम्न जाँदा पद्मोदय स्कुलको चौरमा खेलिरहेका केटामध्ये एउटाले ‘ए कुइरे, तेरी आमा को हो ?’ भन्दा त्यही समूहको अर्कोले ‘पुँडी सुँगुर्नी’ भनेको सुन्यो उसले तर त्यसको अर्थ भने बुझेन । त्यसो भन्नेलाई उसका बाले लघार्न खोज्दा एउटा केटाले ‘कुइरेको बाबु आयो है साथी हो, भाग’ भन्यो र सबै जना ‘कुइरे, कुइरे’ भन्दै भागे । त्यसपछि पनि त्यस्तै घटना धेरैचोटि घट्दै रहे । त्यसरी नै उसका बा कहिले झगडा गर्थे त कहिले सम्झाउने कोसिस गर्थे–कुइरे देख्ने नजरलाई । वीरशरणलाई भने नरमाइलो लाग्थ्यो ।
टोलकै विसनचाको नातिले एक दिन उसलाई जिस्क्याएको वीरशरणका हजुरबाले देखेछन् । नातिलाई अरुले त्यसरी जिस्क्याएको, त्यसमा पनि सानो जात भनिएको मान्छे अर्थात् एउटा पोडेको छोराले जिस्क्याएको त झन् जाती लाग्ने कुरै थिएन बूढालाई । त्यसैले लौरो टेक्दै विसनचाको आँगनमा गएर केके फलाके, त्यो त वीरशरणलाई थाहा भएन तर त्यसपछि विसनचाको परिवार नै उल्टिएर हजुरबामाथि खनिएका थिए । त्यसपछि त नेपाल आउन चाहने आफ्नो मनमाथि लगाएको ताल्चा खोल्न उसलाई हरेक पल्ट निकै गाह्रो हुन्थ्यो तर नखोलीकन धरै पाउँदैनथ्यो ।
त्यो घटना भएको केही दिनपछि मनको पीर हजुरबालाई सुनाउँदा ‘तँ पनि नेपालीकै छोरो होस् । त्यो विसने भन्दा राम्ररी नेपाली बोल्ने खलकको नाति होस् तँ । कोसिस गर् न । नेपाली बोल्न के गाह्रो छ र ? तेरो उमेर सानै छ, चाँडै सिक्छस् नाति तैँले । ती विसने जस्ता अबुझलाई कति सम्झाउनु ? कति लफडा गर्नु त्यस्ता नाथेसित ? मैले कराउँदैमा त्यो मोरो सुध्रिने होइन । खालि मुखको तीतो पोख्ने मात्रै हुँ’ भन्दै पुरानै जमानामा आईएसम्म पढेका बूढाले अङ्ग्रेजीमै सम्झाएका थिए ।
उसले ‘हजुरबा, खै कसरी सिक्नु ? उता कसैले नेपाली बोल्दैनन् । नेपाली पढ्न–लेख्न सिक्छु नै भन्दा पनि उता केही पाइँदैन’ भन्दा हजुरबाले ‘मेरो अहिले फुर्सदै छ, यसै पल्टदेखि सिक्न सुरू गर । मै सिकाइदिऊँला । अर्को पल्ट आउँदा राम्ररी पढ्नू, म नै पढाइदिन्छु । अहिले पनि अलिअलि किताब लिएर जानू । तेरा बाआमा अङ्ग्रेज होइनन् । सधैँ त हड्डी घोटेर बस्दैनन् होला नि ! फुर्सदमा तिनीहरुसित सिके भइगयो । हेर नाति, इच्छा गरिसकेपछि गर्न नसकिने केही हुँदैन । सक्दिनँ र हुन्न भन्ने शब्द आजै पोलिदे तँ, त्यसपछि सजिलै सिक्छस्’ भन्दा वीरशरणले पत्याएको थिएन ।
फर्किने बेलामा हजुरबाले दिएका केही नेपाली पुस्तक र अङ्ग्रेजी–नेपाली शब्दकोश साथै लिएर गयो । सुरूका दिनमा बाबुआमासितै सिक्यो । अलिक पछि त नेपाली समुदायले नेपाली कक्षा चलाउन थाले । सिक्न सजिलो भयो । नेपाली भाषा कक्षा, बाबुआमासित सिकेको र आफूले नेपालबाट ल्याएको किताब पढ्दै जाँदा अलिअलि नेपाली बोल्न र लेख्न सक्ने बन्यो । दोस्रोपल्ट र तेस्रोपल्ट नेपाल जाँदा घरबाट बाहिर नगईकनै हजुरबासित नेपाली सिकेर बस्यो । हरेकपल्ट फर्किँदा हजुरबाले दुई–चारवटा नेपाली कथा, कविता र उपन्यासका किताब हालिदिनुहुन्थ्यो, जसलाई निकै ध्यान दिएर पढ्ने गथ्र्यो वीरशरणले ।
हजुरबाको प्रशिक्षण र प्रोत्साहनले ऊ चौथोपल्ट नेपाल जाँदा राम्ररी नेपाली बोल्ने र लेख्न सक्ने मात्रै होइन, बरू छोटाछोटा कथा, कविता र मुक्तक लेख्न सक्ने भइसकेको थियो । हजुरबाले नेपालबाट पठाइदिएका भानु, मधुपर्क, गरिमा जस्ता साहित्यिक पत्रिकाले निकै सहयोग पु¥याएका थिए– उसको भाषिक क्षमता बढाउन । फेरि इन्टरनेटमार्पmत् ज्ञान बढाउने कुरा सजिलो भएपछि त समीक्षकले राम्रा भनेका किताबहरु हजुरबा र काकामार्पmत् प्राप्त गर्ने र पढ्ने गर्न थाल्यो । गर्दागर्दैै घरको भुइँ तलाको एउटा दराज नै उसले सङ्कलन गरेका नेपाली पुस्तकले भरिएको थियो।
छोराले मातृभाषामा कविता र मुक्तक लेख्ने क्षमता विकास गरिसकेको ज्ञान नभएका अति नै व्यस्त उसका आमाबाका अगाडि एकदिन वीरशरणले आफूले लेखेका तीसवटा कविता र मुक्तकको एउटा नोटबुक देखाएर ‘बाबा ! मेलै लेखेका कविता र मुक्तक हुन् यी । कस्ता छन् ? हेर्नोस् न ल !’ भन्दा दुवै जना अचम्भित भए । उसका बाबुले त झन् ‘हन, तैँले लेखेको रे ? म लेख्न सक्दिनँ । तैँले कसरी लेखिस् हँ ?’ भन्दा वीरशरणलाई अनौठो लाग्यो । भन्दा नपत्याए पनि उसको बाबु विक्रमजीतले त वीरशरणले दिएकै दिन ती सबै कविता र मुक्तक पढेर भ्याएको थियो, जुन अझैैसम्म पनि वीरशरणको मन र मस्तिष्कमा ताजै छ । र, उसले त्यस मञ्चमाथि गमक्क परेर बसेको बखतमा पनि स्मरण गरिरहेको होला ।
पढिसकेपछि ‘ल बाबू ! यो तेरो पहिलो मिहिनेतको फल हो । कोसिस रम्रो गरिछस् । ठीकै लागे तेरा कविता र मुक्तक । एकैचोटि कोही महाकवि बनेका छैनन् । अभ्यास गर्दै गएपछि नै त होला लेखनशैली सुधार हुने । यसरी नै भोलि पनि लेख्दै गइस् भने तैँले निकै राम्रो लेख्न सक्छस् जस्तो लाग्यो मलाई । हेर, अब लेखेर मात्र हुँदैन, छाप्नु पनि पर्छ यी कविता र मुक्तक’ उसको बाबुले भन्दा वीरशरणको खुसीले क्षितिज नाघेको थियो ।
‘भर्खरै जागिर खाएको छु । छाप्दा निकै खर्च लाग्छ । मैले त्यति धेरै पैसा जम्मा गर्न सकेको छुइनँ । खै कसरी छपाउनु ?’ वीरशरणले भन्दा ‘त्यसको चिन्ता नली तँ । नेपालतिरै छपाउनुपर्छ, खर्च यहाँभन्दा धेरै कम लाग्छ । खर्च बाबाको भो अरे तर छपाइ गरिदिने जिम्मा काकाले लिइदिनुप¥यो भनेर आजै काकालाई फोन गर । अचेल पहिला जस्तो छैन । ईमेलमार्फत् पाण्डुलिपि पठाए भइहाल्छ, पठाइदे । अनि तेरा काकालाई भाषिक ज्ञान भएको कसैलाई देखाएर राम्ररी परिमार्जन गर्न लगाइदिनू पनि भन । त्यति गर्न सक्छ त्यसले पनि’, बाबुले सल्लाह दिए ।
पहिलो सन्तान प्राप्तिमा एउटा मान्छे जति रमाउँछ, जति खुसी हुन्छ, त्यति नै खुसी म यो कृति प्रकाशन हुँदा हुनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । खुसी त होइन बरू ज्यादै खल्लो लागिरहेको छ आज मलाई । मलाई नेपाली सिकाउने अठोट उहाँले नगरेको भए म नेपाली अक्षर लेख्न र पढ्न सिक्दिनथेँ । नेपाली नै नसिकेपछि यो सङ्ग्रह प्रकाशन हुने कुरा नै कहाँ हुन्थ्यो र ?
छपाउने कुरा सुनेर वीरशरण भुइँमा न भाँडामा भयो । उसको मनमा प्रतिशोधको भावना सायद बाँकी नै थियो । त्यही प्रतिशोधी मनलाई मस्तिष्कमा राखेर वीरशरणले ‘यसलाई छपाएर टोलभरिका मान्छेका अगाडि विमोचन गर्न सके त त्यो विसनचा र त्यो बान्द्रे अनि ‘कुइरे’ भनेर हेला गर्दै खेल्नबाट वञ्चित गर्ने टोलका अरु सबैलाई शब्दमा केही नभनीकनै मुखभरिको जवाफ दिन सकिन्थ्यो । त्यति मात्रै होइन, जसको प्रेरणाले यतिसम्म नेपाली भाषामा लेख्न सक्ने भएँ, ती स्वप्न–स्रष्टा दिवंगत हजुरबाप्रति सम्मान र श्रद्धाञ्जलि पनि अर्पण हुन्थ्यो’ सोच्यो सायद । त्यसैले बाको आदेश पाउनासाथ एकछिन् पनि ढिलो नगरीकन आफ्ना काकालाई फोन गरेको थियो उसले ।
काकासित कुरा गरेको दुर्ई महिनाभित्रै पाण्डुलिपि एक जना भाषाविद्बाट परिमार्जन भई केही दिनमै उसले लेखेको ‘स्वप्न–स्रष्टा’ कवितासङ्ग्रह छापिएर आउने जानकारी काकाले दिँदा साँच्चिकै खुसी भएको थियो वीरशरण । तिनै भाषाविज्ञको सहयोगमा काकाले नै नाम चलेका एक जना कविको हातबाट विमोचनको व्यवस्थासमेत गरेपछि त अलिक महँगै टिकट किनेर नेपालतिर हान्निएको थियो वीरशरण– पहिलेका सारा सङ्कोचलाई उत्साहमा अनुवाद गरेर ।
......
आफ्नो पालो आएपछि उसले भन्यो– ‘मेरो खासै भन्नुपर्ने त केही छैन । पाँच वर्षको क्यानडा बसाइपछि पहिलोपल्ट नेपाल आउँदा आफूले साथै क्यानडा लिएर गएका बाल्यकालका सुखद स्मृतिका पानाबाहेक मेरा साथमा अरु केही थिएनन् । त्यस स्मृतिका पानाभित्र मात्र मेरा बालसखा थिए, जन्मिएको घर थियो, हुर्केको टोल थियो, काठमाडौँको न्यानो र आत्मीयपन थियो, माटोको सुगन्ध थियो, देशको माया थियो अनि थियो त केवल हजुरबाले दिएको माया र प्रेरणा । उसबेलामा नेपाली लेख्न त के बोल्नसम्म पनि मैले बिर्सिसकेको थिएँ । साथीभाइसित खेल्न मन लाग्थ्यो तर भाषिक समस्याले गर्दा खेल्न जानसम्म सक्दिनथेँ । त्यही पुतलीसडक मलाई आफन्त जस्तो लाग्थ्यो तर त्यही सडकले मलाई तिरस्कारका नजरले हेर्दै कुइरे ठान्यो, पराई मान्यो । त्यही भएर बाहिर निस्किनुभन्दा कोठाभित्र बस्नु जाती भन्ठानेर त्यसपछिका भ्रमणमा घरबाहिर ननिस्कीकनै कसैसित भेटै नगरी म फर्किने गर्थें ।’
उसले थप्यो, ‘जब म साथीभाइबाट बहिष्कृत हुन्थेँ, तिरस्कृत हुन्थेँ, तब उहाँलाई आफैँ तिरस्कृत र बहिष्कृत भएको अनुभूति हुन्थ्यो । मेरो एकान्तपनले उहाँलाई पिथ्र्यो सायद । मेरो छट्पटीले उहाँलाई पोल्थ्यो होला । मेरा पीर–व्यथाले मलाईभन्दा बढी उहाँलाई नै दुखाउँथ्यो पनि । मेरो चिन्ताको नागले उहाँको मन डस्थ्यो । भन्न त केही भन्नुहुँदैनथ्यो । कुरा बुझ्न भाषा नै जान्नुपर्ने होइन, मन बुझ्दा पुग्थ्यो । साथीभाइले मेरो मन बुझेनन् सायद तर मैले भने उहाँको मन बुझेको थिएँ । त्यसैले उहाँले मुखले नभन्दा पनि म उहाँका धेरै कुरा बुझ्थेँ । तर लाचार थिएँ, बुझेर पनि केही गर्न सक्दिनथेँ’, अलिक भावुकता भरिएका शब्दहरु निस्किँदै गए वीरशरणका ओठबाट ।
‘यो मेरो पहिलो प्रयास हो । भन्ने हो भने मैले नेपाली बोल्न नसक्दा मलाई कुइरे भनेर जिस्क्याउने मेरा बालसखाहरु यो कृति प्रकाशनका पहिलो प्रेरणा स्रोत हुन् । उनीहरुले मलाई तिरस्कार र बहिष्कार नगर्दा हुन् त सायद म नेपाली भाषा सिक्ने पनि थिइनँ । भाषा नै नजानेपछि यो कवितासङ्ग्रह प्रकाशन हुने कुरा नै भएन । त्यसैले नेपाली भएर पनि उसबेलामा मलाई ‘कुइरे’ देख्ने सबै मित्रहरुप्रति बिना कुनै गुनासो हृदयदेखि नै कृतज्ञता व्यक्त गर्न चाहन्छु । पहिलो सन्तान प्राप्तिमा एउटा मान्छे जति रमाउँछ, जति खुसी हुन्छ, त्यति नै खुसी म यो कृति प्रकाशन हुँदा हुनुपर्ने हो तर त्यसो हुन सकिरहेको छैन । खुसी त होइन बरू ज्यादै खल्लो लागिरहेको छ आज मलाई । मलाई नेपाली सिकाउने अठोट उहाँले नगरेको भए म नेपाली अक्षर लेख्न र पढ्न सिक्दिनथेँ । नेपाली नै नसिकेपछि यो सङ्ग्रह प्रकाशन हुने कुरा नै कहाँ हुन्थ्यो र ? नेपाली भाषा सिक्न उत्प्रेरणा दिने र मभित्र एउटा छुट्टै सपना निर्माण गरिदिने स्वर्गबासी श्रद्धेय हजुरबा अर्थात् मेरा स्वप्न–स्रष्टाको सम्मानमा यो कृति अर्पण गर्न चाहन्छु’ भन्दै आफ्ना भनाइ टुङ्ग्यायो वीरशरणले ।
हजुरबाका सम्मानमा दुई थोपा आँसु झार्नेबाहेक अर्थोक केही गरेन उसले ।