ज्ञानमित्र | जीवनदर्शन | फागुन १२, २०७५
काठमाडौं प्रवासमा रहँदा पुराना मित्रहरूबाट सोधिने धेरै प्रश्नमध्ये ‘तपाईँको गुरुको र अर्को यात्रा क्रममा कुन–कुन सन्त, महात्मा, योगीहरूलाई भेट्नुभयो’ प्रमुख रहेका हुन्छन् । यी दुवै प्रश्नको उद्देश्य भने एउटै रहेको हुन्छ । भेटिएका योगीमा को सर्वश्रेष्ठ हो, मेरो बुझाइमा कसले उहाँहरूका सबै मनोकांक्षा पूर्ण गरिदिने सामथ्र्य राख्छ । मैले कसै एक जनालाई इंगित गरी दिउँ र उहाँहरू आफ्नो भौतिक जगत व्यवहारका तमाम व्यस्तताबाट दुई–चार दिनको समय मिलाएर फुर्र उडेर गई उसलाई भेटेर आफ्ना सारा समस्याबाट निदान पाउनुहोस् र साथै पाउनुहोस् आध्यात्मिक पूर्णताको परमानन्द...काश ! यो यति सजिलो भइदिएको भए ?
मनोविश्लेषण गर्दा निष्पत्ति बडो उदेकलाग्दो एवं विडम्बनापूर्ण प्राप्त हुन्छ । प्रथमतः त प्रश्नकर्ताहरूको यस्तो भ्रमांध सोच र विश्वास कि उसको आफ्नो जीवनको निर्णयकर्ता र निर्माता ऊ आफै होइन, गाईबस्तुलाई डोर्याएरसरह उसलाई पनि कसैले डोर्याएर लक्षित निर्दिष्ट स्थानसम्म पुर्याइदिओस् । सोझो अर्थमा ऊ स्वनिर्भर हुन चाहँदैन, कुनै न कुनै बहाना, तर्क, परम्परा, दिव्योपदेशको बैशाखी टेकेर परनिर्भर हुन चाहन्छ । सँगसँगै यस्तो आशयले उसमा रहेको आलस्य, अकर्मण्डयता, लोभ, लालच, सानो लगानीमा ठूलो आर्जन गर्ने व्यापारिक स्वार्थमयी मनस्थितिको पनि दर्शन हुन्छ ।
मानिसका पुराना रोगमध्ये अति पुरानो एउटा रोग छ, जुन सारा मानव सभ्यतामा सर्वत्र र सर्वकालमा रहेको पाइन्छ, त्यो हो अर्थको अनर्थ लाउने । यदि मानिसलाई सहजै परमानन्द उपलब्ध गराइयो भने ऊसँग यति क्षमता विद्यमान छ, ऊ परमार्थलाई पनि अनर्थमा परिणित गरिदिन्छ । यस उदाहरणको उल्लेख्य यहाँ नकारात्मक ढंगमा गरिएको भए पनि उसको सुन्दर सकारात्मक पक्ष पनि छ, मानिससँग अनन्त सम्भावना छन् ।
मूल प्रश्नैमै पुनः प्रवेश गरौं, जुन माथि मानिसभित्र रहेका परनिर्भरता, लोभ, स्वार्थ, आलस्य गुणादिको वर्णन गरियो, त्यसको आशय निन्दा गर्नु होइन । प्रश्नको जवाफ दिने संरचना र वाक्चातुर्य अथवा शब्दजालले आजको युगमा कोही सिद्ध योगी छैनन् पनि होइन । अब यदि प्रष्टसँग आशय यो होइन भनेपछि पाठकहरूलाई लाग्न सक्छ, सोझै सरल भाषामा सम्यक आशय लेखिन ढिलाइ किन भइरहेको छ ? काश ! सत्य सोझो र सरल रूपमा अक्षरहरूबाट हृदयगंम गराउन सकिने भएको भए ?
‘अखण्ड मण्डलाकारम् व्याप्तमेन चराचरम’ अर्थात्, गुरुको महिमा सर्वत्र व्याप्त छ मात्र होइन, यो सम्पूर्ण चराचर जगत नै गुरुमय हो । सबै गुरु महान् हुन् । तर, यो लालसा राखेर गुरुको खोजी कि उसले शक्तिपातबाट कुण्डलिनी जाग्रत गरिदिओस्, सम्भव छैन । एउटा कसैले कुनै गुरुबाट आध्यात्मिक प्रकाश पाएको छ भने उसका परिवार, इष्टमित्र आदिले पनि उसै गुरुबाट प्रकाश पाउन सक्छ भन्ने ग्यारेण्टी हुन सक्दैन । प्रत्येक मानिस सामान्य होइन, विशिष्ट हो ऊजस्तो अर्को कोही छैन, प्रकृतिले रिपिटेसन गर्न जानेको छैन ।
मेरो एउटा गुरु पोखराका ‘बक्सिङ’ खेलाडी एवं प्रशिक्षक सुरेश गुरु हुन् । ०५४–०५५ सालतिर धरानमा आयोजना भएकोे क्षेत्रीय खेलकूद प्रतियोगितामा म बाग्लुङको बक्सिङ टोलीको म्यानेजर भएर पुगेको थिएँ । समापनपछि पोखरा र बाग्लुङका सबै खेलाडी र अन्य सहभागी एउटै रात्रिबसमा फर्कियौं । बस इटहरीबाट अगाडि आएर कुनै ठाउँमा केही बेर रोकियो । सबै खेलाडी आपसमा रमाइलो गरिरहेका थिए, उनीहरूको रमाइलो अन्य सहयात्रीका लागि पीडा हुनुभन्दा पहिला नै सुरेश गुरुले सिटबाट उठेर ‘एभ्रिबडी साइलेन्स’ यो बसमा हामी मात्र होइन, अरु यात्री पनि छन्, उनीहरूसँग हाम्रो ठूलो गु्रपसँग प्रतिवाद गर्ने सामथ्र्य छैन, हामीले हाम्रो सामथ्र्यको उपयोग अरुलाई व्यवधान पुर्याउनलाई गर्ने होइन, पोखरा पुगेर रमाइलो गर्ने हो, हाम्रो रमाइलोले कसैलाई ‘डिस्टर्ब’ गर्नु हुन्न, जित्यो त्यै क्षणमा त्यसबेलाको कवि अच्यूतमलाई सुरेश गुरुको निसाफले । अब के कसैले मैले उनीसँग जे सिके, त्यो सिक्यो होला र के यी पंक्ति पढेर सिक्न सक्छ ?
पाठकलाई लाग्न सक्छ, यो त भयो लौकिक जगत र जीवनको बुझाई, हामीले त आध्यात्मिक गुरुको पो चर्चा गरेका हौं । निवेदन र वैयक्तिक अनुभव र भेटेका तमाम गुरुको सन्देश यति नै छ– जीवन र जगतबाट सिक्न नसक्नेका लागि अध्यात्म फोस्रो कल्पना मात्र हुन्छ । लौकिक जगत र जीवन पहिलो पाठशाला हुन्, यी पाठशालाबाट गुज्रेर नै अध्यात्मको पाठशालामा प्रवेश हुन्छ ।
सूर्य क्रियायोगका प्रणेता एवं उपासक श्री बुधपुरीजी महाराजको प्रथम संसर्गमा उहाँले भन्नुभयो, ‘तिम्रा लागि डब्लु डब्लु ।’ मैले खुलस्त पार्न अनुरोध गर्दा भन्नुभयो– वेट एण्ड वाच ।
मैले तीन दिनसम्म वेट एण्ड वाचमाथि चिन्तन मनन गरेपछि फेरि दर्शनको क्रममा जिज्ञासा गरेँ । महाराज वेटलाई त मैले बुझेँ । तर, यो वाच गर्ने क्षमता के सही हो, के सही होइन, कसरी बुझ्ने ? उहाँले हाँस्दै जवाफ दिनुभयोे, ‘तिमी एउटा डब्लुलाई छाडिदेउ, वेट मात्रै गर, अब त सजिलो भयो होइन, एउटा मात्र डब्लु त बोकेर हिँड्न सक्छौं होइन र ? उहाँबाट उपहार पाएको एउटा डब्लु बोकी फक्कड जीवन बाँचेँ । पछि धेरै पटक उहाँको दर्शन पाएँ, दर्शनमै रमाएँ, केही सोधिएन, पाउने डब्लु त पहिलो भेटमै पाइसकेको थिएँ । मेरा लागि मैले भेटेका योगीमध्ये उहाँ शीर्षस्थानमा पर्नुहुन्छ । के कुनै मित्र यो प्रसंग पढेपछि गुरु वा योगीको खोजीमा उहाँलाई भेट्न उत्सुक होलान र ?
‘अखण्ड मण्डलाकारम् व्याप्तमेन चराचरम’ अर्थात्, गुरुको महिमा सर्वत्र व्याप्त छ मात्र होइन, यो सम्पूर्ण चराचर जगत नै गुरुमय हो । सबै गुरु महान् हुन् । तर, यो लालसा राखेर गुरुको खोजी कि उसले शक्तिपातबाट कुण्डलिनी जाग्रत गरिदिओस्, सम्भव छैन । एउटा कसैले कुनै गुरुबाट आध्यात्मिक प्रकाश पाएको छ भने उसका परिवार, इष्टमित्र आदिले पनि उसै गुरुबाट प्रकाश पाउन सक्छ भन्ने ग्यारेण्टी हुन सक्दैन । प्रत्येक मानिस सामान्य होइन, विशिष्ट हो ऊजस्तो अर्को कोही छैन, प्रकृतिले रिपिटेसन गर्न जानेको छैन । त्यही कारणले हो, यति धेरै गुरु भएका । एउटै गुरुले सबैको कल्याण हुने भए त परम कल्याणकारी गुरु शिवजी पछि अरुको अर्थ नै के रहन्थ्यो र ?
हाम्रो मन खण्डखण्डमा विभाजित छ, फेरि एउटा खण्डभित्र पनि अनेक खण्ड छन् । अध्यात्म अखण्डको यात्रा हो । खण्डित मनले हिँड्न त बन्देज छैन । तर, प्राप्ति भने दुर्लघ्य हुन्छ ।
अध्यात्ममा ‘सटकट’ भने हुन्न । उदाहरणका लागि, एक लाख किलोमिटर हिँडेर चेतनाको पावन भूमिमा प्रवेश हुन्छ भने त्यो दूरी तय गर्ने सटकट बाटा, गोरेटा भने त्यहाँ हुन्नन् ? काल सीमा (समय होइन) थपघट हुन सक्छ । र, केही चर्चा गुुरुबाट के र कतिसम्मको सहयोग र मार्गदर्शन हुन सक्छ । पहिला नै स्पष्ट गरौं, चमत्कार, दीक्षा शक्तिपातबाट कुनै गुरुले शिष्यलाई बुद्धत्व दिन सक्दैन । होइन भने त एउटा बुद्ध भएका मानिसका शाखा सन्तान सबै बुद्ध नै हँुदै आउँथे । गद्दीनसीन भएका भारतमा थुप्रै गुरु भेटिन्छन् । योगको भाषामा भन्दा मूलाधार, स्वाधिष्ठान, मणिपुर, अनाहतसम्मका चक्र जाग्रत गराउन सद्गुरुले साधकलाई सहयोग, प्रेरणा, मार्गदर्शन दिन सक्छ । तर, अनाहतपछि त अन्तस गुरु पहिल्याउनुपर्छ, किनकी अनाहतभन्दा माथि कुनै बाह्य मद्दत पुग्न सक्दैन । विशुद्धि, आज्ञा, सहस्रसार चक्रसम्मको यात्रा अन्तस गुरुको अन्तस प्रेरणाबाट नै हुन्छ, यो निर्विवाद सत्य हो ।
वास्तवमा चमत्कारको कुनै अस्तित्व नै छैन । हाम्रो मस्तिष्कले विश्लेषण गर्न नसकेको कुरालाई हामी चमत्कार ठान्छौं । तर, ती सबैको यथेष्ट विज्ञान हुन्छ । हामीले प्रयोग गरिरहेका मोबाइल, इन्टरनेट नै कुनै ‘कबिला’वासीका लागि लागि चमत्कार हुन सक्छ ।